Posted by: Birkhe_Maila July 15, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

कथा लेख्दै जाँदा लम्बिँदै जाने सुर गर्यो। त्यसैले अब केहि भागमा यो पहिलो पाटो सक्काउने बिचार गरेको। भन्नाले 'पहिलो सिजन' के!

 

त्यसै सिलसिलामा एउटा निकै सानो तर मिठो पाटो-

 

बिहान झिसमिसेमै उसको आँखा खुलेको थियो र फेरि निद्रा परेको थिएन। हिजो अबेला सम्म नातेदारहरु संग कुरा गर्दा ढिलो भएको थियो त्यसैले सुत्नासाथ ऊ निदाएछ।

उठेर कुनामा हेरेको थियो, चेलिमाया गहिरो निद्रामा थिइन्। उसले निकै बेर आफ्नी अर्धाङ्गिनीलाई हेरिरहेको थियो। निर्दोश अनुहार निद्रामा अझ निर्दोश देखिन्थे। ऊसलाई अनायाशै पत्नी प्रति गहिरो माया उमडिएर आएको थियो। हिजो दिनभरि देखि राति सम्म उनले काम गरेको गरेइ थिइन्। दिनभरिको काममा थाकेकि छिन् भन्ने पनि उसलाई थाहा थियो, उसलाई थाहा थिएन त बस् घर धन्धाको काममा कति थकाई लाग्छ भन्ने कुरा! दिनभरिमा कुनै पनि समय उसलाई उसकि आमाले चेलिमायालाई प्रयोग गरेका बचनहरु मन परेका थिएनन् तर ऊ केहि बोल्न सकेको थिएन।

पाहुना हरु घरमै थिए र बिहान भैसकेको थियो। बाहिर कुनै पाहुनाले खोकेको आवाज आइसकेको थियो र यो घरको, यो गाउँको मान्यता अनुसार यो घरकि एक मात्र बुहारी उसकि अर्धाङ्गिनी चेलिमाया अब उठ्नु जरुरि थियो।

उसले निस्कने बेलामा फेरि एक पटक चेलिमायालाई हेरेको थियो। चेलिमायाका खुट्टा सिरकबाट बाहिर थिए। उसको नजर फुटेका कुर्कुच्चामा परेका थिए। उसलाई याद थियो उसले चेलिमायालाई भित्र्याएको रात उनका कुर्कुच्चा मुलायम र केहि खस्रो चिजले छोए मात्र पनि रगत बग्ला जस्ता थिए। उसको मनबाट पत्नी प्रतिको असिम माया र भक्कानो एकैपटक छुटेको थियो।

सुतोस बिचरी निद्रा नपुगुन्जेल!

उसले मनमनै मायाले भन्दै बाहिर निस्किएको थियो।

 

ऊ महारानी उठिबउसिओ!

आमाको वाक्य उसको मुटुमा पनि चेलिमायालाई जस्तै गरेर बिझ्यो र उसले पुलुक्क लिस्नो तिर हेर्यो।

उसलाई आफ्नै मुटुको टुक्रा विवश र लाचार लिस्नोबाट लड्खडाउँदै ओर्लिएर झुक्दै बाहिर निस्केको जस्तो लाग्यो। उसको मन अमिलो भयो।

उसलाई पत्नी संगसंगै बाहिर जाउँ र एक पटक अंगालोमा बेरेर अब दुख हुँदैन भनेर सम्झाउने तीव्र चाहना भयो। पाहुनाहरु कुरा गर्दै थिए र उसकि आमाले भर्खरै चेलिमाया ढोकाबाट बाहिर निस्कँदा नराम्रो मुख बनाएकि थिइन्। ऊ बाहिर जान सकेन र एकजना पाहुनाको कुरा बुझेजस्तो गरेर मुखमा नक्कलि हाँसो ल्याउँदै अँगेनामा रातो हुँदै गएको अँगार हेर्न थाल्यो।

धेरै बेर उ चेलिमायालाई सम्झेर मन लागि नलागि पनि पाहुनाहरु संग कुरा गर्नमा व्यस्त भयो। उसलाई असह्य भयो। एउटा गाग्रि मात्र पनि उसले बोकिदिन सके उसकि पत्नीलाई आधि सास्ति कम हुन्थ्यो र मिठा मायाका दुई कुरा मात्र गरिदिन पाए पनि उनको थकाई हराउँथ्यो भन्ने लाग्यो उसलाई।

आमा म एकछिन कैले साउकाँ पुएर आम्छु!

यति भन्दै ऊ जुरुक्क उठ्यो।

उनकि आमा वाल्ल परेर छोरालाई हेर्न थालिन् र सहमतीमा टाउको हल्लाउँदै घुँडामा तेल लगाउन थालिन्।

ऊ बहिरियो।

पत्नीको मायाले छोपिएको ऊ लगभग दौडँदै ओरालो बाटो पँधेरातिर जाँदै थियो। बेला बेलामा हिजोको झरिले भिजेको बाटोमा हल्का चिप्लिएर उसलाई ठेस लाग्दै थियो तर पनि ऊ दौडँदै थियो।

ऊ पँधेरा नजिक पुग्यो। उसले पँधेरामा भिड जस्तो देख्यो। उसको आँखा अगाडि चेलिमायाको अनुहार आयो, मन आत्तियो, ऊ झन दौडियो।

उसले देख्यो माष्टरनी नानिलाई, सान्नानीलाई। नजिकै भुइँमा लडेको दीपलाई र दीपतिर झुक्दै बसेकि शबुलाई, र उसले देख्यो पिडाले मुख बिगार्दै भुइँमा बसेकि आफ्नी अर्धाङ्गिनीलाई!

ऊ दौडिएर त्याँ पुग्यो र चेलिमायालाई अंगाल्दै सोध्यो-

के भयो बाबा?

चेलिमायाले पुलुक्क आफ्नो पतिलाई हेरिन्, पतिको आँखामा माया देखेर उनको भक्कानो छुट्यो, उनले हातले दाहिने खुट्टा देखाउँदै यहाँ दुखेको भन्ने बोध इशाराले गराइन् र पतिको कुममा टाउको झुकाउँदै धुरुधुरु रुन थालिन्।

-----

Last edited: 15-Jul-08 02:33 PM
Read Full Discussion Thread for this article