Posted by: oh December 24, 2012
बैंक अफ काठमान्डूको लुटिएको रकम कुमारी बैंकका चालकको घरमा
Login in to Rate this Post:     0       ?        

दाङ, पुस ९ - बैंक अफ काठमान्डूको तुलसीपुर शाखा कर्मचारीले नै लुटेको रहस्य खुलेको छ । प्रहरीले सोमबार लुटिएको मध्ये करिब ८७ लाख रकम बरामद गरेको छ ।

तुलसीपुरस्थित कुमारी बैंकमा कार्यरत चालक अमर बोहोराको तुलसीपुर-९ शिवनगरस्थित कोठाबाट ८६ लाख ८९ हजार नगद बरामद भएको प्रहरीले बताएको छ । बैंक अफ काठमान्डूका खजाञ्ची मानपुर दुधराश निवासी खगेन्द्र बस्नेतको योजनाअनुसार कर्मचारी र केही बाहिरका मानिस मिलेर रकम लुटिएको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताए । मानपुर-९ झिंगै निवासी बोहोराले कोठामा दराज र बोरामा राखेको अबस्थामा रकम फेला परेको उनले बताएका छन् ।

'लुटिएको दावी गरिएको बराबर रकम नै बरामद हुँदैछ । हालसम्म आधा जति रकम भेटिएको छ,' मल्लले भने, 'हामी छिट्टै सबै रकम फेला पार्दैछौँ । अन्य ठाउँमा पनि रकम राखेको खुलिसकेको छ ।'

कर्मचारीले नै बैंक लुटेको पुष्टि भएपछि प्रहरीले बैंकका प्रबन्धक ऋषिकैलाश श्रेष्ठ, खजाञ्ची खगेन्द्र बस्नेत र पैंसा राख्ने अमर बोहोरालाई नियन्त्रणमा लिएको छ । 'बैंककै खजाञ्चीले योजना बनाएर लुटेको देखिन्छ,' उनले भने, 'कर्मचारीले योजना बनाएर लुटेको यो नौलो घटना हो ।'

शुक्रबार बेलुका रहस्यमय तरिकाले २ करोड ६ लाख ३१ हजार ८ सय ४४ रुपैयाँ लुटिएको थियो । बेलुकी सवा ६ वजेतिर सन्ध्याकालिन सेवामा रकम जम्मा गर्ने निहुँमा आएका तीन जना युवाहरुले कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेको बैंकका म्यानेजर श्रेष्ठले प्रहरीलाई बताएका थिए । युवाहरुले १५ मिनेटभित्र म्यानेजर श्रेष्ठसहित एक खजाञ्ची र एक सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर रकम लुटेको उनले जानकारी दिएका थिए ।

पेस्तोल देखाएर कर्मचारीलाई नियन्त्रणमा लिएको र गार्डको खुकुरी खोसेको बैंकले जानकारी दिएको थियो । प्रहरीले भने यस घटनालाई सुरुदेखि नै शंकास्पद भन्दै आएको थियो । बैंकमा जडान गरिएको सीसी क्यामेरा र सिस्टमसमेत ड्यामेज भएको थियो ।

घटना सवा ६ बजे भए पनि बैंकका कर्मचारीले प्रहरीलाई आठ बजे मात्र खबर गरेको र बैंक सेफको साँचो प्रतिकार नगरेरै दिएको देखिएकाले पनि प्रहरीले घटनालाई रहस्यमय भनेको थियो ।

सन्ध्याकालिन सेवा बेलुका ४ देखि ६ बजेसम्म मात्र खुल्ने भएपनि सानो रकमका लागि ती युवालाई ६ बजेपछि पनि बैंकभित्रै बस्न दिइएको थियो । घटनाबारे अनुसन्धान गर्न बैंकको केन्द्रीय सुरक्षा प्रमुखसहितको टोली पनि तुलसीपुर पुगेको थियो । सीसीटीभी नखुलेपछि केन्द्रबाटै कम्प्युटरको प्राबिधिक टोली आएर खुलाइएको थियो ।

अनुसन्धानका क्रममा बैंकका कर्मचारीले सबै नाटक गरेर आफै रकम लुट्ने मानिस तयार पारेको देखिएको एसपी मल्लले बताएका छन् ।

 

 



प्रकाशित मिति: २०६९ पुस ९ ०३:१५
 

Read Full Discussion Thread for this article