होली आउन झन्डै एक हप्तानै जस्तो बाँकीथ्यो काठमाडौं मा फुच्छे हरुलाई कस्ले छोइसक्नु। कहिले स्कुलबाट घर पुगौला र छतमा बसेर लोला हानौला भनेर जुर्मुरिन्थे। हामीहरुलाई घरबाट स्कुल, स्कुलबाट घर गर्न धरी धौ धौ हुने गरेर। त्यस्तो बेलामा पूजा आइपुगी डिल्लिबजारको सिद्धी पोलिक्लिनिक जाउँ भन्दै। उस्को मुखमा पिम्पल्स आयो रे, डक्टर बिमला ओझालाई देखाउनु पर्यो भन्दै। हुन पनी जुन नयाँ क्रिम बजारमा आयो त्यही दल्नु पर्थ्यो त्यस्लाई, कुन चै उस्को छालामा सुट गरेन होला दुई चार वोटा दाना त गालामा देखा परीहालेछन। "अहिले पर्या छैन, होली पछी जाउँला" भनेको के मान्थी? "त्यतिन्जेल कुर्यो भनेत मुखमा तिलको दाना राख्ने ठाउँ पनि हुँदैन पिम्पल्स ले ढाकेर" भन्न थालि। आउन पनि दुई दिनमा दुई चार वोटा आएछ दुइटै गालामा। कहिले त्यस्को मुखमा पहिले पिम्पल्स देखेको थिइन त्यसले धेरै नाइ पनि भन्न सकिन। "हेर् यो होलिको बेलामा म हिंडेर त मरे काटे पनि जान्न, ट्यक्सी अथवा ट्याम्पोमा लाने भए मात्र जान्छु"--मैले पनि पाएको बेलामा अड्को थापी हाले। उ झन के काम थि र? "ल हुन्छ तर तँ चै म: म: ख्वा है त" भनिहाली। अब उस्ले साधनको कुरामा हुन्छ भनेपछी मैले कसरी ख्वाउने कुरामा हुन्न भन्नु, फेरी भोली आफुलाई केही पर्यो भने चाहिने उही हो, अहिले बाँउठेर के गर्नु? हुन्छ भन्न पारीहाल्यो।
दुइजान को मिलोमत्तो मै जाने त भयौ तर घरमा के भन्ने? आमाले त "यस्तो होली को बेलामा पर्दैन" भन्ने सम्भावना धेरै थ्यो तेसैले पूजालाई पठाएँ पहिले आमाको कोठामा। उस्लाई देख्ने बित्तिकै आमाले भनिहाल्नु भयो--- "लौ के भ को छोरी अनुहारमा?, कस्तो भररर पिम्पल्स आएछ, तिमीहरु पानी धेरै खाँदैनौ त्यही भएर हो"। आमाले त्यती भन्ने बित्तिकै कुरा अगाडि बढाउन सजिलो भईहाल्यो। पूजाले हत्तपत्त भनिहाली "हो भन्या आमा, एक्कासी आयो, त्यही भएर दिपिका र म अहिले सिद्धी पोलिक्लिनिक जान ला"। आमाले मलाई पुलुक्क हेर्नुभयो। मैले पनि थपिहालेँ , आमाले केही भन्नु अगाडि नै ---"एकदम दुखिराछ रे, त्यसैले अहिले जाउँ भन्छे", "यस्तो होलिको बेलामा..." आमाको मुख बाट शब्द खस्न नपाई पूजाले टिपिहालि--"होइन आमा, टेम्पो मै जाने हो, केही हुँदैन, म पनि त्यसरी नै आएको हो अहिले"। पूजाको अनुहार देखेर आमाले धेरै केही भन्नु भएन, त्यही मौका पारेर म: म: खाने पैसा पनि आमा सँगै उठाएँ।
बाहिर हेरेको त एउटा टेम्पो ट्यक्सी केही छैन। त्यही भएर पो उस्ले एक्कै चोटि मा हुन्छ भनेको रहिछे। आफ्नो टोल सम्म त केही थे न, त्यहा बाट बहिर निस्के पछी पो आपत। जुन घरको छत मा मान्छे देखे पनि सात्तो जाने, कती खेर लोला बर्सिने हो भनेर। पूजा त साधनाको केही कुरै गर्दिन बा। उ त झन वस्ता नगरि फटाफट अगाडि हिड्छे। "पुजे टेम्पो खोज भन्या" भनेको त "देखिनस एउटा केही छैन, कहाँ बाट खोज्नु, हिंड्न चुप लागेर जता पाईन्छ त्यतै चडौला" भन्दै खोज्न त एक थोपा पनि प्रयास धरी गर्दिन। उल्टो मलाई "म:म: खाएर जाने कि आउँदा खाने?" भनेर सोध्छे।
"तैले हिडार लग्ने हो भने त म पनि सक्दिन तँलाई म: म: ख्वाउन"--मलाई पनि झोक्कै चल्यो। "ह्या कहिले त हिड्न पनि मज्जा आउछ के, अत्ति गन् गन् पनि नगर्न"--उल्टो मैले पो गन् गन् गरेँ रे। "तँलाइ त्यो हिड्न मज्जा होइन, सिधै भन्न पैसा जोगाको भनेर, किन बहाना बनाउछेस"---हुन पनि तेस्ले त्यहि नै गरेकि हो। पकेट खर्च जति भएपनि नपुग्ने उसैलाइ। बजारमा आएका जती लुगा सबै उसैलाई चहिने। फेरी एकजना सँग घुम्न जाँदा एकचोटि लगाएको लुगा अर्को चोटि नहुने, आफ्नो मात्र नभएर मेरो धरी केही बाँकी राखेकी थिन। एकचोटि त बाबाले कुन चै को बाइक को पछाडि बसेकी, मेरै लुगा लागाकी थि, देखेर मै हो कि भन्ठान्नु भएछ, घर आइपुग्ने बित्तिक्कै आमालाई खोइ छोरी भन्न थाल्नु भएछ। धन्न म घरमै थेँ त्यो दिन।
आखिर यस्ले हिडाएर नै लाने भई भन्दै, फेरी कतै बाट लोला पो आउने हो कि भन्दै गैराथ्यौ, टाढा बाट एउटा साइकलमा दुइटा केटाहरु हामीतिरै हान्निदै आए। पूजा र म आत्तिसकेका थ्यौ, झन तिनिहरु त नजिकै आएपछी त "हान हान हान" भन्न थाले, मैले दुइटै हात्ले टाउको छोपे अनी आँखा चिम्म गरेर कता तिर लोला बज्र्यो भनेको त, के को हुनु? तर्साएको मात्रै रहेछन, उल्टो "कठै बरा बहिनिहरु त कस्तो तर्सेको" भन्दै हाँस्दै पो गए। पूजा चै मान्छे कहाँ पुगिसकेपछी "बुझिस् तिनिहरुले हानेको भए बङ्गारा झारिदिन्थे" रे। फेरी मेरो भन्दा अगाडि उस्कै आँखा बन्द भईसकेका थे।