Posted by: Raam Raam December 5, 2016
यो ठगिमा पनि इन्डियन कै हात होला जस्तो छ
Login in to Rate this Post:     0       ?        
उपहारको लोभमा विदेशीबाट यसरी ठगिन्छन् नेपाली युवती
प्रहरी भन्छ– कारबाही गर्न प्रमाण हुँदैन डिल्ली पाण्डे २०७३ मङ्सिर २० सोमबार १४:०९:०० घटना– १ आफूलाई बेलायती नागरिक बताउने कानेजोन नाम गरेका व्यक्तिले काठमाडौँकी एक युवतीलाई फेसबुकमा साथी बन्न अनुरोध गर्छन् । बेलायती नागरिक अनि अविवाहित युवा देखेपछि युवती फेसबुकमा साथी बन्न राजी हुन्छिन् । उनीहरूबीच चिनजान हुन्छ । समयसँगै सम्बन्धमा गाढापन मौलाउँदै जान्छ, कुराकानी हुन्छ । दुवैबीच मन माझामाझ भएपछि किन लुक्थ्यो र कुरा ? कुरैकुरामा वैवाहिक जीवनका कुरा हुन्छन् । प्रेम, विवाहको बाटो हुँदै अघि बढ्छ । कानेजोनले विवाहकै प्रस्ताव गर्छन् । युवतीमा बेलायत जाने लालसा । अनि, विवाह नै गर्ने भएपछि प्रेम सम्बन्ध स्वीकार्य बन्छ । गत वैशाखदेखि फेसबुकमा कुरा हुन थाल्यो उनीहरुको । प्रेममा उपहारले छुट्टै अर्थ राख्छ । उपहार प्रेमको निसानी पनि हो । र, माध्यम हो प्रेम दर्शाउने । गत भदौतिर कानेजोनले ती युवतीलाई डिएचलमार्फत पार्सल गर्ने आश्वासन दिन्छन् । केही सामानहरु पार्सल पनि गर्छन् । यसरी एउटा सात समुद्रपारीको मान्छेसँग गरेको कुराकानी प्रेममा परिणत हुन्छ र त्यसले विश्वास आर्जन गर्छ । एक दिन फेरि कानेजोनले पार्सल गरेको कोड नम्बर पठाउँछन्, जुन सामान भारतबाट आउने भनिएको हुन्छ । केही दिनपछि भारतबाट एक व्यक्तिले फोन गरेर ‘तपाईंको सामान आएको छ, सामान महँगो रहेछ । भित्र पैसाको मुठा छ, यो पठाउन पैसा लाग्छ’ भन्छन् । सामान भारतमा अड्किएको कुरा युवतीले कानेजोनलाई भन्छिन् । भारत पैसा कसरी पठाउने भन्नेबारेमा छलफल हुन्छ । कानेजोनले एक जना विश्वासिलो व्यक्तिको नाममा एसबीआई बैंकमा खाता खोल्न र रकम त्यहाँ जम्मा गरी एटिएम कार्ड भारत पठाउन सुझाव दिन्छन् । उनले भनेजस्तै गरी ती युवतीले आफ्नो नातेदारको नाममा बैंक खाता खोल्छिन् । पैसा जम्मा गर्छिन् र एटिएम भारत पठाउँछिन् । सुरुमा २ लाख पठाएकी ती युवतीले रकम नपुगेको भनेपछि थप्छिन् । जब रकम भारतबाट झिकियो, आफ्नो सम्पर्कमा रहेको कानेजोनको अत्तपत्तो हुन्न । फेसबुकमा पनि सम्पर्क टुट्छ । त्यसपछि बल्ल युवती आफू ठगिएको निष्कर्ष निकाल्छिन् । अनि, पुग्छिन् बन्छ प्रहरीकोमा । घटना– २ काठमाडौँमा राम्रो नाम चलेको स्कुलमा पढाउने युवती आफैँ आत्मनिर्भर छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय । उनको पनि अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीको इन्जिनियर बताउने युवासँग फेसबुकमा सम्पर्क हुन्छ । जोन स्मिथ नाम बताउने युवासँग युवतीको सम्पर्क बढ्छ । शिक्षिका ऊप्रति आकर्षित हुन्छिन् । जोन नेपाली युवतीसँगै विवाह गर्ने मनशाय व्यक्त गर्छन् । स्नातकोत्तर युवती ग्रिन सिग्नल पाएपछि उत्साहित हुन्छिन् र कुरा अघि बढाउँछिन् । प्रेमपूर्ण कुराहरू जारी रहन्छ । जोनले शिक्षिकालाई उपहार पठाइदिने आश्वासन दिन्छन् । पार्सल गरी एउटा गोल्डेन घडी पठाइदिन्छन् पनि । प्रेमीले घडी उपहार दिएपछि दंग परेकी शिक्षिका पुनः ५० हजार डलर पैसाको लोभमा पर्छिन् । यसबाट उनीहरू नेपालमा जग्गा किन्ने र सुन्दर घर बनाउने योजना बनाउँछन् । स्मिथले ५० हजार अमेरिकन डलर पठाएको भन्दै पार्सल नम्बर पठाउँछन् । पैसा कतिखेर आउँछ भन्दै कुरेकी शिक्षिकलाई भारतबाट फोन आउँछ, ‘धेरै पैसा रहेछ, त्यसैले प्रक्रिया पूरा गर्न केही रकम लाग्छ । रकम नभए यो पैसा जताबाट आएको हो, उतै फिर्ता हुन्छ ।’ युवती आत्तिँदै जोन स्मिथलाई फोन गर्छिन् । स्मिथले तिम्रो नाममा बैंक खाता खोल र पैसा त्यसमा जम्मा गर भन्छ । त्यसको एटीएम कार्ड र पिन कोड भारत पठाउन सुझाव दिन्छन् । शिक्षिकाले त्यसै गर्छिन् । जब पैसा, एटीएम कार्ड र कोड नम्बर भारत पुग्छ, जोन स्मिथ गायब ! भारतबाट आएको नम्बरमा पनि सम्पर्क हुन सक्दैन । ५० हजार अमेरिकी डलर र अमेरिकी पति पाउने लोभको घर भत्कियो । १० लाख डुब्यो । शिक्षिका उसैगरी रुँदै अपराध महाशाखामा पुगिन् । घटना– ३ बेलायती नागरिक ‘मार्क रिचर्ड’ बताउने व्यक्तिले काठमाडौँमा बस्ने एक विवाहित महिलालाई पनि यसैगरी ठगे । उनी आफू पटकपटक नेपाल आउने गरेको र नेपाल आएको बेला भेट गरौँला भन्दै नजिक भए । ‘तपाईँलाई उपहार पठाएको छु, उपहार महँगो छ’ भन्दै एउटा पार्सल गरेको नम्बर पठाए । ती महिलालाई पनि भारतबाट त्यसैगरी फोन आयो । उनले सुरुमा ५ लाख पठाइन् । फेरि एक सातापछि फोन आयो । ‘पैसा पुगेन, उताबाट पठाएको सामानमा डलरको मुठा छ, छुटाउन पर्छ’ भन्दै ८ लाख माग गरियो । महिलाले हतारहतार त्यो पैसा पठाइन् । त्यसपछि त्यो व्यक्ति गायब भयो । यता, घरमा महिलालाई पतिले लखेटे । आफन्तको सहयोगमा उनी अपराध महाशाखा पुगिन् र सुनाइन् आफ्नो बेलीबिस्तार । प्रहरी भन्छ- कारबाही गर्ने प्रमाण छैन
महानगरीय अपराध महाशाखाका ‘साइबर क्राइम युनिट’का प्रमुख डिएसपी पशुपति रायका अनुसार गएको वैशाख यतामात्र यस्ता खाले पाँच वटा ठगीका उजुरी परेका छन् । त्यसमा दुई अविवाहित युवती, दुई महिला र एक पुरुष ठगिएका छन् । “विदेशी नागरिक भन्नेबित्तिकै भुतुक्कै हुने मनसाय भएका युवतीहरु धेरै फसेको देखिन्छ,” डिएसपी रायले बाह्रखरीसँग भने, “धेरै ठगिएकाहरु यसरी प्रहरीमा आउँछन् । कतिपय त प्रहरीमा आउँदा आफ्नो पोल खुल्ने डरले आउँदैनन् ।” आफूलाई विदेशी भन्दै च्याट गरेकै भरमा लोभिने युवतीहरु फस्ने गरेको भन्दै फेसबुकको पछि लागेर उपहार पाउने आश नगर्न डिएसपी रायको सुझाव छ । महाशाखाको ठगी छानबिन युनिटका इञ्चार्ज प्रहरी निरीक्षक गोविन्द पन्थी पनि फेसबुकमा बनेको मित्रताले धेरैलाई कङ्गाल बनाएको बताउँछन् । “ठगिएकाहरू रुँदै कराउँदै प्रहरीमा आउँछन् । प्रमाण केही हुँदैन, कसरी कारबाही गर्ने ?” प्रहरी निरीक्षक पन्थीले भने, “भनेको भरमा कारबाही गर्न मुस्किल हुन्छ । फेरि ठगी गर्नेहरू मुलुकबाहिर हुन्छन् ।”
Read Full Discussion Thread for this article