Posted by: Rahuldai February 19, 2014
नयाँ नेपालको यात्रा
Login in to Rate this Post:     5       ?         Liked by

नयाँ नेपालको यात्रा अन्तिम भाग

साझा भेटघाट

नेपाल भ्रमणको एउटा उल्लेख्य पाटो साझाका मित्रहरु संग भेटघाट पनि रह्यो | साझा च्याटमा चर्चित मर्सिनोभाको पहलमा साझामा सक्रिय केही सदस्यहरु संग भेटघाट एवं खाजा कार्यक्रम गरिएको थियो | त्यसो त मर्सी बहिनी आफ्नै टोलको  भए पनि भेटघाट कहिलेइ भएको थिएन | दिनको दुइ बजे जुद्ध शालिक निर उपस्थित हुने उर्दी जारी भएको थियो मर्सीको |

“को को आउंदै छन् त ? “ मैले फोनमा सोध्दा , त्यो त गोप्य हो भन्दै कौतुहलता बढाई दिएकी थिइन् | दुइ  बजे ठ्याकै जुद्ध शमशेरको शालिक नियाल्न पुगेको थिएँ | केशब राज पिंडालीको शालिकहरुको सम्मेलन याद आयो | एक दिन सबै शालिकहरुको भेला सैनिक मंचमा बोलाइएको थियो रे | सबै पुगे, जंगेले हाजिर लिंदा जुद्धे गायब | चन्द्र शमशेरलाई बुझ्न भने छन् जंगेले | पछी थाहा भो , जुद्धे त घोडा नभएको शालिक भएर हिडेर आउन न मानेको रहेछ|

त्यै ठिङ्ग उभिएको जुद्ध शालिक निर उभिंदै यता उता अस्त ब्यस्त ट्राफिक र मानव सागर हेर्दै थिएँ – मर्सीले हात हल्लाउदै  क्रिस्टल होटल तलआउन इशारा गरी| पहिलो पल्टको भेट थियो तै पनि बर्षौं देखिको चिनजान र नाता जस्तो आत्मियता थियो |

“रिडललाइ फोन लाउछु , २ बजे आइपुग्छु भन्दै थियो “ मर्सीले फोन लगाई | रिडल बिचरा बिशाल बजार निर को पेटीमा हामीलाई खोज्दै रहेछ| भोक पनि लाग्ने लाग्ने बेला भैसक्याथ्यो | साढे ९ मै भात बजाएर घरबाट निस्केको | आवारा र इक्लेतिक दुइजना नि आउदै छन् , अहिले हामी जाँदै गरम भन्दै पिपलबोट अगाडी को बडेमानको टावरको सबैभन्दा माथिल्लो तल्लामा लागिन् | यो आठ दस वर्षमा भएको काठमाडौको भौतिक बिकासको एउटा नमूनाहि टावरहरु | बत्ति नभएको देशमा १०-१५ तल्ले बिल्डिंगहरु ठडिनु बिकास भन्दा बिनास हुनसक्दछ | सोच्ने कसले ??

केही भन्यो कि तिमीहरु  अमेरिकामा बसेर नेपालको बारे मा धेरै न खोक भन्ने चेतावनी पाइन्छ | म:म: चिया कफी फ्रेन्च फ्राई आदि इत्यादि मगाई खाइयो | खाने त बहाना मात्र थियो | साझाका साथीहरुको १२ सत्ताइस  कुरा जो गर्नु थियो | एक डेढ घण्टा पछि  इक्लेतिक र आवारा दुवै आए |  अंग्रेजीमा राम्रा कथा लेख्ने इक्लेतिक, कथा भन्दा धेरै शालीन र कम बोल्ने रहेछ | त्यसो त कुरा काट्ने बाहेक अन्य कुरामा सबै जना लास्तई भलादमी थिए नै | शान दाइ देखि भान दाई सम्म को कुरा काटियो, लहरे देखि पहरे सम्मको समालोचना गरियो | सवा दुइ बजे भेला भएका हामी निस्कदा झन्डै ६ बज्दै थियो | चार घण्टा त्यो अनमोल घडी .. साझाले जुटाई दिएकोमामा शान दाई लाइ धन्यबाद |

मलाई पुतली सडक जानु थियो, इक्लेतिकलाइ भक्तपुर तिर | संगै गफ गर्दै नेपाल हावा सेवा निगमको अगाडी माइक्रो  र टेम्पूको रणभूमिमा पुग्यौं | कुन टेम्पू पुतली सडक भएर  जान्छ भन्ने सोध्ने समेत अवसर मिलेन , दाइ त्यै टेम्पू मा झुन्दिनुस – इक्लेतिकले सल्लाह दिए | म माइक्रो मा जान्छु  भन्दै हुइकिदै गरेको माइक्रोमा झुण्डिए |  

अमेरिकामा अध्ययन गरी , काम गरी , स्वदेश फर्केर काम  भन्दा बढी हल्ला गर्ने जमातलाई साझाका मित्रहरुले हल्ला नगरिकन देश सेवा गर्न सकिन्छ भनेर देखाई दिएका छन् | आशाका किरणहरु  न देखिएको हैन , धमिलो छ त्यति मात्र हो |

उपसंहार

समष्टिमा नेपाल भ्रमण मिश्रित रह्यो | घोषित ३ बूंदे काममा २ काम बनेन | अनेक झन्झट पार गरी एम आर पी बनाउने बाहेक मेरो व्यक्तिगत अड्डाको काम बनेन | दोष कसैलाई दिन्न | सिस्टम भित्रको एउटा मान्छे आफै पनि भएकोले धेर्थोक दोष आफ्नै मानेछु | रेमिट्यान्सले चलेको अर्थ तन्त्र निकै फस्टाएको देखें | बेकारको मान्छे पनि कार चढेको देखें| साथी भाइले प्रगति गरे | संगै बिना चप्पल पांग्रा गुडाउने साथी चार पांग्रे हुन्डाई गुडाउन्छन् | इलाहाबादी साथीहरुले  आयोजना गरेको पार्टीमा ६५ वटा हात्ती गनेर भुक्तानी देइएको पनि देखें ( १० जना को भेलामा ) |  पहिलो पल्ट डबल ब्ल्याक लेबल भन्ने मदिरा देखें र अलिकति चाखें| हामी अम्रिका बस्नेहरु पो गरिब देखें | १० सेन्ट सस्तो ग्यास स्टेशन खोज्दै हाल्ने हामी, ६५ हजार अर्थात ६५० डलर त्यो पनि दुइ जनाली मात्र बेहोरे |

जिन्दगी कसको सफल भन्ने कसको असफल, अलमल मा छु | जिन्दगी हो, आफ्नो आफ्नो हिस्सा को जिन्दगी जिउनै पर्छ , आफ्नो आफ्नो किस्सा सिउनै पर्छ |

परदेशमा न पाइने आफन्तको माया, आत्मीयजनको साथ धेरै पाएँ | ग्वारामरी. लाखा मरी, सेल मालपुवा ...........| महेन्द्र बौचाको म:म:, झोछेंको छोयला, सपू:म्हिचा, जिब्रो फ्राई , टाउको फ्राई , आलु तामा , चो ही , पांग्रा फ्राई ........ यिनीहरुको स्वाद म परदेशमा कहाँ खोजुं??  दुइ टन धुलो खानु परे पनि नेपाल जाउँ जाउँ लागि रहन्छ |

{ टर्किस इअर र इस्तानबुल हवाई अड्डा बारे अरुले पनि लेखि सकेका छन् , पहिलो भागमा नि लेखेको थिएँ , जाँदा खेर भन्दा आउँदाको अनुभव अझ तितो रह्यो, बेलिबिस्तार लाउन मन लागेंन }

बाकी अर्को भ्रमणमा ........ अस्तु !!! 

Read Full Discussion Thread for this article