Posted by: gaalab February 16, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ॐ नम: शिवाय:। शिवरात्रीको पावन अवसरमा शुभकामना!!! आज त राहुलदाइ र हरिले वर्षभरि कुरेर बसेको दिन होला केरे। झ्याप होलान्। जदौ!!! नमस्कारम्!!!! सिको "ममी? मेरो ममीलाई के भयो?" यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली - "अहँ"। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई - एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए। "तिम्रो ममीको होस गुमेको छ प्रीति!" त्यस मानिस भन्दै थियो, "तर मलाई पूर्ण विश्वास छ कि तिमी र म, अनि हाम्रो समाजको वातावरणले उनीलाई फेरि पनि पहिलेकै अवस्थामा पुर्याउन सक्नेछौं।" "तर कसरी डाक्टर पान्डे?" प्रीतिले पत्यार नलागेको आवाजशैलीमा सोधी, "मेरो ममीको त दिमागमा नै असर परेको छ भनेको होइन?" "हो छोरी हो! तर आजको यस युगमा असम्भव केही छैन। म आफैं दिमाग विशेषज्ञ हुँ र मलाई राम्ररी थाहा छ तिम्री ममीलाई के भएको छ।" डाक्टर पान्डेले अर्को पट्टि भित्तामा राखेको मनिटरतिर लेजर पोइन्टरले देखाउँदै भन्यो, "प्रतिभालाई चोट परेको यस भाग हो। र, त्यो भाग म सजिलैसँग मानवनिर्मित रसायन हालेर फेरिदिन सक्छु। तर यहीं तिम्रो ममीको अहिलेसम्मको जीवनी किताब झैं लेखिएर बसेका छन्, र मलाई अफसोच छ कि तिम्रो ममीले पहिलेका कुरा सम्झिन सक्दिनन्। तर जीवन भनेको बिगतको स्मृतिमा बाँच्ने हैन, आउँदो सुमधुर भविष्यको लागि बाँच्ने हो। र प्रीति, मलाई विश्वास छ तिमीले नयाँ नयाँ सपना देखाएर, जीवनको रहस्य बुझाएर प्रतिभालाई यस जीवनको सार्थकता बुझाउनेछौ।" प्रीति मुक रही, उसले यी सबै बुझ्नु सम्भव थिएन। ऊ भावरहित अनुहारले मनिटरमा दृष्यांकित दिमाग एकोहोरो हेर्दै निकै बेर टोलाइरही। डाक्टर पान्डेले केही बोल्नु उचित ठानेन, ऊ आफू अगाडिको कम्प्यटरतिर हेर्दै नोटबुकमा केही मेमो लेख्न थाल्यो। "ममी! ममी!! तपाईंले हाम्रो प्रमिस् कुनै पनि नसम्झिने? मलाई अर्को जन्मदिनमा मिक्की माउस भएको निलो टिसर्ट किनिदिने भनेको हैन? तर मैले मिक्की माउसको निलो टिसर्ट लाउन नपाउने भएँ।" "निलो हैन नानू! रातो। तिमीलाई रातो सुहाउँछ।" पान्डेले प्रीतिको आँखाबाट बरर झरिरहेका आँसुका ठुला ठुला थोपा पुछिदिंदै भन्यो, "तिमीलाई मिक्की भएको रातो टिसर्ट किनिदिने। त्यो पनि तिम्रै ममीले किनिदिने। म तिम्रो ममीलाई तिमीसँग मिकीको टिसर्ट किन्ने भनेर गरेको प्रमिस् दिमागमा थपिदिउँला। जिन्दगीभरीको कहानी थप्न नसके पनि त्यति त गर्न सक्छु नि। मलाई धेरै दुख लागेको छ कि मेरै मोटरले तिमीहरुलाई धक्का दिएर यस्तो हुन पुग्यो। यो घटना मेरो जिन्दगीभरिको लागि पश्चातापको कुरा हुनेछ। र प्रायश्चित गर्नको लागि म जुनसुकै काम पनि गर्न तयार छु। त्यसैले प्रीति, मैले तिम्रो ममीको जीवनको ठुलो भाग त तोडें, तर जे जति बाँकी छ त्यसको सकेसम्म फाइदा लिनुपर्छ। र, तिमी र म मिलेर प्रतिभालाई नयाँ जीवन दिनुपर्छ।" प्रीति केही नबोली डाक्टर पान्डेको हातमा टाउको पुरै अड्याई र मुस्काउने प्रयास गरी; मिक्कीको टिसर्ट लगाउन पाउने कल्पनाले उसलाई वास्तविकताबाट अलिकति भने पनि पर तानिदिएको थियो। "प्रतिभा! तिमी उठ्यौ?" प्रतिभाले आफूहरुतिर हेरिरहेको देखेर डाक्टर पान्डे बोल्यो, "मलाई थाहा छ तिमी हामीलाई त के आफैंलाई पनि चिन्न सकिरहेकी छैनौ। तिम्रो नाम प्रतिभा हो। यी सानी नानी तिम्री छोरी 'प्रीति' हुन्। अनि म यस शिक्षण अस्पतालमा काम गर्छु र पढाउँछु पनि - डाक्टर पान्डे।" प्रतिभाको होस खुलेको देखेर प्रीति दौडँदै गएर शैय्यामा चढी र उसको औंला खेलाउँदै गुनासो गर्न थाली - "ममी! तपाईंले त अब पहिलेको कुरा केही पनि सम्झन नसक्ने रे।" प्रतिभा कुनै प्रतिकृया नजनाई ट्वाल्ल हेरिरही। डाक्टर पान्डे अगाडि उसलाई अर्थ्याउँदै गयो "प्रतिभा, तिमी आज दुर्घटनामा पर्यौ र त्यसको कारणले तिम्रो स्मरणशक्ति गुमेको छ। त्यसको लागि म दुखित छु। तर अब तिमीले आउँदा दिनहरुमा यो संसारको रीति रिवाज, नियम कानुन, रहन सहन सबै सुन्यबाट सुरु गर्नु पर्नेछ। मलाई पुरा विश्वास छ कि तिमी यस कुरामा सफल हुनेछौ। र, तिम्रो प्रथम गुरु हुनेछिन् तिम्रै छोरी। हो, प्रीतिले आजदेखि तिमीलाई कसरी खाना खाने, कसरी हिंडडुल गर्ने भनेर सिकाउने छिन् र तिमीले उसको सिको गर्नुपर्नेछ। शारीरिक रुपमा तिमीलाई केही पनि भएको छैन, त्यसैले तिमी आज नै डिस्चार्ज हुन सक्नेछौ। तिम्रो टाउकाको पछिल्लो भागमा दुईवटा धातूका लाइनहरु जोडिएका छन्। र, तिमीले ती लाईनहरु जोडेर बजारमा निस्केका सफ्ट्वेरहरु सिधै दिमागमा डाउन्लोड गर्न सक्छ्यौ र घरमै बसी ज्ञान पाउन सक्छ्यौ। तर मलाई अफसोच छ मैले चाहेर पनि तिम्रो बिगतको सम्झना फिर्ता ल्याइदिन सक्तिन।" अस्पतालबाट हिंड्ने बेलामा पान्डेले प्रीतिको गाला थम्थम्याउँदै भन्यो "प्रीति, तिम्रा साथीहरु स्कूलमा पढ्दै खेल्दै गर्दा तिमीलाई चाहिं ठुलो मानिसको काम गर्नु परेको छ। तर त्यसको फलस्वरुप तिमीले अन्य भुराहरुभन्दा बेग्लै रमाइलो पाउनेछौ, चौबीसै घन्टा आफ्नो आमाको अगाडि बस्न पाउनु पनि सौभाग्यको कुरा हो।" प्रीतिले स्वीकारोक्तिको भावमा मुन्टो हल्लाई। (बाँकी भाग पछि)
Read Full Discussion Thread for this article