Posted by: nozzs August 9, 2016
Login in to Rate this Post:
0
?
किनकि, जीवन अमूल्य छ
++…continued from post 1
भाइ बित्नुअघि त आमाको खुबै याद आउँथ्यो,’ लक्ष्मीले भनिन्, ‘भाइ बितेपछि आमासँग जोडिएका कुरा पनि बिर्संदै जान थालेँ। अब त आफ्नै पिरले भाइका कुरा पनि उति सम्झन सक्दिनँ।’
आशा र निराशाका उतारचढावबीच समय बित्दै गए। उनको भएभरको कमाइ र जायजेथा सक्कियो। समय यस्तोसम्म आयो, पैसा नभएकै कारण उनले औषधिसम्म किन्न सकिनन्। त्यतिबेला चाहिँ उनलाई लाग्यो, ‘बरु चाँडै मर्न पाए नि हुन्थ्यो!’
तर, मृत्यु उनले सोचेजस्तो सजिलो थिएन।
न उनले चाहेजस्तो गरी सास गयो, न व्यथा गयो।
उनले आफ्नो उपचारका लागि हारगुहार गर्ने निर्णय गरिन्। उनी थला परेको खबर विस्तारै फैलिँदै गयो।
‘साथीहरूले पनि समयमा किन नभनको भनेर गाली गरे,’ उनले भनिन्, ‘म पहिलेदेखि यस्तै थिएँ। यसलाई घमण्डी भनुँ कि स्वाभिमानी थाहा छैन, मैले कसैको सहयोग लिन्नँ भनेर अड्डी नै कसेको थिएँ। तर, सकिनँ। अहिले भने समयमै सहयोग किन मागिनँ भनेर पछुतो लाग्छ।’
उपचारमा अहिलेसम्म कति खर्च लाग्यो उनले हिसाब गरेकी छैनन्। सहयोगका लागि गुहार मागेपछि धेरथोर सहयोग जुट्न थालेका छन्। ‘उबेला खुट्टा बजारेको अहिले आएर काम लाग्दैछ, नाट्यश्वरको कृपाले,’ खोपामा रहेको शिवको मूर्तिलाई नमस्कार गर्दै उनले भनिन्।
रोगले घर बनाएर लक्ष्मीको शरीर कमजोर पारे पनि आँत गलाउन सकेको छैन। उनमा बाँच्छु भन्ने पूरै आत्मविश्वास झल्किन्छ।
‘काठमाडौंको कुनै हलमा महिना दिनसम्म डान्सको सोलो पर्फमेन्स गर्ने मेरो उबेलादेखिको सपना थियो,’ उनले मुठ्ठी कसेर तेजिलो स्वरमा भनिन्, ‘सहयोग जुटेर मिर्गौला ट्रान्सप्लान्ट भयो भने म बाँच्छु र एकचोटि चाहिँ सोलो पर्फमेन्स गर्छु।’
जब भित्तामा आफ्नो पुरानो फोटो देख्छिन्, उनलाई अझै पनि आफू स्टेजमा नाचिरहेजस्तो लाग्दो रहेछ। दिमागमा यस्तो कल्पना आउँदा त उनी खुबै रमाउँछिन्। तर, जब हिँड्न थाल्छिन्, खुट्टा बाउँडिन्छ। करकर खान थाल्छ। डाडुपन्यु चलाउँदा पनि हात बाउँडिएर केही चिज समात्नै नसक्ने हुन्छ।
कोही पुराना साथी भेटिँदा भन्छन्, ‘खुब राम्रो नाच्थ्यौ है?’
तब उनी झल्याँस्स हुन्छिन्, ‘ए हो त! म राम्रो नर्तकी थिएँ, अहिले रोगी पो छु त।’
‘पहिले–पहिले त यस्तो थाहा पाउँदा भक्कानो छुटिहाल्थ्यो,’ झ्यालमा राखिएको दुइटा ढुंगा देखाउँदै उनले भनिन्, ‘अहिले त यो पत्थरजस्तै भइसक्यो मेरो मुटु। आँशु नै आउँदैन।’
उनले यसो भनिरहँदा आँखाका कोसमा भित्तामा बलिरहेको सिएफएल चिमको उज्यालो टल्किरहेको थियो।
मनमा यस्तै अनेक तर्कना खेल्लान् र झनै दुःख देलान् भनेर उनले जीवनयापनका लागि समय–तालिका बनाएकी छन्। बिहान ६ बजे नै उठेर खाना बनाउँछिन्। कमजोरीका कारण झन्डै तीन घन्टा लाग्छ, खाना पकाउन। खानापछि ओछ्यानमा बसेर झन्डै एक मुठी औषधी खान्छिन् र, दुई घन्टा आराम गर्छिन्।
सुतेर उठ्दा कोठाका भित्ताले कोपर्न खोजेजस्तो लाग्दो रहेछ उनलाई। उनी त्यसलाई छल्न बाहिर टहल्न निस्कन्छिन्। फुर्सदका बेला कहिलेकाहीँ एक्लै तास खेलेर बस्छिन्।
खाना जति पनि रुच्ने, निद्रा जति पनि पर्ने र राम्रो सपना देखिने हुँदा उनमा बाँच्ने आत्मविश्वास झन्–झन् चुलिएको छ।
उनलाई एउटै चिज देखी डर लाग्छ– ऐना।
‘ऐनाले त तर्साउँछ,’ उनी भन्छिन्, ‘म आफैंलाई चिन्न सक्दिनँ। डान्स गर्दा पूरै शरीर देखिने थुप्रै ऐना थिए। कति भुइँचालाले फुटायो, कतिलाई आफैं मिल्काइदिएँ। आफूले बिरामी नठाने पनि ऐनाले झन् बिरामी बनाइदिन्छ।’
उनको रंगीन अतीतदेखि श्यामश्वेत वर्तमानसम्म समेटेर फर्कन खोज्दा उनले हामीलाई रोकेर रंगीन भविष्यको कल्पना सुनाइन्।
भनिन्, ‘म बाँच्न चाहन्छु। धेरैभन्दा धेरैको सहयोग पाएँ भने म बाँच्न सक्छु।’
उनले आफूलाई सहयोग गर्न एनआइसी एसिया बैंकको खाता नम्बर टिपाइन्– ४८६१३५९८४४५२४००१