Posted by: gwanche January 21, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

यो चाँही हाम्रो गालब गुरुको भर्सन, चौतारी आर्काइभबाट!

 

चौतारी स्वस्थानी व्रतकथा - ७
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तिमीले यस अघि धोबिनीको पेटीकोट च्यात्तिएको सम्बन्धमा जिज्ञासा राखेको हुँदा आज त्यस सम्बन्धी कथा सुनाउँछु। ध्यान दिएर सुन।

यो घटना उस बेलाको हो जब तिम्रो चौतारी बनेको पनि थिएन। विभिन्न गाउँबाट यहाँ बसाइँ सर्ने क्रम तीब्र भई भर्खर वस्ती बस्न आँटेको थियो। सुरुमा यो गाउँमा बसाइँ सरेर आउने मध्येमा भउते र पुन्टे नामका दुईजना थिए। यी दुईको ग्रह पनि कस्तो भनेदेखि कुकुर र बिरालो जस्तो। बाटोमा भेट्ने बित्तिकै झगडा गर्ने, एक अर्ककाको कुरा काट्ने। अँझ भउतेले पुन्टेको साली उडाउँने जाली बुन्न थालेपछि त बाटोको नालीमाथि पनि, खेतको आलीमाथि पनि, कहिले गाली फाली-फाली, कहिले हात हाली-हाली, यी दुईको शीत युद्ध सुरु भएको थियो।

यस्तैमा धोबिनीले ब्रह्माको कठोर तपस्या गर्न लागिन्। ब्रह्मा प्रसन्न भएर वर माग भन्दा, "मेरा यी तीन वटा ईच्छा पुगोस् - पहिलो, भोलि बिहान मेरो पुन्टेले जे भन्छन्, सारा जिन्दगीभर त्यही पुकारिरहुन् । दोस्रो, भोलि मेरो वस्त्रको जस्तो अवस्था हुन्छ, जिन्दगीभर त्यस्तै रहिरहोस्। तेस्रो, भोलि विहान उठ्ने बित्तिकै मैले चिताएको कुरा पुगिहालोस्।" ब्रह्माले "तथास्तु" भनी वरदान दिएपछि धोविनी पनि अति प्रसन्न भई फर्किन्। भोलिपल्ट सारा कपडा सफा राखी, विहान-विहानै पुन्टेलाई "मेरी धोविनी कत्ति राम्री! आई लव यू" भन्न लगाउने अनि नोकर-चाकरले भरिएको सिंह दरवार जत्रो बंगला चिताउने योजना बनाइन्। र, यसरी ती लोभिनी स्वभावकी धोविनी जिन्दगीभर सिंहदरबार जत्रो महलमा सुकिला कपडामा सजिएर पुन्टेबाट सधैं प्रसंशित हुन पाउने कल्पना गरी मख्ख भइन्।

यता सोही दिन शीत युद्द चलिरहेको पुन्टे र भउतेको बिचमा खोपी खेल्दा पैसाको कुरामा बिबाद चली युद्ध शुरु हुन लाग्यो। सामान्य झगडा साँझ परेपछि महायुद्दमा परिणत भयो। चौतारीको पेटीमा पनि दौंतरीको घरमा पनि; मुखियाको छानामा, दुखियाको आँगनमा पनि युद्ध चलिरह्यो। यसरी मध्यरातसम्म लड्दा पनि डेग नचलेपछि पुन्टे आजित भएर भउतेलाई श्राप दिंदा भए "मेरो धोविनीको तपस्याको प्रभावले तँ अहिल्यै साँढे बनिगएस्!" यस्तो श्रापले भउते साँढेमा परिणत भए। कस्ता साँढे भनेदेखि एक हातको जुरो भएको, जुरेलीका नङ्ग्राभन्दा पनि तिखा एक‍-एक हातका सिंङ् भएको, बाघको जस्तो मसल(muscle) भएको, हात्तीका जस्ता बलिया खुट्टा भएको। आफ्नो सामुन्ने अजंगको साँढे देखेर पुन्टेलाई डर लाग्यो र भाग्न लागे। रातभरि पुन्टे अघि अघि, साँढे रुपी भउते पछाडि पछाडि। एवं रितले लखेटा-लखेट गर्दै पुन्टेको खेतमा दौंडिंदा साँढेले सिंगौरी खेलेर पुन्टेको खेत पनि भत्काइदियो, पानी लगाउने कुलो पनि भत्काइदियो, धोविनीको पसल पनि भत्काइदियो।

पुन्टे पनि बिहान झिसमिसेमा घरमा लुकुँ भनी दौडिंदै फर्किंदा ढोका बन्द देखेर आँगनमै के गरूँ कसो गरूँ बनिरहे। साँढे पनि आयो र पुन्टेलाई हेर्दै "हुक्काँ! हुक्काँ" गरी नाकको पुरा ठुला-ठुला बनाई, लामो-लामो सास फेरी, आँखा पिर्लिक्क पारी च्यालेन्ज दिन थाल्यो। पुन्टेलाई पनि झल्याँस्स स्पेन नामको मुलुकमा गोरूलाई जिस्क्याएर खेल्ने गरेको "बुलफाइट" खेलको सम्झना आयो। यस साँढेरुपी भउतेको सेखी यहीं झारिदिन्छु भनी रातो रङ्गको टालो खोज्दा आँगनछेउको कपडा झुन्ड्याउने तारमा रातो पेटिकोट देखे र त्यही पेटिकोट लिई साँढेसँग बुलफाइट खेल्दा भए।

यता धोविनी पनि बिहान बिहानै के भएछ भनेर उठेर आँगनमा आएर हेर्दा पुन्टेले आफ्नो पेटिकोट लिएर साँढेलाई तर्काउन लागेको देखेर "लौ! त्यस पेटीकोटमा साँढेको सिङ्को माटो लाग्यो भने ब्रह्माको वरको प्रभावले जिन्दगीभर माटो लागेको पेटीकोट लगाउन पर्ला" भनी हत्तपत्त पुन्टेको हातबाट पेटीकोट खोस्न लागिन्। पुन्टे र धोविनीले पेटीकोट तानातान गर्दा त्यस साँढेले पेटीकोटमा आफ्ना दुई सिङ् रोपिदियो र पेटीकोट च्यातिन गयो। यो देखेर धोविनी पनि "हे पुन्टे! अब मैले जिन्दगीभर यो च्यातिएको पेटीकोट लगाउन पर्ने भयो" भन्दै बिलौना गर्न लागिन्। अरु कुरा सहन सक्ने तर धोविनीको आँखाको आँसु सहन नसक्ने पुन्टे पनि भावविभोर भएर साँढेसँग प्रतिशोध लिने प्रण गर्न लागे "मेरी धोविनीको यही च्यात्तिएको पेटीकोटको कसम, हेर भउते! तँलाई छोड्दिन।" यस्तो सुनेर धोविनी झन अतालिंदै "हे मालिक! अब त झन अनर्थ हुन लाग्यो। अब जिन्दगीभर तपाईंले 'मेरी धोविनीको च्यात्तिएको पेटीकोटको कसम' भन्न पर्ने भयो" भन्दै बिलाप गर्न लागिन् । हे अगस्त्यमूनि! यही कारणले कालन्तरमा 'धोविनीको च्यात्तिएको पेटीकोटको कसम' पुन्टेको थेगो बन्न पुगेको हो। धोविनको विलाप सुनेर पुन्टे पनि "यो भउतलाई साँढे बन्ने श्राप दिएर ठुलो गल्ती गरेंछु" भन्दै प्रायश्चिय गर्न लागे। पुन्टेको यस्तो अवस्था देखी धोविनीले बाँकी रहेको "चिताएको कुरा पुग्ने" वर प्रयोग गरी "भउते अहिले नै पहिलेको जस्तै हवोस्" भन्न लागिन्। तत्काल भउते मान्छेमा परिणत भए र जिन्दगीभर पुन्टेको यो अवगुण नबिर्सने चेतावनी दिंदै शरीरभरि लागेको माटो पखाल्न चौतारी छेउको धारातिर लाग्दा भए।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तमोध्याय॥७॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।


Read Full Discussion Thread for this article