मायाको धुन
-फियुल ट्यांक
अहिले हप्ताभरी गोरु झैँ जोतींदा पो बल्ल
शुक्रबारको महत्व थाह पाईयो | त्यो बेला थियो शुक्रबार कत्ति मन नपर्नी| शुक्रबार
स्कुल हाफ-टिफिनमै बिदा हुन्थ्यो , त्यसपछी पढ्न पर्थेन, आफ्नै गुणहरु थिए
शुक्रबारको | तर मलाई चै चम्पा-काली खेल्न खुब मन पर्थ्यो अनि शुक्रबारले मेरो
त्यो इच्छा सधै मार्थ्यो, त्यसैले मन पर्थेन | हाम्रो कक्षामा निशा भन्ने केटि थिई
| छुची थिई , अनि काली पनि थिई | अनि चम्पा-काली खेल्ने बेलामा “चम्पा-काली” भनेर
चिच्याउन पर्थ्यो अनि भाग्नु पर्थ्यो | हामी चै “निशा-काली” भनेर चिच्याउंथेम् अनि
भाग्थेम | त्यै भएर पनि होला, मलाई चम्पाकाली सार्है मनपर्थ्यो |
त्यो शुक्रबार पनि बिदा भयो | म र साथीहरु
स्कुलबस रोक्ने ठाउँ तिर गयौं | बस बिग्रेर बनाउन लागेको रैछ, अझै आईपुग्न केहि घण्टा लाग्ने थियो |
अनि हामीहरु चम्पा-काली खेल्न थाल्यौं | पिच नगरेको, गिट्टी फुटेर धुलै भएको,
त्यसमाथी स्कुलका सबै बिद्यार्थी हिड्ने त्यहि बाटो | एउटा मोटरसाईकल मात्र चल्यो
भने पनि नजिकैका सबै घरहरुले झ्याल बन्द गर्नुपर्ने जस्तो धुलाम्य बाटो थियो | अनि
त्यहि बाटोमा चम्पाकाली खेल्दै दुगुर्दै गरेका हामी भुरा-भुरीहरु अनि हाम्रो
शुक्रबारको सेतो ड्रेस |
अरु भन्दा छिटो छरितो थिएँ | बेतोडले दौडिन
सक्थें | अनि खेल्दा झ्याल्ली गर्नुहुन्न, तर जित्नै पर्छ भन्ने सोच्थें | मलाई
हार्नु मन पर्थेन त्यसैले चिप्लिनु परे चिप्लिन्थें, लड्नु परे लड्थें, तार-तार
बाट छिरेर नजिकैको जोतेको बारी बारी पनि दुगुर्थें अनि संधै जस्तो जित्थें | कपडाको
सेतो जुत्ता हेर्न नहुनी हुन्थ्यो | मेरो सेतो लुगाको कुईनामा र घुंडामा
गाढा-पहेंलो देखि कालो सम्मको टाटो बस्थ्यो |
त्यो दिन ढिलो घर पुगें | आमा कामबाट अझै
आउनुभको रैन्छ | आमा नभएपछी मलाई हात-गोडा धो, खाजा खा, पढ्न बस् भन्ने मान्छे पनि
हुँदैनथ्यो | मलाई आमा सधैं काममा मात्र गैदिएनि हुन्थ्यो अनि म चै जतिबेला पनि
खेलेर बस्न पाउथें जस्तो लाग्थ्यो | स्कुलबाट आएर दैलोमा झोला फुत्त मिल्काएं |
अनि गुच्चा राखेको गिलास लिन भित्र गएँ | आमाले सबै गुच्चा मिल्काईदिनुभैसकेछ |
बुढीमाउ | मन मनै गाली गरें | अनि घर नजिकैको चौरमा खेल्न गएँ | म सबै खेलमा अब्बल
थिएँ | सिप चाहिने गुच्चा, घुरुंग, ढलाई-बल, खोप्पी जस्ता खेलहरुमा पनि , अनि दौडिन
पर्ने छोई डुम, चम्पाकाली,लहरे खेल, फुटबल जस्ता खेलहरुमा पनि |
चौरमा पुगेको, डल्ले आनन्दले फुटबल ल्याएको रैछ
त्यो दिन | दुईटिम बनाएर खेल्न रेडी भैसकेका रैछन सबैजना | म बेस्कन दुगुरेर एक
सासमा त्यहाँ पुगें | एकै छिन् खैलाबैला भयो | खेलाउँ भने मेरो अर्को जोडी छैन,
बिजोरी हुन्छ , नखेलाउँ भने भोली देखि ढलाईबल खेल्न मेरो मोजाको बल नभई हुन्न |
केहि खेलाडीहरु एता-उता गर्यौं , हाम्रो टिममा ४ जना, उनीहरुको टिममा पांच जना भएर
खेल्यौं | उनीहरुको गोल्की एकदम लुते थियो | मैले बल लिएर गए पछि सेकाउँछ भनेर डराउँथ्यो अनि पोस्ट
छोडेर भाग्थ्यो |मैले गोल गर्ने लागेथें आमाले “तिखे, छिटो घर आईज” भनेर चौरको
छेउबाट बोलाउनु भयो | त्यो बल तेतिकै छोडेर फिलिली दुगुर्दै घर पुगें , आमा पछि
पछि लठ्ठी लिएर आउनुभयो | घर नजिकै आएपछी किन हो लठ्ठी उता फाल्नुभयो अनि हात गोडा
धो भनेर भान्सा तिर लाग्नुभयो | आमाले त्यति मात्रै भने पनि आमाको अर्थ चाहिं “हात
गोडा धोएर पढ्न बस्” भन्ने हुन्थ्यो | हात गोडा पानीले खलल पखालें | मलाई मिचेर
गोडा धुन आउंदैनथ्यो, अनि अल्छी पनि लाग्थ्यो | मेरो गोली-गाँठोको मुन्तिर र
कुईनोमा कालो –मैलो कलेटी परेको हुन्थ्यो | झन् पानीले पखालेपछी त्यो लेसिन्थ्यो
|मेरो आखाँ त्यहाँ कहिल्यै पर्थेन, अनि मलाई मतलब पनि लाग्थेन| मेरो हिसाबले
हातगोडा धोएँ | अनि दैलोको झोला भित्र ल्याएँ , नेपाली किताब खोलें अनि पढ्न बसें
| मलाई अंग्रेजी पढ्न मन पर्थेन| हिसाब झन् केहि आउंदैनथ्यो | नेपाली सजिलो
लाग्थ्यो अनि पढ भन्यो कि त्यहि निकालेर बस्थें |
एकै छिन् पढेको जस्तो गरेपछी आमाले भान्सामा
खाना खान बोलाउनुभयो | खाना कति चाँडै पाकीसकेछ | ढोकाबाट मगमग गुन्द्रुकको बासना
आईरहेथ्यो | आमालाई थाहा थियो मलाई मासु भन्दा धेरै गुन्द्रुक मनपर्छ भनेर| आज गुन्द्रुक किन होला? के को उपलक्ष्य रैछ | आजको पौरखको पुरस्कार त होलानी यस्तो मिठो भात
| दिन भरी दौडेको दौड्यै थिएँ | सबैखेलमा जितेको थिएँ , फुटबलमा पनि हाम्रो टिमले
जित्यो होला खाली पोस्ट थियो आनन्दले भएपनि, सरोजले भए पनि टुच्च छोए गोल हुन्थ्यो
, गोल भयो त होला नि, मन मनै सोचें | मेरो मन फेरी गुन्द्रुकमा गयो | खुशी हुँदै
चकटीमा पलेटी कसेर बसें| आमाले एकथाल भात माथी चुर्लुम्मै भात डुब्ने गरेर
गुन्द्रुक हाल्दिनुभायो | मलाई मनपर्छ भनेर होला | मैले खुशी भएर थाल स्याहारे |
गुन्द्रुकको झोल हातका औंलाबाट चुहिएर कुईनोमा पुग्थ्यो | सुकेर कट-कटीसकेको त्यो
कलेटीपरेको मैलो फेरी भिजेर लेसिन्थ्यो तर मैले एकनासले खाईरहें| त्यो दिन
अरुदिनको भन्दा धेरै भोक लागेको थियो | “आमा भात थप्दिनु न”, मेरो भोकले अझै
माग्यो | आमाले फेरी एकथाल भात थप्दिनुभयो | अनि गुन्द्रुकको झोलले भातलाई
चुर्लुम्मै डुबाईदिनु भयो | मेरो थालको ओरिपोरी भातको गोलो घेरा लागेको थियो अनि
कुईनो बाट चुईएको गुन्द्रुकको झोलले मेरो दाहिने कट्टु भिजेको थियो |
“राम्रो संग खान पनि आउंदैन , खै यता आईज”, आमाले मुछेर खुवाईदिनुभयो | मैले सन्चो
मानेर खाएँ | “जा गएर चुठ”| आमाले “जा गएर चुठ” भने पनि अर्थ चाहिं “जा गएर चुठ,
अनि पढ्न बस्” हुन्थ्यो | तर आमाले भान्सामा जुठो लोटाएर सक्दा सुत्ने बेला भैसक्थ्यो
| पैतालाको मैलोले ओच्छ्यानमा छाप लगाउंदै खाटमाथी उक्लें | धेरै भात खाएको भएर हो
कि धेरै थाकेको भएर हो, सार्है निन्द्रा लागेको थियो | तर भान्साकोठा बाट आएको
कोतर-कोतर आवाजले मलाई सुत्न दिएको थिएन | भात पकाएको कसौंडीमा पन्यूँले कोतार्दै
हुनुहुन्थ्यो आमाले | कोतर-कोतर | म चाहिं त्यहि कोतर-कोतर आवाज सुन्दा सुन्दै कुन
बेला भुसुक्कै निदाएछु |
आज पनि सम्झिन्छु म, त्यो आवाज, जस्ताको तस्तै,
कोतर-कोतर | त्यो आवाज हैन, धुन थियो, मायाको धुन | अनि त्यो मायाको धुन सुन्दै
सुन्दै निदाएको त्यो दिन |