[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 225993 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-26-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढोकापछाडि राखेको कुचो उठाइन् र ढोका ढप्क्याएर फटाफट हिँड्न थालिन्। उनलाई कतिबेला कैले साहुको पसल पुगौँ जस्तो भैरहेको थियो।

भाउजु कुचो ले मात्र पुग्दैन डाडुपन्यु अनी भैंसी बाध्ने डोरी पनि लिएर जानु  

अती हसौने


 
Posted on 06-26-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा दाई भाउजुले दु:ख पाउनुभएछ । जुवाडेको कहानि त अत्ती भओ झन
भाउजुको भैंसी त क्या गुनी रैच नि । हाम्रो घरमा थियो एउटा कालो मुन्द्रे भैंसी, आमा बाहेक अरुलाई दुध नै नदिनी । यसो कहिले काही आमा मामाघरतिर गएको बेलामा त बडो आपद अनी हामी पनि के कम् 'हाम्ले काटेर ल्याएको घास चाँही खान्छ दुध दिनी बेलामा चाँही आमालाई खोज्छ' भनेर लौराले खुट्टा खुट्टा मा बेस्करी हानेर अनी पाडो छोडिदिन्थेउ
जिम्माल को कथा दिन दिनै पढेर खाली घरको मात्रै सपना देखियो भएन अब बेलुका यसो प्रेम कहानि भएका औरेजी फिलिम हेरे देखिन यतैका सपना देखिन्थ्यो कि 
 
Posted on 06-26-08 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कथा अगाडि बढाउनलाई एउटा पाटो-

 

बिहान झिसमिसे उज्यालो हुँदा सम्म बिस्टे बुडा धेरै पटक रोए, धेरै पटक आहत भए र धेरै पटक छटपटाए। भउते भित्ताको अडेस लाएर पल्टेको थियो भने बुढा भउतेको सामुन्ने पिर्कामा टुक्रुक्क बसेर आफ्ना दुवै कुहिना घुँडामा टेकाएर दुबै हत्केलाले च्यापु समातेर घोत्लिराखेका थिए। रातभरिमा धेरै पटक भउतेले बुढालाई सम्झाएता पनि भउते आफैँ पनि अलिकता त्रसित थियो। ११ वर्षकी कलिली बच्चि राति घरबाट हराएकि, साधारण कुरा थिएन; भउते पनि नानाथरी सोच्न बाध्य भएको थियो! बिहान नभैकन कतै खोज्न जाने कुरै थिएन त्यसैले दुवैजनाले चुपचाप त्यहिँ अँध्यारोमा रात काटेका थिए!

के भयो होला मेरि नातिनीलाई? हे पर्भु पिर पनि मै बुडोलाई धेरै दिएउ!

कामेको स्वरमा लगभग रुँदै बिस्टे बुढा बोल्दै थिए!

धेर पिर नगर्नुस बुडा, केइ तलमाथि नि भाछइन, भोक लाएर कतै गा थि होलिन् कसैले घरमा राख्या होला, ब्यान हुन लायो अब खोज्न जाम बरु!

भउते बुढालाई सम्झाउने तरिकाले भन्दै थियो; या शायद आफू नै आश्वस्त्व हुन खोज्दै थियो।

भउते बिस्तारै उठ्यो र ढोकातिर गएर अलिकता ढोका खोल्यो।

बाहिर उज्यालो भैसकेको त थिएन तर झिसमिसेमा झरि थामिएको बिहानीमा सबैचिजहरु आकृति जस्तो लाग्दथे, सुन्दर र चिसा चिसा! चराहरु कराउँदै थिए र परका डाँडाहरु शान्त काला आकृती जस्ता देखिन्थे ।

अब जाम हउर, सोध्दै खोज्दै तल दोभाने सम्म पुगौँ, त्याटि पारी त त्यो गा छैन खोलो गड्गडाउँदो छ, कसैले लग्या भ नि तार्न सक्दैन!

भउतेले ढोकाबाट बाहिरै हेर्दै भन्यो।

बुढा बिस्तारै निकै सकसका साथ उठे र ढोकातिर आए।

घरमा च्यूरा स्युरा केइ छ भने पोको पार्नुस बाटामा खान हुन्छ!

भउतेले बुढापट्टि फर्केर भन्यो।

बुढा त्यत्तिकै उभिएर, टुलुटुलु भउतेलाई हेर्न थाले। भउतेले थाहा पायो घरमा केहि छैन।

ल भैहाल्यो सइलो हुन्छ भनेर भन्या हो, म संग पैसो छ कतइ केइ भेटे किनेर खाम्ला!

यति भन्दै भउते बाहिर निस्कियो, बुढा पछि पछि लागे र ढोका ढप्क्याए।

बाहिर चिसो थियो।

केइ ओड्ने लेर आम्नुस, जाडो छ!

भउतेको कुरा सुनेर बुढालाई जाडो भएको आभाष भयो, भित्र छिरे र केहि बेर पछि एउटा पाखि ओढेर निस्किए र फेरि ढोका ढप्क्याए।

दुवैजनालाई थाहा थिएन कता जाने भनेर। भउते एकछिन केहि अडिएको जस्तो गरेर केहि सोच्यो र भन्यो-

तपाइँ एकछिन याइँ उब्बिनोस म घर गर एउटा झोला र पैसा लेर आम्छु!

हुन्छ!

बुढाले झिनो स्वरमा बोल्दै सहमतीमा मुन्टो हल्लाए।

भउते छिटो छिटो माथि आफ्नो घरतिर गयो र भित्र छिर्यो। भित्र अँध्यारो थियो। माष्टरनीलाई सान्नानी हराएको कुरा गर्न मन  थियो भउतेलाई, तर एकाबिहानै त्यस्तो खबर गर्नु उसलाई उचित लागेन। माथि आफ्नो कोठामा गयो, एउटा झोलामा केहि लुगा र ओढ्ने अनि एउटा छाता हाल्यो र दराजबाट केहि पैसा झिकेर खल्तिमा हाल्यो। भउते तल ओर्लियो। माष्टरनीको कोठाबाट माष्टरनिले खोकेको आवाज आयो।

भाउजु!

भउतेले बिस्तारै बोलायो।

भित्रबाट केहि आवाज आएन। शायद माष्टरनी निद्रामै थिइन् वा उनले भउतेले बोलाएको सुनिनन्।

माष्टरनीलाई फर्केपछि खबर गर्ने उद्देश्यले भउते बाहिर निस्कियो र तल बिस्टे बुढा भएको ठाउँमा पुग्यो।

बुढा रुँदै रहेछन्।

ल अब नरुनोस, बरु छिटो जाम्!

भउतेले बुढालाई हेर्दै भन्यो।

मास्तिर खोज्न जान परेन हाम्रै गाम हो डाँडा सम्म, कोसइले देखे राखिआल्छन्, तल्तिर झरम बरु दोभाने सम्म!

भउते अगाडि बढ्दै बोल्यो।

बुढा चुपचाप पछि पछि लागे।

गाउँबाट पर चौतारी सम्मको बाटो राम्रै थियो गाउँलेले भित्ता ताछेर बनाएका। प्रत्येक वर्ष दशैँ लाग्ने बेलामा गाउँले जम्मा हुन्थे र बाटो सफा गर्दथे। सबैको घरबाट कम्तिमा पनि एकजना कोदाली लिएर निस्कन्थे कान्ला ताछ्थे, बर्खामा पलाएको सबै झार उखेल्थे र बाटो सफा बनाउँदथे। तर अहिले मध्य बर्खाको समय भएर होला, बाटोमा झारहरु प्रसस्त पलाएका थिए र ठाउँ ठाउँमा हिलो र पानी जमेका खाल्डाहरु पनि थिए। चौतारीबाट बाटो ओरालो झर्दथ्यो तल दोभाने बेशि सम्म। ओरालो बाटो त्यति राम्रो थिएन। रातोमाटो र सालका रुखहरु भएको पातलो जङ्गल बाट बाटो गएको थियो र बर्खामा रातोमाटो साह्रै नै चिप्लो हुन्थ्यो। दुई बर्ष अघि बर्खामा खेतमा आवतजावत गर्न धेरै नै अप्ठ्यारो भएकोले गाउँलेहरुले ओरालो बाटोमा ठाउँठाउँमा ढुङ्गा छापेर खुड्किलो जस्तो बनाएका थिए, तर अहिले आएर लगभग सबै ढुङ्गाहरु उप्किएर गएपछि बाटो झन अप्ठ्यारो बनेको थियो।

ल तपाइँ अगाडि लाग्नोस

भउतेले बिस्टे बुढालाई अगाडि लगायो र बुढा हिँडेको हेर्दै पछि पछि हिँड्यो।

बुढा कमजोर भएछन्! भउतेले बुढाको हिँडाइ हेर्दै मनमनै सोच्यो।

एक त बुढो मान्छे, भोकै होलान कइलेदेखुन तेसमाथि नातिनी हराकि, बरा पर्नु पिर पर्या हो बुडालाई

सोच्दा सोच्दै भउतेलाइ बुढाको धेरै माया लाग्न थाल्यो्।

बिस्टे बुढा र भउते चौतारी पुगे।

पूर्वतिर डाँडामाथि सुन्तला रंग छरिन थालेका थिए। सुर्योदय हुने डाँडाको लगत्तै माथिपट्टि भएका बादलहरु सुनौला थिए भने त्यो भन्दा जति पर गयो त्यतिनै बादलमा कालोको मात्रा बढ्दै गएर परको बादल कालो देखिन्थ्यो।

बुढाको हिँडाइ देखेर भउतेले एकछिन चौतारीमा बिश्राम नै गर्नु पर्ने बुझ्यो।

एकछिन चौतारीमा बसम हउर, थकाइ मर्छ त्याँसि ओरालो झरम्ला!

भउतेले चौतारी पुगेपछि बुढालाई भन्यो।

एकमात्र नातिनी हराएको शोकमा विह्वल भएका बिस्टे बुढालाई जतिसक्दो चाँडो नातिनी भेट्न पाए केहि चाहिँदैनथ्यो।

हैन भउते, हिनम सके सम्म हिनम! छिटै हिने कसइले हरेर पारि पुर्या भ नि भेटिन्छे मेरि नातिनी!

भोक र शोकले आक्रान्त भएको बुढो जिऊ भए पनि बुढाले हिँड्ने कुरा गरे।

भउतेलाई थाहा थियो बेला बेलामा थकाइ नमारि हिँडेमा बुढा बिरामि हुनेछन्। अलि चर्को स्वरमा चौतारीमा झोला राखेर बस्दै भउतेले भन्यो-

एसरि हउरको यो ज्यानले थकाइ नि नमारि हिनो भने नातिनि त भेटिलिन् तर नातिनी भेट्नु भन्दा पइले हउरकै ज्यान तलमाथि हुन बेल लाउन्न, ल बस्नुस!

बुढा केहि नबोलि चुपचाप चौतारीमा बसे।

चौतारी खुल्ला ठाउँमा थियो। दोभानेबाट उकालो उक्लेपछि डाँडामा आइपुग्दा गर्मिमा घाम छेक्ने र थकाइ मार्ने अभूतपूर्व ठाऊ थियो! चौतारी डाँडाको डिलमा  थियो र दोभानेबाट उकालो लागेर यहाँ आइपुग्नेहरुको लागि गाउँ र तल बेँशि हेर्दै थकाइ मार्दा निकै आनन्दनको अनुभुती हुन्थ्यो। खुल्ला ठाउँ भएर अहिले बिहानको चिसो हावा चल्दै थियो।

बिस्टे बुढाले जिउमा ओढेको पाखि कसेर बेरे।

पूर्व पट्टिको डाँडामा सुन्तला रंग चम्किलो हुँदै आएको थियो र अब टाढा टाढाका बादल पनि सुनौला र उज्याला देखिन्थे। तल दोभानेमा खोला टल्कन थालिसकेको थियो र पारीपट्टिको डाँडा प्रश्ट देखिन थालेको थियो।सुनौलो रंग चम्किँदै पूर्वको डाँडाबाट सुर्य उदाउन थाल्यो! बिस्टे बुढा सुर्योदय हेर्दै थिए। उनका रसिला आँखामा सुर्योदयको परावर्तन हुँदा सुनौलो पानी जमेको जस्तो देखिन्थ्यो। भउतेले बुढालाई हेर्दै सुर्योदय तिर आँखा घुमायो। कुनै चरा उड्दै गयो र आधि निस्केको सुर्यको बिचमा देखियो। अद्वितिय दृष्य थियो! एकपलको लागि, केवल एक पलको लागि बिस्टे बुढाले नातिनी हराएकी र आफू नातिनि खोज्न निस्केको कुरा बिर्से, भउतेले सबै कुरा बिर्स्यो!

दुवै चुपचाप प्रकृतीको अद्भूत लिला हेर्दै थिए। सुर्य अब पूर्ण रुपमा उदाइसकेको थियो।

भउतेले केहि सम्झे जस्तो गर्दै मौनता भंग गर्यो-

ss! भान्जि हराको पिरमा हतार हतार गरेर आइयो हामि त तल गए नि गामका कसैलाई खबर गर्न पा एता नि खोज्थे के रे नि!

बुढाले पुलुक्क भउतेलाई हेर्दै केहि भन्न खोज्दै थिए, परबाट कोहि आउँदै गरेको देखे र उनको नजर त्यता अड्कियो।

बुढालाई जवाफको प्रतिक्षा गर्दै हेरिराखेको भउतेको नजर पनि बुढाले हेरे तर्फ गयो।

एकजना मान्छे परबाट आउँदै थियो। नजिकै आएपछि दुवैले चिने; पुन्टे बुढा रहेछन्।

कताडि आ होलान बुडा यो झिस्मिसेमा?? जिहो बेलुकि देखुन  धोबिनीकाँ बसे जस्ता छन्

भउतेले मनमनै भन्यो।

पुन्टे बुढा चौतारी आइपुगे।

पुन्टे बुढा, बिस्टे बुढा र भउतेलाई देखेर डर र साथसाथै अचम्भमा परे। हिजो बेलुकि धोबिनीकहाँ जाँदा, निस्कँदै गर्दा भउतेले देखेको थियो र अहिले त्यताबाट फर्कँदै गर्दा देखेपछि भउतेलाई उनिले धोबिनीकहाँ रात बिताएको थाहा भैसकेको थियो त्यसैले कुरा अन्त कतै जान्छ कि भनेर डराएका थिए; र यो एकाबिहानै दुइजनालाई चौतारीमा देख्दा बुढा अचम्भमा पर्नु स्वाभाविक थियो।

कता जान लाग्या बिस्टेदाई र भउते?

टक्क अडिएर पुन्टे बुढाले प्रश्न गरे।

नातिनी रातिदेखि हराकि भेट्या छइन

बिस्टे बुढाले रुन्चे स्वरमा भने।

हामि तल दोभाने र पारी बजारमा खोज्न जान लाया कसैले लग्या भ नि भेटिन्छे भनेर, बरु दाइले गाममा खबर अरेर खोज्नु परो!

भउतेले पुन्टेदाई तिर हेरेर भन्यो।

पुन्टे बुढा आत्तिए।

कसरि कैले देखि हराकि? राति हिँडेकि? कि कतै गएर नफर्केकि?

पुन्टे बुढाले सबैकुरा एकैपटक सोधे।

राति नातिनी निदाको थि, म नि निदाइछु, पछि भउते आएर बिम्झिँदा नातिनी थिनन्!

बिस्टे बुढाले नातिनी हराएको क्षण सम्झिँदै अझ रुन्चे स्वरमा भने।

पुन्टे बुढा सुन्दै थिए।

अब घाम लाइसको, हामि ओरालो झर्छम पुन्टे दाई, हउरले गाममा खबर गर्नु परो!, बरु अबेर नगरम्,

भउतेले उठ्दै झोला समातेर पुन्टे बुढा र बिस्टे बुढातिर हेर्दै भन्यो।

बिस्टे बुढा पनि उठे र जिउमा पाखि कसेर बाँधे।

पुन्टे बुढाले सहमतिमा टाउको हल्लाउँदै भने-

हुन्छ, म घर गर एकैछिनमा गामतिर डुल्न जान्छु र सपैलाई भन्छु, तिमिहरु गइहाल तल!

लौ तेसइ गर्नुस है पुन्टे दाई?

भउते यति भन्दै बिस्टे बुढाको पछि पछि ओरालो झर्न थाल्यो।

पुन्टे बुढाले एकछिन सम्म भउते र बिस्टे बुढा ओरालो झरेको हेरिरहे र आफ्नो घरतिर बढे।

----


 
Posted on 06-26-08 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइलाइ त अब लाइफ ज्याकेट र हेल्मेट चाहिएला जस्तो छ। यै मौकामा त्यो जुवाडे जति सबैलाइ ठुल्दाइको भाग बाँडेर १/२ कुचो हाने हो कि?   नेप्चि दिदी कुचो कत्तिको बलियो छ हँ? कुचो नै चाहि नभाँच्नुस् है। घर सफा के ले गर्ने नि फेरि?

पून्टे दाइलाइ कस्तो ठाँउमा भेटाइद्या नि?


 
Posted on 06-26-08 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउको जीवन अनी गाउ घरमा दिन दिनै हुने कुराहरु ठ्यक्कै उतार्न कस्तो जानेको हो जिम्मालले, माने मैले चै।
 
Posted on 06-27-08 6:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब चाँही हाम्रो जिम्माल बा लाई एसो अभिनन्दन सविनान्दन गर्नु परो । एस्तो राम्रो आफ्नो पन भाको कथा लेख्नु भा छ धाराबहिक रुप मा एक्स्सेलएन्त जिमाल बा ल अर्को पाटो पनि थप्नु परो भोली त शनिबार परो मज्जा ले पढनु पर्छ ।

 
Posted on 06-27-08 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज ब्यान ब्यानै तिनोटा कथा पढियो।

बिचरा रिट्ठे रोएको देख्दापनि केहि नबोल्ने हाम्रा हर्के कस्ता मान्छे हुन्? त्यसरी पैसानि चोर्ने हो त? चोरे नि कुखुरा चोर्नु, त्यस्तै त्यस्तै जिनिस चोर्नु, त्यसरी कमाएर ल्याएको आफ्नै साथीको पैसा नि चोर्छन्? जमाना साह्रै खराब छ अचेल!

ठुल्दाईको नि निकै माया लाग्यो मलाई। त्यसरी बिचरालाई लागेको लतको त्यस्तो एक्स्प्लोइटेसन चाँहि गर्नु नहुने लहरे, सुन्तले, दीप र कैलेले। हेर त्यसरी जबर्जस्ती खेलाएर! त्यहिपनि जित्न दिएको भए त केहि थिएन। ऋण दिइ दिइ हराउने! हत्तेरिका!!

नेप्ची भाउजुलाई भैसी दुँउदै गरेको कस्तो क्युट देखिएको! रिसाउँदा त झन के कुरा गराई भो र! त्यहि रिसाको देखेरै ठुल्दाई भुतुक्क भा'होलान् उ जमानामा! अझ कुचोले ति चारै जनालाई चुट्दा झन कत्ति राम्री देखिनुहोला! लौ बिर्खे बा, अर्को पल्ट चाँहि नेप्ची भाउजुले सबैलाई चुट्दा उहाँको अनुहार कसरी तेजिलो देखिएको थियो, कस्तो किसिमले धपक्क बलेकी देखिन्थिन् सबै कुरा लेख्नुहोला है!

आजको कथा पढेपछि चाँहि बल्ल बल्ल एक राउन्ड घुमे जस्तो लाग्यो कथा! बिचरा बिस्टे बुढा! लेख्नपनि कत्ति लेखेको! तिन चार दिन देखि केहि खाएका छैनन् रे बिचरा बुढाले! माया लागेर आयो। झन् सान्नानीको धेरै माया लाग्यो मलाई!

ल धेरै राम्रो छ है बिर्खे बा! रमाइलो लाग्यो पढ्न! के गर्ने फुर्सद नभएर आज बल्ल बल्ल पढियो तिन भाग एकैचोटी!


 
Posted on 06-27-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माईला ज्यु ।
हजुरको सुक्ष्म अवलोकन हुन्छ भन्ने कुरा त मैले हजुरका कमेन्ट र पढेका केहि गजल बाट नै थाह पाएको थिए । एउटा त्यो त्रिपुरेश्वरमा गाडि कुरेको कथा हो क्यार, पढने मौका मीलेको थियो ।

किन रचना हरु पढ्न पाईदैन, बिर्खे ज्यु को भनेर म बेला बेला फुच्चे भाई संग बात पनि मार्थे । यो कथा सकिए पछि नै कमेन्ट गरौला भनेको, मन थाम्न सकिन ।
सबै कुरा मन्त्र मुग्ध पार्ने छ । बाघपटुका जस्तो । बाधेको बाधै । के भनौ खै
सौ सुनार कि एक लोहार कि जस्तो  ।

im enjoying every bit of it.. गाउंले भाषा, परिवेशको जिवन्त चित्रण ,  पुराना, मीठा, झर्रा नेपाली शब्दको उत्कृष्ट प्रयोग। प्रत्येक बाक्य जीवन्त छन् ।

a masterpiece!!!


 
Posted on 06-27-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सौ सुनार कि एक लोहार कि जस्तो !!

एकदम मिल्दो उखान भन्नुभो, सोमदाजुले


 
Posted on 06-27-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को दिन बिग्रेको रहेछ। उता पैसा हार्ने यता भाउजुले अब ढाडमा कती बजाउने हो कुचोले।
भाउजु नछोड्नुस् यो बिग्रेको दाइलाई, घरको मत्लब छैन खाली जुवा खेल्न पाए भयो
लहेरे क्य बाठो के हत्तनपत्त कैले शाहु सँग पैसा माग्न लगाको ठुल्दाइलाई

पुन्टे दाई लाई फेरी धोबिनिको पिर


 
Posted on 06-27-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजार जिब्रो भएका शेशनागले पनि बयान गर्न गारो हुने जिम्मालको लेखाइलाई म एक तुच्छ मानबले के बयान गरौ।

It is captivating.

चौतारीको कथा मेरो लागि दैनिक खुराक भएको छ।
धन्यवाद जिम्माल औतारीलाई।


 
Posted on 06-27-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्ती- स्पिचलेस भएको र थाहा पाएँ , तर त्यो मुस्कान, हाँसो र लाज मानेर मस्केको अनुहार पनि लुकेन है मेरा आँखाबाट!

बिस्टे- खै सम्धीज्यू पिउन त उहि हो पाए सम्म सधैँ शुक्रबार परे हुन्थ्यो भन्ने लाग्छ। ए रात्तै आज त शुक्रबारै पर्यो ल हेर्नुस! आज अर्को भाग तयार हुन्छ कि हुँदैन जस्तो छ, भए बेलुका सम्ममा होला।

माष्टटरनी नानी- त्यहि त हेरौँ के हुन्छ अब।

लहरे- अब त्यो जितेको पैसोले वनभोज जाने नि के सोचिरा?

प्रेरणा- हाहाहाहा डाडु पन्यौ त हिर्काउनलाई काम लाग्छ,भैँसि बाँध्ने डोरिले पाता कस्ने? लोल!

पर्वते- अनि पाडो छोडेपछि दूध दिन्थ्यो त? गाउँमा बसेकालाई गाउँको याद आवस र गाउँमा नबसेकाले गाउँ देखुन भन्ने उद्देश्य थियो,ठिकै भएक क्यारे।

किरेजी- हाहाहा पुन्टेदाई त्यस्तै हुन् ठाउँ कुठाउँ भेटिन्छन बुढा। बरु ००३ कहिले भेट्ने? अब तिमीले लेख्ने अर्को कथाचाहिँ बरु साइन्स फिक्सन जस्तो बनाऊन है?

हर्के- हर्केलाई नि गाउँको याद आयो हो? यसो केहि सम्झना लेखौँ न त गाउँको।

एक्ले (टंके)- धन्यवाद साथी। आज बेलुका भ्याएँ भने लामै लेख्ने बिचार छ हेरौँ के हुन्छ, सुरु गरेका पाटाहरु तन्काएर तयार गर्न बाँकि छन्।

कुम्ले- त्यहि त चोरे पनि बरु कुखुरा चोर्नु, जिनीस चोर्नु लोल!

सह्वेड डाउन अन अर्थजी- चौतारीमा एकपटक आउनुभएको थियो, सोमे नाम रहेको थियो। सोमेजी,तपाइँको लेखाई बेजोड छ! यो मैले लेखेको कथाको रुपमा बुने पनि, मनोरंजनात्मक हिसाबले लेख्या हो र साथ साथै नेपालको पहाडी गाउँलाई उतार्न खोजेको हो। मनपराइदिनुभयो त्यसमा धेरै खुसी लागेको छ।फुच्चेकेटाजीको कथा हिजो पढेको थिएँ, अत्यन्त परिपक्व छ। वहाँमा पनि तपाइँमा जस्तै प्रस्तुत गर्ने बलियो पोटेन्सियल पाएँ। धन्यवाद्!

दिपीका- दिपीका नानू, यो लहरे अति धुर्त है? कुम्लेले त गुरेर हेर्यो तिमीलाई लहरे भा भए बोलेरै जिस्क्याउँथ्यो होला। पर्ख यसले जितेको पैसा त्यसै कहाँ फाल्न दिइन्छ र!

सबैलाई धन्यवाद्!


 
Posted on 06-27-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे आएछन्! धेरै धन्यवाद् मेरो लेखाई पढ्दा आनन्द मिलेकोमा! सकेसम्म दैनीक खुराकको डोज कम नगर्ने कोशीस गर्छु!
 
Posted on 06-27-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पढ्दा ता आफ्नो आँफै लाई माया लाएर आयो, धन्न भउते असल परेर एत्ती भे नि सयोग गरिराछ।
हन मेरा छोरा ब्वारी चै कता छन नि ह सम्धी पर्भो। बुढो बाउलाई कलिली छोरी थमाईदेर।
 
Posted on 06-27-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त हउर् बा मलाई नि कस्तो माया लायो हउर् को कठै। कस्तो ज्वलन्त लेखाइ जिम्माल बा को।
 
Posted on 06-27-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् बिस्टे सम्धीज्यू र सान्नानी!

सम्धिज्यूको छोरा बुहारी खै अहिले सम्म त सोच्या छैन तै पनि बिचार गर्नु पर्यो अब।

 

ल आजको कथा बढाउने भाग-

 

भालेको मुख बाँधेपछि कुम्ले ढुक्क थियो। ऊ हतार हतार हिँड्दै थियो र साथसाथै पल्याकपुलुक यताउता हेर्दै पनि थियो। उसलाई सकेसम्म छिटो घर पुग्नु थियो। उसलाई भोक लागेको आभाष हुन थाल्यो र उसले च्यापेको भालेको स्पर्शले उसको भोक झन बढाइराखेको थियो। बाटो तेर्सो भएता पनि तुलनात्मक रुपले अलिकता ओरालो जस्तो बाटो हिँड्दै थियो कुम्ले, र छिटो छिटो हिँड्दा उसलाई गुरत्वबलले झन् लगभग दौडाउँदै थियो। भाले लिएर हिँडेदेखि ऊ शान्त हुन सकेको थिएन। उसले महशुस गर्दै थियो, भाले देखेर लैजानेकुरा सोच्न जति सजिलो थियो लिएर सबैको आँखा जोगाउँदै हिँड्न त्यति नै गाह्रो।

आँखा फुटेर भाले च्यापेर हिँडेछु!

उसले पुन्टे बुढाको घरदेखि यहाँ सम्म आइपुग्दाको आफ्नो छटपटी सम्झेर मनमनै बोल्यो।

घर पुग्न अझै निकै थियो किनकि कैले साहुको पसलको बाटो जानु उचित थिएन र घुमेर जाँदा पहिला अलिकता ओरालो ओर्लेर फेरि उकालो जानु पर्दथ्यो।

ऊ हिँड्दै थियो र खैनीको तलतलले उसको मुख सुकेको थियो।

ऊ एकै चालले हिँड्दै च्यापेको भालेको मुख हेर्न थाल्यो, कतै बाँधेको फुस्कन त फुस्किएन भनेर। ऊ भालेको मुख हेर्दे थियो र फटाफट हिँड्दै पनि थियो।

अचानक केहि चिज संघ ऊ ठोक्कियो। उसले ठोक्किनासाथ ठोक्किएको चिजलाई हेर्न छाडेर कुखुरा जोडले शरीरमा च्याप्यो; शायद उसको अन्तर्मन र शरीर दुवैले कुखुरा जोगाऊन चाहेका थिए। डङरङ्ग आवाज आयो, कुखुरा च्यापि च्यापि उसले भुइँतिर हेर्यो, कोहि उत्तानो परेर भुइँमा ढलेको थियो। एउटा डोको गुड्दै गुड्दै तल कान्लातिर झर्दै थियो। उसले लडेको मान्छेलाई झुकेर हेर्यो। रिट्ठे रहेछ। रिट्ठेका सुख्खा ओठ केहि बर्बराउन खोज्दै थिए। उसले झुकेर रिट्ठेलाई हेर्यो। रिट्ठेका आँखा फुस्रा हुँदैथिए र माथितिर पल्टिँदै थिए।

कुम्ले आत्तियो। पहिला त उसलाई लाग्यो उसले कुखुरा चोरेको रिट्ठेलाई थाहा भयो र अब गाउँमा नराम्रो हुन सक्छ। तर तत्कालै ऊ अझ बढि आत्तियो। उसलाई लाग्यो रिट्ठे मर्दै छ! घाम सिधा रिट्ठेको अनुहारमा परेको थियो र रिट्ठेको सुख्खा अनुहारमा घाम परेर अझ फुस्रो देखिएको थियो। कुम्ले धेरै नै डरायो। अहिले बाटोमा कोहि हिँड्दै आएर उसलाइ देख्यो भने के सोच्ला? कुम्ले ले के गर्ने नगर्ने सोच्न सकेन। रिट्ठे अचेत थियो। कुम्लेले रिट्ठेको नाकमा औँलाको पछाडिको भाग लगेर टाँस्यो। रिट्ठेले सास फेर्दैछ भन्ने लागेर केहि राहत महशुस गर्यो। दायाँ बायाँ हेर्यो। केहि सोच्यो। कुखुरा च्यापि च्यापि तल कान्लामुनि गएर डोको लिएर आयो। कुखुरालाई सुरुवालले पूर्ण रुपमा बेर्यो र डोकोमा हाल्यो। रिट्ठेको शरीरले घुम थिचेको थियो। उसले रिट्ठेको शरीर हल्का पल्टाएर घुम झिक्यो र निकै दुख गरेर घुम भाँच्यो र डोकोभित्र कुखुरा छोपिने गरेर अड्कायो। नाम्लो अझै रिट्ठेको घाँटिमा बेरिएको थियो। नाम्लो फुस्कायो र डोकोमा लगाएर बोक्यो। रिट्ठेलाई उठायो र बोक्यो।

पछाडि डोको बोकेर अगाडि रिट्ठेलाई बोक्दै कुम्ले कतै फटाफट हिँड्दै थियो।

त्याँ नपुए सम्म रिट्ठे नमरोस परमेस्सोरी!

कुम्लेले रिट्ठेको मायाले भन्यो वा उसको आफ्नै डर बोल्यो उसैलाई थाहा होला!

  

----

  

आज बिहान सखारै मदनवाको निद्रा खुलेको थियो। बिगत केहि दिन देखि झरी परेको परेइ भएर उसलाई साह्रै नरमाइलो लागिरहेको थियो। अहेव भएर पहाडमा आए देखि नै उसलाई नरमाइलो लाग्न थालेको थियो। गाउँलेले दिएका इज्जत र मायामा त उसको केहि गुनासो थिएन तर उसलाई जता हेर्यो बिशाल संसार छोप्ने पर्खाल जस्ता डाँडा, कहिले जिऊ नै तल झर्ला जस्तो ओरालो र कहिले पार पाइनसक्नुको उकालोले दिक्क बनाउँदथे। बर्खा त झन उसको लागि शायद अभिषाप नै थिए। पर डाँडामा जतिबेला पनि हुस्सु लागेको उराठ लाग्दो दृष्य हुन्थ्यो र हेल्थपोस्टको आँगनमा बर्खाभरि हिलो जम्ने गर्दथ्यो। घरबाट चिट्ठि पनि खोला बढिदिनाले समयमा आउँदैनथ्यो र ऊ आफ्नो गाउँ आफन्त बाट धेरै नै टाढा भएको महशुस गर्थ्यो। बर्खामा बिरामिको चाप लाग्दथ्यो र सम्पुर्ण हेलथपोस्टमा ऊ मात्र एक्लो थियो जसले गर्दा उसलाई भ्याइनभ्याई पर्दथ्यो। औषधी पनि बर्खामा भनेजति समयमा आइपुग्दैनथ्यो र औषधीको अभावमा कुनै बिरामीलाई बढि च्यापेमा न त उसले केहि गर्न सक्थ्यो न त एउटा पुल समेत नभएको बर्खाको गडगडाउँदो खोला तरेर शहर जाने सल्लाह दिन सक्थ्यो। तर पनि समग्रमा ऊ संतुष्ट नै थियो आफ्नो जागिर देखि। उसलाई जतिबेला पनि यो गाउँमा केहि समयको लागि आएको र पछि ऊ आफ्नै देहात फर्कने छ भन्ने लाग्दथ्यो तर उसलाई थाहा थियो उसका अब आउने कयौँ वर्षहरु यहि उकाली ओरालीमा बित्नेछन्। यसरी प्रत्येक बर्खा उ धेरै सोच्ने गर्दथ्यो र आफूलाई व्यस्त राख्दथ्यो, अनि आउने छठमा घर जाने कल्पनामा आफूलाई खुसि बनाउन थाल्दथ्यो।

आज एकजना पनि बिरामी आएका थिएनन् त्यसैले बिहान उठेदेखि उसले धेरै कामहरु भ्याइसकेको थियो। बिरामी राख्ने कोठा सफा गर्यो। आफ्नो कोठा सफा गर्यो र बारीमा गएर करेला टिपेर ल्यायेर काटककुट पारेर मजाले भुटेको थियो र अब दाल पकाउने तरखरमा थियो।

डाउडरsss साप! डाउडररररsss साप!

बाहिर कसैले बोलाएको आवाजले मदनवाले हातमा लिएको दालको डिब्बा भुइँमा राख्यो र बाहिर निस्कियो।

कुम्ले पछाडि डोको र अगाडि रिट्ठेलाई बोकेर कराइरहेको रहेछ।

कथि भयो रिठे दाजुको, भितर लियाउनोस?

रिट्ठेलाई चिनेर मदनवाले कुम्लेलाई प्रश्न गर्यो र बिरामि जाच्ने कोठातिर छिर्यो।

कुम्ले रिट्ठेलाई बोकेर भित्र छिर्दै बोल्यो-

बाट्बाटै आइराथेँ, बजियासंग ठोक्केछु नराम्रोसित, त्याँसि त ढलेर फुस्रा आँखा पल्टाइहालो! मरिसको कि न?

कुम्लेले रिट्ठेलाई खाटमा राख्यो र डोको बिसायो। निधारमा पसिना आएको रहेछ पसिना पुछ्यो र टुलुटुलु मदनवालाई हेर्न थाल्यो।

मदनवाले रिट्ठेको नाडि छाम्दै भन्यो-

कहाँ मरिहाल्नुहुन्छ रिठे दाजु, बस बेहोश भएछ तपाइँ कोनो चिन्ता नकरिलिनुस!

कुम्लेको सास आयो।

मदनवाले रिट्ठेको आँखाको ढकनि पल्टाएर हेर्यो र भन्यो-

डिहइडरेसन भएछ म सैलान चढावँछ!

कुम्लेले सबै बुझे जसरि टाउको हल्लायो, मदनवातिर हेर्दै फेरि सोध्यो-

छातिमा मेरो कुइनु नराम्रो सित ठोक्क्या तो, मुटु फुटो कि एसको?

कहाँ कोहिना लगेर मुटु फुँट्छ? फुँटेछेन। बस एक बोतल सैलान से होश लियावँछ!

कुम्लेले संतुष्टीको लामो सास फेर्यो।

मदनवा सलाइनपानीको बोतल ठिक पार्न थाल्यो।

 

----


 
Posted on 06-27-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जिम्माल बाले अर्को भाग टाँस्छु भनेओ  अस्तो लाउच -- खै त नि ?

म खोज्दै थिए -- आइसक्या रहिच । हरिशरण! चस्मा कता  छ मेरो :)

Last edited: 27-Jun-08 11:37 AM

 
Posted on 06-27-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छातिमा मेरो कुइनु नराम्रो सित ठोक्क्या तो, मुटु फुटो कि एसको?

 

आफूले आफैंलाई पहलवान सम्झनु त यस्तो पो!!!


 
Posted on 06-27-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मेरो हजुरबा र जिम्माल बा सम्धी
भनेछी मेरी आमा जिम्माल बाकी छोरी
मास्टर्नी मेरी माइजु
भनेछी तितौरी मास्टर्नीकी छोरी?

नाता त बल्ल पो खुल्यो


 
Posted on 06-27-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 ओइ भान्जी नानी,

   हउरले कस्तो बल्झिया साइनो बनाकी नि फेरि    हुदा हुदा  ----- ---- जिम्माल बा आफै 'ससुरा बा'--हा हा हा  मर्न आँटे हाँसेर --- हत्तेरिका!!

 देवरजीको भान्जी भा हुनाले मेरी  नि भान्जी होला के --कथा त हँसाउने थियो नै यो भान्जी पनि --- अझै बच्ची नै छिन के

कुम्लेको  चोरी गर्ने  नराउरो बानी भएनि मनको ज्ञानी रहेचन-- जेहोस   


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters