[Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नयाँ नेपालको यात्रा

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE: <<  1 2 3  
[VIEWED 33757 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-06-14 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     12       ?         Liked by
 

नयाँ नेपालको यात्रा

नयाँ नेपाल कहिलिए पश्चातको दोस्रो नेपाल यात्राको संस्मरण लिपिबद्ध गर्ने प्रयास गरेको छु | यहाँहरुको साथ पाएँ भने यो क्रमलाई निरन्तरता दिने छु | आशा छ केही तीता पल र केही मीठा पलहरुसंग तपाइँहरुको साथ रहने छ |

जे एफ के , टर्किस इअर र इस्तानबुल हवाई अड्डा
-----------------------------------------------------

धेरै बर्ष तामेली रहेको नेपाल यात्राको लागि सस्तो टिकेट खोज्दै गर्दा टर्किस इअरले लोभलाग्दो प्रमोशन रेट दिएकोले मात्र हैन उडान अवधि को हिसाबले पनि इस्तानबुल हुँदै यात्रा गर्नु उपयुक्त थियो नै | सस्तो कस्तो हुन्छ भन्दा नि अमेरिकी भूमिबाट झारे झुरे प्लेन उड्ने हुँदैन भन्ने बिश्वास थियो | जेएफकेको टर्किस इअर दिपार्चार गेट पुगे पछी सस्तो मालको छनक देखिँदो रहेछ| इअर्लाइन्सका कर्मचारी गफैमा मस्त थिए, लाइन अस्तव्यस्त थिए | कुन लाईन बिजिनेस क्लासको कुन चाहि इकोनोमी, अझ इकोनोमीमा पनि कुन ग्रुपको कुनै संकेत- सूचना थिएन ...नेपालमा लाग्ने जुन सुकै लाइनको झझल्को दिने गरी अब्यबस्थित थियो | टाइम भयो ...
“ बिजिनेस क्लास दिस वे ....इकोनोमी ग्रुप ए इज द्याट वे “ भन्दै लाइनलाई खण्डित बनाउँदाको दृश्य हेरी नसक्नु थियो | बेलाइनबाट र बे-क्लासको बोर्ड गर्दा नि बाल थिएन | जहाजको ढोका मै २ जना टर्किस भुसतिघ्रेहरु ह्याण्डक्यारी ब्यागको साइज नाप्न बस्या रैछन | मेरो ब्याग अलि ठुलो देखिन्थ्यो, तर अन्तर्राष्ट्रिय मापदण्ड भित्रकै थियो | “ तपाइले यो ब्याग भित्र लान सक्नु हुन्न, ब्याग ठुलो छ” भन्दै रोके |

एक जनालेले बोर्डिंग पास को अधिकत्ति लिएर कुलेलाम ठोके र मैले किन ब्याग लान नमिल्ने भन्ने बहस सुरु गरि हालें |
मेरो ब्याग चेक इन गर्दा तौलिदा के हेरेर बसेको, अझ बोर्डिंग गर्दा न रोक्ने , प्लेनको मुखै मा रोक्ने के चाला हो यो – म पड्किए | इन्टर्नेशनल साइजको हो, कसरी लान न पाउने म पनि हेर्छु भने | त्यतिन्जेल अघि मेरो बोर्डिंग पासको टुक्रा लिएर जाने लौका ब्यागको ट्याग बनाएर आइहालेछ | “तपाइंको ब्याग कार्गोमा जान्छ , काठमाडौमा पाउनु हुन्छ” रे | म यो ब्याग कार्गोमा राख्न दिन्न, नाप तौल गरौँ कसरी मिल्दैन हेरम , मैले नि अड्डी लिएँ | त्यसो भए यसमा छिराउनुस भनेर गेट संगै ब्यागको साइज नाप्ने भाँडो देखाए | लौ हेर कसरी छिर्दैन भनेर मैले नि मज्जाले छिराई दिएँ | बेफ्वांकमा मलाई मात्र हैन अन्य यात्रुलाई समेत असुविधा हुने गरी अपरिपक्वता दर्शाए | सस्तो टिकेटको यात्रा कस्तो कस्तो लाग्न थालिसकेको थियो |


प्लेन उड्यो | प्लेन भित्र वितरण गर्नु पर्ने सबै आइटमहरु दिए | रातको ११.१५ को उडान, भोकले साउती गरी सकेको थियो | टाइम मै खाना ल्याए | खाना ठिकै थिए तर मात्रा .....| म जस्तो औसत नेपाली साइजको पेटलाई त पुग न पुग थियो तर ज्याङ्गो खैरेको सन्तानलाई चाही... म सोच्दै थिएँ | १० -११ घण्टाको उडान मा बीच मा केही खाने पिउने नाई....| भोक लाग्न थाले पछी यात्रुले विमान परिचारिकालाई बोलाउने वटन थिच्ने क्रम सुरु भयो | मलाई नि तिर्खा लाग्यो, मैले नि थिचें ...| बाल छैन बाई ...| त्यो घन्टीको कुनै जवाफ छैन | सब जना खाना राखेको सानो कक्षमा गएर स्यान्द्विच, पानी , जुस लिंदै फर्किंदै गरेको लाजमार्दो दृश्यमा आफु पनि समाहित हुन पुगें |


इस्तानबुल पुग्ने बेलामा फेरी खाजा खुवाए | इस्न्ताबुल पुगियो | प्लेनबाट निस्कदै ट्रान्जिट पेसेंजेर भन्ने सोचक हेर्दै गएँ | ट्रान्जिट पेसेंजेर भन्ने लेखिएको बाटोमा रातो रिबनले बन्द गरिएको भेटियो | सबजना त्यता रोकिए | किन बन्द, बन्द भए बैकल्पिक बाटो देखाउने कोइ आएन | धेरै बेर सप्पै जम्मा भैसक्दा पनि कोइ आएन | पाइलट महाशयहरु निस्कँदा बल्ल यही बाटो जाने भनेर देखाई दिए | निस्कने बित्तिकै फेरी सेक्युरिटी चेकजाँच | त्यो नि गरियो | अब्यबस्था यस्तो थियो कि पाइन्टको पेटी अर्कै डुकुलंथुकले लिएर हिडी हाले |


भर्यांग उक्लेर मुख्य ट्रान्जिट एरिया त फूड कोर्टको मुखैमा रहेछ | एक छिन आराम गर्नु पर्ला भनेर यसो निस्कें... बिसौनीको खोजीमा ...| बस्ने ठाउँ भए पो पाउनु ....हजारौं ट्रान्जिट यात्रीको लागि मुश्किल ले १०-१२ कुर्सिको ब्यबस्था रहेछ | ट्रान्जिट एरियामा यति मान्छे थियो कि मानौ दशैँ तिहारको बेला असन चोकको हाल जस्तो थियो | बाटोको बीच बीच मा खाने र पिउने पसलहरु | तपाईलाई थकाइ लागेको छ भने आउनुस , बस्नुस पैसा तिरेर जानुस भनेर स्वागत गर्न बसेका कफी शप र स्यन्द्विच पसल| नबसी धरै भएन | एक कप फिका चियाको ६ टर्किस लिरा ... एक्सचेन्ज रेट १ डलर बराबर २ लिरा | ३ डलर तेरेरै भए नि एक छिन त बस्नु पर्यो भनेर एक कप चिया मागें ..| ६ लिरा प्लिज – भने | मैले डलर डलर भनें, ४ डलर भन्छ बा टर्किस तरुनी ...| हाउ ४ डलर भनें , तरुनीले मस्किन्दै १ डलर इज १.५ लिरा पो भन्न थाली . ठग कहीं कि ....| त्यै पसल को सामुन्ने मैले पैसा साट्ने बैंक देखेको थिएँ | मलाइ नि झोंक चल्यो | १ मिनेट. आइ विल गिभ यु टर्किस लिरा भन्दै अगाडीको सराफीको पसलमा डलर साटेर दिएँ |


झन्डै ४ घण्टा ट्रान्जिट टाइम थियो | काठमाडौ फ्लाइटको लागि दिपार्चर गेट नै निर्धारण नगरेको अवस्थामा त्यो मूल एरियाको वरिपरी टहल्दै गेटको जानकारी प्रतिक्षारत थिएँ | ८.४५ बेलुकीको फ्लाइट, बल्ल साढे सातमा गेट नम्बर आयो ... दङ्ग परेको र फेरी खिस्स ....| ३.५ घण्टा ढिला भन्ने सूचना | ठिकै छ भोक लाग्या बेला खाएर आउनु पर्र्यो भनेर फूड कोर्ट तिर लागियो | दर भाउ चाहार्दा डर लाग्यो | एउटा क्यान कोक को ६ डलर, बर्गर किंगको डलर मेनु ५ डलर .... चाइनिज भात मासु को १५ डलर ... | भोकै मर्ने कुरा भएन | चिकेन भात नमिठो खाएँ |


१२.१५ राति उडान भएकोले ११ बजे तिरै निर्धारित गेट मा पुगें . एक जना तर्किस इअरको ब्याच लाउने आएर ... यु ह्याव फूड एत् बर्गर किंग पो भन्छ बा................| अघि नै भन्नु पर्दैन साले ...अब १० % यात्रु न भएको बेला खानाको ब्यबस्था छ भन्न आउनुको रहस्य र सस्तो टिकेटको बीच सम्बन्धन खोज्न कर लाग्यो नै |
प्लेन उड्यो | साढे ६ घण्टाको उडान | सिटमा टिभी थिएन | भित्ताको टिभी पनि अफ थियो | समय मुश्किलले कटाईयो | काठमाडौ पुगियो, तर प्लेन काठमाडौ वरिपरी घुमाएको घुमाए नै ... हुस्सु र ट्राफिक जामको दोहोरो मार |


जति कष्ट सहेर पनि आफ्नो माटोको सुगन्धको स्पर्शले दुख भुलियो | आफ्नी सुटकेस बोकी नयाँ नेपालको दर्शन भाग २ मा निस्कें........

क्रमश:

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-27-14 11:53 AM     [Snapshot: 2811]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

नयाँ नेपालको यात्रा भाग ७

मनकामना माईको दर्शन र पापीहरुको प्रदर्शन

एक जना चर्चित कबि महोदयले  एक ठाउँमा लेखेका थिए “ मंजुश्रीले काटेको भूगोल बाहेक अर्को भूगोल छैन,काठमाडौ”  | काठमाडौ खाल्डो बाहेक अन्त नगएको बात लाग्ला भन्ने डर भैराख्या बेला अन्त जन्त जाने निम्तो आयो | नारायणघाटमा बिहेको कार्यक्रममा जनै पर्ने भयो | हिसाब किताब गरें, चितवनबाट  फर्किंदा मनकामना माईको दर्शन गरेर फर्किंदा मनमा सन्तुष्टि पक्कै मिल्ने छ | मनकामना जाँदा शनिबारम मंगलबार र बिहीबार न पार्नु भनेर एकना भलादमी महोदयले सल्लाह दिएका थिए |

बिहेको निम्तो बृहस्पतिबार, भोलिपल्ट शुक्रबार बिहानै कुरिनटार, दिउसो आनन्दले माई संग केही भलाकुसारी गरम भन्ने सल्लाह बमोजिम कार्यतालिका बनाइयो| शुक्रबार सांझ फेरी दशकौं  अघि संगै आइ एस्सी पढेका देशका होनहार मित्रहरुले गेट टुगेदर राख्या थिए | समय बडा टाइट थियो |

मोफसलको पहिलो बिहे भोज खाइयो, देखियो | हाइब्रिड कर्मकाण्ड नि हेरियो | एउटा नौलो अनुभव|

शुक्रबार बिहानै फर्क्यौं....र मनकामना माई गन्तब्य | देश र विदेश संग काठमाडौ जोड्ने नारायणघाट मुग्लिन सडक यति जीर्ण कि भनेर , गनेर साध्ये थिएन | सानो गाडीको त हरिबिजोग नै हुने गरी खाल्डाखुल्डी | यस्तो सामरिक महत्वको बाटो समयमै मर्मत नहुनुमा दोष कसको? सरकार, ब्यापारी , जनता ?? देश जसरी नै चलेको छ, यो राजमार्ग जस्तै | त्रिशुलीमा २ ओटा ट्रक खसेको रे , आंग सिरिंग हुने दृश्य शायद दैनिकी हुँदो हो त्यता तिरकालाई |

४२-४३ किमीको बाटो छिचोल्न झन्डै दुइ घण्टा चानचुन लग्यो| केवलकार परिसरमा पुग्दा चढ्नेहरुको लाम बाइरोडको बाटो जस्तो  घुमाउरो र लामो | लाइन बसियो.....एकै छिन त होला भन्ठानेको २ घण्टा बसिए छ | लाइन बस्दा माग्नेकेटाहरुको लर्को अर्को | पाँच रुपैया देउ न साहुजी.....एउटा मायालाग्दो ८-१० बर्ष को केटो .. आयो |

“तिमीलाई मैले ५ रूप्पे किन दिने ?” कारण भन म पचास रूप्पे दिन्छु – मैले लोभ देखाएँ| केटो बोल्दैन....सुगाले जस्तै उही पाँच रुपैया देउ न ...|

मैले पटक पटक भनें “ तिमीलाई किन दिने ५ रूप्पे मैले “ , भोक लाग्या हो कि रोग लाग्या ??

प्लास्टिकको ब्यागमा के हो सोलुशन हालेर सुघ्नलाई पाँच रुपैया त के पाँच पैसा नि दिन्न, लौ जा भनें |

 

केवल कारमा १० मिनेटमा पुगियो हुस्सु छिचोल्दै | यसो हेरें लाम त लामै भैसके छ | त्यसो त तल नै २ घण्टा लाम बसे पछी माथि पनि २ घण्टा त बस्ने पर्छ भन्ने अनुमान थियो | पूजा सामग्री किन्ने पसलमै जुत्ता राखी लाइन बस्न गयौं | लाइन मन्दिर पछाडीको उकालोको कति पछाडी थियो हेक्का भएन | चिसो याममा खालि खुट्टा अझ माथि उक्लेयौं | बल्ल पुछार भेटियो|  लाइन लागियो | आधा घण्टा भो एक पाइला पनि सर्दैन बाइ .....|  नित्यपूजा गरिराख्या होलान नि पूजारी बाहरु भन्दै बसियो | एक घण्टा भो लाइन सर्ने नाम लिंदैन बा.......... | के भाको रहेछ, म हेरेर आउछु भनेर गृहमन्त्रीलाई लाइनमा छोडेर तल मन्दिर सम्म आएर हेरेको त .............................

दर्शनार्थीहरु दर्शन गरेर फोटो खिच्दै , धूप बाल्दै, दियो जलाउंदै रमाई बसेका ....|  त्यसो त माई लाई भेट्न आएको यो पहिलो पल्ट , दोस्रो पल्ट  हैन| हिडेरै सात पटक पुगेको यात्री म, केवलकारबाट पनि ७ नै पल्ट हेल्लो भन्न आइसकें हुँला | संसारकै सबै भन्दा फास्ट पूजा गर्ने पूजारी र दर्शन गर्ने दर्शनार्थी मनकामना मै होला भन्ने मेरो मान्यता छ | प्रति व्यक्ति  १० देखि २० सेकेन्ड भन्दा बढी लाग्दैन वा त्यो भन्दा बढी बस्ने अनुमति हुँदैन  मन्दिर भित्र | सन्चो बिसन्चो पनि सोध्न न भ्याउने भन्या .... पहिले को कामना पुरा भो भएन , लेखाजोखा नि गर्न नभ्याइने | उधारो कामनाहरु माथि अर्को एक कामना थप्ने बाहेक अर्थोक हुँदैन होला |

पूजा सुपर फास्ट , लाइन भने लास्टको लास्ट | दाल मे कुछ काला है मात्र हैन दाल पुरै कालो लाग्यो|  नियालेर हेर्दा देखियो, लाइनवालाहरुको हैन बेलाइनहरुको बोलवाला रहेछ | मन्दिर परिसर छेउछाउ लाइन लाग्न फलामे बार बनाएको ठाउँबाट घुसपैठ हुने रहेछ | अर्को एक जना चिनेको मान्छे छ भने एक हूल अतिक्रमणकारीहरु छिर्ने रहेछ | एकजना प्रहरी रोक्ने प्रयासरत देखिन्थ्यो| पापीहरुको हुलमा त्यो प्रहरीको के डेग चल्नु |

हैन पुलिस भाइ , यसरी बेलाइनबाट मान्छे जान दिने हो भने त लाइन भरे सम्म नि सर्दैन नि , रोक्नु पर्र्यो | मैले मौखिक उजुरी दर्ता गरें |

के गर्नु दाइ, सके सम्म रोक्ने हो , कडा गर्र्यो भने हामी माथि नै जाइलाग्छ, अनेक बात लाग्छ |

तपाईं आफ्नो डिउटी गर्नुस्, रोक्नुस ... हामी बिचमा घुसपैठ रोक्ने प्रयास गर्ने छौं |

त्यहाँबाट म भित्र आन्दोलनकारी जन्म्यो | प्रहरी संग बिबाद गर्दा गर्दै दुइ चार जना आन्दोलनकारीहरु जम्मा भैसकेका रैछन |

“ हो दाइ , हामीले नै रोक्नु पर्छ, पापीहरुलाई”  “ लाइनमा भन्दै जाम. कोइ पनि बीचमा न छिराउनुस , बस्न आयो भने निकाल्नुस , नत्र भरे सम्म पनि यो लाइन बाह्र हात सर्दैन भनेर “

त्यो आन्दोलन सुरु भयो | शंखनाद भो .  घुसपैठियालाई बहिष्कार गरौँ | लाइन सरे सरे जस्तो भो | तै पनि सोचे जस्तो भएन |  म संग संगै आन्दोलनकारीहरु लाइन लाई निगरानी गर्न थाल्यौं |  तै पनि घुसपैठ हुने रहेछ , त्यै प्रहरी बस्या ठाउँमा | हामी दुइ जना त्यता बस्यौं र बाँकी लाई अर्को १५-२० मिटर सम्म हाते सांग्लो बनेर बस्नु भन्यौं | घुसपैठिया चानसमा डानस गर्न आउने भन्या.......... लाज लाग्दैन तपाईं लाई .. भगवानकोमा आएर नि बेइमानी गर्न...... भन्दै कठालो समात्दै निकाल्दै गर्यौं | लाइन स्वाभाविक रुपमा सर्र्यो | आनोदालनकारी भोलिन्टियरहरु बढ्दै गयो |

आफ्नो पालो आयो, अर्को भाइलाई जिम्मा लगाउदै  माईको घर भित्र छिर्यौँ |  आँखा चिमेर निमेषमाई लाइ पुकारें |

“भाकल छ “ पुजारीले सोध्यो | छैन , हेल्लो भन्न आएको मात्र भनें | पूजारी झन्डै बेहोस........|

यसरी पापीहरु संग आन्दोलन गरी दर्शन गरी फर्किंदा साढे तिन भो | भोको पेट त्यसमाथी घांटी सुक्ने गरी नाराबाजी गरेको ...भोक लाग्यो बेस्मारी |

फर्किने बाटो वरपर खाना खाने होटल नै होटल ... आधा जति त छिमेकी देशबाट लोटा लिएर आएकाहरुको पसल | भाते नेपाली न ठहरियों  भात पसल भित्र हुलें|

मेनु लेउ बाबु भन्दा साहुनी संग छ भन्यो केटो ले |  साहुनी आयो ... मासु भात को कति साहुनी, मोल न सोधी खाँदा थुप्रै चोटी ठगिएको अनुभव थियो |

पहिला बस्नुस , मेनु आउंदै गर्छ | भोक लागेको सहनै नसक्ने गरी ... आग्ने अगाडी टेबुलमा मासु भात दन्काइ रहेको अरु भातेहरु देख्दा कुर्नै सकिन | थचक्क एउटा कुर्सीमा बसियो |  भात आयो तुरन्तै ... क्या प्रम्प्त सर्भिस | मासु नि ?? भात ल्याउने बहिनी ले सोधिन | के को मासु ?

लोकल कुखुराको | लोकल होस् कि ब्वाइलर , भोक लागे बेला जे भए नि हुन्थ्यो | मासु नि ल्याउ , झोल अलि बढी हालेर |

मासु भात , टिमुर हाल्य गोलभेडाको अचार अनि रातो मुलाको पिस पिस............... ढ्याउऊऊऊऊऊऊ हुने गरी खाइयो | साहुनीको पैसा तिर्न गइयो, बिना मेनु भात खाएको अपराध ............. ब्याज समेत असुल उपर गर्र्यो साहुनीले – मासु भात एक जनाको रु . पाँच सय ...................|

 

केवलकार चढी तल झर्यौं ...........समयले धेरै पछाडी छोडिसकेको रहेछ | साँझ ६-७ बजे भेला हुने अस्कलका साथीहरुको आग्रह .......८ बजे सम्म पुग्न सकिन्छ कि भन्ने आशले गाडीलाई गुड्न भनें | दशकौं पछी मेरो आगमनलाई बहाना बनाई भेटघाट गर्ने कार्यक्रममा आफै न पुगिएला भन्ने डरले गाडीको अघिल्लो सिट काँपेको थियो | अब भने मनकामना माईलाई सम्झे ........माई .....बाटोमा केही समस्या न होस् .. आठ बजे सम्म काठमाडौ पुग्न सकोस .....| घरीघरी घडी हेर्दै नाग ढुंगाको उकालो चढियो | नागढुंगा पुग्न ४ किमी बाकि हुँदा गाडी घ्याच्च रोकियो उकालोमा | आगे एउटा ट्रक पल्तिएकोले बाटो जाम .................कहिले खुल्ने ठेगान छैन .............|

क्रमश:

 

Last edited: 27-Jan-14 02:33 PM
Last edited: 27-Jan-14 02:34 PM

 
Posted on 01-27-14 1:39 PM     [Snapshot: 2854]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<“भाकल छ “ पुजारीले सोध्यो | छैन , हेल्लो भन्न आएको मात्र भनें | पूजारी झन्डै बेहोस........|>>>

- हाहाहाहाहा ....हाँस्दा हाँस्दा मरे .....

<<साहुनीको पैसा तिर्न गइयो, बिना मेनु भात खाएको अपराध ............. ब्याज समेत असुल उपर गर्र्यो साहुनीले – मासु भात एक जनाको रु . पाँच सय ...................|>>

----- ५ सय ???? आमामामा .... हैन कति चोटी थप्नु भो ठुल्दाई.... २-३ बोरा चामल र ३-४ वटा कुखुरा नै सकिया थ्यो कि क्या हो भोक को सुर मा........

ल दाइ अर्को भाग कुर्दै छु है..... रमाइलो गयो यो भाग ... हल्का तेही <<मासु भात , टिमुर हाल्य गोलभेडाको अचार अनि रातो मुलाको पिस पिस.....>> खाएपछि जस्तै मेरो नि भोक कम भो.......

- थाहा छैन (थाने)
 
Posted on 01-29-14 11:25 AM     [Snapshot: 3034]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रमाइलो गइ रा छ ठुल्दाई, अझै पनि जाओस.....
भने पछि पहिले दर , मूल्य सोद्धा पनि सोझो उत्तर न आउने भयेछ नया नेपाल मा ......बम्बैया भैया हरु ले सिकायेछन कि क्या हो यिनी हरु लाइ ब्यापार गर्न .....
एक पटक मा बम्बै गएको बेला जुहू बीच मा औटा मधिशे ले चना चटपटे चाख भन्यो, खान्न भन्दा पनि जबर्जस्ति खा भन्यो अनि २-३ गेडा खाइयो, त्यस पछि त के चाहियो, मधिसे ले त जसरि पनि किन्नु पर्छ भनेर हैरान पार्यो, अनि १० रुपैया को नकिनी सुखै पाइयन......

यो धागो पुरियेला अनि मैले माथि उकासौला भनेर केहि नलेखेको....

सान दाइ लाइ भनेर , माथि नै रहने व्यवस्था गर्नु पर्यो....
 
Posted on 01-29-14 10:24 PM     [Snapshot: 3174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाईको नेपाल सन्स्करद भाग ७ त हिजै पढेको हो तर बल्ल लेख्ने मेलोमेसो मिल्यो / भगवान को दर्सन गर्न पनि नाफा र घाटा हेर्ने अनि घुस खुवाउने प्रथा देखेर मनै अमिलो भयो / जय होस् नेपाल र नेपालीको /

सान दाइलाई धेरै धेरै धन्यवाद ठुल्दाईको कथा माथि नै भैरहने गरिदिनु भएकोमा / दुइ हात जोडेर जदौ /


 
Posted on 02-02-14 9:37 AM     [Snapshot: 3513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ ठुल्दाइको नेपाल यात्राको अन्तिम भाग पनि पढियो ...
गज्जब रमाइलो रहेछ ...

हुन अहिले श्रीमती साथमा छिन् तर मलाई एउटा गीत याद आयो ..
यात्रा रहेछ जिन्दगी एक्लै म हिडिदिन्छु ...
 
Posted on 02-03-14 11:13 AM     [Snapshot: 3641]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

नयाँ नेपालको यात्रा भाग ८

बोका , धोका र पोका

भाग सातमा मनकामना दर्शनको बयान गर्दा गर्दै केही रमाइला क्षणहरु लिपिबद्ध गर्न बिर्सेछु | केवलकारको लागि लाम लाग्दै गर्दा ढुवानी गर्ने केवलकारहरु पनि आउ जाउ गर्दै गरेको दृश्य देखिन्छ नै | प्रायमा बलि चढाउने अभिप्रायले “बोका” लाई त्यो चिसोमा खुल्ला कारमा सयर गराउने रहेछ , प्रति बोका रु २५० मा |  धर्म गर्ने नाउँमा पालो मिचेर , बेलाइनमा बसेर पाप कमाउनेहरु संग जुझदा अरुकुरामा ध्यान नै गएन |

फर्किने क्रममा केवल कारको लाइन छोटो नै थियो , ३०-४० जनाको | लाइन केवलकार छाड्ने भवनमा पुग्दा एक जना धर्मात्मा एउटा बोकालाई घिच्याई घिच्याई ल्याई राख्या देखें | घांटीमा केवलकारको टिकेटको ट्याग झुण्डीएको | बल्ल झाल्याँस भएँ |

“आज मन्दिर वरिपरी अलिकति पनि रगतको निशान भेटिएन नि है ?” मैले गृहमन्त्री संग आशंका कन्फर्म गर्न सोधें |

“आज एकादशी नि , मसान्त र एकादशी दुवै परेकोले आज शुक्रबार भए नि भीड भएको |” गृहमन्त्रीको प्रष्टीकरण पछी मलाई त्यो बोका घिच्याउने भाइ देखी दया लाग्यो |

“बोका ..... पनि धोका भए छ “ तलबाट माथि ल्याउँदा २५०, फर्किंदा २५० नि चेट... भाकल नि फाकल फुकल भए छ | लास्तई धोका पाए छ , क्यालेन्डर न हेरी आए छ | आदर्शको कुरा गर्दा बलि दिनु राम्रो हैन, त्यो नि निरही तरिकाले | आफ्नो इच्छा पूर्तिको लागि मान्छेको त अनेक रुपमा बलि  दिने समाजमा जनावरको कुरा गर्नु अलिकति कसो कसो लाग्छ नै | इमानको कुरा हाम्रो पुर्खाले कहिलेइ बलि दिएनन | परम्परा धान्न पनि अण्डा चढाउने गर्छन |

यो त भयो बोका र धोकाको कथा | अब पोकाको कुरा गरम |  केही छिमेकीको सरसामानको “पोका “ बोकेर आएका थियम | केही पोका बोकेर फर्किनु थियो | त्यसो त मेरो आफ्नो सिद्धान्त कसैलाई पनि सामानको पोको न दिने र कसैको पनि न लिने थियो तर पनि समाजमा बसे पछी त्यो सिद्धान्तमा अडिग भैरहन नसकिने रहेछ | छिमेकीको आग्रह , साथी भाइको साहयोगलाई पोकामा रुपान्तरण गर्ने पर्दो रहेछ | पहिलो नेपाल यात्राको क्रममा पनि एक जना छिमेकीको पोकाको साइजमा असहमति जनाउँदाको असर अझै भोग्दै छु |

फर्किने क्रममा आधा सुटकेस खालि नै हुने हुँदा कुनै खास अप्ठेरो नहुने | जजसको पोका लाने भाकल थियो, सबैलाई खबर गर्र्यौं | हिड्ने भन्दा २ दिन अघि सम्म पोका रेडी हुनु पर्छ , पुर्र्याई दिनुस वा लिन आउछु भनेर खबर गरें | पायक परे अनुसार लिने वा लिन जाने काम भयो , बिना झन्झट | लिएर आउने कुरा मात्र थिएन , यता पुगे पछी फेरी अर्को समस्या छदै छ |

फर्किन करिब एक हफ्ता बाकी थियो | निम्तोको ताँती लाग्न  थाल्यो | १-२ हफ्ता अघि देखि “बुक” गरेको ठाउँमा बाहेक हतारे निम्तोलाई धन्यबाद मै समापन गरि दिएँ | कोइ त एक दम रिसाए , कोइ दुइ दम | हरदम रिसाए पनि केही छैन, “मन” ले हफ्तौं अघि देखि निम्ता दिने सहृदयीको  गाँसलाई धोका दिनु हुन्न , मेरो मान्यता हो, मेरो वसुल हो | एउटा निम्ता बडा मुश्किलका साथ मिलाइएको थियो . शनिबार लन्चको | बिहानै गृहमन्त्रीको अन्यत्र भ्रमण कार्यक्रमलाई १२ बजे छोट्याई लन्चमा पुग्नु थियो | निम्ता दिने महानुभाव मेरो लागि आदरणीय नै थियो| जिन्दगीमा यावत दुख खाएर परिवार हुर्काएकी एकल महिला | असमयमै पति गुमाएकी| दुखको बेला सक्दो सहयोग गरेकोले पनि होला उहाँले बडा आदरपूर्बक निम्ता दिनु भएको | १२ बजे त कहाँ पुग्न सक्नु, नेपालमा नेपाली टाइम | १ बजे पुगियो, भोकले चूर भैसकेको बेलाँ मिठा मिठा परिकार | पहिला खाना खाउँ अनि गफ गरौला भन्ने सहमति अनुसार लन्च खाइयो | बडा मिठो |

खाना खाइ केही बेर गफिन थाल्यौं, समय पाबन्दी थियो नै ३ बजे चिया खाने निम्ता थियो , नगई नहुने | ३ त त्यै बज्न लागि सक्याथ्यो | नेपाली टाइमको ग्याप राखी अब हिड्नु पर्ला भनी कुराकानी टुंग्याएको के थियौं  ‘ एक छिन है “ भन्दै उहाँ माथि उक्लिनु भयो र एक पोका हातमा झुन्ड्याई आउनु भयो |

“ मेरो बहिनी उतै छिन , केही सामान मगाएको छ , लिएर जानुस है “ – पोकोको रहस्य खुल्यो | लन्चको मूल्य असुल्यो | म अक्क न बक्क | पुलुक्क गृहमन्त्रीको अनुहार हेरें | इशारा मै निराशा पोखे |  नाइँ भनुं, नून चर्को भात खाइ सकें |

कहाँ पुर्र्याई दिनु पर्ने हो ? धेरै टाढा त ... अलि गाह्रो नै हुन्छ , मैले आफ्नो असतुष्टि जाहेर गरि हालें |

“वाशिंगटन तिर बस्छन बहिनी, आफै लिन आउनु हुन्छ , मैले खबर गरि सकें” | माने बा मानें... सामान लिएर जाने मान्छे म , न लिएर पनि जान सक्छु | कति ढुक्क मान्छे......... लिन जानेलाइ खबर गरि सकेका रैछन |

त्येही हो पोका को कहानी ... | एउटा हुन्छ नि  ब्यबहार र तरिका भनेको |

“ अलिकति सामान बहिनीलाई पठाउनु थियो , अप्ठेरो  छैन भने लिएर गैदिनुस “ भन्ने आग्राह हो भने पोकाको साइज अनुसार हुन्छ हुँदैन भन्नु हुन्थ्यो | सिधै भात खुवाएर “पोका” लिएर जा भन्नु सोहरै आना  धोका हो | सन्तान थरिथरिका भन्छन हो रहेछ | कींकर्तब्यबिमूढ़ म बिचरा भातको बदला २ किलोको पोका बोकेर लुरुलुरु ओर्लें ५ वटा रेलिंग नभएको भर्र्यांग ....................

 

क्रमश: 


 
Posted on 02-03-14 1:23 PM     [Snapshot: 3662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ ठुल्दाई यो नि पढियो.....

हैन शिर्षक चैं दरो दरो राख्नु हुन्छ ठुल्दाई .....

पहिले चै मिठ्ठो खाएर पछि नुन चर्को भात रे हेर न ......

यो पोकाको महिमा सुनाएर सुनाइसक्नु छैन...... यहाँ बाट भिटामिनका सिसि देखि परफ्युमको बोत्तल सम्म र अम्रिकन मोजा देखि ल्यापटप, आइफोन , आइप्याड सम्मको भारि बोकिन्छ ..... लगिन्छ .... अनि वहाँ पुगेसि .. जसजसलाइ समान लागेको तेहितेही मान्छेले फेरी फर्कने बेलाँ फेरी गुन्द्रुक देखि हस्तकलाका समान अनि सिसिको अचार देखि नक्कली ब्रान्डेड समान सम्म आफ्नो अगाडी ल्याएर थाचारिदिन्छ्न..... अनि आँत सिरिङ्ग हुन्छ.....

ल दाइ अर्को भाग नि पढम ....

- थाहा छैन
 
Posted on 02-05-14 10:48 AM     [Snapshot: 3959]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ ठुल्दाई यो नि पढियो.....

ठुल्दाई लाइ त कम से कम दाल भात खुवायेछन......आफु त भोको पेट मै भरिया बनियो नि....
म आउने बेला मा साइ बाबा को बिभुत भनेर एक जना ले हालिदियेछन .....अब भगवान् को नाम भए पछि के नलिनु भनेर ल्यायियो . येहा देश छिर्ने ठाउ मा खैरे ले के हो यो, ल्याब मा लगेर टेस्ट गर्नु पर्छ भन्छ बा .....कम्ता दुख पाएको होइन मैले.....

अब त जादा र आउदा संख र डंका नपिटने कसम नै खाएको छु.....


ल दाइ अर्को भाग नि पढम ....

 
Posted on 02-06-14 2:48 PM     [Snapshot: 4106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दामी छ.
 
Posted on 02-06-14 7:24 PM     [Snapshot: 4145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बोका र धोका भन्दा पनि पोकाको कहानी पो एकदमै मान्न पर्यो ठुल्दाई / पोकाको कहानीले हामी प्रबासी नेपालीहरुलाई सायद कहिलै छोडदैन होला /
 
Posted on 02-07-14 8:43 PM     [Snapshot: 4313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नुनले गाल्छ भने उखानको पुस्टी आठौ भागले गरे जस्तो लाग्यो |

Last edited: 09-Feb-14 07:27 AM

 
Posted on 02-14-14 8:57 AM     [Snapshot: 5127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाइको घर तिर अजै power आको छैन जस्तो छ
 
Posted on 02-19-14 8:43 AM     [Snapshot: 5424]     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?         Liked by
 

नयाँ नेपालको यात्रा अन्तिम भाग

साझा भेटघाट

नेपाल भ्रमणको एउटा उल्लेख्य पाटो साझाका मित्रहरु संग भेटघाट पनि रह्यो | साझा च्याटमा चर्चित मर्सिनोभाको पहलमा साझामा सक्रिय केही सदस्यहरु संग भेटघाट एवं खाजा कार्यक्रम गरिएको थियो | त्यसो त मर्सी बहिनी आफ्नै टोलको  भए पनि भेटघाट कहिलेइ भएको थिएन | दिनको दुइ बजे जुद्ध शालिक निर उपस्थित हुने उर्दी जारी भएको थियो मर्सीको |

“को को आउंदै छन् त ? “ मैले फोनमा सोध्दा , त्यो त गोप्य हो भन्दै कौतुहलता बढाई दिएकी थिइन् | दुइ  बजे ठ्याकै जुद्ध शमशेरको शालिक नियाल्न पुगेको थिएँ | केशब राज पिंडालीको शालिकहरुको सम्मेलन याद आयो | एक दिन सबै शालिकहरुको भेला सैनिक मंचमा बोलाइएको थियो रे | सबै पुगे, जंगेले हाजिर लिंदा जुद्धे गायब | चन्द्र शमशेरलाई बुझ्न भने छन् जंगेले | पछी थाहा भो , जुद्धे त घोडा नभएको शालिक भएर हिडेर आउन न मानेको रहेछ|

त्यै ठिङ्ग उभिएको जुद्ध शालिक निर उभिंदै यता उता अस्त ब्यस्त ट्राफिक र मानव सागर हेर्दै थिएँ – मर्सीले हात हल्लाउदै  क्रिस्टल होटल तलआउन इशारा गरी| पहिलो पल्टको भेट थियो तै पनि बर्षौं देखिको चिनजान र नाता जस्तो आत्मियता थियो |

“रिडललाइ फोन लाउछु , २ बजे आइपुग्छु भन्दै थियो “ मर्सीले फोन लगाई | रिडल बिचरा बिशाल बजार निर को पेटीमा हामीलाई खोज्दै रहेछ| भोक पनि लाग्ने लाग्ने बेला भैसक्याथ्यो | साढे ९ मै भात बजाएर घरबाट निस्केको | आवारा र इक्लेतिक दुइजना नि आउदै छन् , अहिले हामी जाँदै गरम भन्दै पिपलबोट अगाडी को बडेमानको टावरको सबैभन्दा माथिल्लो तल्लामा लागिन् | यो आठ दस वर्षमा भएको काठमाडौको भौतिक बिकासको एउटा नमूनाहि टावरहरु | बत्ति नभएको देशमा १०-१५ तल्ले बिल्डिंगहरु ठडिनु बिकास भन्दा बिनास हुनसक्दछ | सोच्ने कसले ??

केही भन्यो कि तिमीहरु  अमेरिकामा बसेर नेपालको बारे मा धेरै न खोक भन्ने चेतावनी पाइन्छ | म:म: चिया कफी फ्रेन्च फ्राई आदि इत्यादि मगाई खाइयो | खाने त बहाना मात्र थियो | साझाका साथीहरुको १२ सत्ताइस  कुरा जो गर्नु थियो | एक डेढ घण्टा पछि  इक्लेतिक र आवारा दुवै आए |  अंग्रेजीमा राम्रा कथा लेख्ने इक्लेतिक, कथा भन्दा धेरै शालीन र कम बोल्ने रहेछ | त्यसो त कुरा काट्ने बाहेक अन्य कुरामा सबै जना लास्तई भलादमी थिए नै | शान दाइ देखि भान दाई सम्म को कुरा काटियो, लहरे देखि पहरे सम्मको समालोचना गरियो | सवा दुइ बजे भेला भएका हामी निस्कदा झन्डै ६ बज्दै थियो | चार घण्टा त्यो अनमोल घडी .. साझाले जुटाई दिएकोमामा शान दाई लाइ धन्यबाद |

मलाई पुतली सडक जानु थियो, इक्लेतिकलाइ भक्तपुर तिर | संगै गफ गर्दै नेपाल हावा सेवा निगमको अगाडी माइक्रो  र टेम्पूको रणभूमिमा पुग्यौं | कुन टेम्पू पुतली सडक भएर  जान्छ भन्ने सोध्ने समेत अवसर मिलेन , दाइ त्यै टेम्पू मा झुन्दिनुस – इक्लेतिकले सल्लाह दिए | म माइक्रो मा जान्छु  भन्दै हुइकिदै गरेको माइक्रोमा झुण्डिए |  

अमेरिकामा अध्ययन गरी , काम गरी , स्वदेश फर्केर काम  भन्दा बढी हल्ला गर्ने जमातलाई साझाका मित्रहरुले हल्ला नगरिकन देश सेवा गर्न सकिन्छ भनेर देखाई दिएका छन् | आशाका किरणहरु  न देखिएको हैन , धमिलो छ त्यति मात्र हो |

उपसंहार

समष्टिमा नेपाल भ्रमण मिश्रित रह्यो | घोषित ३ बूंदे काममा २ काम बनेन | अनेक झन्झट पार गरी एम आर पी बनाउने बाहेक मेरो व्यक्तिगत अड्डाको काम बनेन | दोष कसैलाई दिन्न | सिस्टम भित्रको एउटा मान्छे आफै पनि भएकोले धेर्थोक दोष आफ्नै मानेछु | रेमिट्यान्सले चलेको अर्थ तन्त्र निकै फस्टाएको देखें | बेकारको मान्छे पनि कार चढेको देखें| साथी भाइले प्रगति गरे | संगै बिना चप्पल पांग्रा गुडाउने साथी चार पांग्रे हुन्डाई गुडाउन्छन् | इलाहाबादी साथीहरुले  आयोजना गरेको पार्टीमा ६५ वटा हात्ती गनेर भुक्तानी देइएको पनि देखें ( १० जना को भेलामा ) |  पहिलो पल्ट डबल ब्ल्याक लेबल भन्ने मदिरा देखें र अलिकति चाखें| हामी अम्रिका बस्नेहरु पो गरिब देखें | १० सेन्ट सस्तो ग्यास स्टेशन खोज्दै हाल्ने हामी, ६५ हजार अर्थात ६५० डलर त्यो पनि दुइ जनाली मात्र बेहोरे |

जिन्दगी कसको सफल भन्ने कसको असफल, अलमल मा छु | जिन्दगी हो, आफ्नो आफ्नो हिस्सा को जिन्दगी जिउनै पर्छ , आफ्नो आफ्नो किस्सा सिउनै पर्छ |

परदेशमा न पाइने आफन्तको माया, आत्मीयजनको साथ धेरै पाएँ | ग्वारामरी. लाखा मरी, सेल मालपुवा ...........| महेन्द्र बौचाको म:म:, झोछेंको छोयला, सपू:म्हिचा, जिब्रो फ्राई , टाउको फ्राई , आलु तामा , चो ही , पांग्रा फ्राई ........ यिनीहरुको स्वाद म परदेशमा कहाँ खोजुं??  दुइ टन धुलो खानु परे पनि नेपाल जाउँ जाउँ लागि रहन्छ |

{ टर्किस इअर र इस्तानबुल हवाई अड्डा बारे अरुले पनि लेखि सकेका छन् , पहिलो भागमा नि लेखेको थिएँ , जाँदा खेर भन्दा आउँदाको अनुभव अझ तितो रह्यो, बेलिबिस्तार लाउन मन लागेंन }

बाकी अर्को भ्रमणमा ........ अस्तु !!! 


 
Posted on 02-19-14 9:59 AM     [Snapshot: 5455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाई,

हजुरको यो अन्तिम भाग मलाई सबै भन्दा घतलाग्यो .... केशवराज पिंडालीको त्यो कथा सुनेको थिईन रमाइलो लाग्यो.... अंतर्जालमा खोजेको केशवराज पिंडाली नै कहीं भेटिन ....

Eclectic को लेखाईको त म प्रसंसक नै हुँ, मान्छे कस्ता छन् भन्ने लाग्थ्यो , त्यो नि बुझियो हजुरको कृपा ले ....

साझाका साथिहरु र अन्य जो देश फर्केर सेवारत हुनुहुन्छ , मेरो मन अनि शिर नुहाएर धन्यावाद . कुनै दिन म पनि त्यो कतारमा उभिनसकूँ भन्ने प्रगाढ इच्छा छ ..... हेरुँ समयले कहाँ पुराउंछ...

अनि ठुल्दाई सहि भन्स्यो, नेपाल गएर फर्केपछि म त यहाँ गरिब रहेछु कन्जुस रहेछु जस्तो भान भएको थ्यो मलाइ पनि .... पैसा त खोला जस्तो बगाउँदा रहेछन .... कहाँ बाट आयो यत्रो पैसा .... अचम्ममा परें...

हजुरको संस्मरणले फेरी झझल्को ताजा भो नेपालको , कता कता नेपाल दुख्यो मुटुको कुनो मा .... कता कता म भित्र केहि अपुग केहि कहीं छोडिएको छुटेको जस्तो लागिरह्यो .....

साँची नै << जिन्दगी कसको सफल भन्ने कसको असफल, अलमल मा छु | जिन्दगी हो, आफ्नो आफ्नो हिस्सा को जिन्दगी जिउनै पर्छ , आफ्नो आफ्नो किस्सा सिउनै पर्छ |>>

मलाई पनि << दुइ टन धुलो खानु परे पनि नेपाल जाउँ जाउँ लागि रहन्छ |>>

- थाहा छैन
 
Posted on 02-19-14 4:31 PM     [Snapshot: 5558]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

साष्टाङ्ग दण्डवत् ठुल्दाइ ! सप्भन्दा पैला त ।

साझा छिर्ने सप्पै त नभनुम् तर प्राय: (म लगायत) को नेपाल आवत-जावत भा'कै हुंदो हो तर खोइ त जांगर, दाईको जत्तिकै !

'नयाँ नेपालको यात्रा' पैले देखी नै पच्छ्याइ रहेको हो, क्लाइमेक्स् पछी नै केइ लेखुम्ला भनेर मात्रै । उसो त हजार कुराहरु हर दिन मडारीरहेकै हुन्थे मगजमा, तेस्माथी दाइले जसरी समापन गर्नुभो नियात्राको - तेल्ले त भुइंचालै ल्याइदियो । कुनै एक वाक्यांश वा हरफलाई किटेर टिप्पणी दिन गार्हो भो दाई किनकी शिरदेखी पुछार सम्मकै सप्पै घटना र विम्बहरु घतलाग्दाछन् । बरु एउटा भोगाइ नै बांड्छु, मन्लाई संधै चिमोटी रहने :-

दशक अगाडी जस्तोको कुरो हो, टि यु मा स्नातकोत्तर पढ्दै गर्दाको । कमिजको टांक नलाउने विध्यार्थी भनेर चिनिन्थें म, धेरैलाई नाम था'थेन - धेरैसँग चिनापर्ची 'नी भएन; म क्लासमा भन्दा क्यान्टिन र पुस्तकालय तिरै बेसी हुन्थें ! बदमाश त खै आफुले आफैलाई कसरी भन्नु, तर तेस्कै पर्यायवाची जस्तै केही थिएं म । के-के गर्दा एकजना सहपाठीसँग घनिष्टता बढ्यो क्यान्टिनमै, उन्लाई क्लास भ्याउनासाथ् अफिस दगुर्नुपर्ने - मलाई तरकारी शपिङ गरेर पकाउन अल्छि लाग्ने !

अध्बैंसे थिए उनी; साह्रै सोझा, मिलनसार र इमान्दार - पछी था'हुंदै गो । एकदिन 'डिनर' खान बोलाए कोठामा, पुरानो बानेश्वरको भित्रपट्टी । जसो-तसो पुगें, जसो-तसो खाएं; पाहुना आउंदा सकी-नसकी, मिठो-चोखो पश्किने चलनको म घोर बिरोधी थिएं, छु ।

धर्म, समाज र तात्कालिन केही गरम कुराका बारेमा कुरा भए । कुरा गर्दै जांदा भाउजुले पनि खुलेरै कुरा गर्न थालिन् तर अंझै सम्म पनि मलाई एदा-कदा ऐठन पार्ने प्रश्न थियो, "भन्नुस् त बाबु, हिम्मत हुनेले घुस खान्छन् कि खान्नन् ?"

निम्ता र भ्याए अनुसार, पछी पनि गएं म ति मित्रकोमा । भाउजु तर जैले नि उस्तै; पोइको आम्दानी प्रती रुष्ट !

बाहिर मलाई छोड्न आउंदा एक दिन उन्ले भनेको वाक्य ऐले पनि म झल्झली सम्झिन्छु, "जिन्दगीमा केही गर्ने दृढ संकल्प छ भने विहे नगर, मान्छे कम्जोर हुंदो रैछ" !
तर आफ्नो मोटो बुद्दी त्यो बेला, आफ्नो त दृढ संकल्प नै काइंलीलाई विहे गर्ने थियो !

पछी म एता आएं, सम्बन्ध पनि धमिलिदै गयो - तर सामाजीक संजालमा हाइ/हेलो हुन्थ्यो कैले-काईं । एक दिन लामै ईमेल लेखे उन्ले, सञ्चयकोष निकालेर किनिदिएको मोटरसाइकल, छोरोले ठोकेछ कसैलाई, ५० हजारमा मिलापत्र हुन सक्छ रे । मैले घर-सल्लाह गरेरै सहयोग गरें, फोनमा भनेको पनि हुं 'फिर्ता लिन्न है, धेरै भात खा'छु तपाईंकोमा, तेसैमा कट्टी भो' ।

तर उन्को ब्र्म्हले के सोच्यो कुन्नी, रामजाने ! १ महिना नपुग्दै मेरो घरमा ५० हजार पठाइदिएछन् ।

धेरै भो, सम्पर्कमा छैनन् उनी, 'राम्रै' गर्दै होलान शायद, उनीसँग भएको अन्तिम कुराकानीको एउटा अंश चाईं एस्तो थियो; ".. केरे ? हैन, कल्ले भनेको ? धरोधर्म ७ लाखमै पास् गर्द्या हो मैले त । .. सबैतिर पुर्‍याउनु पर्छ भाई, कां को करोड राख्न पाउनु यार हामी एक्लैले ?"


(स्यानदाइलाई अनुरोध छ; संभव भए, २-४ दिनकोलागी मात्रै भए पनि, ठुल्दाइको यो यात्रालाई माथितिरै ठेल्न मिल्ला कि ?)

 
Posted on 02-19-14 6:28 PM     [Snapshot: 5606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नमस्ते ठुल्दाई,

पढ्दै जाँदा तपाईंको यात्रामा सँग-सँगै घुमे जस्तो लाग्यो। धेरै धेरै धन्यवाद तपाईंलाई।
अन्तिम भागको सन्देश धेरै नै घत पर्‍यो। बिशेषगरी :

"आशाका किरणहरु न देखिएको हैन , धमिलो छ त्यति मात्र हो |"




 
Posted on 02-20-14 1:03 PM     [Snapshot: 5819]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ठुल्दाई को यो भाग त आउने बित्तिकै पढेको थिए, तर सोच्दा सोच्दै समय बिति गयो....

"बेकारको मान्छे पनि कार चढेको देखें| साथी भाइले प्रगति गरे | संगै बिना चप्पल पांग्रा गुडाउने साथी चार पांग्रे हुन्डाई गुडाउन्छन् ........... हामी अम्रिका बस्नेहरु पो गरिब देखें "

म पनि सन्जोग बस् २००९ मा नेपाल गएको थिए. घर मा पुरानो साइकल मात्र थियो, मज्जाले चढेर हिडियो . एक जना छिमेकी दाइ (जग्गा को कारोबार गर्ने) चप्पल बाट चार पाङ्गे हुन्डाई गुडाउने रहेछन.... येसो चौतारी मा बसी बियालो के गरिएको थियो, आफ्नो छोरा लाइ बोलाएर " हेर छोरा, धेरै पढेर के हुन्छा र ? यी हामि नपढे पनि गाडी चढेका छौ , पैसा कमाएका छौ, बरु धेरै पढ्ने हरु साइकल चलौछन " भन्छन बा.....

"कुण्ड कुण्ड पानि मुण्ड मुण्ड बुद्धि " भन्ने सम्झेर चुप लागेर बस्नु पर्यो.......

साएद ठुल्दाई ले भने जस्तो " हामी अम्रिका बस्नेहरु पो गरिब देखें" भएर होला Nepal बाट आउने हरु ले येहा बस्ने लाइ होमलेस भनेको......

ठुल्दाई को नया पुस्तक को प्रतिक्ष्या मा ....




 
Posted on 02-20-14 6:21 PM     [Snapshot: 6065]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आफुसँग लगेको कम्पुटर छोडेर आउन सकिएन, आफन्तलाई परलमोलमा बेचेर आएको थिए: यो भाग पढे पछी केही राहत मिलेको छ् | 
Last edited: 23-Feb-14 02:36 PM

 
Posted on 02-24-14 8:31 AM     [Snapshot: 6678]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नोभेम्बर र डिसेम्बर महिना बीच एक महिने नेपाल बसाइको संस्मरण भनुं या गन्थनलाई धैर्य धारण गरी पढी दिनु भएकोमा सम्पूर्ण सहृदयीहरुमा आभार प्रकट गर्न चाहन्छु | आइ फोन खोज्ने देखि आइप्याडको आश गर्ने लोभी आत्माहरु नभेटीएका हैनन् | धेरै कुराहरु लेख्ने क्रममा छुटेका छन् | फेरी जाँगर चल्यो भने कथाको रुपमा फेरी आउला नै |

यति लामो यात्रा गन्थनलाइ सुरु देखि पछ्याई रहनु हुने तथा टिप्पणी गर्नु हुने - थाने भाइ , नियो , बाघ दाइ , snurp, rastrafariya, कर्ने भाइ , १२ मासे दाइ , keyser soze, wtf, TMS, S_USA, Bitter _Truth, भक्ते दाइ , magorkhe1, daum , काले तथा अन्य सबैमा पुन: आभार |
 
Posted on 02-24-14 10:50 AM     [Snapshot: 6710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राहुलदाइलाइ एउटा सानो अनुरोध थियो! येति छोटो नेपाल भ्रमणलाइ त एस्तो ढङ्गले प्रस्तुत गर्नुभयो! हामीभन्दा धेरै पाका नभएपनि, जीवनमा हामीभन्दा धेरै उतारचढाव, अनि खासमा त, नेपालकै धेरैचोटी बदलिएको रूपलाई हजुरले विभिन्न अन्तरालमा देख्नुभएकोले, त्यो अनुभव व्यतित गर्नुभए सारै सराहनीय हुन्थियो जस्तो लाग्छ! मूलरूपमा भन्नु पर्दा आज भन्दा ३०-३५ वर्ष अगाडिको काठमाडौँ अथवा नेपालको रुप, अनि तेतिबेलाको जिवन्सैलिको बारेमा पढ्न पाए सारै रमाइलो मानि धेरैले पढ्थे जस्तो लाग्छहै मलाई!

मैले पनि मेरो छोटोमिठो भ्रमणलाइ केहि शब्दमा कोर्ने सोच बनाएको थिएँ तर हजुरको लेख पढेपछि आफुले अफ़्फ़ैलै ब्यङ्ग मा उडाएकोजस्तो पो हुने जस्तो लागेर मेरो त्यो सोच्ने गायब भयो! साझाकै ३-४ जना मानिसहरु भेट्दा अनौठो अनि मिठो लागेको थियो! अब छिट्टै हजुरको प्रचलित मो मो खाने धोकोपुराहोस भन्ने आशा छ!
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
बिहे गर्न अगाडी प्रियांकाले आफ्ना शुभेक्छुकहरुलाई यसरी आफ्नो पोल्ने धुंवादार शरीर (smoking hot body) देखाईन
How to Apply for International Drivers Permit in Nepal?
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
उमेर ढाटे पछि Nepal idol बाट रीमा बिस्वोकर्मा out
is it good to marry girl who are already in US or go back to Nepal and do arrange marriage?
Presidential rights to assassination rights?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters