From Himal Khabar Patrika
ाष्ट्रपतिको निर्वाचनअघि र पछिको राजनीतिमा के भिन्नता पाउनुभयो? हामी
सहमतिबाट सङ्ख्यातर्फ गयौँ। मावादीले विचारको आधारमा अघि बढ्ने कुरा
तोडेकाले यस्तो भएको हो। राजनीतिमा सदाको शत्रु र सदाको मित्र कोही
हुँदैन। समयक्रममा समीकरण बदलिन सक्छ। मावादीले एउटा ठूलो अवसर गुमाए। सरकार निर्माणमा सहमति हुन्छ?
संविधान
निर्माण सबैको साझ्ा प्रतिबद्धता हो। जस्तै कटुता भए पनि कुनै पनि दल जनता
र परिवर्तनको विपक्षमा जान सक्दैन। सरकार सञ्चालनमा मिलेसम्म मिल्छौँ,
नमिले अलग्गिन्छौँ। तर संविधान निर्माणमा एकै ठाउँमा नआई सुख छैन। सरकारको
बारेमा मावादीको कोसँग विश्वास र विचार मिल्छ उसैले जान्ने हो।
मावादीले त विभिन्न शर्तहरु अगाडि सारेको छ नि?
मावादी
सरकारमा जान आतुरता देखाउँदै १० थरी प्रस्ताव राख्छ, जान्न पनि भन्छ!
तिनमा सत्तामोह कति छ, सबैलाई थाहा छ। मावादीको कुराबाट तर्सनुपर्ने कुनै
कारण छैन। नेपाली जनताले ज्ञानेन्द्रको दादागिरी त सहेनन् भने पुष्पकमलको
किन सहन्छन्? तीन पार्टीको गठबन्धन अप्राकृतिक र अस्वाभाविक होइन, मावादी
व्यवहारको स्वाभाविक परिणाम हो। यो टुट्दैन, अगाडि बढ्छ र अरू पनि सामेल
हुन सक्छन्। मावादी पनि आए हुन्छ।
राष्ट्रिय राजनीतिमा तपाईंहरुको पार्टीको भूमिका हराउँदै गएको हो?
होइन,
त्यसलाई क्यापिटलाइज गर्न नसकिएको हो। मुलुकको राजनीतिको सैद्धान्तिक
पक्षमा एमालेको नेतृत्व स्थापित छ। लोकतान्त्रिक गणतन्त्रको मुद्दा पहिलो
पटक एमालेले नै ल्याएको हो, २०६२ साउनमा। त्यतिबेला अस्पष्ट रहेको
मावादीले असोजमा मात्रै निर्णय गर्यो। काङ्ग्रेसलाई पनि यो धारमा हामीले
नै ल्याएका हौँ। सेनाको घेराबन्दीबीच बुटवलबाट शुरु भएको एमालेको अभियानले
देशभर आन्दोलनको लहर ल्यायो। अहिलेको राष्ट्रिय कार्यभार राज्य
पुनर्संरचना, समावेशी लोकतन्त्र र सामाजिक-आर्थिक रुपान्तरण मदन भण्डारीको
नेतृत्वमा हामीले विकास गरेको बहुदलीय जनवादबाटै सम्भव छ। क्रान्तिकारी
परिवर्तनकामी जनता मावादी एकदलीय उग्रवामपन्थी धारमा छैनन्, न काङ्ग्रेसको
यथास्थितिवादी प्रजातन्त्रको पक्षमा छन्। एमालेको वास्तविक र गतिशील
लोकतन्त्रबाटै प्रगतिशील परिवर्तन सम्भव छ।
राष्ट्रपतिमा तपाईंको नाम पार्टीमा कायम सत्तालिप्साको कारण आएको हो?
मलाई
त्यस्तो लाग्दैन। पहिलो, व्यक्तिको मूल्याङ्कनको कुरा हो। दोस्रो,
मुलुकलाई केही गरौं भन्ने भावना। दुई पार्टीबीच सम्बन्ध र विश्व्ाास
बढ्ने, मुलुकलाई परिवर्तन गर्न सकिने, संविधान निर्माणमा सहयोगी हुने
भनेरै पार्टीले त्यस्तो सोचेको हो। कतिपयले पार्टीको सक्रिय राजनीतिबाट
अलग गर्ने षड्यन्त्र भने पनि मलाई त्यस्तो लाग्दैन।
मावादीसँगै राष्ट्रपति निर्वाचनको गठबन्धन गर्न कसरी पुग्नुभयो?
चुनावको
पाटो समाप्त भएपछि हामीले राष्ट्रिय चुनौती सामना गर्न मावादीको
उग्रवामपन्थी घेराभित्र नपर्ने तथा काङ्ग्रेसको यथास्थितिवाद र कुशासनको
चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने कार्यनीति बनायौंर सबैको साथ लिएर
वामपन्थीहरूको नेतृत्वमा अघि बढ्न खोज्यौँ। मावादीको हामी नै पर्याप्त
छौँ, अरूलाई किन साथ लिने भन्ने अधिनायकवादी र सर्वसत्तावादी सोच
थियोतापनि अरूलाई सँगै लैजानुपर्नेमा उनीहरूसँग लामै कुरा भयो। तर
अन्तिममा धोका भयो।
तपाईंहरुको गठबन्धनले काङ्ग्रेसलाई एक्ल्याउन खोजेको हैन र?
होइन।मैले
पुष्पकमल दाहाललाई प्रस्टै भनेको थिएँ― ६० वर्षदेखि नेपालको राजनीतिमा
क्रियाशील र स्थापित शक्तिलाई सङ्क्रमणकालको यो चरणमा माइनस गर्ने गल्ती
गर्नुहुन्न, तर सधँैभरी काङ्ग्रेसको नेतृत्व नै चाहिने मानसिकताबाट पनि
मुक्त हुनुपर्छ। वैशाली होटलमा मावादीसँग वार्ता हुँदा गिरिजाबाबुले फोन
गरेर शेरबहादुर र रामशरण महतले भेट्छन् भन्नुभयो। शेरबहादुरले आफ्नै घरमा
बोलाएपछि म र अमृत बोहरा गयौँ। उहाँले मलाई राष्ट्रपतिमा गिरिजाबाबुका
लागि प्लिड गरिदिनुपर्यो भन्नुभयो। म त स्तब्ध भएँ। मैले त माधवजी अब
तपाईंको काँधमा जिम्मेवारी आयो भन्ने सन्देश पठाउनुभएको होला भन्ठानेको
थिएँ।
गिरिजाप्रसादलाई राष्ट्रपति बनाउन एमाले किन तयार नभएको नि?
मावादी
काङ्ग्रेसलाई राष्ट्रपतिमा स्वीकार्ने पक्षमा थिएन। यसको अर्को पाटो पनि
थियो― काङ्ग्रेसले आजसम्म मुलुकलाई योग्य नेतृत्व दिन सकेन। आन्दोलन,
सङ्क्रमणकाल, संविधान निर्माण सबै काम एउटैको नेतृत्वमा हुनुपर्छ भन्ने
छैन। गिरिजाबाबुले पटक-पटक आन्दोलनपछि आफ्नो मिसन पूरा हुने र आफूलाई
सत्ताको लोभ नभएको बताए पनि उहाँ नै प्रधानमन्त्री हुनुभयो। पछि
चुनावपश्चात् मिसन पूरा हुन्छ भन्नुभयो, फेरि राष्ट्रपतिको इच्छा
गर्नुभयो। राजा ज्ञानेन्द्रकै पालामा प्रमका लागि मलाई प्रस्ताव गरेकाले
गिरिजाबाबुले आन्दोलनपछि भन्नुहोला भन्ने लागेको थियो, तर भन्नुभएन। यहाँ
गुन कसैले नहेर्ने रहेछ। स्वार्थी र मतलवीकै हाईहाई हुने तथा त्याग र
बलिदानको कुनै मूल्य नहुने! अब के सत्ता पाउन मैले पनि स्वार्थी र मतलबी
नै हुनुपर्ने!
तपाईंलाई त पदलोलुप भन्ने आरोप लाग्छ!
आन्दोलनपछि
मैले गिरिजाबाबुलाई प्रमको प्रस्ताव गरेँ। यसमा मेरो आलोचना
भयो,शेरबहादुरजी समेत रिसाउनुभयो। राजाबाट शासनाधिकार खोसेको दुई दिनसम्म
प्रमको नाम तय नहुँदा नकारात्मक सन्देश जाने भएकाले उहाँलाई प्रस्ताव
गरेको र आफू पदको लागि आतुर छैन भन्ने सन्देश दिएको थिएँ। राजा
ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्दलाई प्रम बनाउनुअघि मलाई प्रस्ताव
गरेका थिए। समाचारपत्रका पुष्करलाल श्रेष्ठ घरमै आएर जवाफ खोज्नुभएको
थियो, हुन्न भनेर पठाएँ। त्यसअघि सेना र राजाको एडीसीमार्फत पनि प्रस्ताव
आएको थियो। अहिले पनि साथीहरूबाट दबाब आएपछि राष्ट्रपतिका बारेमा नबोलेको
हुँ, तर मावादीप्रति विश्वास थिएन। मैले पार्टीमा राष्ट्रपतिको चक्करमा
फस्दिनँ जनतालाई भन्छु भनेँ, तर साथीहरूले यो मेरो कुरा मात्र नभई देश,
पार्टी र समयको माग हो भनेपछि चुप लाग्नु पर्यो। ब्राजिल जानुअघि
राष्ट्रपतिमा अकारण नाम लिएर मेरो चरित्रहत्या नगर्नुस् भन्ने सन्देश
चाहिँ दिएर गएको थिएँ। पदको मोह भएको भए यहीँ ढुकेर बस्थेँ।
तपाईंको योग्यता नपुगेको हो?
जिम्मेवारी
पाउँदा मुलुक हाँक्न सक्छु भन्ने आत्मविश्वास छ। २०३२ सालदेखि पार्टीको
पोलिटव्युरोमा रहेर राजनीतिका धेरै उतारचढाव देखेको छु। धेरै राजनीतिक
प्रक्रियामा संलग्न छु। अहिले पनि राजनीतिबाट सन्न्यास लिएको छैन। मेरो
सक्रियतालाई कसैले रोक्न सक्दैन। तर निष्ठाको राजनीति गर्छु, एउटा
दायराभित्र बस्छु, आफ्नो अडानमा सम्झौता गर्दिनँ, सत्ताकै लागि षड्यन्त्र,
फट्याइँ र जालसाजी गर्दिनँ। जेठमा चुनाव गर्न नसके राजिनामा दिनुपर्छ भने
बमोजिम गिरिजाबाबुलाई भनेँ, “तपाईं छाड्नुस्, मुलुकमा अरू पनि छन्, तिनले
गर्छन्।” त्यतिबेला मावादीले उहाँलाई साथ दिए। पछि असोजमा मलाई फकाउन
खोजे, मैले मानिनँ। किनभने जिम्मेवारी पूरा गर्ने मौका दिनुपर्छ भन्ने
मेरो मान्यता थियो। २०५९ सालमा गिरिजाबाबुको निवासमा मलाई प्रम बनाउने
कुरा हुँदा चक्रप्रसाद वास्तोलाले प्रतिनिधिसभा पुनर्स्थापनाको शर्त
राख्नुभयो। मैले स्वीकार गरिनँ, किनभने त्यतिबेला पुनर्स्थापनाको
सम्बन्धमा हाम्रो पार्टी तयार भइसकेको थिएन।
दुई-दुई ठाउँबाट हारेको भएर राष्ट्रपति स्वीकार्न गाह्रो भएको हो त?
चुनावको
जीत-हारले महासचिव पदबाट राजिनामा दिन आवश्यक थिएन भन्ने पुष्पकमल र उनका
हितैषीहरू हामीलाई हरूवा भनेर सार्वजनिक अपमान गर्छन्। कस्तो द्वैध चरित्र
हो यो? २०४८ सालको चुनावमा हामीले कृष्णप्रसाद भट्टराईलाई हरायौँ, तर
हरूवा भनेनौँ। २०५१ मा काङ्ग्रेसलाई हरायौँ, अपमान गरेनौँ। तर मावादीले
एकपटक चुनाव जित्दा तलदेखि माथिसम्म अपमान गरेका छन्। मेरो स्वाभिमानमाथि
हमला गरेका छन्। अरू भए बहुलाउँथे।
राष्ट्रपतिमा तपाईंको नाम कसरी अगाडि आयो?
मावादीले
गिरिजाप्रसादलाई स्वीकार नगर्ने बताएपछि साथीहरूले तपाईंले किन आँट नगर्ने
भन्न थाल्नुभयो। वामपन्थी नेतृत्वको तर्क गरियो। मैले जानु ठीक हुँदैन भने
पनि उहाँहरूले गिरिजाप्रसादपछिको व्यक्तित्व तपार्इं नै हो भन्न
थाल्नुभयो। यो मुलुकमा गिरिजाप्रसाद कोइरालाले प्रमुख हुन पाउने हो भने
माधव नेपालले किन नपाउने भन्ने प्रश्न पनि छ। भूमिकाकै कुरा गर्दा कसैले
भन्न सक्छ, शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन वा लोकतान्त्रिक गणतन्त्र
स्थापना गर्न मेरो भूमिका छैन भनेर?
तर तपाईं अस्वीकार्य हुनुभयोनि त!
कतिको
खेती नै भएको छ, मेरो चरित्रहत्या गर्ने। फोहोर चलायो गन्ध भनेर, प्रतिवाद
गरेको छैन। मैले नैतिकताको आधारमा राजिनामा दिएँ। नैतिकताकै आधारमा २६
जनामा मनोनीत हुन र संविधान मस्यौदा कमिटिको संयोजक बन्न अस्वीकार गरेँ।
तर चरित्रहत्या गर्नेहरूको आँखा यसतर्फ नपुगेको देख्दा अचम्म लाग्छ। जसले
राजद्रोहको आरोप लाग्ने जोखिम मोलेर तिनलाई सधैँ साथमा ल्याउन कोशिश
गर्यो, त्यसको चरित्रहत्या गर्न मावादी कति तल र्लियो, दुनियाँले देखेको
छ। सोझ्ो भएर, आक्रामक नभएर, सहमति र समझ्दारी खोज्ने भएर आजसम्म धोका
पाएको हो कि! मलाई त जिउँदै मार्ने काम गरियो। त्यस्ताहरूसँग अब कस्तो
व्यवहार गर्ने? बेलाबेलामा दाम चढाएको कुरा पनि उछालिने गरेको छ। तत्कालीन
प्रधानमन्त्री गिरिजाबाबु र सभामुख रामचन्द्रजीले चढाउनुभयो। चलन त्यही
थियो, स्वाभाविक रूपमा सबैले त्यही गरे। शुभकामना दिँदा फूल दियो कि दाम
चढायो भन्ने ठूलो कुरा होइन, मुख्य कुरा नीति हो। राजाको राज्यारोहण
मान्नुहुन्थ्यो, हुन्थेन भन्ने प्रमुख कुरा हो।
मावादीसँग कुन तहमा सहमति भएको थियो र कसरी बदलियो?
१
साउन बिहान वामदेव गौतमसँग पुष्पकमलले मेरो नाममा सहमति जनाउनुभयो। राति
११ बजे विष्णु पौडेलले मेरो बारेमा टुङ्गो लागेको र भोलि बिहान सहमतिमा
हस्ताक्षर हुने बताउनुभयो। मेरो मनमा चिसो पस्यो, दिउँसो रामराजाप्रसादले
मनोनयनको कागज लगेकाले कतै चुनावमा उठाएर लडाउने त होइनन् भन्ने लाग्यो।
भोलिपल्ट जब झ्लनाथजीलाई बोलाइयो, म साथीहरूसँग भन्दैथिएँ, मैले सकिनँ माफ
गर्नुहोला भन्ने जवाफ आउँछ। नभन्दै झ्लनाथजीले त्यही कुरा ल्याउनुभयो।
मावादीले त गृहमन्त्रालयका कारण कुरा नमिलेको बताएको छ।
त्यस्तो शर्त थिएन। त्यस्तो थियो भने मलाई थाहै नदिई घरमा भेट्न आउने पुष्पकमल दाहालले फोनबाट भन्न सक्नु हुन्थेन र!
के भएको हो त?
धोका!
राष्ट्रपतिको कुरा दुई पार्टीको सम्बन्ध सुधारको परीक्षा हो भनेर मैले
पुष्पकमललाई भनेको थिएँ, त्यसमा उनीहरू असफल भए। उनीहरू उपयोगितावादी
राजनीतिमा छन्। दलहरूलाई सिध्याउन राजा ज्ञानेन्द्रलाई उपयोग गर्न खोजे।
१९ माघअघि ज्ञानेन्द्रसँग भेट्ने तय भएको पुष्पकमलले नै बताउनुभएको छ।
राजावादीहरू सच्चा देशभक्त हुन् भनी उहाँले नै भन्नुभएको हो। सेनाको
घेरामा पर्दा ठूला नेताहरू निशानामा नपरुन् भन्ने निर्देशन हुन्थ्यो भनेर
सैनिक अधिकारीहरूले मलाई भनेका छन्। पूर्व मावादी नेता रवीन्द्र श्रेष्ठले
पनि यसलाई पुष्टि गर्नुभएको छ।
मावादी यो हदको अविश्वासी हो त?
एउटा
घटना सुनाउँछु, आफैँ ठम्याउनुस्। २०६४ असोजताका मावादी मङ्सिरमा चुनाव
नगराउने पक्षमा थिएर गिरिजाबाबुलाई अविश्वासको प्रस्तावबाट हटाउन खोज्दै
मलाई प्रमका लागि तयार रहन भनिरहेका थिए। चुनाव गराउँछु भनेका बेला बीचमै
हटाउन मिल्दैन भनेको थिएँ। यो कुरा एकताकेन्द्र मसालका महामन्त्री
प्रकाशकै सामुन्ने बालुवाटारमा भएको थियो। त्यसपछि गिरिजाबाबुले माथि
बोलाउनुभयो। कोठामा छिर्नेवित्तिकै पुष्पकमलले गिरिजाबाबुलाई तपाईंको कुनै
विकल्प छैन भन्दा तीनछक परियो। मेरो र प्रकाशबीच हेराहेर भयो। कति
अविश्वासी मान्छे! उनीसँगका यस्ता घटना धेरै छन्, पछि समयक्रममा बाहिर
आउलान्। पुष्पकमल दाहाललाई या त आफू के बोलिरहेको छु भन्ने थाहा हुँदैन,
या उहाँ खेलाउन सिपालु हुनुहुन्छ, या त उहाँलाई छिटो बिर्सने बिमारी वा
कुरैपिच्छे प्रस्ताव राख्ने बानी छ। २०४० सालदेखि सङ्गत भए पनि मैले
उहाँलाई बुझन सकिनँ। प्रचण्डपथले उहाँलाई बिगारेको छ। उहाँले पुष्पकमल
दाहाल भएर आउनुपर्छ। लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्वन गर्नुपर्छ।
त्यसो नगरेसम्म उहाँमा सुधार आउँदैन। त्यसैले राष्ट्रपतिको प्रकरणमा पनि
पटक पटक साथीहरूसँग भनेको थिएँ― के विश्वास? के विश्वास? के विश्वास?
मावादीले अवसर गुमाएकै हुन् त?
हो,
गुमाएकै हुन्। हिजो पद दिने ठाउँमा रहेको मावादी आज पद लिने ठाउँमा
आइपुगेको छ। राष्ट्रपतिमा हारेपछि नैतिक आधारमा सरकारमा जान्नौं भन्नु
अस्वाभाविक होइन, जानुपर्छ भनेर धेरै आग्रह गर्न पनि आवश्यक छैन। सरकार
बनाउन सक्छन् भने अवसर दिनुपर्छ। मावादीकै नेतृत्वमा सरकार बन्ने हो भने
पनि प्रचण्ड र बाबुराम बाहेक अरू कोही अघि सरे पनि त भयो नि! रामबहादुर
थापा बादल अघि बढ्न सक्नुहुन्छ। उहाँ दूतावास धाएको, जालझ्ेल गरेको, झ्ूटो
बोलेको, विवादमा परेको थाहा छैन; मान्छे भद्र देखिनुहुन्छ।
तपाईं र गिरिजाप्रसाद कोइराला मूलधारको राजनीतिबाट बाहिर बस्दा शान्ति प्रक्रिया के होला?
शान्ति
प्रक्रियामा प्रतिकूल असर पार्नुहुन्न। त्यसका लागि सकारात्मक भूमिका
निर्वाह गर्छु। नेपालको कम्युनिज्म उग्रवामपन्थवाद होइन, त्यसैले एकदलीयता
र सर्वसत्तावादको दिशामा जानुहुँदैन। आर्थिक विकासको नियममा हस्तक्षेप
गर्नुहुँदैन। मैले मावादीलाई पेरु, कम्बोडियालगायत विभिन्न देशमा समयमा
बुद्धि नपुर्याउँदा वामपन्थीहरू समाप्त भएका इतिहास पढ्न भनेको छु।
किरण नेपाल