"केवल वर्तमान मात्र सत्य हो त्यसैले
भूत र भविष्यमा आफूलाई नदौडाऊ
कल्पनामा कहिल्यै नडुबेर
सत्यको जीवन जिउंन सिक
तटस्थ भावले संसार देख "
मलाई थाहा छ गुरुजी सत्य बोल्छन्
तर,
म कहिले सम्म हेरुं? कसरी हेरुं?
मेरो वर्तमान त जलिरहेको छ
त्यो निभ्नु जरुरी र जिम्मेवारी पनि छ
त्यसैले अहिले,
मलाई सत्य भन्दा कल्पना प्यारो छ।
अनि कल्पनामा,
मैले त असमानताको अंशबण्डा पनि मिलाएं
मैत्रीभाव भए मिल्न त कति सजिलो पो रैछ
मैले शान्ती वार्ताको मध्यस्थता पनि गरें
घृणा द्वेश नभए निकास त क्यै हैन पो रैछ
मैले राजा भएर संपत्ती राष्ट्रीयकरण पनि गरें
सबैको दुःख देखे आफ्नो शुख त क्यै हैन पो रैछ
मैले राजकुमार भएर क्षमा याचना पनि गरें
चेतना जागे गल्ती हुनु त क्यै हैन पो रैछ
मैले नेता भएर जनताको सेवा पनि गरें
नैतिक भए क्षणिक लाभ त क्यै हैन पो रैछ
मैले हतियार बिसाएर शान्ती स्थापना पनि गरें
करुणा जगाए ब्यक्तिहत्या त असम्भव पो रैछ
मैले सबैसंग हातेमालो गरेर पनि हिडें
सच्चा बाटो हिंडे गन्तव्य त एउटै पो रैछ
मैले देश प्रगतीको बाटोमा उक्सेको पनि देखें
मात्र देशप्रेम भए विकास त क्यै हैन पो रैछ
अनि मैले आफ्नो सर्वश्व लुटाएर पनि हेरें
अनित्यवोध भए म भन्ने नै छैन पो रैछ।
"संसार अनित्य छ अनि परिवर्तनशील छ
अनित्यताको बोध जगाई तटस्थ मनले हेर
अनि आफ्नै अनुभव बमोजिम ज्ञान जगाऊ
भगवान बुद्घले देखाएको विशुद्घिमार्गमा हिड र
अनमोल विद्या जानी दुःखको अन्त्य गराऊ "
गुरुजीको वाणीले म फेरी झस्कें र सम्झें
बुद्घ, ए हाम्रा नेपाली बुद्घ?
हाम्रो लुम्विनीमा जन्मेका गौतम बुद्ध?
हाम्रा शान्तीका ज्योती र ज्ञानी बुद्ध?
हो, उनले देखाएको बाटो अवश्य राम्रो छ
ऊ जन्मेको देश पनि राम्रो छ
हामी नेपाली हौ, शान्तीका हिमायती हौ
जहां बुद्ध छन् त्यहां नेपाल र नेपाली छ
नजान्नेले बुझ्नु यो नितान्त जरुरी छ
विपश्यनाको शिक्षा संसारभर फैलिनु पर्छ
तर हाम्रो प्रार्थमिकता चै उनलाई
राष्ट्रीय विभूति घोषणा गर्ने नै हुनु पर्छ।