अन्य पढिदिनुहुने साझावासीहरुलाई धन्यवाद
उसले आज आफ्नी भान्जीलाई
हेर्दै भन्यो
"भो आज म अंगुरको रस
खान्न, आज म कुरिलोको रस खान्छु "
मैले अचम्म मान्दै उसलाई
हेरेँ। के सम्वन्ध छ र अंगुर र कुरिलोको रसमा ! एउटा समानता पत्ता लाएँ दुवै रसिलो
हुन्छन्। एउटा भिन्नता पनि अंगुर गुलियो हुन्छ, कुरिलो को नुनिलो। उ गुलियो देखि
वाक्क भएर होला। जीवन को रस निचोरेर पिइसकेको जस्तो गफ गर्छ उ। मलाई आफु साह्रै
केटाकेटी जस्तो लाग्छ, उसको अघि।उसले तिन चार वटा जिवन समानान्तर वाँचे जस्तो, दुइ
तिन वटा जीवन त उसले लुकाएर राख्छ। तर मान्छेको जीवन जतिवटा नै हुन्, मृत्यु एउटा
हुन्छ।कहिलेकाहिँ सोच्छु मृत्यु पनि दुइ, तिनवटा हुने भयो। आज मर्यो खोलामा हाम
फालेर चित्त बुझेन, भोली प्रकृया वदल्यो झुण्डेर मर्यो भोलि पल्ट!!
"अनि निश्चलको वारेमा
केहि भन्दिनौ त ?"
आफ्नो पेट को भोक
मेटिसकेपछि, उ मेरो कथाको लागि भोकाएको थियो। मैले भख्खरै आफ्नो कथाको अर्को पात्र
उघारेकी थीएँ। यी सवै पात्रहरु आखिर मेरा पत्र पत्र हरु न थिए। मलाई छोपेर राख्ने।
उ मलाई एक एक गर्दै नंग्याइरहेको थियो।
"निश्चल अरु भन्दा
भिन्न थियो !"
"यति हो कथा ?"
उसले मलाई जिस्क्यायो।
"सारांश भने यहि नै हो
कथाको, अहिले सम्म भेटेका केटाहरुमध्येको सवैभन्दा भिन्न , मेरो जीवनको अँध्यारो
कुना थियो उ , यस्तो अँध्यारो कुना जसमा म आफुलाई लुकाउन सक्थेँ अरुको नजरवाट
दिनको उज्यालोमा पनि!उसको कपाल जिंग्रिंग परेको थियो, लामो तर लट्टा परेको
,कहिलेकाहिँ उ सँग हुँदा म उसको कपाल छुन्थेँ अरह्रो हातै अड्किने जस्तो, दाह्री
पनि पाल्थ्यो, अनुहार त्यसै भित्र लुक्थ्यो, दुव्लो अनुहारमा मात्र आँखा देखिन्थे।
गहिरा आँखा! जति वुझे पनि वुझ्न नसकिने, केहि नदेखिने, आफुलाई खोजी रहन्थेँ म उसको
आँखामा तर दर्शन धेरै भएको त्यो आँखामा म आफुलाई पाउन्नथे खासै! उसका पेन्टिंगहरु
पनि अचम्म अचम्मका असन्तोष पगालेर पहेलो रंग वनाए जस्तो,क्रोध पगालेर रातो रंग
वनाए जस्तो, अनी उ जस्तै शान्त सेतो रंग थपिदिए जस्तो !मलाई याद छ पहिलो दिन उसले
मलाई आफ्नो कोठामा लिएर गएको !!"
"तिम्रो कोठा पनि तिमी
जस्तै अँध्यारो छ !" मैले उसको कोठामा भन्दा पनि उसमा प्रतिकृया जनाएकी थिएँ।
उ मलाई हेरी रह्यो सँधै जस्तै ।निश्चल असाध्यै कम वोल्छ।उसको मौनतावाट उसको वोली
भन्दा वढी अर्थ निकाल्न सकिन्छ वरु!
"तिमीलाई उज्यालो देखी
किन यति डर लाग्छ? पर्दा खोलुम् ?" मैले प्रश्न दोहोर्याइदिएँ।
"भो छोड्देउ ! म वरु
भित्रै वत्ति वाल्छु !" उसले स्विचमा हात पुर्यायो। वत्तिको प्रकाशमा उसले
वनाएका ,वनाउँदै गरेका केहि पेन्टिंगहरु देखिए। एउटा कुनाको पेन्सिल स्केच लिएर
आयो। मेरो तस्विर, तर कपालले आधा अनुहार लुकाएको।
"किन लुकाएको मेरो
अनुहार !"
"हेर न, छोपिएका
कुराहरु कति राम्रा हुन्छन्, आँखा त सँधै अन्धो नै हुन्छ, दृष्टी सँधै मनमैँ
हुन्छ, मान्छेले वुझ्दैनन् !" उसले चुरोट सल्कायो अनि धुवाँ फुक्यो। म
चुरोटमा सँधै मनिषलाई देख्छु।धुवाँमा थोरै गाँजा मिसिएको पनि भान भयो।
"म पनि एक चोटी
तानुँ?"
अनायसै मैले अनुरोध गरेँ।
उसले एक चोटी मलाई हेर्यो।
अनि तेर्स्याइदियो।उ सँग त धुवाँ पनि आफ्नो लाग्न थालेको छ। मन लाग्छ डढिदिउँ उ
मलाई फुकि फुकी वालिरहोस्। म वलिरहुँ, दन्किरहुँ।
"तिमीले पहिलो चोटी हो
तानेको ?" मैले खोक्दा उसले प्रश्न राख्यो।
"चुरोट चाहिँ खाएको
छु!"
"फरक छ, यो भनेको जीवन
जिउनु र वाँच्नु जत्तिकै फरक छ !"
उ त्यो मधुरो प्रकाशमा
दार्शनिक झैँ देखियो।
"तिमीले कहिल्यै
केटीमान्छे भोगेको छौ?"
मलाई उसको हुन मन छ। उसले
मलाई अंगालोस् । म वाँधिउँ। अव म लजाउन त सक्दिन, किनकी मैले त्यो अवस्था पार
गरिसकेको छु धेरै अघि।
"तिमीलाई आफु अरु
केटीमान्छे जस्तै नै हुँ भन्ने ठूलो भ्रम छ !"
उसले मलाई हेर्दै भन्यो।
"के फरक छ र म र अरुमा
?"
"तिमी भित्र म पिडा
देख्छु ! अरु आवरणमा भ्रम हुन्छ, तिम्रोमा पिडा हुन्छ!"
"तिमीलाई के मन पर्छ
भ्रम कि पिडा!"
"भ्रम त मैले धेरै
भोगेँ, पिडा पहिलो पटक हो!"
उसका शव्द शव्दहरु मलाई
खोतलीरहन्छन् । मलाई लाग्छ निश्चलले जति राम्ररी कसैले मलाई वुझ्दैन।निश्चल मेरो
यात्राको पुर्णविराम हो! हो ति अल्पविरामहरु सवै भ्रम थिए,मैले पनि पहिलो चोटी
पिडा भोग्दैछु।