Posted by: gwanche January 20, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

चौतारी स्वस्थानी व्रतकथा - ६
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तहाँ उप्रान्त श्रीमहादेव कैलासमा आउन लागेको देखेर पार्वती हतार हतार चिया बनाउन लाग्नुभयो। चिया खाँदै गर्दा आफू भ्याकेसनमा जाँदा ईन्द्र आफूलाई खोज्दै आएको कुरा पार्वतीबाट थाहा पाउनुभयो। अँझ नेपाल नामको मुलुककी कन्यालाई छल गरी तपस्या भङ्ग गर्ने काम भनेपछि महादेवलाई पनि नेपालीहरुसँग बदला लिने भावना पलायो र तत्काल ईन्द्रलाई बोलाउन पठाउनुभयो।

ईन्द्र हाजिर भई सबै कुराको बेली बिस्तार लगाएपछि ती कन्या के गर्न लागेकी रहिछन भनेर महादेवले ध्यानदृष्टिले बिचार गरी हेर्नुभयो र भन्नुभयो "हे ईन्द्र! यी कन्याले पुन्टे नामको भेनालाई आफूबाट १० मीटरभन्दा नजीक आउन नसक्ने गरी श्राप दिएर कजाएर राखेकी रहेछन्। भउते काजी नामकको केटासँग भोलि उनको बिहे रहेछ। अस्तिभर्खर नारदजीलाई गुलेलीले हान्न खोज्ने पनि यिनै केटा रहेछन्। अहिले त जगिया पनि तयार भइसक्यो। यी कन्याको बत्तीस लक्षणले युक्त रुप देखेर मेरो यिनीसँग बिहे गर्ने ईच्छा भयो। यो भउते-जुरेलीको बिहा क्यान्सिल गर्न पर्यो। तुरुन्त त्यस भउतेलाई यहाँ बोलाऊ। " शिबजीको यस्तो कुरा सुनेपछि ईन्द्र पनि अन्कनाउदै बिन्ती गर्न लागे "हे जगन्नाथ! हे करुणाकार! अहिले मर्त्यलोगका मानिस पापी बनेका हुनाले मरेपछि सिधै नरक जाने संभावना तीब्र बढ्दो छ। त्यसैले आजभोलि जिउँदै स्वर्ग आउने भिसा पाएकाहरु ओभर-स्टे गर्न थालेका छन्। अँझ आतंककारी गतिविधिमा पनि संगल्न भई 'मिसाइल', 'बम' आदि बिभिन्नथरीका कलियुगे अस्त्रहरु प्रयोग गरी देवताहरुको अफिस ध्वस्त गर्दैछन्। अस्ति भर्खर एउटा समूहले चढी आएको विमान ठोकाएर मेरै दरबार अगाडिको महल ध्वस्त गर्ने जस्ता आत्मघाती हमला समेत गर्यो। यो अवस्थामा केही समयलाई हाम्रो मर्त्यलोगको दुतावासले भिसा जारी गर्ने काम रोकेको छ। अँझ, त्यस केटो भोलि बिहे भए आज किन यता आउँथ्यो। बरू हामी नै एकपटक मर्त्यलोग पो जाने हो कि?" भनेर जिकिर गर्न थाले। "तिमी आफैं स्वर्गका राजा छौ, विशेषादेश मार्फत बोलाऊ" भन्दा पनि ईन्द्रले नमाने पछि बाध्य भएर महादेव पनि ईन्द्रको साथमा गाउँतिर झरी चौतारीतिर लाग्नुभयो।

रात निकै बढेपछि भउतेलाई सुटुक्क बोलाई महादेवले भन्न लाग्नुभयो "हे भक्त! तिम्रो भोलि बिहे रहेछ। मलाई यो जुरेली भन्ने कन्या मन परी। यस कन्या मलाई टक्र्याऊ! बरु यी भन्दा राम्री केटी तिमी मलाई मिलाइदिउँला।" यति भनी बाघको छालाभित्रबाट एउटा फोटो निकालेर देखाउनुभयो र भन्न लाग्नुभयो "यो डिजाइनको केटी भए हुन्छ कि हुँदैन? यसमा केही हेरफेर गर्न पर्ने भए भन म त्यसै अनुसारको कन्याको सृष्टि गरी तिमीलाई दिउँला।" फोटोकी केटी कस्ती भने जिउडाल मिलेकी, लामो घाँटी भएकी, मृगका जस्ता आँखा भएकी, नागबेली केशलाई आशिकी स्टाइलले मिलाएकी, ओठमा पियर्स गरेकी, एउटा दाँतमा दारा निस्केर बाहिर आउला जस्तो भए पनि हिस्सी परेकी, अहिले नै निस्केर भउतेलाई म्वाईं खाउँला झैं गरी हेरेकी। यस्तो जुरेलीभन्दा दसगुना राम्री कन्याको तस्वीर देखेर भउते पनि भन्न लागे "हे महादेव! यस्ती अप्सरा भई भई म यो जुरेलीसँग के बिहा गरुँला? मलाई जहिले पनि पुन्टे र धोबिनी अनि यी पापिष्ट गाउँलेले टेन्सन गरिराखेका छन्। बिहे गरे पनि यो जुरेलीसँग लामो चल्लाजस्तो लाग्न छोडिसक्यो। त्यस जुरेलीलाई अहिले नै मनमनै पारपाचुके गरिदिएँ। बरु भोलि कसरी जुरेलीलाई तपाईंसँग बिहे गराउने? आज्ञा हवस्।" भउतेको यस्तो कुरा सुनी महादेवले पनि भोलिपल्टको प्लान सुनाउनुभयो र बिदाबारी भई स्वर्गतिर लाग्नुभयो ।

भोलिपल्ट शिबजी उठ्दा ११ बजिसकेको थियो। अघिल्लो दिनको धपेडी र गाँजाको ह्याँङ्ओभरले गर्दा टाउको पनि दुख्यो। यता शिबजी नआएको देखेर भउतेलाई छटपटी लाग्न थाल्यो। ठीक कन्यादान हुने बेला पनि भयो र त्यस भीडमा एउटा जोगी आई भिक्षा माग्न थाल्यो। जोगीलाई देखेर कन्यादान दिन बसेकी धोबिनीले भन्न लागिन् - "हे भिक्षु! अहिले मेरो बहिनीको कन्यादान छ। एकछिन पर्ख, कन्यादानपछि भिक्षा दिउँला।" धोविनीको यस्तो बचन सुनी भिक्षु पनि कड्किएर भन्न लागे "हे स्त्री! भिक्षा दिने भए अहिले नै लेऊ हैन भने तिमीलाई श्राप दिउँला।" यस्तो बचन सुनी धोविनीले १० मिटर टाढाबाट नून खाएको कुखुरा झैं झोक्राएर बसेको पुन्टेलाई भिक्षा दिने इशारा गर्न लाग्दा बेहुलो बनेको भउतेले टाढैबाट कराए "हे भिक्षु! अहिले कन्यादानको बेला छ। कन्यादान पछि भिक्षा दिइहाल्छन्। बरु आऊ मेरो छेउमै बस" भनी अलिकता ठाउँ छोडिदिए। भउतेको यस्तो बचन सुनी भिक्षु पनि भउतेको छेवैमा बसे। मुखबाट गाँजा ह्वास्स गनाएको थाहा पाएर भउते पनि यी महादेव नै रहेछन् भन्ने पक्का भए। कन्यादान दिनका निमित्त धोविनीले जुरेलीको हात भउतेको हातमा राखिदिन लागेको बेलामा त्यो भिक्षुले पनि हात लम्काएको देखेर जुरेलीले एक्कासि कन्यादान रोक्न लगाएर कराई "हे भिक्षु! तिमी भिक्षु नभई महादेव हौ। हो कि हैनौ ल भन! यस्तो सजिलैसँग मलाई झुक्याउन सक्छु भनेर कसरी सोच्यौ? यो तरिकाले त तिमीले सतिदेवीसँग बिहे गरेका हैनौ? मैले पुरानो स्वस्थानीमा अस्तिभर्खर पढेको। यो भउते पनि महादेवसँग मिलेको रहेछ। अब तीन महिनासम्म तिम्रो मुख हेर्दिन। लौ मेरो नजरबाट टाढा जाऊ। यो बिहा यहीं केन्सिल भयो। अनि जोगीको भेषमा छल्न आएका महादेव! तिमीलाई पनि श्राप दिन्छु। तिमीले खाने यो गाँजा खाने जति सबै जेल जान परोस्।" यस्ता तवरले जुरेलीले बिहे रद्दा गरेपछि भउते र महादेव आँगनको डिलबाट लुरुलुरु ओरालो लागे। जन्ती आएका नमे, दादा, सिरे, गोताएँ, चित्रे अनि लोकन्ती बनेर आएको महिला समुहका तितौरी, ठुल्नानी, सान्नानी र मास्टर्नी पनि अब के गर्ने भनेर मुखामुख गर्दै भउतेहरु गएतिर टुलुटुलु हेर्न थाले। हे अगस्त्यमूनि! जुरेलीले दिएको यही श्रापको प्रभावले अहिले मर्त्यलोगको सबैजसो मुलुकमा गाँजा, भाङ्, धतुरो प्रतिबन्धित छ। यी वस्तुहरु सेवन गर्ने मानिसहरुलाई पुलिस नामका निलो वस्त्रधारीहरुले जेलमा लैजान्छन्।

बेलुका गैरीको पसलनेरको भट्टीमा महादेव, भउते र पुन्टे जम्काभेट भयो। ती तिनैजना जुरेलीजस्तो सोझी अज्ञानी केटीसँग हार खानु परेकोमा उदेक मान्न थाले। पुन्टे जुरेलीको दस मिटरभन्दा नजीक जान नपाउने भए, महादेवले आफ्नो पृय सेवनपदार्थको मर्त्यलोगमा बन्देज भएको देख्न पर्यो भने भउते पनि तीन महिनासम्म जुरेलीलाई देख्न नपाउने भए। यस्तो कसरी सम्भव भयो भनेर पुन्टेले सोध्दा, श्री महादेवले भन्न लाग्नुभयो "यो सबै श्रीस्वस्थानीको कृपा हो"। तीन जनाले एक-एक गिलास लोकल हातमा लिएर "श्रीस्वस्थानी माईकी जय!" भन्दै गिलास ठोक्याई चियर्स गरे। उता भट्टीको रेडियोमा गीत बज्नथाल्यो "पिउन देऊ मलाई, जिउन देऊ मलाई, बेहोसी भै आफूलाई भुल्न देऊ मलाई!"

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे षष्टमोध्याय॥६॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।

Read Full Discussion Thread for this article