Posted by: ktmpost December 12, 2016
‘मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो’
Login in to Rate this Post:     0       ?        

This is beyond sick. An innocent mother killed by intolerance. RIP


प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान


ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो । म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ । त्यहीबीचमा भाइ धेरै रोयो । सायद आमाको दूध खान खोजेको थियो । त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ । त्यतिवेला सायद चार बजेको थियो होला।

ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ । मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो । किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो । त्यस्तै, करिब ५ बजेको हुनुपर्छ । मेरो स्कुलमा सामाजिक विषय पढाउने सर (हीरा लामा) र उहाँको आमा (काइलीमाया तामाङ) मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन् ।

हामी आफ्नै बाटोतिर थियौँ । तर, बाटो रोकेर सरकी आमाले बोक्सी, राँऽऽ, रऽऽ… भन्दै मेरो ममीलाई लखेट्न खोज्नुभयो । तर, ममी भाग्नुभएन । त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे । त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ ।

स्कुलको मैदानमा भलिबलको पोल छ । त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो । तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो । त्यसैले उहाँ एकैछिन रोकिनुभयो । त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए । छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन् । नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो । त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन । पछि त दिसा लिएर आउनुभयो । सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन। त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए ।

त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे । केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ । पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो । चिरपटले ममीको टाउकोमा हान्नु भयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो ।

गाउँमा हल्ला भइसकेछ । मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि बाटोमै आइपुग्नुभयो । उहाँ ६० वर्षको हुनुहुन्छ । मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो । मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ । उहाँ ममाथि पनि झम्टनुभयो । त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो । तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्‍यायौँ ।

बेलुकी घर गयौँ । अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो । बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ । त्यो दिन अस्पताल जाने कुरा भयो । तर, ढिलो भएकोले जान सकिएन । धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो । बिहीबार बिहान ममी उठ्न सक्नुभएन । त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ । घरमा ममीलाई औषधि दिँदै थियौँ । आँगनमा पुलिस आइपुग्यो । पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो । गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो । मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए ।

बेलुका बुबा र म सँगै सुत्यौँ । ममी नजिकैको टहरामा सुत्नुभयो । बिहान हजुरआमाले मलाई उठाउनुभयो । तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो । म टहरामा पुग्दा ममी ओछ्याननजिकै भुइँमा ढलिरहनुभएको थियो । मैले बोलाउँदा बोल्नुभएन । अलिअलि सास फेरिरहनुभएको थियो । मैले पानी खुवाएँ । आमाआमा भनेर बोलाएँ । उहाँ बोल्नुभएन । म चिच्याएको सुनेर गाउँलेहरु जम्मा भए । गाउँलेहरुले पुलिसलाई खबर गरे । सबैजना जम्मा भएका थिए, त्यतिन्जेलसम्म मेरी ममीको मृत्यु भइसकेको थियो । मैले हिरा सरलाई देखाएर पुलिसलाई भनेँ, ‘मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो ।’ मैले घटना सुनाएपछि हिरा सर भाग्न खोजे । तर, पुलिसले उनलाई पक्राउ ग¥यो । पुलिस अंकलहरुले बोलाएको हुनाले म हिजो (शुक्रबार) धुलिखेल आएको हुँ । तर, सँगै मेरो बुबालाई पनि भित्र थुनेर राखेको छ । किन थुनेको मलाई थाहा छैन ।

हत्या आरोपमा तीनजना पक्राउ
बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको हो । यो सामग्री हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।

आफूमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरी कार्यालय चौबासमा निवेदन दिएकी थिइन् । प्रहरी र स्थानीयले बिहीबार मिलापत्र गराएका थिए । मिलापत्र गरेको २४ घन्टा नबित्दै महिलाको मृत्यु भएको हो । मृत्यु भएपछि माइती पक्षले प्रहरीसमक्ष किटानीजाहेरी दिएको छ ।

यसैबीच लक्ष्मी परियारको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक हीरा लामा, साइँला तामाङलाई पक्राउ गरेको छ भने थप अनुसन्धानका लागि भन्दै लक्ष्मीका श्रीमान् मिलन परियारलाई पनि पक्राउ गरेको छ । 


http://nepalkhabar.com/en/2016/printmedia/7042/.htm

Read Full Discussion Thread for this article