Posted by: gaalab January 28, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
आजको भाग चैं आजको परिस्थितिसँग मिल्या जस्तो छ। चौतारी स्वस्थानी व्रतकथा - २४ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, यतिका दिन चौतारीको पाठशालाको बारेमा कुनै कथा नसुनाएकोले आज बताउँछु, सुन। पाठशालाको सञ्चालक समितिका दादा, पुन्टे र जिम्माल बुढाले मास्टर्नी नानीलाई भुराभुरी पढाउन जिम्मा लगाइदिएको पनि वर्ष नाघिसकेको थियो। पहिले त सबै नयाँ मिस भनेर भुराहरु अनुशासित हुन्थे र सधैं उपस्थित हुन्थे। तर दुई चार महिना यता चाहिं आउँदै नआउने, आए पनि ढिलो आउने, गृहकार्य नगर्ने, पछिल्लो बेन्चमा बसेर हल्ला गर्नेहरुको संख्या बढिरहेको थियो। सधैं भुरालाई गाली गर्ने मास्टर्नी नानी आज भने आफैं ढिलो भएकी थिइन्। मास्टर्नी नानी हस्याँङ् फस्याँङ् गर्दै उकालो लागेको देखेर पुन्टेले आँगनबाटै कराउन लागे "हे मास्टर्नी नानी! लगन बित्न लागेको झैं जस्तो हतार गर्नु पर्ने काम के परो?" पुन्टेको यस्तो प्रश्न सुनेर मास्टर्नी नानी पनि मनमनै चाहिं "कस्तो मान्छे र'च यो पुन्टे दाइ त! आफैंले काम लगाइदिने, अहिले कहाँ जान लाग्या भनेर सोध्नुहुन्छ" भन्दै झोक्किंदै उत्तर दिन लागिन् "खेताला जान लाग्या!" स्कूलको ग्राउन्डमा चढेर हेर्दा कसैलाई पनि नदेखेर रिसाउँदै भन्न लागिन् "के भा'का यी भूराहरु? दस बज्न लागिसको, कोही आइपुग्या रैनछ! यिनीहरुलाई गयल लगा'र फेल गर्न सकिनछु भने त!!! अरु त के ठुलीको पनि अत्तोपत्तो रहेनछ। कति सुनसान हो आज? यो स्कूल त भूतको बंगला जस्तो पो छ त! स्कूलमा आएर पढाउनु पनि आफैंले पर्ने, अफिस पनि आफैंले खोल्नु पर्ने, अफिस कोठाको सर-सफाइ पनि आफैंले गर्नु पर्ने। यी गाम्लेहरु एउटा पिउन पनि राख्दिन सक्या हैनन्" भन्दै फलाक्दै अफिस खोल्न लागिन्। दस बजिसकेकोले घन्टी झुन्ड्याएर बजाइन् र बिद्यार्थीहरुलाई बोलाउने चेष्टा गरिन्। पन्ध्र मिनेटपछि पनि कोही नआएकोले स्कूलको डिलमा बसेर जिम्माललाई बोलाउन लागिन् "ए जिम्माल दाइ, हैन आज कुम्लेलाई देख्नुभएन? कता लाग्यो होला?" जिम्माल बुढा पनि आँगनमा बसेर तमाखु तानिरहेका थिए तत्कालै उत्तर दिए "खै, आज मर्दीतिरमा माछा मार्न जाने भन्दै थियो।" यस्तो उत्तर सुनेर "यो मोरालाई फेरि माछा मार्न जान पर्या। राहुलदाइसँग गाँजा तान्न पल्केको झैं मानिचु। यी राहुलदाइ पनि कस्तो? चिलिम तान्न सिका'र! भुरा बिगार्ने भए।" अफिसमा फर्केर फेरि हाजीर कापी खोल्दै मुर्मुरिन लागिन् "यो चित्रे बजिया पनि कता गयो? अगाडि भने सधैं 'मास्टर्नी दिदी' भनेर चेप्र्याइँ पार्छ, अब त स्कूल हाप्न पनि थालिसकेछ। यो हरि नि? पक्का गाँजा खान, तास खेल्न लाग्या होला। त्यो सिंगाने तितौरी नि तितौरी? त्यो त आउनु पर्ने नि! ढ्याक खेल्दै बसेई (बसेकी) होली?" रजिस्टरमा हाजिर गर्ने पान्ना र गते पहिल्याउँन खोज्दै भन्न लागिन् "पख्, यिनी सबैलाई आज गयल नापारिदई त कहाँ छोड्छु र? आज २८ तारिख आइतबार! आबुई-------- आज त आइतबार पो रहेछ। आइतबार के स्कूल आउँथे त अब?? म पनि कस्तो भुलक्कड!!! अब लाजमर्नु भो। घन्टी पनि बजाइदिएँ। हेत्तेरिका!!!" तहाँ उप्रान्त घर फर्किने बेलामा गल्लीमा गोताएँ बुढा भेट भए र सोध्न लागे "आज आइतबार पनि स्कूल गएर आइचेउ (आइछौ) नि त नानी?" मास्टर्नी नानीलाई पनि मनमनै लाज लागे पनि कुरा मिलाउँदै भन्न लागिन् "परीक्षाको लागि अलिकति प्रश्न तयार गर्नु थियो। हिजो भ्याइएन, त्यै भ'र आज सका'र आ'की।" मास्टर्नीको कुराले चित्त बुझेनछ क्यारे गोताएँले फेरि प्रश्न गरे "अनि घन्टी पनि बज्या जस्तो लाग्थ्यो त!" मनमनै "मान्छे बुढो भएपछि कान सुन्दैन भन्थे, यी बुढाका त कान पनि कति टाठा?" भनिन् तर उत्तर चाहिं अर्के दिइन् "घन्टी खियाले खा'को थियो। आज यसो पुछपाछ पारें, अनि आवाज कस्तो दिंदो रहेछ जाँच्न बजाइहेर्या हो।" "अनि एक महिना अघि मात्रै मैले बजारबाट नयाँ घन्टी बोकेर ल्या' हैन र? कति चाँडै खिया लागेछ त?" यी बुढालाई गफ गरेर नसकिने भयो भन्दै अलि झर्किंदै उत्तर दिइन् "मैले पुरानो घन्टीको कुरा गरेकी।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे चतुर्विंशोध्याय॥२४॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article