Posted by: _____ August 7, 2016
'भगवान आउनुभएछ'
Login in to Rate this Post:     1       ?         Liked by

'भगवान आउनुभएछ'

आइतबार, २३ साउन २०७३, ०७ : ५८ |  नागरिक
AddThis Sharing Buttons

जितेन्द्रकुमार झा/मिथिलेश यादव

तिलाठी (सप्तरी)-  'कि होय छै?'

 – 'डार दुखाय छै।'

 'चलयो फिरैमे समस्या होयछै की?'

 – 'होय छै, डाक्टर साहेब, बैसैमे सेहो दिक्कत होय छै।'

यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सप्तरीका एक बाढीपीडितको।

मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचका माग राखेर निरन्तर अनशन आन्दोलन गरेर सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. केसी आठौं अनशन तोडेको १२ दिनमै शनिबार सप्तरीको तिलाठी पुगे।

त्यहाँ उनले डुबान क्षेत्र आसपासका बाढीपीडितको दिनभर उपचार गरे।

उनले अधिकांश बिरामीसँग स्थानीय मैथिली भाषामै कुराकानी गरे। राम्ररी मैथिली बोल्न नआए पनि डा. केसी बिरामीका समस्या, लक्षणलगायत जानकारी स्थानीय भाषामै लिइरहेका थिए।

स्थानीय महिला तथा सर्वसाधारणलाई नेपाली बोल्न कठिन भएको महसुस गरेरै डा. केसीले मैथिली बोल्ने कोशिस गरेको शिविरमा खटिएका तिलाठी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दीपेन्द्र झाले जानकारी दिए।

'बिरामीलाई डाक्टरसाबले नेपालीमा सोध्दा त्यसलाई हामीले मैथिलीमा अनुवाद गरेर बिरामीलाई बताउनुपर्थ्याे,' झाले भने, 'पछि त डाक्टरसाब आफैं मैथिलीमा सोध्न थाल्नुभयो।'

डा. केसीले मैथिलीमा सोध्दा स्थानीयलाई समस्या बताउन सहज भएको स्थानीय खुसीलाल यादवले बताए।

'उहाँले मैथिलीमा सोध्दा आफ्नै गाउँठाउँको मान्छेजस्तो लाग्यो', यादवले भने, 'यति ठूलो र चर्चित डाक्टर यति सहज र सरल होलान् भन्ने हामीले सोचेकै थिएनौं।'

डा. केसीले शनिबार दिनभर सप्तरीको दक्षिणी भेगमा पर्ने सकरपुरा र तिलाठीका बाढीपीडितसँग बिताए। बिहानै सकरपुराका बाढीपीडितका समस्या बुझेर उनी तिलाठी पुगे र त्यहाँ शिविर चलाए।

सप्तरीको तिलाठीस्थित खाँडो खोलामा भारतले बनाएको बाँध साउन ७ र ८ गतेको बाढीले भत्काउँदा स्थानीय बस्ती डुबेका थिए। दुई दिनमा डुबान हटे पनि त्यसयता स्थानीयमा भाइरल ज्वरो, आँखा पाक्ने, खुट्टा गल्नेलगायत समस्या देखिएको थियो।

सहयोगी पाँच चिकित्सकसहित बिहान करिब साढे ११ बजेतिर तिलाठी आइपुगेका डा. केसी साँझ करिब ६ बजेसम्म उपचारमै व्यस्त रहे। सप्तरी उद्योग वाणिज्य संघको संयोजनमा राखिएको शिविरमा डा. केसी शनिबार दुई घन्टाजतिका लागि आएको तर बिरामीको चाप देखेर दिनभर बसेको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले  जनाए। उनका अनुसार अझै बिरामी जाँच्ने काम नसकिएपछि आइतबार पुनः शिविर राख्ने गरी सदरमुकाम राजविराज आएर बसेका छन्।

डा. केसीको टोलीले करिब सय जना विशेष तथा ३ सयभन्दा बढी सामान्य बिरामीको  स्वास्थ्य जाँच गरेको थियो। शिविरमा आँखाको समस्या सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सकले हेरेका थिए।

आफूसँग औषधि, फलफूल, साबुन, टुथपेस्ट, ब्रसलगायत सामग्री ल्याएका डा. केसीले स्थानीय बालबालिकालाई कापी, कलम पनि बाँडे। डा. केसीले तिलाठी आउन ढिलो भएकोमा स्थानीयसँग क्षमा मागे। 'यहाँ म एक साताअघि नै आउनुपर्ने थियो', उनले भने, 'विभिन्न कारण डुबानका बेला म तपार्इंहरुसम्म आउन सकिनँ, ढिलो भएकोमा क्षमाप्रार्थी छु,' उनको याचना थियो।

स्थानीयले उनलाई मिथिला परम्पराअनुसार 'पाग' र 'गम्छा' ओढाएर सम्मान गरेका थिए। स्थानीय युवाका तर्फबाट निरजकुमारले डा. केसीलाई मैथिली भाषामा लेखिएको सम्मानपत्रसमेत हस्तान्तरण गरेका थिए।

'भगवान आउनुभएछ'

सप्तरी सदरमुकाम राजविराजबाट १० किमी दक्षिण तिलाठी गाउँको जस्तापाताले छाएको प्राथमिक विद्यालय। विद्यालयको सानो कक्षाकोठाभित्र र बाहिर शनिबार खचाखच भिड थियो। बीचमा घाँटीमा आला र हातमा ग्लोब्स लगाएर निथ्रुक्क भिजेका डाक्टर बिरामी जाँचिरहेका थिए।

खपिनसक्नु गर्मीमा सानो कोठाका झ्याल र ढोका बिरामीले छेकिएपछि भित्र बसिटिक्नु थिएन। नाक र कुहिनाबाट तप्पतप्प पसिना चुहाउँदै बाढी प्रभावित बिरामीको उपचारमा आनन्द महसुस गर्दै थिए– डा. गोविन्द केसी।

धेरैले उनलाई यसअघि चिनेका थिएनन्।

‘सबैको राम्रो उपचार होस् भनेर आफ्नो ज्यान दाउमा लगाउने डाक्टर यिनै पो रहेछन्,' तिलाठी– २ का जयविरा झा (६५) ले सुनाए, ‘डाक्टरको भेषमा उनी भगवान हुन्, सरकारभन्दा अगाडि हाम्रो दुःखमा मलम लगाउन आए।'

डा. केसी शिविरमा आएका बाढीपीडितको उपचारमा तल्लिन थिए। शिविरको संयोजन गरेका सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले 'यत्तिका निस्वार्थ र मानवतावादी चिकित्सक' आफूले पहिलोपटक देख्न पाएको सुनाए।

'डा. केसीका लागि दुःखीको सेवा नै प्रमुख प्राथमिकता रहेको पाएँ,' उनले भने, ‘उहाँको जीवनशैली र सेवाभावलाई जति बुझ्यो, उति बुझ्न मन लाग्छ।’

तिलाठी पुगेर सुरुमा डा. केसीले डुबान क्षेत्र अवलोकन गरेका थिए। त्यसपछि तिलाठी प्रावि पुगेर उपचार थालेका थिए। असह्य गर्मीमा पनि उनले विश्राम लिएनन्। स्थानीय सन्तोष झा हातेपंखाबाट डा. केसीलाई हावा लगाइरहेका थिए। घरी तौलियाले डा. केसीको अनुहारको पसिना पुछिरहेका थिए सन्तोष।

‘बिरामीको उपचारमा यति गम्भीर डाक्टर पनि यो देशमा रहेछन्,’ सन्तोषले भने, 'बिरामीसँगको व्यवहार, उपचार गर्ने शैली सबै उच्च कोटिको पाएँ।'

डा. दासले सम्मान गर्न समय माग्दा डा. केसीले अस्वीकार गरे। उपचार गरिरहेको तस्बिर खिचिरहेका सञ्चारकर्मीलाई देखेर उनी मुस्काए। सञ्चारकर्मीले सोधे, 'यहाँ किन आउनुभएको हो?'

जवाफमा डा. केसीले भने, ‘डुबानपीडित जनताको दुःख बाँड्न र उहाँहरुलाई ढाडस दिन।’

दुःखमा हामी नेपाली सँगै छौं भने सन्देश दिन पनि आफू शिविर लिएको आएको डा. केसीले सुनाए, ‘यहाँ आएका बेला बिरामीको उपचार र भएका औषधि पनि दिन मन लाग्यो।’

राज्यबाट उपलब्ध हुने सुविधा ठूला सहरमा मात्र सीमित रहेको सुनाउँदै डा. केसीले ‘हिमाली, पहाडी वा तराईका ग्रामीण जनता राज्यबाट सेवा पाइरहेका छैनन्, यो दुर्भाग्यपूर्ण हो।’

यत्रो लामो आमरण अनशनलगत्तै यति गर्मीमा किन आउनुभयो भनेर सोध्दा उनले यसरी प्रस्ट्याए, ‘सेवा गर्नु सौभाग्य हो, सौभाग्यले सन्तुष्टि दिन्छ, सन्तुष्टि भए थकाइ लाग्दैन।’ मलाई सेवा गर्दा कहिल्यै थकाइ लाग्दैन भन्दै उनी फेरि बिरामीको उपचार गर्न थाले।

स्वास्थ्य क्षेत्रको बेथिति सुधार गर्न आठपटकसम्म सत्याग्रह गरेका डा. केसी अरूका लागि आफ्नो जीवन दाउमा लगाउँदै आएका छन्,' सप्तरीका समाजसेवी एवं वरिष्ठ पत्रकार शिवहरि भट्टराई भन्छन्, ‘डा. केसीबाट यहाँका स्वास्थ्यकर्मी र राज्यका अन्य निकायले पाठ सिक्नुपर्छ।’

Read Full Discussion Thread for this article