Posted by: Poonte April 11, 2010
गिरिजा बाबु आफ्नो राजनितिमा धेरै सफल छन् –
Login in to Rate this Post:     0       ?        
I am not quite certain if anything attributable to GPK vis-a-vis Nepal can be considered (more of)  his success, or our (Nepalis') collective failure.

Criticising GPKoirala-the-person after his death is inappropriate; but being critical of the impact that the nation felt with his persona would be the most prudent (first) approach to rectify some of the greatest ills Nepal has had to endure in the past few decades.
*****************************************

http://nagariknews.com/opinions/98-opinion/12083-2010-04-07-08-19-05.html

कोइरालालाई यसरी हेर्दा

बुधवार, 07 अप्रेल 2010 14:01

बितेका झन्डै तीन सातामा गिरिजाप्रसाद कोइराला र उनीसँग सम्वन्धित विषयका बारे पत्रपत्रिकामा जेजति लेखियो, त्यसबाट यो स्तंभकार एउटा अनौठौ अन्योलमा परेको छ। पूर्वाग्रह पटक्कै होइन, बरू दृष्टिभ्रम चाहिँ हुनसक्छ ­ साराका साराले सिधा देखेको रूखलाई म बाँगो देखिरहेको छु। तर सच्चा लोकतन्त्रवादीहरू विमतिलाई सहजताका साथ ग्रहण गर्छन् र भद्रताका साथ असहमति जनाउँछन् भन्ने विश्वास लिएर यो स्तम्भ लेखिरहेको छु।

कोइरालाको मृत्युपश्चात् उनी ईश्वर नै थिए भन्न बाँकी राखेर संभव भएसम्मका सबै विशेषण उनका लागि प्रयोग गरिसकिएका छन्। उनी नेपालका महानायक, राजनेता, अभिभावक सबै कहलिए। जजसले त्यस्ता विशेषण प्रयोग गरे ती सबैको तर्क के रह्यो भने कोइरालाका कमजोरी नभएका होइनन् तर कुनै पनि व्यक्तिको उपलब्धिलाई समग्रतामा हेर्नुपर्छ र समग्रतामा हेर्दा कोइराला वास्तमै महान नेता थिए। जसरी अरूले कोइरालालाई समग्रतामा हेरेर मूल्यांकन गरे, त्यसैगरी मैले पनि उनलाई समग्रतामै हेरेर मूल्यांकन गर्ने प्रयास गरिरहेको छु। तर म भने उनको भिन्न तस्बिर देखिरहेको छु। मेरा लागि गिरिजाप्रसाद कोइराला २०४६ सालपछिको नेपाली राजनीतिका तीन प्रधान खलनायकमध्ये एक हुन्। दोस्रो खलनायक माओवादी अध्यक्ष प्रचण्ड हुन्, जसले नेपाली समाजमा धेरै लामो समयसम्म श्रापका रूपमा रहिरहने गरी हिंसाको संस्कृतिलाई स्थापित गरिदिए। र, तेस्रो खलनायक पूर्वराजा ज्ञानेन्द्र हुन्, जसले लोकतन्त्रलाई सुढृढ तुल्याउन सहयोग गर्नु सट्टा मौका यही हो भनेर त्यसलाई पूर्ण हठका साथ कुल्चने प्रयास गरे। कोइराला बितेर गइहाले, प्रचण्डलाई पाप पखाल्ने मौका अझै बाँकी छ। पूर्वराजा ज्ञानेन्द्रले भने आध्यात्मिक शुद्धीकरणको बाटो रोजे उनको भलो हुनेछ।
प्रचण्ड र पूर्वराजाबारे कुनै बेला छुट्टै चर्चा गर्ने समय आउने नै छ, अहिलेलाई कोइरालाकै प्रसंगमा फर्कौं।

समग्र मूल्यांकनको आधार, समग्र उपलब्धि हुनुपर्छ। नेताको उपलब्धि उसको नेतृत्वकालमा उसले नेतृत्व गरेको दल र देशले पाएको उचाइ हो। बाँकी सबै राजनीतिक यात्राका उतारचढावमात्र हुन्। ती उतारचढावका क्रममा आएका सैद्धान्तिक परिवर्तन आफँैंमा उपलब्धि नहुन सक्छन्। त्यसैले, कोइरालाको सबभन्दा ठूलो देनका रूपमा हेरिएका सैद्धान्तिक परिवर्तनहरू, संविधानसभा र गणतन्त्रलाई अहिले नै उपलब्धि भन्न मिल्दैन। ती अहिलसम्मका लागि नेपालको लामो र दुःखद राजनीतिक यात्राका थप दुईवटा घुम्तीमात्र हुन्। दुर्भाग्य भन्नुपर्छ, गत साठी वर्षदेखि नेपाल निरन्तर राजनीतिक संक्रमणमा छ। जुन क्रममा शासन व्यवस्था, संविधान र सरकार परिवर्तन भए तर देशको मुहार चाहिँ परिवर्तन भएन। ती परिस्थितिले राजनीतिक विश्लेषणका लागि खुराक प्रदान गरे, पुस्तकका पाना भरे, एकएकवटा कालखण्डमा कसैलाई महान र कसैलाई बेइमान बनाए तर त्यसबाट भोको पेट भरिएन, देशमा शान्ति भएन, आर्थिक समृद्धि आएन।

माओवादीहरूलाई मूलधारको राजनीतिमा ल्याउनमा पनि कोइरालालाई ठूलै श्रेय दिइन्छ। पहिलो, माओवादी राजनीतिक मूलधारमा आए या आएनन् त्यो नै प्रष्ट भएको छैन। दोस्रो, माओवादीलाई मूलधारमा ल्याउने काम त कोइरालाले आफ्नै असफल नेतृत्वका कारण खन्न सघाएको खाल्डो पुर्ने प्रयास गरेका मात्र हुन्। त्यसमा पनि त्यो माओवादीको बदलिएको रणनीति, राजाको हठ, भारतको डिजाइन र अझ बढी राजाप्रति कोइरालाको प्रतिशोधको भावना र देशको प्रथम राष्ट्रपति हुने उनको
सपनाको परिणाम थियो। त्यस क्रममा नेपालले मधेशदेखि हिमालसम्म के, के गुमायो, राष्ट्रको आत्मामा कति घात पुग्यो र त्यसको दूरगामी असर के, के हुन्छ भन्ने वर्तमान नेताहरू पनि कोइराला जत्तिकै स्वार्थी, शक्तिका भोका र विफल भए भने स्वतः प्रष्ट हुनेछ। वर्तमानका नेताहरूले बिग्रिएको विगतलाई बनाए भिन्दै हो, नत्र नेपालको भावि यात्रा अत्यन्त कष्टपूर्ण हुने देखिन्छ, जसको दोष २०४६ सालपछि सबभन्दा बढी शक्तिमा प्रभुत्व रहेका कोइरालालाई दिनुपर्ने हुन्छ। अनिमात्र प्रचण्ड र पूर्वराजा दोषका भागीदार मानिने छन्। त्यसैगरी कोइराला नभइदिएको भए नेपालको गणतान्त्रिक संक्रमण शान्तिपूर्ण हुँदैनथ्यो भन्नेे पनि धेरैको भनाइ छ। तर वास्तविकता के हो भने २०६२­६३ को
जनआन्दोलन अगाडिको कोइरालाका प्रधानमन्त्रीत्वकालहरू र नेतृत्व सफल भैदिएको भए वर्तमान स्थिति आउँदै आउँदैन थियो, बरू नेपाल शान्ति र विकासको बाटोमा लम्किरहेको हुन्थ्यो। कतिपयले कोइराला नहुँदा शान्ति प्रक्रिया बिग्रिनसक्ने आशंका पनि गरिहेका छन्। तर वास्तविकता के हो भने, कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया यति असंगत र अवैधानिक ढंगबाट निर्माण भयो कि त्यो बिग्रियो भने त्यसको दोष कोइरालाको अनुपस्थितिलाई होइन, उनले त्यसको निर्माणमा जेजति नेतृत्व गरे त्यसैलाई दिनुपर्ने हुन्छ। शान्ति प्रक्रिया सफल भयो भने चाहिँ, त्यसको श्रेय वर्तमान नेताहरूलाई दिनुपर्नेछ, जसले असंगत र अवैधानिक विगत हुँदाहुँदै पनि त्यस प्रक्रियालाई सफल तुल्याएको
ठहरिने छ।

गिरिजाप्रसाद कोइराला २०४८ सालपछि कयौं पटक देशको प्रधानमन्त्री भए र अधिकांश समय उनैले नेतृत्व गरेको नेपाली कांग्रेसले या त सत्ताको नेतृत्व गर्‍यो वा त्यो सत्ता साझेदार रह्यो। कोइराला देश र दल दुवैको नेतृत्वमा रहिरहे। त्यसबीचमा राजनीतिमा आएको व्यापक भ्रष्टता र विफलता, अनि ठूलो हदसम्म त्यसैका कारण तीव्र गतिमा फैलिएको माओवादी हिंसाको दोष अरूलाईभन्दा धेरै बढी कोइरालालाई जानुपर्ने हो। तर धेरैले त्यसको दोष माओवादीलाई मात्र दिने गरेका छन्। २०४८ सालपछिको प्रजातान्त्रिक राजनीति पथभ्रष्ट नभइदिएको भए माओवादी हिंसाले त्यति सहज मलजल प्राप्त गर्ने नै थिएन। देशको मात्र होइन, कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको अवस्था पनि धेरै बिग्रियो।

२०४८ सालको निर्वाचनमा स्पष्ट बहुमत ल्याएको दलको चुनावी नतिजा त्यसपछिका वर्षमा क्रमशः बिग्रिँदै गयो, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताको मानमर्दन गरियो। दल नै फुट्यो र हुँदाहुँदा संविधान सभाको निर्वाचनमा माओवादीबाट नेपाली कांग्रेस नराम्रोसँग पराजित हुनुपर्‍यो।
माओवादीलाई उचालेर कोइरालाले नेपाली कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी ठानेका एमालेलाई थचार्न खोजेका थिए तर माओवादीबाट आफैँ पनि त्यसरी थचारिनु पर्ला भनेर उनले सोचेकै थिएनन्। लोकतन्त्रको पर्यायवाची बनेको दलभित्र बलियोरूपमा स्थापित अलोकतान्त्रिक चरित्रका संरक्षक कोइराला नै थिए। उनले आफ्नो दलबाहिर प्रजातन्त्रको राजनीति गरे होलान् तर त्यो सधैँ व्यक्तिगत
महत्वाकांक्षा, प्रतिशोध र ईर्ष्याबाट प्रेरित रह्यो। उनले आदर्शको राजनीति कहिल्यै गरेनन्, जसले गर्दा सिँगो राजनीतिप्रति नै योग्य र इमान्दार मानिसमा वितृष्णा बढ्यो। गत २० वर्षमा नेपाल र नेपाली कांग्रेस दुबैको भलो भइदिएको भए, कोइरालाका सबै दुर्गुण तपसिलका विषय बन्ने थिए र उनका उपलब्धि प्रधान हुने थिए। त्यसो नभइदिएका कारण, यस स्तंभकारको आँखामा उनको उपलब्धि
न्यून र कमजोरी प्रधान देखिनगयो।

एकजना राजनीतिज्ञका रूपमा २०४६ सालअगाडि गिरिजाप्रसाद कोइरालाले पंचायतविरुद्ध गरेको निरन्तरको संघर्ष उनको ठूलो योगदान हो। राजतन्त्रबाट गणतन्त्रको जटिल संक्रमणलाई शान्तिपूर्ण बनाउन उनले दिएको नेतृत्व, उनको ठूलो योगदान हो। तर सो संक्रमणलाई शान्तिपूर्ण बनाउनकै लागि भनेर नेताका रूपमा कोइरालाले अनेक पक्षसँग भटाभट जेजस्ता सम्झौता गर्दै गए तिनका दूरगामी नकारात्मक असरबाट नेपालले धेरै लामो समयसम्म दुःख पाइरहने छ। समग्र मूल्यांकन भनेको घटना विशेषको मूल्यांकन होइन। त्यो परिस्थितिको सांगोपाँगो मूल्यांकन हो। नेपाली राजनीतिमा २०४८ सालको निर्वाचनपछि कोइरालाको प्रभुत्व स्थापित भयो। त्यसयता नेपाल राष्ट्र र नेपाली कांग्रेसले जेजस्तो दुर्दशाको सामना गर्नुपर्‍यो त्यसका आधारमा कोइराला पूर्णतः विफल नेता हुन्। आफ्नो दल र देश दुवैको सान, सम्मान, शान्ति, प्रगति र अखण्डतामा गहिरो चोट पुर्‍याएर कोही पनि महानायक, राजनेता र अभिभावक कहलिनु नपर्ने हो। तर कहलिए, किनभने सबैले सतहमा जे बहेको छ त्यहीमात्र हेरे। किन हेरे? त्यसको उत्तर, तात्कालिक क्षणलाई हेरेर बहने भावनाको भेललाई समयले साम्य पारेपछि स्वतः स्पष्ट हुँदै जानेछ। समग्रतामा फेरि भनौ, कोइरालाको लामो नेतृत्व कालमा यो देश र उनको दल दुवैले दूरगामी क्षति व्यहोरेको छ। त्यसलाई पुनर्स्थापित गर्न नेपाली कांग्रेस र अन्य दलका नेताहरूले लामो समयसम्म इमान्दार र कठिन परिश्रम गर्नुपर्नेछ। मेरा उनको आँखामा समग्र मूल्यांकन यही हो। विमति राख्नेहरूलाई सम्मान गर्ने नै छु।
Last edited: 11-Apr-10 08:24 AM
Read Full Discussion Thread for this article