Posted by: Birkhe_Maila June 26, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

ल कथा अगाडि बढाउनलाई एउटा पाटो-

 

बिहान झिसमिसे उज्यालो हुँदा सम्म बिस्टे बुडा धेरै पटक रोए, धेरै पटक आहत भए र धेरै पटक छटपटाए। भउते भित्ताको अडेस लाएर पल्टेको थियो भने बुढा भउतेको सामुन्ने पिर्कामा टुक्रुक्क बसेर आफ्ना दुवै कुहिना घुँडामा टेकाएर दुबै हत्केलाले च्यापु समातेर घोत्लिराखेका थिए। रातभरिमा धेरै पटक भउतेले बुढालाई सम्झाएता पनि भउते आफैँ पनि अलिकता त्रसित थियो। ११ वर्षकी कलिली बच्चि राति घरबाट हराएकि, साधारण कुरा थिएन; भउते पनि नानाथरी सोच्न बाध्य भएको थियो! बिहान नभैकन कतै खोज्न जाने कुरै थिएन त्यसैले दुवैजनाले चुपचाप त्यहिँ अँध्यारोमा रात काटेका थिए!

के भयो होला मेरि नातिनीलाई? हे पर्भु पिर पनि मै बुडोलाई धेरै दिएउ!

कामेको स्वरमा लगभग रुँदै बिस्टे बुढा बोल्दै थिए!

धेर पिर नगर्नुस बुडा, केइ तलमाथि नि भाछइन, भोक लाएर कतै गा थि होलिन् कसैले घरमा राख्या होला, ब्यान हुन लायो अब खोज्न जाम बरु!

भउते बुढालाई सम्झाउने तरिकाले भन्दै थियो; या शायद आफू नै आश्वस्त्व हुन खोज्दै थियो।

भउते बिस्तारै उठ्यो र ढोकातिर गएर अलिकता ढोका खोल्यो।

बाहिर उज्यालो भैसकेको त थिएन तर झिसमिसेमा झरि थामिएको बिहानीमा सबैचिजहरु आकृति जस्तो लाग्दथे, सुन्दर र चिसा चिसा! चराहरु कराउँदै थिए र परका डाँडाहरु शान्त काला आकृती जस्ता देखिन्थे ।

अब जाम हउर, सोध्दै खोज्दै तल दोभाने सम्म पुगौँ, त्याटि पारी त त्यो गा छैन खोलो गड्गडाउँदो छ, कसैले लग्या भ नि तार्न सक्दैन!

भउतेले ढोकाबाट बाहिरै हेर्दै भन्यो।

बुढा बिस्तारै निकै सकसका साथ उठे र ढोकातिर आए।

घरमा च्यूरा स्युरा केइ छ भने पोको पार्नुस बाटामा खान हुन्छ!

भउतेले बुढापट्टि फर्केर भन्यो।

बुढा त्यत्तिकै उभिएर, टुलुटुलु भउतेलाई हेर्न थाले। भउतेले थाहा पायो घरमा केहि छैन।

ल भैहाल्यो सइलो हुन्छ भनेर भन्या हो, म संग पैसो छ कतइ केइ भेटे किनेर खाम्ला!

यति भन्दै भउते बाहिर निस्कियो, बुढा पछि पछि लागे र ढोका ढप्क्याए।

बाहिर चिसो थियो।

केइ ओड्ने लेर आम्नुस, जाडो छ!

भउतेको कुरा सुनेर बुढालाई जाडो भएको आभाष भयो, भित्र छिरे र केहि बेर पछि एउटा पाखि ओढेर निस्किए र फेरि ढोका ढप्क्याए।

दुवैजनालाई थाहा थिएन कता जाने भनेर। भउते एकछिन केहि अडिएको जस्तो गरेर केहि सोच्यो र भन्यो-

तपाइँ एकछिन याइँ उब्बिनोस म घर गर एउटा झोला र पैसा लेर आम्छु!

हुन्छ!

बुढाले झिनो स्वरमा बोल्दै सहमतीमा मुन्टो हल्लाए।

भउते छिटो छिटो माथि आफ्नो घरतिर गयो र भित्र छिर्यो। भित्र अँध्यारो थियो। माष्टरनीलाई सान्नानी हराएको कुरा गर्न मन  थियो भउतेलाई, तर एकाबिहानै त्यस्तो खबर गर्नु उसलाई उचित लागेन। माथि आफ्नो कोठामा गयो, एउटा झोलामा केहि लुगा र ओढ्ने अनि एउटा छाता हाल्यो र दराजबाट केहि पैसा झिकेर खल्तिमा हाल्यो। भउते तल ओर्लियो। माष्टरनीको कोठाबाट माष्टरनिले खोकेको आवाज आयो।

भाउजु!

भउतेले बिस्तारै बोलायो।

भित्रबाट केहि आवाज आएन। शायद माष्टरनी निद्रामै थिइन् वा उनले भउतेले बोलाएको सुनिनन्।

माष्टरनीलाई फर्केपछि खबर गर्ने उद्देश्यले भउते बाहिर निस्कियो र तल बिस्टे बुढा भएको ठाउँमा पुग्यो।

बुढा रुँदै रहेछन्।

ल अब नरुनोस, बरु छिटो जाम्!

भउतेले बुढालाई हेर्दै भन्यो।

मास्तिर खोज्न जान परेन हाम्रै गाम हो डाँडा सम्म, कोसइले देखे राखिआल्छन्, तल्तिर झरम बरु दोभाने सम्म!

भउते अगाडि बढ्दै बोल्यो।

बुढा चुपचाप पछि पछि लागे।

गाउँबाट पर चौतारी सम्मको बाटो राम्रै थियो गाउँलेले भित्ता ताछेर बनाएका। प्रत्येक वर्ष दशैँ लाग्ने बेलामा गाउँले जम्मा हुन्थे र बाटो सफा गर्दथे। सबैको घरबाट कम्तिमा पनि एकजना कोदाली लिएर निस्कन्थे कान्ला ताछ्थे, बर्खामा पलाएको सबै झार उखेल्थे र बाटो सफा बनाउँदथे। तर अहिले मध्य बर्खाको समय भएर होला, बाटोमा झारहरु प्रसस्त पलाएका थिए र ठाउँ ठाउँमा हिलो र पानी जमेका खाल्डाहरु पनि थिए। चौतारीबाट बाटो ओरालो झर्दथ्यो तल दोभाने बेशि सम्म। ओरालो बाटो त्यति राम्रो थिएन। रातोमाटो र सालका रुखहरु भएको पातलो जङ्गल बाट बाटो गएको थियो र बर्खामा रातोमाटो साह्रै नै चिप्लो हुन्थ्यो। दुई बर्ष अघि बर्खामा खेतमा आवतजावत गर्न धेरै नै अप्ठ्यारो भएकोले गाउँलेहरुले ओरालो बाटोमा ठाउँठाउँमा ढुङ्गा छापेर खुड्किलो जस्तो बनाएका थिए, तर अहिले आएर लगभग सबै ढुङ्गाहरु उप्किएर गएपछि बाटो झन अप्ठ्यारो बनेको थियो।

ल तपाइँ अगाडि लाग्नोस

भउतेले बिस्टे बुढालाई अगाडि लगायो र बुढा हिँडेको हेर्दै पछि पछि हिँड्यो।

बुढा कमजोर भएछन्! भउतेले बुढाको हिँडाइ हेर्दै मनमनै सोच्यो।

एक त बुढो मान्छे, भोकै होलान कइलेदेखुन तेसमाथि नातिनी हराकि, बरा पर्नु पिर पर्या हो बुडालाई

सोच्दा सोच्दै भउतेलाइ बुढाको धेरै माया लाग्न थाल्यो्।

बिस्टे बुढा र भउते चौतारी पुगे।

पूर्वतिर डाँडामाथि सुन्तला रंग छरिन थालेका थिए। सुर्योदय हुने डाँडाको लगत्तै माथिपट्टि भएका बादलहरु सुनौला थिए भने त्यो भन्दा जति पर गयो त्यतिनै बादलमा कालोको मात्रा बढ्दै गएर परको बादल कालो देखिन्थ्यो।

बुढाको हिँडाइ देखेर भउतेले एकछिन चौतारीमा बिश्राम नै गर्नु पर्ने बुझ्यो।

एकछिन चौतारीमा बसम हउर, थकाइ मर्छ त्याँसि ओरालो झरम्ला!

भउतेले चौतारी पुगेपछि बुढालाई भन्यो।

एकमात्र नातिनी हराएको शोकमा विह्वल भएका बिस्टे बुढालाई जतिसक्दो चाँडो नातिनी भेट्न पाए केहि चाहिँदैनथ्यो।

हैन भउते, हिनम सके सम्म हिनम! छिटै हिने कसइले हरेर पारि पुर्या भ नि भेटिन्छे मेरि नातिनी!

भोक र शोकले आक्रान्त भएको बुढो जिऊ भए पनि बुढाले हिँड्ने कुरा गरे।

भउतेलाई थाहा थियो बेला बेलामा थकाइ नमारि हिँडेमा बुढा बिरामि हुनेछन्। अलि चर्को स्वरमा चौतारीमा झोला राखेर बस्दै भउतेले भन्यो-

एसरि हउरको यो ज्यानले थकाइ नि नमारि हिनो भने नातिनि त भेटिलिन् तर नातिनी भेट्नु भन्दा पइले हउरकै ज्यान तलमाथि हुन बेल लाउन्न, ल बस्नुस!

बुढा केहि नबोलि चुपचाप चौतारीमा बसे।

चौतारी खुल्ला ठाउँमा थियो। दोभानेबाट उकालो उक्लेपछि डाँडामा आइपुग्दा गर्मिमा घाम छेक्ने र थकाइ मार्ने अभूतपूर्व ठाऊ थियो! चौतारी डाँडाको डिलमा  थियो र दोभानेबाट उकालो लागेर यहाँ आइपुग्नेहरुको लागि गाउँ र तल बेँशि हेर्दै थकाइ मार्दा निकै आनन्दनको अनुभुती हुन्थ्यो। खुल्ला ठाउँ भएर अहिले बिहानको चिसो हावा चल्दै थियो।

बिस्टे बुढाले जिउमा ओढेको पाखि कसेर बेरे।

पूर्व पट्टिको डाँडामा सुन्तला रंग चम्किलो हुँदै आएको थियो र अब टाढा टाढाका बादल पनि सुनौला र उज्याला देखिन्थे। तल दोभानेमा खोला टल्कन थालिसकेको थियो र पारीपट्टिको डाँडा प्रश्ट देखिन थालेको थियो।सुनौलो रंग चम्किँदै पूर्वको डाँडाबाट सुर्य उदाउन थाल्यो! बिस्टे बुढा सुर्योदय हेर्दै थिए। उनका रसिला आँखामा सुर्योदयको परावर्तन हुँदा सुनौलो पानी जमेको जस्तो देखिन्थ्यो। भउतेले बुढालाई हेर्दै सुर्योदय तिर आँखा घुमायो। कुनै चरा उड्दै गयो र आधि निस्केको सुर्यको बिचमा देखियो। अद्वितिय दृष्य थियो! एकपलको लागि, केवल एक पलको लागि बिस्टे बुढाले नातिनी हराएकी र आफू नातिनि खोज्न निस्केको कुरा बिर्से, भउतेले सबै कुरा बिर्स्यो!

दुवै चुपचाप प्रकृतीको अद्भूत लिला हेर्दै थिए। सुर्य अब पूर्ण रुपमा उदाइसकेको थियो।

भउतेले केहि सम्झे जस्तो गर्दै मौनता भंग गर्यो-

ss! भान्जि हराको पिरमा हतार हतार गरेर आइयो हामि त तल गए नि गामका कसैलाई खबर गर्न पा एता नि खोज्थे के रे नि!

बुढाले पुलुक्क भउतेलाई हेर्दै केहि भन्न खोज्दै थिए, परबाट कोहि आउँदै गरेको देखे र उनको नजर त्यता अड्कियो।

बुढालाई जवाफको प्रतिक्षा गर्दै हेरिराखेको भउतेको नजर पनि बुढाले हेरे तर्फ गयो।

एकजना मान्छे परबाट आउँदै थियो। नजिकै आएपछि दुवैले चिने; पुन्टे बुढा रहेछन्।

कताडि आ होलान बुडा यो झिस्मिसेमा?? जिहो बेलुकि देखुन  धोबिनीकाँ बसे जस्ता छन्

भउतेले मनमनै भन्यो।

पुन्टे बुढा चौतारी आइपुगे।

पुन्टे बुढा, बिस्टे बुढा र भउतेलाई देखेर डर र साथसाथै अचम्भमा परे। हिजो बेलुकि धोबिनीकहाँ जाँदा, निस्कँदै गर्दा भउतेले देखेको थियो र अहिले त्यताबाट फर्कँदै गर्दा देखेपछि भउतेलाई उनिले धोबिनीकहाँ रात बिताएको थाहा भैसकेको थियो त्यसैले कुरा अन्त कतै जान्छ कि भनेर डराएका थिए; र यो एकाबिहानै दुइजनालाई चौतारीमा देख्दा बुढा अचम्भमा पर्नु स्वाभाविक थियो।

कता जान लाग्या बिस्टेदाई र भउते?

टक्क अडिएर पुन्टे बुढाले प्रश्न गरे।

नातिनी रातिदेखि हराकि भेट्या छइन

बिस्टे बुढाले रुन्चे स्वरमा भने।

हामि तल दोभाने र पारी बजारमा खोज्न जान लाया कसैले लग्या भ नि भेटिन्छे भनेर, बरु दाइले गाममा खबर अरेर खोज्नु परो!

भउतेले पुन्टेदाई तिर हेरेर भन्यो।

पुन्टे बुढा आत्तिए।

कसरि कैले देखि हराकि? राति हिँडेकि? कि कतै गएर नफर्केकि?

पुन्टे बुढाले सबैकुरा एकैपटक सोधे।

राति नातिनी निदाको थि, म नि निदाइछु, पछि भउते आएर बिम्झिँदा नातिनी थिनन्!

बिस्टे बुढाले नातिनी हराएको क्षण सम्झिँदै अझ रुन्चे स्वरमा भने।

पुन्टे बुढा सुन्दै थिए।

अब घाम लाइसको, हामि ओरालो झर्छम पुन्टे दाई, हउरले गाममा खबर गर्नु परो!, बरु अबेर नगरम्,

भउतेले उठ्दै झोला समातेर पुन्टे बुढा र बिस्टे बुढातिर हेर्दै भन्यो।

बिस्टे बुढा पनि उठे र जिउमा पाखि कसेर बाँधे।

पुन्टे बुढाले सहमतिमा टाउको हल्लाउँदै भने-

हुन्छ, म घर गर एकैछिनमा गामतिर डुल्न जान्छु र सपैलाई भन्छु, तिमिहरु गइहाल तल!

लौ तेसइ गर्नुस है पुन्टे दाई?

भउते यति भन्दै बिस्टे बुढाको पछि पछि ओरालो झर्न थाल्यो।

पुन्टे बुढाले एकछिन सम्म भउते र बिस्टे बुढा ओरालो झरेको हेरिरहे र आफ्नो घरतिर बढे।

----

Read Full Discussion Thread for this article