त्यसपछिका हरेक दशैँहरु जिन्दगीमा कहिल्यै नपुरिने घाऊ बेस्सरी चहराएर बित्ने गरेका छन्। एक घटस्थापनाको दुई दिन पहिले मेरी आमा; शान्त, शुशील र सुन्दरी आमा हामीलाई छाडेर बैँशमै, आफ्नो सपनाको घर सजाउन भर्खरै थाल्दा थाल्दै, गुँडमा बचेराहरु जम्मा गरिमात्रै सकेर तिनका लागि आहारा खोज्दा खोज्दै, ताराहरुको संसारतिर जानुभयो।
त्यो चोटको दुई वर्षपछिको दशैँमा होला, मलाई र मेरो माईलो (भाइ शिशु)लाई निलो पाईण्ट र निलै शर्ट आएको थियो। बाले हामीलाई मामाघर लिएर जानुभएको थियो। कलंकीबाट बस चढ्ने संभावनै थिएन, मान्छेहरु झुण्डिएर यात्रा गरिरहेका थिए नैकापतिरबाटै।
"म तिमीहरुलाई कथा सुनाऊँछु, हिँडेर जाऊँ है त ?"
"हस्।" बस चढ्ने रहर त छँदैथियो तर कथाको लोभले जित्यो।
बाले रामायणको कथा शुरु गर्नुभयो, शायद दशैँको शुरुवातको प्रसंगबाट होला। हामी कथामा यस्तरी एकाकार भयौँ कि बाटो कटेको पत्तै भएन। त्रिपुरेश्वर पुगेपछि ट्रलीबस चढ्न पाईयो। ठिमीमा ट्रलीबसबाट झरेपछि कथाको क्रम फेरि शुरु भयो। त्यो दिनको त्यो एकाग्रता, त्यो तन्मयता आजसम्म कहिँ कतैपनि दोहोरिएको छैन।
"अब हजूरबाले सुनाउनुहुन्छ तिमीहरुलाई कथा।" मामाघर पुगेपछि बाले भन्नुभयो।
'ल आओ, म सुनाउँछु कथा।" हजूरबाले कथा शुरु गर्नुभयो बाले रोकेको ठाऊँबाट। त्यो रात सपनामा हामीले पूरै रामायण देख्यौँ होला।
दशैँमा हामीले पाएको दक्षिणा भोलिपल्ट फर्कँदा ठिमी पुगेर सकिन्थ्यो। सडक नपुग्दैको एउटा पुस्तक-पत्रिका पसलमा "बालकोसेली" भन्ने पत्रिका र नयाँ बालकथाका पुस्तकहरु किनेपछि हाम्रो दशैँ हामीबाट बिदा हुन्थ्यो।
अब दिनहरु उहि रहेनन्। हजूरबा हुनुहुन्न, हजूरआमा हुनुहुन्न। हनुमन्तेको फाँटमा तरकारीहरु कम झुल्छन्, त्यहाँ आजभोलि राक्षसजस्ता कुरुप र विशाल ईँटाभट्टाहरु मलिलो माटोलाई चपाएर, उग्राएर धूवाँ फालिरहेका हुन्छन्। गाऊँको वातावरण झन् बिग्रेको छ। चियापसलहरुले चियासँगै जाँड रक्सीपनि बेच्न थालेको धेरै भयो। तन्नेरीहरु उद्देश्यहीन झल्ळीरहेछन्। पिङ्ग मच्चिन छोडेको छ गाऊँमा, किनकि दिदी-बहिनी र भाऊज्यू-बुहारीले पिङ्ग खेल्ने वातावरण रहेन अब, जताततै जँड्याहा र गुण्डाहरुको बिगबिगी बढेको छ। र रातभर कुन घर कुन गाऊँमा बन्दूक पड्कने हो पत्तो हुँदैन।
मेरा धेरै दशैँहरु घर र देशबाट टाढा परदेशमा एक्लै एक्लै बितेका छन्। तर मलाई मेरो मनको दशैँले कहिल्यै छोडेको छैन। दिनमा बतासलाई रोकेर झुल्ने हरिया फाँटहरु अनन्तसम्म फैलिएका छन् मेरो मनमा। साँझको बतास घर अगाडिको अग्ला अग्ला काईँयो फूलका रुखहरु वरिपरि चक्कर मार्छ र रुखहरुलाई काऊकुती लागाएर आफैँ खित्का छोड्दै भाग्छ। अनि चन्द्रमा उदाएपछि आकाश र धर्तीको रुपको जुहारी चल्छ।
मेरो मनको दशैँमा म स्मृतिका गेरेटाहरुमा दायाँबायाँका मभन्दा अग्ला बोटका धानका बालाहरुसंग गफ गर्दै मामाघर गईरहेको हुन्छु।
(समाप्त)