Posted by: nozzs August 20, 2016
खान पुगोस्, दिन पुगोस्
Login in to Rate this Post:     0       ?        

खरदारको सम्पत्ति ५० करोड:

जनकपुर एयरपोर्ट छाड्नेबित्तिकै हामी चढेको जीपले उधुम मच्चायो। गाडी यति पुरानो रहेछ, कुनै पार्टपूर्जा सद्दे नाइँ। झ्याल–ढोकाका नटबोल्ट एकोहोरो चुइँकिन थाले। सिटहरू भुइँचालो जाँदा दराजटेबुल थर्केजस्तो डङडङ गर्दै कराउन थाले। 
 जीपमा दस मिनेट लगाएर जनकपुरको केन्द्रविन्दु विद्यापति चोकसम्म पुग्दा सडक एक मिटर पनि पक्की थिएन। जबकि यो कालोपत्रे सडक हो। सडकका दुवैतिर फोहोर थुप्रिएका थिए। यस्तो लाग्थ्यो, नगरपालिकाका सरसफाइ कर्मचारी महिनौंदेखि बिदामा छन्। सहरलाई एयरपोर्ट जोड्ने यो मूलसडक मात्र होइन, रामजानकी मन्दिर र मुख्य बजारक्षेत्रका केही किलोमिटरबाहेक जम्मै सडकको हाल यस्तै। मूलसडकबाट दायाँबायाँ छिर्ने हो भने त सडक शौचालयमा बदलिएछ कि भन्ने भान पथ्र्यो। 
 कुनै पनि सहरको समृद्धि र त्यहाँको प्रशासनिक व्यवस्था मूल्यांकन गर्नुछ भने सडक हेरे हुन्छ। धुलाम्मे र कच्ची सडकले सहरको गरिबी झल्काउँछ। कच्चीमा परिणत हुँदै गएका एकताकाका पक्की सडकले त्यहाँ व्याप्त भ्रष्टाचार र अव्यवस्था देखाउँछ। सडकलाई सहरको ऐना भनिएको त्यही भएर हो। 
 थोत्रो जीप र जीर्ण सडकमा ऐतिहासिक धार्मिक नगरी जनकपुरको ऐना हेर्दै हामी होटल पुग्यौं। रिसेप्सनमा राखिएका राष्ट्रिय अखबारहरू यसो पल्टाएको, त्यस दिनका अधिकांश अखबारमा धनुषाको सडक निर्माणमा व्याप्त भ्रष्टाचारको खबर नै छापिएको थियो।
 राष्ट्रपति रामवरण यादवको गाउँ जाने सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख जिल्ला इन्जिनियरसहित जिविसका १६ कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको रहेछ। मुद्दा लागेकामध्ये जिविसका सह–लेखापाल जीवनाथ चौधरी एक हुन्। 
 चौधरीले जिन्दगीमा ठूलै अभाव देखे। गरिबीबाट मुक्ति पाउन उनका बाबु मेनेजर चौधरी महोत्तरीको एउटा गाउँबाट जनकपुर छिरेका थिए, २०४२ सालमा। अस्पताल रोडमा एउटा सानो पसल थापेर गुजारा चलाउन थाले। दस वर्ष यसैगरी बित्यो। २०५२ सालतिर जीवछ कांग्रेसका स्थानीय नेता रामसरोज यादवको सम्पर्कमा आए। उनी यादवकै भनसुन लगाएर जिविसको खरदारमा नियुक्त भए।
 पहिलोचोटि साइकल चढेर जिविस छिरेका चौधरीले पछिल्ला १७ वर्षमा चमत्कार गरेका छन्। उनले प्रेस खोलेर जिविसका सम्पूर्ण सामग्री छपाए। ठेकेदारसँग मिलेर निर्माण कार्यमा भ्रष्टाचार गरे। मठाधीशहरूसँग मिलेर मठ मन्दिरको जग्गा कब्जा गरे। राजनीतिज्ञहरूको आशिर्वाद र संरक्षण पाएर क्लब खोले। गुन्डा पाले। बन्दुक पड्काए। धनी गुन्डा बने। 
 अहिले चौधरीसँग कति सम्पत्ति छ भन्ने लेखाजोखा गर्न गाह्रो छ। सहरमा हालसालै बनेको आधुनिक होटल सीता प्यालेस, बजारको तीनतले घर, भन्सार नतिरेका चारवटा गाडी, सहरका महंगा ठाउँहरूमा आकर्षक घडेरीका मालिक हुन् उनी। उनीसँग एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति छ भनेर अड्कल काट्नेहरू जनकपुरमा थुप्रै छन्। जसलाई नमान्नेहरू पनि ५० करोडभन्दा कम छैन भन्नेमा सहमत हुन्छन्।
 जनकपुरको बसाइपछि एयरपोर्ट फर्कंदा मैले रिक्साचालक झल्लु दासलाई चौधरीको बारेमा सोधेको थिएँ। उनको जवाफ थियो, ‘के भन्ने हजुर, जिविसबाट खुब ढौवा कमायो। त्यो उसको होटल छ न सीता पैलेस, मठको जग्गा हडपेर बनाएको हो। ठूलो डन छ यहाँको।’ उनले अगाडि भने, ‘त्यो सांसद छ न तक्ला... अँ सञ्जय साह, दुईजना पहिले खुब मिल्थे, तक्लाले ठेक्का लिने, अनि जीवछसँग मिलेर पैसा खाने। अहिले त उनीहरूको दुस्मनी भैगो पैसालाई लिएर।’ 
 चौधरीको ‘अस्वाभाविक’ प्रगतिको कथाबारे रिक्साचालक झल्लुसमेत बेखबर छैनन् भने सांसद, प्रहरी र प्रशासनलाई थाहा नहुने कुरै भएन। यति हुँदाहुँदै चौधरीलाई किन कसैले रोकेन ? किन कारबाही भएन ? यो प्रश्नको उत्तर जनकपुर वा धनुषाको स्थानीय पृष्ठभूमिमा मात्र खोज्न सकिन्न। यसलाई राष्ट्रिय सन्दर्भमै हेरिनुपर्छ। 

२०६७ भदौ १९ गते संसद अधिधेशन चलिरहेको थियो। माओवादी नेता कृष्णबहादुर महराको सनसनीपूर्ण अडियो टेप सार्वजनिक भयो। टेपमा महराले कथित चिनियाँ व्यापारीसँग ५० करोड मागेको स्पष्टै सुनिन्थ्यो, माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा जिताउन ५० जना सांसद किन्ने उद्देश्यले। टेपमा सुनिएको कुरा अत्यन्त गम्भीर थियो। त्यो भ्रष्टाचार मात्र थिएन। महराले टेपको तुरुन्त खण्डन गरे। तर, प्रयोगशालामा स्वर जचाएर आफू निर्दोष भएको प्रमाणित गर्नबाट पन्छिए। 
 त्यस्तो गम्भीर घटनाको संसदमा खासै विरोध भएन। कांग्रेस र एमालेका केही नेताले झारा टार्ने हिसाबले विरोध गरे पनि गम्भीर रूपमा कुरा उठाएनन्। किन ? ‘सबैले पैसा लिएका छन् कतै न कतैबाट,’ कांग्रेसका एक नेताले मलाई अथ्र्याए, ‘गएको चुनावमा भारतीय राजदूतले हाम्रा सभापतिलाई ‘के सहयोग गरौं गिरिजाबाबु’ भनेर सोधेका थिए। उहाँले ‘चुनावमा पैसा चाहिन्छ, १० करोड देऊ’ भन्नुभयो। सात करोड तुरुन्तै आयो, तीन करोड पछि।’ 
 विकासमाथि राजनीतिले संगठित रूपमा हमला गर्न थालेको अर्को प्रसंग पनि छ। २०६७ चैततिरको कुरा हो। गोरखा जिल्लामा एनेकपा माओवादीको भ्रातृ संगठन वाइसिएलले २० करोड रुपैयाँ लागतको स्थानीय सडक निर्माण ठेक्कामा धावा बोलेको थियो। वाइसिएल गोरखा जिल्ला सचिव चुडामणि खड्काको नेतृत्वमा उनीहरूले आफूसँग साँठगाँठ भएको एकजना ठेकेदारलाई मात्र टेन्डर भर्न दिए। अरूलाई टेन्डर स्थलबाटै धपाए। मैले घटनाको विरोध गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईका नाममा रिपब्लिका दैनिकमा सार्वजनिक पत्र लेखेँ। भेटमा भट्टराईले मसँग भने, ‘हाम्रो राजनीति नै फोहोर छ, नेतृत्वमा नपुगी यस्तो कुरा सुधार्न सकिन्न।’ त्यसताका उनी प्रधानमन्त्रीका तीव्र आकांक्षी थिए। हिसिला यमीले मलाई एसएमएस पठाइन्, ‘हामीलाई सचेत गराउनुभएकोमा धन्यवाद ! उनै बाबुराम र हिसिलाले बालुवाटार छिरेपछि के गरे, के गरेनन् जगजाहेर छ।

 जनकपुरका जीवछ राजनीति र कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारको सानो उदाहरण मात्र हुन्। मूल समस्या हो, सत्ताको आडमा गरिने भ्रष्टाचार। नेपाली समाजको अविकास र अव्यवस्थाको मूल जड पनि यही हो। राणा शासन, पञ्चायत, कांग्रेस, एमाले र पछिल्लोचोटि माओवादी तथा मधेसी मोर्चाले सत्ताको आडमा कति भ्रष्टाचार गरे होलान् ? सत्तासीन व्यक्ति, तिनका आफन्त, उनीहरूसँग जोडिएका कर्मचारी, व्यापारीले कति भ्रष्टाचार गरे होलान् ? त्यो भ्रष्टाचारका कारण हाम्रा सडक, स्वास्थ्य चौकी, स्कुल र हाम्रो समाज कति बिग्रियो होला ? हाम्रो विकास कति पछाडि धकेलियो होला ? अनि त्यसले झल्लु दासजस्ता तल्लो तप्काका नागरिकलाई कति पीडा पुगिरहेको होला ? 
 ६१ वर्षे झल्लु दास ३१ वर्षदेखि जनकपुरका सडकमा रिक्सा चलाउँदै छन्। उनले पढेलेखेका छैनन्। छोरालाई पनि धेरै पढाउन सकेनन्। किताबकापी किनिदिन पैसा पुगेन। उनका छोराले पाँच कक्षामै स्कुल छाडे। ‘छोरालाई रिक्साचालक बनाउन मन लागेन, बहुत दुःख हुन्छ, त्यसैले साउदी अरब पठाएँ,’ कच्ची सडकमा बेस्सरी रिक्साको प्याडल मारिरहेका झल्लुले सास फुलाउँदै भने। जनकपुरका सडक मात्र पक्की हुन्थे भने झल्लुको जीवन अलि सहज हुन्थ्यो।
 (अमित ढकाल )
Last edited: 20-Aug-16 08:06 PM
Read Full Discussion Thread for this article