उस्लाई मैले नचिनेकी होईन। परिचय गरेकै उसैले हो म सँग, उस्ले झन मलाई नचिन्ने कुरै भएन। तर अहिले उस्को र मेरो चिनजान छैन। नबुझ्नेलाई बुझाउनु पर्ने छद्म यथार्थ यही हो। यो पुरानो परिचयलाई नौलो बनाउने प्रस्ताव न उस्को हो न मेरो तर न मैले चुनौती दिएँ प्रस्तावलाई, न उस्ले। अनि छद्मको बादलले यथार्थको सूर्यलाई छेक्यो। दिनभरी त छेक्ला, साँझ होला। रात पनि बित्ला तर बिहान? बिहानको चिन्तामा रात कसरी बित्ला? अनि हो भोलि पनि बादल लाग्ला अनि पर्सी पनि। चिन्ता सूर्यको हो र पनि ध्यान केवल बादलमा थियो।
मेरो बाबा आमाका दुईटा ज्वाईं। छोरी ज्वाईं। कोठामा ठुलो पारेर राखेको त्यो तस्बीर जस्मा म र मेरो श्रीमान मुसुक्क हाँसेका छम्, त्यो तस्बीरमा मैले श्रीमानलाई एकहोरो हेरिरहें। जिन्दगी पनि तस्बीर हुँदो हो त जस्तो लाग्यो। तर कुन चैं तस्बीर जस्तो? मसँग धेरै तस्बीरहरू थिए।
कहिले नदीमा बग्ने त्यो पानीमा म आफूलाई देख्थें, निस्फिक्री बरालिने हावामा देख्थें कहिले। मेरा स्पर्शहरूलाई मेरो निम्ता ठान्नेहरू निरुत्साहित हुन्थे। मेरा स्पर्शहरू मेरा लागि अनुभव जरुर थिए तर कसैको स्वामित्वमा थिएनन्। उस्ले मेरा स्पर्शहरूलाई दावी गरेन। त्यो मलाई राम्रो लाग्यो। मेरा अरु स्पर्शहरू जस्ले उस्लाई छुदैन थिए ती स्पर्शहरूलाई पनि प्रश्न गरेन त्यो झन राम्रो लाग्यो। उस्ले स्वामित्वको कुरै गरेन। मलाई त्यो नौलो लाग्यो। नौलो बिषयमा मुलत: दुई प्रकारका आकर्षण हुन्छ्न। एउटा प्रशंसाको अर्को अनुभवको। अनुभवको आकर्षणमा प्रशंसा स्वत: समाबेशी हुन्छ। म उस्को अनुभवमा अल्झिएँ। त्यो अल्झाई बन्धन थिएन, रहर थ्यो। बन्धन त मलाई मन नै पर्दैनथ्यो।
ऊ मुक्त थियो, म मुक्त थिएं तर हाम्रा भावनाहरू बन्दी हुन पुगे। कसरी पुगे? म आफैलाई अचम्म लाग्छ। उस्ले र मैले एक अर्कालाई भेटदा एक्ला एक्लै भेट्ने गरेका थियौं तर छुट्टिंदा सँगै छुट्टिन थालिम्। मसँग बिदा भएर आउँदा ऊ पनि मसँगै हुन्थ्यो, ऊ सँग पनि म नै हुन्थे रे भन्थ्यो ऊ। सँगै हुँदा भन्दा नहुँदा ऊ र म झन नजिक हुन्थेम। त्यो अनुभव मेरो लागि अरु नौलो थियो। मेरो रहरको बगैंचामा केवल फूलहरूको लागि मात्रै ठाउँ थ्यो। ऊ एउटा अदभुत अलौकिक नै हो कि जस्तो सुन्दर फुल थियो तर काँडामा फुलेको। काँडा होईनन यी भन्थ्यो ऊ तर मलाई भने पटक पटक घोचेका थिए।
मलाई ती काँडा मन परेनन, तर फूल नभै पनि भएन। म उस्को स्वामित्व नस्विकार्ने तर आफैं उस्को बन्दी हुन पुगे जस्तो लाग्यो। ऊ किन मेरो बन्दी भएन? मलाई म उस्को बन्दी हुने भन्दा ऊ मेरो बन्दी भएको हेर्न मन लाग्यो। तर ऊ भएन। ऊ जति मुक्त भयो, उस्लाई बन्दी बनाउने धुन म मा उत्तिकै बढ्न थाल्यो। आखिर उस्लाई मैले बन्दी बनाई छोडें। उस्को र मेरो बिहे हुने भयो। बिहे छिनियो। यो ६ बर्ष अघिको कुरा हो। ऊ घरमा आउँथ्यो, ज्वाईंसाबको सम्बोधन पाउँथ्यो। मेरो बाबा आमाको पहिलो ज्वाईँ ऊ नै थ्यो।
मलाई ऊ बन्दी बनाउने रहर थ्यो, त्यो ऊ भएको थ्यो। अब मलाई बन्दीसँगको बन्धन भन्दा उही मुक्ति नै प्यारो लाग्यो। बन्धनमा पर्दा गरिने रहरको मुक्ति र मुक्त हुँदा गरिने मुक्तिको अनुभव कहाँ एकै हुन्थ्यो र? मुक्तिको अर्थ बास्तबमा बन्धनले गर्ने रहेछ। म त्यै बाटोमा लागें। बन्धन बन्धन भएन, बन्दी बन्दी भएन। तर प्रकिया पनि त्यति सजिलो भएन।
अहिले मेरो घरमा बाबा आमा आउनु भएको छ। मैले नै बोलाएकी हो घुमाउन भनेर। ज्वाईँलाई पनि त भेटाउनु पर्यो। घर गएर बिहे गर्न पाईएन। त्यस्तै पर्यो, परदेशमा। बिहे गरेको पनि त कति नै भयो र? ३ महिना न हो।
आज श्रीमानसँग ऊ हामीकहाँ आएको छ। कुरा गर्दैछ श्रीमानसँग। शिष्टाचार त सकिएको छ तर कुरा होईन। बाबा आमा कहिले आफ्ना दुईटै ज्वाईहरूलाई हेर्नुहुन्छ कहिले मलाई।
उस्लाई मैले नचिनेकी होईन। परिचय गरेकै उसैले हो मसँग, उस्ले झन मलाई नचिन्ने कुरै भएन। तर अहिले उस्को र मेरो चिनजान छैन। नबुझ्नेलाई बुझाउनु पर्ने छद्म यथार्थ यही हो।
*******
(साभार्: मझेरी डट् कम्)




Australia
Austria
Canada
China
Finland
France
Germany
Hongkong
India
Indonesia
Ireland
Japan
Kuwait
Malaysia
New Zealand
Norway
Oman
Qatar
Saudi Arabia
Singapore
Sudan
Thailand
Turkey
United Arab Emirates
United Kingdom
Colorado




