Posted by: BibeksheelNepali April 21, 2017
Support Ranju Darshana, Mayor Candidate for Kathmandu, Bibeksheel Nepali Dal
Login in to Rate this Post:     0       ?        
रञ्जु दर्शनामा आगो छ
प्रतिमा भट्ट

के २१ वर्षीया युवतीले यत्रो महानगरको भार थेग्न सक्लिन्?

विवेकशील नेपाली दलले रञ्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि माथिको प्रश्न गम्भीर रूपमा उठेको छ।

यो प्रश्न आफैंमा अनौठो भने होइन।

तर, त्योभन्दा पहिला अर्को प्रश्नबारे म यहाँ चर्चा गर्न चाहन्छु। आखिर के हो राजनीति भनेको? वर्षैभरि कुर्सी तानातान नै राजनीति हो? कि संसदमै कुर्सी हानाहान नै राजनीति हो? जनताको आधारभूत आवश्यकता परिपूर्ति र विकास निर्माणमा लगानी गर्नुपर्ने करोडौं रकम भ्रष्टाचारमै सक्नु नै राजनीति हो? अनि, घरि एउटा दलको शीर्षनेता र घरि अर्को दलको शीर्षनेताले आलोपालो गरी मन्त्री र प्रधानमन्त्री खानु नै राजनीति हो?

होइन भने आज एक जना युवा महिलाले राजनीतिमा लाग्छु भनेर पाइला चाल्दा उनलाई स्वीकार गर्न किन यत्रो हिच्किचाहट? किन शंका?

आजसम्म हामी नेपाली जनताले जेष्ठ नागरिकलाई नै देशको अगुवा बनायौं। देशको विकास निर्माणको बागडोर उनीहरूकै हातमा सुम्पियौं। तर, खै त के पायौं हामीले, राजनीतिक अस्थिरता र अन्यौल सिवाय? दुई छाक हातमुख जोर्न लालाबाला रुवाएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता सिवाय?

वर्षौंदेखि खापिँदै आएका समस्याको थुप्रोलाई रञ्जु दर्शनाले जादूको छडी घुमाएजस्तो हल गर्न सक्छिन् भनेर म भन्दिनँ। त्यो त सम्भवै छैन। तर, उनले कम्तीमा भत्काउने राजनीतिमा पूर्णविराम लगाउने छिन् भन्ने मलाई लाग्छ। किनकि, उनी युवा पुस्ताकी प्रतिनिधि हुन्। जन्मेदेखि जुन भत्काउने राजनीति हामीले देख्दै आयौं, त्यसलाई तोडेर बनाउने राजनीति गर्नुपर्छ भन्ने सपना देखेको युवा पुस्ताको प्रतिनिधि।

उनको उम्मेदवारी हामी युवा पुस्ताको निम्ति एउटा सुखद संकेत हो। हामी सबै युवा पुस्तालाई भविष्यको कर्णधार त भन्छौं। तर, तिनै कर्णधारले जिम्मेवारीबोधका साथ कुनै अभिभारा उठाउन खोजे उनको काँधलाई कमजोर पार्ने चेष्टा पनि गर्छौं। हामी हरेक दिन अखबारमा छापिने नेताहरूको फोटो हेरेर ‘खै त युवा पुस्ताले चान्स पाएको’ भन्दै कुर्लन्छौं। तर, कुनै युवाले आफ्नै दममा अघि बढ्न खोजे उसको खुट्टा पनि तान्छौं। सधैं युवा पुस्ताले देश चलाउनुपर्छ त भन्छौं, तर देशका लागि लड्छु, भत्काउने होइन बनाउने राजनीति गर्छु भनी अघि सर्ने रञ्जुजस्ता युवा पुस्ताका महिलालाई साथ दिन हाम्रा शब्दहरू कमजोर हुन्छन्।

हामी सामाजिक रूपमा मात्र होइन, राजनीतिक रूपमा पनि पुरातन बन्धनहरूले जकडिएका छौं। त्यो जकडको साङ्लो नछिनालेसम्म न हामी मुक्त हुन्छौं न त हाम्रो देश।

आजसम्म हामीले देश विकास गर्छु भन्दै भोट माग्ने नेताहरूलाई पत्यायौं। उनीहरूलाई जितायौं पनि। के उनीहरूले आफ्नो बाचाअनुरुप काम गरे त? नेतालाई चुनाव जिताएर उनीहरूकै मात्र प्रगति र उत्थान हुने यो राजनीतिलाई हामी कहिलेसम्म चुपचाप सहेर बस्ने?

इतिहास साक्षी छ, हाम्रो देश एकता र आत्मीयताको प्रतीक थियो। सबै धर्म, संस्कृति र भाषाभाषी मिलेर बसेका थिए। त्यो एकता र आत्मीयतालाई यही राजनीतिले खलल् पुर्याएको हो। यति धेरैसम्भावनायुक्त हुँदाहुँदै हामीले त्यसको उपयोग गर्न नसकेको र देश झन् झन् अविकासतर्फ धकेलिँदै गएको यही राजनीतिका कारण हो। हामी दिनप्रतिदिन निराशाको त्यान्द्रोमा कसिँदै गएको यही राजनीतिले हो।

जनताले राणा शासनदेखि राजतन्त्रसम्म फाले। तर, आज पनि हामी जनताको हकहित सुनिश्चित हुन सकेको छैन। हामी अहिले पनि अलमलमै छौं। राजनीतिक रूपान्तरणका लागि सधैं अघि सर्ने हामी आफ्नै आर्थिक समृद्धिमा भने किन यति उदासीन? आर्थिक समृद्धिमा त्यसले मात्र काम गर्न सक्छ, जसमा सपना भरिएको हुन्छ। त्यसो हो भने युवा पिँढीलाई राजनीतिमा अगाडि आउनबाट हामी किन रोक्ने त?

हाम्रो विडम्बना के भने, वर्षभरि उठ्दा–बस्दा हामी जुन राजनीतिको विरोध गर्छौं, निर्वाचनको मुखमा आएपछि हामी त्यही राजनीतिलाई यस्तरी पछ्याउन थाल्छौं। मानौं, हामीलाई शक्तिको उच्च पदमा युवा पुस्ताको उपस्थिति स्वीकार्य नै छैन। त्यस्तै हो भने मेरो सबैसँग आग्रह छ– हामी यी नेताहरूले देश बिगारे, यो राजनीतिले देश बिगार्यो भन्ने राग अलाप्नै बन्द गरौं। र, जे हुँदैछ त्यसलाई चुपचाप सहेर बसौं।

होइन, यी नेताहरू हामीलाई चित्त बुझेका छैनन्, यो राजनीति हामीलाई चित्त बुझेको छैन भने कम्तीमा राजनीतिको भीडमा उदाएको एउटा युवा अनुहारलाई सबै मिलेर उज्यालो पार्ने अभियानमा लागौं।

आज हामीलाई विभाजन गर्ने नेता होइन, हाम्रो देशलाई समृद्धिको बाटोतर्फ लैजाने जागरुक र सक्षम युवा नेताको खाँचो छ। उसको उमेर २१ वषको होस् कि त्योभन्दा कम, कसैको पेटमा देशको मुहार फेर्ने आगो बलेको छ भने म त्यो आगोको सम्मान गर्छु।

आजको मितिमा मैले रञ्जु दर्शनामा त्यो आगो देखेकी छु।
- See more at: http://setopati.com/blog/67579/#sthash.Wx4t0xnB.dpuf

Read Full Discussion Thread for this article