चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!
(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)
बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।
“सान्नानीssss, ए सान्नानी!”
नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।
पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।
“ ए सान्नानि!!”
बुढा यसपाली अलि चर्को स्वरमा कराए।
“ए हजुरवा आउनुभो?”
भित्रबाट सान्नानीको मसिनो आवाज आयो।
“ त्याँ चोटामा मेरो सुरुवाल होला ले’र आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!”
बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।
बुढाले पुलुक्क ढोकातिर हेरे।
“अझै एक बर्खा त कसो नधान्ला”
ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।
“ यि लिनुस हजुरबा सुरुवाल”
बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।
बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-
“ एक घान मकै भुट् त बा, साह्रै भोक लायो!”
“ आगो सल्का छैन, मइतेल नि सकिया छ!” सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।
बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।
पानी रोकिने नामोनिशान थिएन!
“ हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?”
सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।
“ के भो तँलाई? माथ्ला गरमा ग’र मइतेल पैँचो मागेर लेरा’ न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।“
“ आज नि बिर्सनुभो हजुरबाले!”
सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।
बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।
सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-
“ हेर् बा आज ब्यान सम्झिरा’ थेँ, बारिको काम सिद्धयार’ पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!”
“जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ!” सान्नानिले रुन्चे स्वरमा भनिन्।
“ खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!”
सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।
पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।
“कैले साउले देला जस्तो छैन!”
मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।
भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।
“ यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?”
बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।
“ बरु बिर्खे सम्धी संग पो माग्ने कि?” फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।
“ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ’ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!”
बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।
पानी रोकिने लक्षण थिएन।
पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले “ माष्टर्निले मइतेल दिइनन्!”
“ प्वss! प्वss! प्वss!”
गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।
लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-
“होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!”
गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।
हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।
“बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!”
हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-
“प्वss! प्वss! प्वss! होss तिल्के!”
हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।
गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!
---
Last edited: 24-Jun-08 08:30 PM