Posted by: Gautam B. September 16, 2005
DASHAIN IN MY MIND
Login in to Rate this Post:     0       ?        
"मेरो मनको दशैँ" मेरो मनको दशैँ विद्यालयमा दशैँ बिदा शुरु हुने केहि दिन पहिलेबाट शुरु हुन्छ । वर्षात सकिएको छ, धानको फाँट हरियोबाट पहेँलो हुने सूरमा छ, भटमासका बोटहरु र मकैका ढोडहरु उखेलेको बारी अझै रसिलो र मलिलो देखिन्छ र बिहानको हल्का चिसोले दशैँले कतै नजिकै लुकेर जिस्काइरहेको छनक दिन्छ। विद्यालयमा शुभकमनाका शब्दहरु लेखिएका पोष्टकार्डहरुको आदानप्रदान भइरहेछ, मनपर्ने शिक्षकहरु र मनपर्ने साथीहरुको भागमा मात्र यी पर्छन् र कुनै कुनैमा प्रेमको उद्घोष पनि हुनसक्छ। दशैँ बिदा लाग्नुअघिको दिनमा हाम्रो विद्यालयमा विद्यालयब्यापी कार्यक्रम भएको त याद छैन, तर सबै कक्षाले आफ्नै ढंगले रमाइलो गरेर एक अर्काबाट छुट्टिन्थे। त्यस्ता कार्यक्रमहरुमा म चूट्कीला सुनाऊँथेँ। गान, बजान र नृत्य मेरो वशका कुरा होइनन् (मलाई आफू निरस भएकोमा सधैँ हीनताबोध भइरहन्छ।) । धन्न बच्चैमा पढेको "हमजाएगाको डायरी" ले चूट्कीलामा रस बसाईदियो र भीडभाडमा अलि अलि गफ लाउन जान्ने भइएछ। बिदाका दिनहरुमा मेरा साथीहरु किताबमात्रै हुन्थे। दशै तिहारमा जूवा-तास नखेल्ने मान्छेलाई अनौठो जनावर मान्ने समाज छ मेरो। अभावले गाँजिएको मेरो बाल्यकालले मलाई किताबको छेऊमा पुर्यायो, तासको छेऊमा जानै नदिई। हुनत किताबको सोख पनि सस्तो थिएन मेरो लागि । फूलपाती, अष्टमी र टिकाका औपचारिकताहरुभन्दापनि मलाई दशैँको समयको मादकताले सधैँ सधैँ लठ्याउँछ। सबेरै बिहानको हल्का झण्डै पारदर्शी कुहिरो र मिठोसंग चसक्क घोच्ने चिसो हावा, उज्यालो दिनमा पहेँलिएर दौडिरहेको वतास, चँगाबुट्टे निलो एकदम निलो आकाश, हावाका पखेटामा झुण्डिएर उडिरहेको साँझ - के छ यी सबमा कुन्नि, जसले जिन्दगीका कठोरताहरुको माझमा पनि मेरो मनको भित्र, भित्र कतै, आशाको उज्यालो भरिरहन्छ। र मेरो मनको दशैँको मध्यचोकमा मेरो मामाघर पर्छ। घर र छिमेकमा टिका थापिसकेपछि, मामाघर जाने यात्रा शुरु हुन्थ्यो, टिकाकै दिन। भक्तपुरको अलिक भित्री भागमा पर्ने मेरो मामाघर गाऊँ कालीटार (अहिले दधिकोट गा वि स मा पर्छ जस्तो लाग्छ।) पुग्न ठिमीमा बसबाट ओर्लेर एक घण्टा जति हिँड्नुपर्छ। हनुमन्ते खोला तरेर तरकारीका फाँटहरु कटेर एउटा सानो उकालो काटेपछि गाम्चा शुरु हुन्छ। गाम्चाको सीरी (श्री?)को पसलको रौनकनै बेग्लै हुन्थ्यो। लँगुरबुर्जाका थुप्रै खालहरुमा मान्छेहरु झुम्मेर चिच्याईरहेका हुन्थे । हामीपनि बढीमा एक मोहरसम्म त्यहाँ बुझाएरमात्रै बाटो लाग्थ्यौँ। चर्खण्डी (?) सम्मको चौडा बाटो छोडेर, एउटा सानो खोला तरेर गोरेटो समात्ने बेलासम्म झमक्क साँझ परिसक्थ्यो। त्यतिखेरसम्म त्यो गाऊँमा टिका थाप्न जाने छोरी, ज्वाईँ र भाञ्जाभाञ्जीहरुको ठूलै जमात पनि भेट भइसक्थ्यो। ठूलाहरुको सञ्चो-विसञ्चो र ब्याबहारिक गफमा हाम्रो हल्लालाई पनि मिसाऊँदै हामी सकेसम्म छिटो मामाघर पुग्ने धूनमा बत्तिन्थ्यौँ। माथिबाट उज्यालो चन्द्रमाले जीवन्त जूनको वर्षा गरिरहेछ र तल धानका बोटहरु हामीलाई लजालु स्पर्श गरिरहेछन्। आज लाग्छ ती क्षणहरु आनन्दको सागरमा पौडिएका क्षणहरु थिए, संसारका सब पिडाहरुबाट मुक्त भएका क्षणहरु थिए, शायद समाधिका क्षणहरु थिए। (क्रमश........)
Read Full Discussion Thread for this article