Posted by: nozzs August 23, 2016
खान पुगोस्, दिन पुगोस्
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीज्यू, 
तपाईं र सरकारले योग्य ठाने मलाई सहयोग गरे हुन्छ ! 
 सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ! 
 म एमबिबिएस दोस्रो वर्ष पढिरहेको एक जेहेन्दार विद्यार्थी हुँ। मेरो बुबा सर्वहाराको ‘मुक्ति र उत्थानका लागि’ भनेर तपाईंको नेतृत्वमा सुरु भएको ‘जनयुद्ध’ क्रममा राज्यद्वारा बेपत्ता पारिनुभएको थियो। तपाईंलाई ‘भगवानरुपी कमरेड’ मान्नुहुन्थ्यो। ‘जनयुद्ध’ ले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पीडित पारिएकाको तर्फबाट म प्रतिनिधि पात्रका रूपमा यहाँ आफ्नो कुरा राख्दैछु। 
 ‘जनयुद्ध’ का सम्पूर्ण घटना प्रत्यक्ष रूपमा तपाईंसँग जोडिएकाले तपईं संवेदनशील र जिम्मेवार हुनुहुनेछ भन्ने अपेक्षा छ। शुरु मेरा बुबालाई बेपत्ता पारिएको घटनाबाट गर्न चाहन्छु । 
 मितिः २०५८ माघ १५ गते स्थानः हंसपुर–४, भच्चेक, गोरखा गाउँमा बिहानैदेखि मुसलधारे पानी परिरहेको थियो। सधैंजसो दुखेर सताइरहने दाँत उपचार गर्न आमालाई लिएर बुबा भच्चेक हेल्थपोस्ट जानुभएको थियो। त्यहाँ पुग्नेबित्तिकै करिब एक किलोमिटर पर रहेको ब्यारेकबाट तीन जनाको समूह आइपुग्यो। 
 ‘माधव अधिकारी भनेको तैं होस्?’ समूहको एउटा बोल्यो। ‘हो, मै हो हजुर,’ आर्मीका मान्छे हुन् भन्ने भेउ पाइसक्नुभएका बुबाले विनम्रतापूर्वक भन्नुभयो, ‘किन खोज्नुभएको होला?’ 
 ‘तँ हामीसँग जानुपर्ने भयो,’ समूहको अलि मोटो व्यक्ति कड्कियो, ‘हिँड्।’ 
 ‘जहान दाँत दुखेर छटपटाइरहेकी छे, एकैछिन तपाईंहरू यहीँ बस्दै गर्नोस्, अनि म जानेछु,’ बुबाले दुई हात जोडेर भन्नुभयो।
 ‘ए, तेरो बूढीको उपचार गर्न हामी यहाँ बस्नुपर्ने, हिँड खुरुक्क, पैला तेरै दाँत ठिक पार्नुपर्नेछ,’ अघिकै मोटो मानिसले हप्काउँदै भन्यो।
 उनीहरूले बुबालाई घिसार्दै लगे। दाँतको उपचार गर्न आउनुभएकी मेरी आमा त्यहीँ बेहोस हुनुभएछ। घर फर्केपछि आँखाबाट अविरल अाँसुका धारा बगाउँदै आमाले भन्नुभयो, ‘म त बेहोस भएछु बाबु। तेरा बुबालाई घिसार्दै थिए, बुबा आँखाभरि आँसु पारेर मलाई हेर्दै आर्मीलाई कराइरहनुभएको थियो...’ बोल्दाबोल्दै आमाका गला अवरुद्ध भए। मेरै काखमा घोप्टो परेर रुन थाल्नुभयो। मैले पनि आफूलाई थाम्न सकिनँ। झन् डाँको छाडेर रुन थालेँ। 
 म त्यतिबेला जम्मा ६ वर्षको थिएँ, तर यो घटना मेरो मस्तिष्कमा यस्तरी बसेको छ आजसम्म प्रस्ट याद छ। त्यो रात बुबाको पर्खाइमै बित्यो। आर्मीहरूले आमालाई ‘भरे पठाइदिन्छु’ भनेका थिए। साँच्चै पठाउलान् भन्ने आशमा बाटोभरि आँखा बिछ्याएर आमाले रात छर्लंगै पार्नुभयो। तर, न बुबा फर्किनुभयो न त उहाँलाई लैजाने आर्मीका मान्छे आए। 
भोलिपल्ट हामी सपरिवार ब्यारेक गयौं। ‘सर, मेरो बुबालाई हिजै घर पठाइदिने भन्नुभाको थियो, खोइ त?’ दाइले भन्नुभयो, ‘यो खाना खुवाएर हाम्रो बुबालाई लान्छौं।’ ‘ए, यति सजिलै भेट्न पाउने भए तेरो बाउलाई यहाँ किन राख्नुपर्थ्यो? खाना ले, म लगिदिन्छु,’ एक जना आर्मीले आमाको हातको सामान खोसेर लग्यो। आमा फेरि रुन थाल्नुभयो। एकैछिनमा बेहोस हुनुभयो। दाइ, दिदी र म मिलेर उहाँलाई स्वास्थ्यचौकी पुर्यायौं। ‘शरीरमा तागत छैन,’ भिटामिनको बट्टा दिँदै स्वास्थ्यकर्मीले भने।
 त्यस दिन हामीले लगेको खाना बुबासम्म पुग्यो कि पुगेन थाहा छैन। हामी भोलिपल्ट पनि गयौं। पर्सिपल्ट गयौं। दिनहुँ जान्थ्यौं। दिनहुँ खाना लिएर आर्मीलाई दिन्थ्यौं र ‘छाडिदेऊ हाम्रो बुबालाई, एकपल्ट मात्र भए पनि भेट्न देऊ’ भन्दै रुँदै बिन्ती गर्थ्यौं। 
 हाम्रो रोदन सुन्नु त कता हो कता, उल्टै एकदिन आमालाई भन्यो, ‘तिम्रो बूढोलाई सदरमुकाम लगेको छ, अब उतै जानू।’ उसका यी कुरा सुन्नेबित्तिकै हामी सबै आमालाई समातेर रुन थाल्यौं। हामी रोएको देखेर आमा मुर्छा पर्नुभयो। ‘आमा, म सदरमुकाम जान्छु र बुबालाई जसरी भए पनि लिएर आउँछु,’ दाइले भन्नुभयो। आमा केही बोल्नुभएन। 
एकैछिनपछि आमा नजिका आफन्तले साथ दिन्छन् कि भनेर जानुभयो। दाइसँग सदरमुकाम जान कोही तयार भएनन्। अन्तमा आमा र दाइ बुबालाई लिन भनी सदरमुकाम जानुभयो। घरबाट निस्केको आठौं दिनमा उहाँहरु फर्किनुभयो।
 ‘खोइ त बुबा? के भने आर्मीहरूले? कहिले आउनुहुन्छ हाम्रो बुबा?’ दिदीभन्दा दुई वर्ष मात्र जेठा दाइसँग यी प्रश्नका जवाफ थिएनन्। उहाँ केही बोल्नुभएन। मैले आमातिर पुलुक्क हेरेँ। उहाँका आँखा पूरै सुन्निएका थिए। सुन्निएका आँखाबाट आँसु थामिएकै थिएनन्।
 प्रधानमन्त्रीज्यू, बुबालाई बेपत्ता बनाएपछिका भरे त कति आए, कति गए। विडम्बना, बुबा आउने ‘भरे’ चाहिँ कहिल्यै आएन। अँध्यारा रातमा बुबा आएर ‘सावित्रा’ भन्दै बोलाउनुहुन्छ कि भनेर आमाले कयौं वर्ष पिँढीमै अनिँदो बिताउनुभयो। 
अहिले पनि ‘आमा भित्र जाउँ’ भन्ने बित्तिकै उहाँ गहभरि आँसु खसाल्नुहुन्छ। अब भन्नुस् त प्रधानमन्त्रीज्यू, म मेरी आमालाई कसरी सम्झाउँ? सम्झनामा बुबा बुबासँगका मेरा स्मृति यति कम छन्, म उहाँको आकृति कसैगरी पनि समाउन सक्दिन। 
 बुबाले कहिलेकाहीँ मेरो त्यो कलिलो गालामा आफ्नो गाला मुसारेर काउकुती लगाएको सम्झना मानसपटलमा प्रस्ट सजिएको छ। अहिले लक्का जवान भइसकेको म हरेकपल्ट जब ऐना हेर्दै दारी काट्छु, अनायास मेरो हात आफ्नै दारी सुम्सुमाउन पुग्छ, अनि उर्लिएर आउँछन् बुबासँग जोडिएको अतीत। तर, ऐनाकै अगाडि बसेर जति जोड गरे पनि, जति रोइकराई गरे पनि काउकुति लगाउने बुबाको आकृति कहिल्यै आएन। 
 भर्खर स्कुलको दैलो ढक्ढकाउन थालेको मलाई बुबा हमेसा भन्नुहुन्थो, ‘कुत्ता, राम्रोसँग पढिनस् भने लाउलास् मैले किनिदिने जुत्ता।’ मैले राम्रोसँग त पढेँ, तर मेरो भाग्य ठानौं वा नियति, बुबाले किनिदिएको जुत्ता मैले कहिल्यै लाउन पाइनँ। बुबासँग बिताएका अरू कुनै पनि पल मेरो सम्झनामा अट्न सकेन
 प्रधानमन्त्रीज्यू। केही वर्षअघि घरमा बुबाको फोटो आमाले फ्रेममा हालेर राख्नुभएको रहेछ। एकदिन मन दरो बनाएर आमालाई सोधेँ, ‘आमा, हाम्रो बुबाले कोट–पाइन्ट लगाउनु हुन्थ्यो हो?’ आमाले एकछिन मतिर हेर्नुभयो। उहाँका आँखा रसाउन थाले। मुखले केही भन्नुभएन। 
पछि दिदीले भन्नुभयो, ‘बुबाको त नागरिकताको फोटो मात्रै थियो हामीसँग। अनुहार पनि प्रस्ट नदेखिने त्यही फोटोलाई मिलाएर फ्रेममा राखी ठूलो बनाएका हौं।’ मैले दिदीसँग थप प्रश्न गर्न सकिनँ। 
 प्रधानमन्त्रीज्यू, 
बुबालाई स्मृतिका पानामा सजाउनसम्म नपाएका हामीले तपाईंलाई कयौंचोटि शंकाको सुविधा दिइरहेका छौं। बुबाको अभावमा प्रधानमन्त्रीज्यू, घरमा पार्टीका मान्छेको आवातजावत बाक्लिएपछि र गाउँका सुराकीले आर्मीलाई अनर्गल कुरा लगाएपछि बुबा आफूलाई असुरक्षित महसुस गर्न थाल्नुभएको थियो। 
मामाघरका सदस्यले उहाँलाई सहर जान वा सुरक्षित ठाउँ खोज्न अनुरोध गरेका थिए। तैपनि बुबा देशका खातिर तपाईंले देख्नुभएको सपना पूरा गर्न लागिरहनुभयो। बुबालाई आफ्नो ज्यानको टुंगो नभएरै होला, लेनदेनका कुरा आमालाई बताइरहनु हुन्थ्यो । उहाँलाई बेपत्ता बनाएपछि हामीले दिनुपर्ने सबैलाई दियौं, तर लिनुपर्ने ठाउमा जाँदा कतिले लिएकै छैन भने, कतिले आधा मात्रै दिए। 
एक जनाले त यतिसम्म भने, ‘पैसा लिन मन भए जसले दिएको हो, उही आउनुपर्छ।’ आमा केही बोल्नुभएन। मात्र गहभरि आँसु पार्नुभयो। म केही भन्नसक्ने नै भइनँ। आमालाई सम्झाएर घर लिएर आएँ। 
 आखिर ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्दो रहेछ! हाम्रो त्यो निम्न परिवारमा मियो हराएपछि हामी बेसहारा भयौं।
 एक–दुई दिन त आफन्तले माया गरेका थिए, तर कालान्तरमा उनीहरूकै लागि हामी आँखाका कंसिगर भयौं। हामी एक छाक मात्र खाएर कति रात भोकै सुत्यौं।
 बुबा आउनुहुन्छ कि भनेर हामी त्यो भरेको पखाईमा कति रात बाहिरै सुत्यौं। दिन बित्दै गए। स्कुल पढ्ने उमेरमा घरायसी बाध्यताले दिदी र दाइ पढाइ छाड्न विवश भए। 
 आमाको दैनिकी नै अर्काको घरमा मजदुरी बन्न पुग्यो। राति घर आउँदा सधैं चिउरा लिएर आउनुहुन्थ्यो। गाउँमा मजुदरी गर्नेहरूलाई खाजामा चिउरा दिने चलन छ। आमा त्यही चिउरा आफूले नखाई हाम्रा लागि ल्याइदिनु हुन्थ्यो। पछि त दाइ–दिदी पनि घरको कामभन्दा बाहिरको काममा जान झगडा गर्न थाले। किनकि, घरमा काम गरेको न पैसा पाइन्थ्यो न त खाजा। 
 घरको एक मात्र भरोसा रहनुभएका बुबालाई बेपत्ता बनाएपछि हाम्रा लागि मीठो खाने दिन कहिल्यै आएन। एकदिन छिमेकीको घरमा खसी काटेका रहेछन्। दाइ पनि मासु लिन भनेर जानुभएछ। तर, पैसा तिर्न सक्दैनौं भनेर खाली हात पठाइदिएछन्। 
हामीले केही गर्न र केही भन्न सक्ने अवस्थै थिएन। हामी त बेसहारा थियौं। गरिब थियौं। हाम्रो पक्षमा बोलिदिने कोही थिएन। त्यसैले त हो, दिदीले केही गल्ती नगर्दा पनि स्कुलमा सरले सबैका सामुन्ने पिटेर झुट बोल्न बाध्य पारे। त्यसैले त हो, हाम्रो कमजोरीको फाइदा उठाउँदै सबैले दाइलाई चोर र फटाहाजस्ता शब्दले पुकार्न थाले।

 त्यसैले त हो, अर्काको घरमा गएर बस्दा पनि ‘सावित्रीले चप्पल चोरी’ जस्ता निकृष्ट शब्दले आमालाई हेपिरहे। धेरैपछि एकदिन जिल्ला प्रशासन कार्यलय गोरखाले भन्यो, ‘हंसपुर–४, गोरखा निवासी माधव अधिकारी दोहोरो मुठभेडमा मारिए।’ 
 सरकारको यस्तो रवैया देखेर हामी झन् मर्माहत भयौं। दिनदहाडै अस्पतालबाट अमानवीय ढंगमा आर्मी ब्यारेक लगिनुभएका हाम्रा बुबा कसरी दोहोरो भिडन्तमा मारिनुभयो? हामी सधैं एउटै प्रश्न गरिरह्यौं, कि हामीलाई बुबाको सास चाहियो कि लास? तर, कसैले हाम्रो प्रश्नको जवाफ दिन सम्म आवश्यक ठानेनन्। 
 झन् तत्कालीन नेकपा माओवादीले बिनाप्रमाण मेरो बुबाले ‘सहादत प्राप्त गर्नुभएको’ सूचना दियो। र, भन्यो, ‘उहाँले देख्नुभएका सपना हामी पूरा गर्नेछौं।’ मूलपार्टीबाट छुट्टिएको अर्को एक समूहले सहिद सप्ताहका अवसरमा दिएको सम्मानपत्र पढेर त म चकितै परेँ। त्यसमा लेखिएको थियो, ‘हंसपुर–४ निवासी क. माधव अधिकारीले २०५८/२/५ मा सहादत प्राप्त गर्नुभयो।’
 जबकि, त्यो मितिमा मेरो बुबालाई आर्मीले गिरफ्तार नै गरेको थिएन। यसरी एउटै व्यक्तिलाई कहीँ बेपत्ता त कहीँ सहिद भनेर जिम्मेवार पक्षले पीडितलाई न्याय दिनु त कहाँ हो कहाँ, उल्टै गलत सूचना दिएर पीडामाथि पीडा थपिरह्यो। 
 अन्ततः आइसिआरसीका प्रतिनिधि बुबालाई बेपत्ता सूचीमा राख्न सहमत भए। प्रधानमन्त्रीज्यू, तपाईं आजभोलि ‘जनयुद्ध’ ले देखेको सपना लगभग पूरा भएको र अब त्यसको रक्षा गर्दै शान्ति प्रकियाको बाँकी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिनुहुन्छ। 
 हजारौं पीडितको प्रतिनिधि आवाज बनेर म तपाईंलाई प्रश्न गर्न चाहन्छुः के दसवर्षे ‘जनयुद्ध’ कुनै अमुक व्यक्तिलाई सत्तामा पुर्याउन मात्र थियो? हैन भने, कहाँ पूरा भएका छन्, किताब बोक्दै स्कुल गइरहेका कलिला हातहरूमा बन्दुक थमाउँदै गर्दा देखाइएका सपना? कहाँ पूरा भएका छन्, बच्चालाई दूध चुसाउँदै गरेकी आमालाई युद्धमैदानमा होमिन प्रेरित गरिरहँदा देखाइएका रंगीन भविष्यका सपना? 
 आफ्नो जिन्दगीको ऊर्जाशील समयमा घर, परिवार, समाज, पैसा, सुखसयल सबै छाडेर युद्धमा होमिएका मान्छे जीविकोपार्जनका लागि अरबी मरुभूमिमा उँट चराउन विवश छन् भने कहाँ पूरा भए उनीहरुलाई बलिको बोको बनाउँदै गर्दा खाएका कसम? 

 मेरो नियति 
 प्रधानमन्त्रीज्यू, बुबालाई बेपत्ता बनाएपछि सानै उमेरको मलाई काठमाडौं लगेर अनाथालयमा पढाउने कुरा चल्यो। पाँच वर्षको उमेरमा मात्र बोली फुटेको र सानैमा रोगले सताएर धन्न बाँचेको भनिएको म धेरै कुराको भेउ पाउन सक्ने अवस्थामा थिइन। 
 अन्ततः म ठूलोबुबाको सहयोगमा १० घन्टा लगातार हिँडेर गोरखा सदरमुकाम आइपुगेँ। त्यहाँबाट अंकलको सहयोगमा काठमाडौं आएर मित्रता नेपाल फाउन्डेसनमा बस्न थालेँ। विस्तारै यहीँको वातावरणमा अभ्यस्त हुँदै गएँ। 
आजकाल म जबजब गाउँघर जान्छु, साना केटाकेटी देख्नेबित्तिकै अनायासै सोध्न पुग्छु, ‘तिमी कति वर्षको भयौं?’ 
 आमाको काखमा खेलिरहेका तिनीहरूमध्ये कतिले भन्छन्, ‘९ वर्ष।’
 जवाफ सुनेर मेरा आँखा त्यसै रसाउँछन्। सोच्छु, म आमाको काख छाडेर बिरानो ठाउँमा गएको यही उमेरमा त हो। 
 गाउँमा छ कक्षा पढ्दै गरेको म काठमाडौंको मनास्लु स्कुलमा पाँच कक्षाको प्रवेश परीक्षामा फेल भएकाले चारमा भर्ना पाएँ। त्यसयता भने मैले पढाइमा फेल भएको अनुभव गर्नुपरेको छैन। त्यही स्कुलबाट मैले ९० प्रतिशत ल्याएर एसएलसी पास गरेँ, अनि भक्तपुरस्थित एसओएस कलेजले दिएको छात्रवृत्तिमा ‘प्लस–टु’ पढेँ। प्लस–टु मा पनि ७९ प्रतिशत ल्याएँ। 
 म एमबिबिएस पढ्न चाहन्थेँ। नेपाल सरकारले एमबिबिएसमा सहिद परिवारका लागि भनेर कोटा छुट्टयाएको रहेछ। म सबै सिफारिस लिएर आवेदन भर्न गएँ। तर, ममाथि ठूलो बज्रपात त्यतिबेला भयो, जब उनीहरूले मैले निजी स्कुलबाट एसएलसी दिएको कारण देखाउँदै कोटामा नपर्ने जानकारी गराए।
 मैले आफ्नो अतीत सबै सुनाएँ, निजी स्कुलमा पढेको छात्रवृत्तिमा हो भनेर बताएँ पनि, तर उनीहरू मानेनन्। हामी जस्ताका लागि बोलिदिने कोही भएन। पहुँचवालाहरूले जाली प्रमाण बनाएर छात्रवृत्ति पाएको सधैं सुन्नमा आइरह्यो। आठ–नौ कक्षासम्म सुविधासम्पन्न निजी स्कुलमा पढेर छात्रवृत्तिकै लोभमा सरकारी स्कुलबाट एसएलसी दिएको नाटक गर्ने प्रवृत्ति पनि फस्टाइरह्यो। 
जबकि, मजस्तो छात्रवृत्तिको हकदार व्यक्ति यो सुविधाबाट विमुख भएँ। मैले उनीहरूलाई सम्झाएर सम्झाउनै सकिनँ। गाउँमा खान नपाएर, किताब–कापीबाट वञ्चित भएर स्कुल जानसम्म नपाउने बच्चालाई माया गरेर कसैले निजीमा पढाइदियो भने यसमा मेरो के दोष? के यो मलाई आफ्नै गाउँमा पढाउन नसक्ने मेरी आमाको दोष हो? कि, मलाई निजीमा पढाउने अनाथालयको गल्ती हो? कि, गरिब र उत्पीडितलाई सधैं हेपिरहने ‘उच्च’ भनाउँदाहरूको दोषी चस्माको गल्ती हो? कारण जे भए पनि, मैले ‘निजी’ स्कुलमा पढेकै कारण राम्रो अंक ल्याएर पनि सरकारी कोटामा छात्रृवत्ति पाइनँ। 
 तर, प्रधानमन्त्रीज्यू, मैले हरेस खाइनँ। मलाई स्कुलदेखि कलेजसम्म पढाउने अनाथालयले नै आखिरमा एमबिबिएस पनि पढाउने भयो। त्यो अनाथालयमा केही विदेशीको सहयोग थियो। 
उनीहरूले मेरो गरिबी, अतीत र मलाई जेहेन्दार विद्यार्थी ठानेर पढाइमा सहयोग जारी राख्ने निर्णय गरे। एमबिबिएसका लागि लाग्ने खर्चको केही हिस्सा भने मेरो परिवारले पनि बेहोर्नुपर्ने उनीहरूको सर्त थियो। सुरुमा आधी–आधी खर्च बेहोर्ने कुरा भयो। मैले सिधै ‘आधी त सक्दिनँ’ भनेँ। उनीहरूले भने, ‘आफ्नो उच्चशिक्षाको खर्च अलिकति भए पनि तिमीले बेहोर्नुपर्छ।’ 
 पाँच वर्ष एमबिबिएस पढ्न कुल ४५ लाख (होस्टल र खाना खर्चबाहेक) बुझाउनुपर्ने रहेछ। यसमा तीन किस्ता गरी १५–१५ लाख बुझाउनुपर्ने थियो। अनाथालयले मलाई पहिलो र दोस्रो किस्तामा १२/१२ लाख र तेस्रोमा १० लाख दिन सहमति जनायो। यसअनुसार मैले पहिलो र दोस्रो किस्तामा ३/३ लाख जुटाउनुपर्ने भयो भने अन्तिम किस्तामा ५ लाख खोज्नुपर्ने भयो। यसबाहेक होस्टल र खाना खर्चबापत महिनाको करिब १० हजार चाहिन्थ्यो। म दुबिधामा परेँ। दाइ वैदेशिक रोजगारमा खाडीदेश जानुभएकाले हाम्रो परिवारको आर्थिक अवस्था पहिलेभन्दा राम्रो नै थियो, तर उल्लेख्य प्रगति केही भएको थिएन। 
मैले दाइ र आमासँग कुरा गरेँ। परिवारले जसरी भए पनि खर्च जुटाएर मलाई एमबिबिएस पढाउने निर्णय गर्यो। अहिले म भरतपुरस्थित चितवन मेडिकल कलेजमा पढ्दैछु। पहिलो किस्ता तिर्दा सरकारले ‘सहिद परिवार’ लाई दिएको पैसा र अलिकति ऋण खोजेर आफ्नो हिस्साको ३ लाख बुझाएँ। दोस्रो किस्तामा ३ लाख खोज्न अलि गाह्रो पर्यो। तै जेनतेन टर्यो। 
सबभन्दा समस्या यसपालि परेको छ। यसपालि मैले तेस्रो किस्ताबापत् ५ लाख रुपैयाँ बुझाउनुपर्नेछ, जुन जति प्रयास गर्दा पनि जुटाउन सकेको छैन। प्रधानमन्त्रीज्यू, बल्लबल्ल पीडाबाट उठ्न खोजेको हाम्रो परिवारलाई वैशाख १२ गते हाम्रो गाउँबाट १३ किलोमिटर टाढा बारपाक केन्द्रविन्दु बनाएर आएको महाविनाशकारी भुइँचालोले झनै पीडा थपिदियो। 
भुइँचालोमा परेर हाम्रो घर सखाप भयो। प्रकृतिले दिएको यो पीडापछि परिवारलाई मेरो पढाइ खर्च जोहो गर्न धौधौ पर्यो। मैले कलेजले केही छुट दिन्छ कि भनेर प्रयास गरेँ। सरकारले ‘सहिद परिवार’ भनी प्रमाणित गरेको, भुइँचालोले ‘पूर्ण क्षति’ भनी सरकारले दिएको रातो कार्ड अनि अनाथालयको सिफारिस सबै बुझाएँ। तैपनि कलेजले मलाई एक पैसा छुट दिएन।
यही मेडिकल कलेजमा अलिकति पहुँच हुनेहरू ३०–३५ लाखमै पढिरहेको प्रमाण मैसँग छ। थोरै शुल्कमा पढिरहेका ती साथीहरू कोही ‘नेताको सोर्स लगाएर आएको’ भन्छन् त कोही आफ्नो बुबा ‘उपल्लो दर्जाका कर्मचारी छन्’ भन्ने जवाफ दिन्छन्। 
 मैले आफ्नो दुखेसो लिएर माओवादी नेताहरूलाई नभेटेको पनि होइन। मुखले ठिक्क पारे पनि मेरो समस्याको सुनुवाइ कसैबाट भएन। पछिल्लो एक वर्षमा मैले तत्कालीन गृहमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विद्यार्थी नेता रमेश मल्ल र जागृत रायमाझीलाई आफ्नो समस्या बुझाउने कोसिस गरेँ। 
तर अहँ, मैले ६ वर्षको उमेरदेखि बुबा नहुँदाको पीडा, ९ वर्षको उमेरमा बुबाको अभावमा छटपटाइरहेकी मेरी आमालाई छाडेर अनाथालयमा बस्नुपर्दाको भोगाइ अनि भुइँचालोपछि चिसो पालमुनि रात बिताउँदाको पीडा मेरो बुबाले नेता मानेका यी कसैलाई बुझाउन सकिनँ। आजित भएपछि मैले सोझै तपाईं ‘जनयुद्ध’ का नायकलाई नै भेटेर आफ्नो कुरा सुनाउने निधो गरेँ। 
 २०७२ मंसिर १८ गते माओवादी केन्द्रीय समितिको बैठक सकेर तपाईं बैठककक्षबाट बाहिर निस्कनुभएको थियो। म सुरक्षाघेरा तोडेर तपाईंको नजिक गएँ। र, भनेँ, ‘म जनयुद्धको सहिद हंसपुर–४, काफलडाँडा निवासी माधव अधिकारीको छोरा हुँ। तपाईंले अहिलेसम्म धेरैलाई जायज–नाजायज कामका लागि समय दिनुभएको छ। मलाई पाँच मिनेटको समय दिनोस् न।’ एकै सासमा मैले भनेको थिएँ। 
 त्यतिबेलासम्म तपाईं आफ्नो गाडीभित्र छिरिसक्नुभएको थियो। मलाई पनि आफूसँगै गाडीभित्रै डाक्नुभयो। त्यसपछि मैले आफ्नो पृष्ठभूमि बताउन मात्र के सुरु गरेको थिएँ, अघिल्लो सिटमा रहेका तपाईंका तत्कालीन स्वकीय सचिव चुडामणि खड्का बीचमै बोलिहाले, ‘ए, गोरखाकै बाबु रहेछ। मलाई पछि फोन गर्नू, म सबै कुराको व्यवस्था गरौंला। अहिले जाऊ।’ उनको कुरा सुनेपछि फेरि मैले तपाईंतिर हेरेँ। तपाईं केही बोल्नुभएन। म केही हुन्छ कि भन्ने आश बोकेर गाडीबाट ओर्लिएँ।
 त्यस दिनयता मैले चुडामणि खड्कालाई करिब सयचोटि फोन गरेँ, २३ वटा सन्देश पठाएँ। उनी फोन त धेरैजसो उठाउँथे, तर मैले आफ्नो परिचय दिनेबित्तिकै कहिले फोन काटिदिन्थे त कहिले ‘पछि गर्नू’ भन्थे। यो प्रक्रिया नियमित चलिरह्यो। 
 म आफूलाई भाग्यमानी सम्झन्छु, किनकि म विभिन्न अवसर पाएर यहाँसम्म आइपुगेँ। र, मेरो हैसियत धेरै सहिद परिवारको भन्दा माथि छ। ‘जनयुद्ध’ ले हाम्रो परिवारमा आमा र मेरो पुस्तालाई पीडा दियो। हाम्रो जिन्दगीमा कालो बादल ल्याइदियो।
 अहिले बल्लबल्ल धेरै कष्टपछि हामीले गन्तव्य पहिल्याउन थालेका छौं। मैले प्रण गरेको छु, अब म आफू मिहिनेत गरेर आउने पुस्तालाई खुसी दिन चाहन्छु। मलाई थाहा छ, म सप्रेँ भने मेरो आउने पुस्ता सप्रनेछ, म बिग्रेँ भने मेरो सिंगो पुस्ता नै बिग्रनेछ। 
मेरो परिवारको एक मात्र आशाको ज्योति म नै हुँ। मैले तमाम दुःख र गरिबीका बाबजुद आजसम्म यो ज्योति धिपधिपे जोगाएर राखेको छु। तर, यो धिपधिपे ज्योति अहिले निभ्ननिभ्न खोजेको छ। मैले तुरुन्तै ५ लाख जोगाड गरेर कलेजलाई बुझाउन सकिनँ भने मेरो एमबिबिएस पढाइ बीचैमा अवरुद्ध हुन्छ। पढाइ पूरा नगरे मेरो भविष्य बन्दैन। 
म पनि अरू थुप्रै सहिद परिवारजस्तै अरबको मरुभूमिमा पसिना बगाउन बाध्य हुनेछ। मलाई थाहा छ, त्यो मिहिनेतले तत्कालको गुजारा चले पनि न मेरो भविष्य बन्नेछ न त मेरो देशको। डाक्टर हुन सकेँ भने निश्चित रूपमा म देशको सेवा गर्न सक्षम हुनेछ। र, गर्छु पनि। म डाक्टर हुनु र नहुनुमा अब मात्र ५ लाख रुपैयाँको दुरी छ। मैले तपाईंलाई यति लामो खुलापत्र लेख्नुको कारण यही हो। 
म त्यस दिन तपाईंलाई भेट्न आउनु र हतारहतार आफ्नो सबै कुरा बेलिविस्तार लगाउनुको उद्देश्य पनि यही थियो। त्यतिबेला सुनुवाइ नभएकाले आज सार्वजनिक रूपमा यो अपिल गर्दैछु। 
 मेरो बुबालाई ‘सहिद’ भन्न मेरो मनले मान्दैन। उहाँलाई ‘सहिद’ को मान दिएको तपाईंहरूले नै हो। मान दिएपछि त्यसको आन राख्न पनि जान्नुपर्छ। मैले जिन्दगीको हरेक पाइलामा मिहिनेत गरेर यहाँसम्मको मुकाम आफैं तय गरेको छु। ‘सहिद’ कोटामा छात्रवृत्ति पढ्न पाउनु मेरो अधिकार थियो, जुन मैले पाइनँ। 
अब फेरि त्यसमा गुनासो गर्न चाहन्न। आग्रह यत्ति छ, मेरो एमबिबिएस पढाइको यो अन्तिम खड्गो पार लगाइदिनुस्। मेरो धिपधिपे ज्योति निभ्न नदिनोस्। म अहिले एमबिबिएस दोस्रो वर्षमा छु। मेरो प्रत्येक सेमेस्टरको नतिजा राम्रो छ। यसअघि एसएलसी र प्लस–टु मा पनि राम्रै अंक ल्याएको हुँ। 
यस आधारमा डाक्टर बन्ने मेरो ल्याकत देख्नुहुन्छ भने मलाई आर्थिक सहायता गर्नुस्। यसका लागि मलाई पैसा दिनुपर्दैन। कलेजबाट आर्थिक सहुलियतको प्रबन्ध मिलाइदिए पनि पुग्छ। माथि भनिसकेँ, मेरो कलेजमा ३०–३५ लाखमै एमबिबिएस पढिरहेका विद्यार्थी थुप्रै छन्। 
मलाई यसपालि ५ लाख छुट दिए पनि मेरो कुल पढाइ खर्च उनीहरूको भन्दा बढी ४० लाख हुन्छ। यो सरकारले हालै तोकेको अधिकतम शुल्कभन्दा बढी नै हो। त्यस अर्थमा तपाईंसँग त्यति ठूलो कुरा मागिरहेको छु भन्ने मलाई लाग्दैन। 
र, तपाईंले चाहनुभयो भने यो पूरा गर्न त्यति अप्ठ्यारो वा नाजायज हो भन्ने पनि मलाई लाग्दैन। नाजायज हो वा यो माग कुनै हालतमा पूरा गर्न सकिन्न भने खुलस्त भनिदिए हुन्छ। 
 मैले एकचोटि तपाईंलाई व्यक्तिगत रूपमा भेटेर आफ्नो कुरा राखेँ। आज सार्वजनिक रूपमा राख्दैछु। र, यो अन्तिम हो। तपाईंले यसपालि पनि सहयोग गर्नुभएन भने म अब तेस्रोचोटि सहयोगको याचना गर्न आउने छैन। तेस्रोचोटि तपाईंसामु हात पसार्ने छैन। 

 यो खुलापत्रको आसय अरू कसैबाट सहयोगको अपेक्षा होइन। कोही शुभेच्छुकले मेरो खुलापत्र पढेर सहयोग गर्न चाहनुभयो भने म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु, तर माफी चाहन्छु म तपाईंको सहयोग स्वीकार गर्न सक्दिनँ। 
 म त्यो व्यक्ति वा संस्थाको मात्र सहयोग स्वीकार गर्छु, जो मेरो हालतमा जिम्मेवार छन्।
 यसमा सबभन्दा पहिला आउँछन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसलाई पछ्याउँदा–पछ्याउँदै मेरो बुबा बेपत्ता हुनुभयो।
 दोस्रो, सरकार, जसले मेरो बुबालाई बेपत्ता पार्यो।
 सरकारले मेरो पढाइ, मैले अहिलेसम्म पाएको नम्बर, मेरो अतीत र मेरो भविष्य हेरेर सहयोग गर्न योग्य ठान्यो भने गरे हुन्छ, नभए पर्दैन। संयोगले आज माओवादी अध्यक्ष र सरकारप्रमुख दुवै तपाईं नै हुनुहुन्छ।
 र, तेस्रो चितवन मेडिकल कलेज जसले ५ लाख रुपैयाँ मात्र छुट दिँदा पनि मेरो भविष्य बन्छ। 
यसले उनीहरूलाई नोक्सान केही हुने होइन, म ४० लाख त कलेजलाई तिरिनै हाल्छु। कसैबाट सहयोग पाइनँ भने पनि गुनासो केही छैन। 
त्यो अवस्थामा मेरो पढाइ कसरी पूरा होला, अहिले म भन्न सक्दिनँ। 
केही त होला! केही त गरिएला! 
 यति भन्दै तपाईंको दोस्रो कार्यकाल शुभ रहोस् भन्ने कामना गर्छु। 
 धेरै धेरै शुभकामना...

(सुदन अधिकारी ,हंसपुर–४, कापलडाँडा, गोरखा, नेपाल) (सेतोपाटीबाट साभार )
Last edited: 23-Aug-16 03:47 AM
Read Full Discussion Thread for this article