http://www.khasskhass.com/12lakhko.htm
बाह्र लाखको कविता
सुन्दर जोशीवेष्ट पाल्म बीच, फ्लोरिडा
मेरो मुटु लगलगी कामी रहेको छ । अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्ठिको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन । यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान स्थलको चहल पहल देखेर नै सातो उडिसक्यो, कहाँ जाने - कसलाई गुहार्ने - घरि घरि गोजी छाम्छु । बाह्रलाखको कविता गोजीमा सुरक्षित छ । दौरा सुरुवाल पाल्पाली ढाका टोपिमा छाटिएर आफ्नो छन्दोबद्ध कवितालाई लय हाली हाली पढ्नेछु । स्वदेशको नाङ्गो तस्वीरजस्तो मेरो कविताले परदेशमा बसेकाहरूलाई क्वाँक्वाँ रुवाउनेछ । मेरो बाह्रलाखको कविता पढि सके पछिको आफ्नो प्रसिद्धिको कल्पना गर्दै अवतरण गरेको थिएँ यो स्वप्न भुमिमा । तर यतिवेला मेरो मुटु लगलगी कामी रहेको छ । एउटा अञ्जान भय र त्रासले आक्रान्त छ मेरो मुटु । एउटा बबुरो कविले नेपालमा जोहो गरेको सम्पत्ति पुरै बाह्र लाख बुझाएर भिसा हानेको राहदानीलाई टुलुटुलु हेर्छु ।
'ब्यर्थै भागिस देश छाडेर -' मनले मलाई नै दोषि औला ठड्याइरहेको छ । 'के गर्नु नभागेर ? सबै भागि रहेका छन् । पहाड रगताम्य छ, तराइ दनदनी बलीरहेको छ, कोशीहरूमा शुद्ध र सङ्गलो पानी बग्दैन आजभोली । सबै भयभित छन्, सबै भागिरहेका छन् । अध्ययन, अनुसन्धान, खेलकुद, मनोरञ्जन, समाजसेवा अनेक बहानामा सबै भागिरहेका छन् । कविता सुनाउने वहानामा म पनि भागेँ त के अपराध गरेँ ?' दिमाग खुस्केको मानिस झै एक्लै बड्बडाउन थालेछु ।गोष्ठिको नाईकेको छन्दबद्ध कविता जस्तै मधुर वाणीहरू सम्झीन थालेँ, 'डलरको खेति हुन्छ अमेरिकामा । बाह्र लाख उकास्न बाह्र महिना कुर्नु पर्दैन । अनि हिसाब लगाउ जिन्दगीमा कति कमाउने छौ ?'
साँच्चै कविता जस्तै लयबद्ध उस्ले भनेजस्तै सपनाको खेतहरू कहाँ छन् होला । अनी खै काहाँ छ त्यो गोष्ठिको आयोजक जस्ले म स्वयं तपाईको स्वागतमा विमानस्थल हाजिर हुनेछु भनेको थियो ।
मेरा आँखाहरू भिडमा उस्को अनुहार खोज्दा खोज्दै थाकी सके । त्यै पनि आश मारेको छैन । उस्ले दिएको नम्बरमा फोन गर्दा गर्दा साटेको खुजुरा सबै सकिइ सक्यो । उनीहरूलाई सर्म्पर्क गर्ने अर्को कुनै माध्यम थिएन । त्यत्रो ठुलो गोष्ठिको आयोजक सम्भवतः अरु काममा ब्यस्त भयो होला ।
'आफै आउन नपाए पनि कसैलाई पठाउन पनि त सक्थे, किन कोही देखा नपरेको होला ?' मेरो मन यति अधिर भै कहिल्यै छट्पटाएको थिएन । म फेरि भिडमा आँखा डुलाउन थालेँ ।
"हैन, तपाईँ नेपाली जस्तो देखिनुहुन्छ नि ?" अनायास यी वाणिहरू ठोकियो मेरो कानको पर्दामा र म विजुलीको गतिमा त्यो ध्वनी आएपटि फर्किएँ । एकजना निकै हट्टा कट्टा ज्वाजल्य व्यक्तित्व भएको मानिसलाई सामु पाएर हेरेको हेर्यै भएँ । आँखाबाट हर्षको आँसु झण्डै बाँध फुटाइ बगेनन् । हत्तपत्त सोधेँ, "हजुर गोष्ठिको आयोजक मध्येकै हुनुन्छ ?"
" गोष्ठि ? आयोजक ? खै के भन्नु भा' हो तपाईले मैले केही बुझिन । मैले त तपाईलाई नेपाली लागेर सोध्या मात्रै ।"
आँसु त त्यसै पनि बग्न आतुर भै सकेको थियो तर अब हर्षको हैन बेदनाको भएर । तर रोकेँ । रोक्नै पर्थ्यो मैले । साहस गरेर बाह्रलाखको कविताको भूमिका सारांशमा सुनाएँ । निकै भावुक भयो उ । म भने उस्ले कोटको बाहुला बटारेको देखेर खङ्ग्रङ्ग भईसकेको थिए । कोटको बाहुला बटार्नेहरूबाट भयभित थिएँ म । तर, समय हेरि

