Posted by: fucheketo January 21, 2014
वाँच्न वाँकी एउटा जीवन
Login in to Rate this Post:     8       ?         Liked by

"मलाई फिनेल को गन्ध मन पर्दैन!" मैले नाक खुम्च्याउँदै भनेँ।

"तिमीलाई त केहि पनि मन पर्दैन, न फिनेल न जिवन ! के वाँकी रह्यो र मन पराउनलाई !" उसले म तिर कोल्टे फेर्दै भन्यो। खिस्स हाँसेको उसको गालामा रेखाहरु देखा परे। उमेर हुँदो हो त कसैले डिम्पल भनेर तिनै रेखा,खाल्डोलाई मन पराइदिन्थे होला। खाल्डाहरु पनि त आफ्नो ठाउँमा त राम्रैमा गनिने रहेछन्।म उसलाई हेरी रहेँ।किन वाँच्न खोज्दैछ उ? किन लम्व्याउँदैछ यो अर्थहिन जीवनलाई?हो उसले ठिकै भनेको हो मलाई जिवन मन पर्दैन किनकी मलाई भ्रम मन पर्दैन।

"तँपाइलाई मन पर्छ र यसको गन्ध ?"

"संसारमा नराम्रै भन्ने त के नै होला र ?राम्रो नराम्रो त मात्र समय हो!" उसका आँखा मलाई नियालिरहेका थिए। मैले आफ्नो ओढ्ने थोरै ताने।आफु देखिएको अनुभव भयो।उसको आँखाको गहिराईमा मलाई आफुलाई लुकाउन गाह्रो भयो।संसारमा सवैभन्दा ठूलो खुवी आफुलाई लुकाउन सक्नु हो, किनकी मौन नै रहे पनि आँखावाट चुहिएको हुन्छ मान्छे!!

उ र म विचको फरक के नै त थीयो आखिर। म हारेर भागेकी, भयो,पुग्यो लडाईँ अव लड्दिन भनेर भागेकी!उ घाइते भएर लडेको ,त्यो पनि त एक अर्थमा हार नै त होला।कुन हार साँचो थियो,कुन झुठो ,छुट्याउन गाह्रो लडिरहेको उ एक खाटवाट अर्को खाटकी मलाई गलत देख्थ्यो।भागेकी म एक खाटवाट अर्को खाटको उसलाई गलत देख्दथेँ। आँखाहरु अचम्म हुन्छन्, सवै गलत देखाउँछन्। सत्य त अँध्यारो वाट न जन्मन्छ,त्यहाँ त आँखानै काम लाग्दैन।

सफा गर्ने मान्छे प्यासेजमा निस्की सकेको थियो। शायद उसलाई पनि मेरो फिनेल प्रतिको वितृष्णा मन परेन।उसको त जीवन नै त्यहि फिनेलमा अडिएको छ। उसको साथी नै हो भनौँ , कसैले उसको साथी मन नपराएको किन पो चित्त वुझोस् र उसलाई!उसको जीवन निचोरिएर त्यहि टालो जस्तो भएको छ अर्काका फोहोर पुछ्दा पुछ्दा। हिजो भख्खर नै त हो, मलाई दवाई गन्हाएर छादेकी थिएँ।उठ्न भ्याइन। उ आयो, थोरै नाक खुम्च्यायो ।मलाई उठाए दुई जना सहयोगी मिलेर । म आफ्नो दुर्गन्ध हेरी रहेँ, उसले तन्ना उठाएर नफेरुन्जेलसम्म। संसारै यस्तै छ दुर्गन्धित ,एउटाले फोहोर गर्छ,अर्कोले सफा गर्ने प्रयास मा अर्कै ठाउँमा फोहोर सार्छ। तन्ना सफा हुन्छ, ढल फोहोर हुन्छ। ढल सफा हुन्छ, खोला फोहोर हुन्छ।खोला सफा हुन्छ समुन्द्र फोहोर हुन्छ। अनि समुन्द्रको फोहोर फेरि म सम्म आइ पुग्छ। म वुझ्दिन त्यो मेरै फोहोर हो , म नाक खुमच्याएर त्यसलाई हेर्छु। उ फेरि टालो लिएर सफा गर्न वस्छ।संसार हामी जस्तै मान्छेले फालेको दुर्गन्धको चक्र नै त हो।

"अव ठिक भए पछि के गर्छौ त ? फेरि स्लिपिंग ट्यावलेट दन्काइदिन्छौ? घर पुगेको भोलिपल्ट?" उसले च्वास्स मलाई घोच्यो अर्को खाटवाट!!म फोहोरको चक्रवाट वाहिर निस्किएँ। उसको सियोले मैले ओढेको ओढ्ने छेड्यो।दुखे जस्तो भयो मलाई!

मेरो जीवनको उसलाई के मतलव ! आफ्नो जीवन सम्हालेर राखोस् न ! मान्छे वुढो भए पछी निहुँ खोज्छ भन्थे ! हो जस्तो लाग्यो।

"तँपाइलाई कहिले सम्म वाँच्न मन छ र ?"

"कहिलेकाहि मन हार्छ, हैन हैन धेरै जसो मन हार्छ, त्यो पनि हैन सँधै नै मन हार्छ!" उसले धेरैवेर सोचेर जवाफ फर्कायो।

"जित्छ चाहिँ कसले नि त ?"

"त्यो त मलाई थाहा भएन, तर मन व्यवहारिक हुन्न त्यहि भएर हार्छ, मलाई मात्र हारको कारण थाहा छ, प्रतिष्पर्धिको नाम भन्दा पनि !"

"तँपाइलाई मैले विख खाएको कारण नै थाहा छैन ,विना वित्थामा मलाई चोट पुर्याउने वाक्य वोल्नुहुन्छ !" म अचानक आवेगमा आएँ!

"सुनाउँछ्यौ त ? आज घाम पनि लागेको छ, उज्यालो छ कोठामा !! कथा सुन्न रमाइलै हुन्छ!!"

"के गर्नु हुन्छ र सुनेर ?" मलाई हिजोको छादको गन्ध छातिवाट निस्के जस्तो लाग्यो। किन उ म भित्रको फोहोर चलाउन खोज्दैछ ?

"मर्नलाई म पनि वहाना भेट्टाउँछु कि !"

मलाई उ प्रति दया लागेर आयो।उ विस्तारै उठ्यो। आफ्नो सिराने भित्तामा अडेस लगायो । अनि मेरो कथालाई स्वस्थानी मानेर दत्तचित्तले सुन्न वस्यो !!!

************ ************* *************** ************ ******** ************* **

मलाई सुनाउन मन नलागेको मेरो कथा

"यो कथा आजभन्दा २५ वर्ष अघीको होइन , त्यहि भएर तँपाइको लागि व्यवहारिक नहुन सक्छ!"

उ हाँसी रह्यो अनि विस्तारै वोल्यो "भन्ने जिम्मा तिम्रो,छुट्याउने जिम्मा मेरो,जीवनको व्यवहार सवैमाथी एकनासे हुने भए त संसार एउटै रंगको भइ हाल्थ्यो नि !"

म पनि थोरै अडेस लाग्दै उठेँ।

"तँपाइको विचारमा माया के हो?" मैले उसको आँखामा आँखा जुधाएर प्रश्न राखेँ।केहि उत्तर आँखावाट नै छचल्किन्छ कि भन्ने आश राखेर!

"मैले कथा सुन्न खोजेको प्रश्न हैन !" उसका आँखामा मैले केहि भेटिन

"मेरो त कथा नै प्रश्नवाट शुरु हुन्छ!"

"तिम्रो विचारमा चाहिँ के हो त माया !"

"त्यस्को सहि उत्तर मैले पनि पत्ता लाउन सकिन!" मैले हारेको स्वरमा जवाफ फर्काएँ

"संसारमा सवै सहि गलत हुन्नन् !" उसले ममाथी सान्त्वना देखायो।

"ठिकै भन्नु भयो संसारमा सवै सहि गलत हुन्नन्। कहिलेकाहिँ सम्वन्धहरु हुन्छन् ,कहिलेकाहिँ आवश्यकताहरु हुन्छन् !! छुट्टिनै मान्दैनन् सहि र गलतको दायरावाट!"

 

 क्रमश:

 

 

 

Read Full Discussion Thread for this article