Posted by: nozzs June 18, 2016
१०० रु. मा पढाउने स्कुलको सफलता !
Login in to Rate this Post:     0       ?        
नेताले नमागून्, युवा नभागून्
भारतको लखनऊमा जगदीश गान्धीले सिटी मन्टेस्वरी स्थापना गरेका छन् । उनको विद्यालय सबैभन्दा बढी (६५ हजार) विद्यार्थी भएको विद्यालयका रूपमा ‘गिनिज बुक अफ दी वल्र्ड रेकर्ड्स’मा दर्ता छ । संयोगले उनी एक दिन जोरपाटीस्थित समता विद्यालयमा आइपुगे । त्यहाँको व्यवस्थापन देखेर उनी तीनछक परे । सय रुपियाँमै हजारौं विद्यार्थी पठनपाठन गरेको देखेर उनलाई निकै लज्जाबोध भयो । कारण– उनको मन्टेस्वरीले महँगो शुल्क लिँदो रहेछ । गान्धी अक्क न बक्क भए । लर्याकलुरुक हुँदै गोजी छाम्न थाले । बाहिरी गोजीमा केही भेटेनन्, भित्री गोजीमा ८ सय भारु रहेछ । उत्तम सञ्जेललाई बिन्ती बिसाउँदै भने, “मेरो यो सानो सहयोग स्वीकार्नुहोस् ।”

० ० ०

शिक्षा चेतनाको वाहक मात्र होइन, विकासको संवाहक पनि हो । जब राज्य शिक्षामा उदार हुन्छ, तबमात्र मुलुकको मुहार फेरिन्छ । यही सचेतना जागृत गराउन उत्तम सञ्जेल १६ वर्षदेखि अनवरत संघर्षरत छन् ।

प्रजातन्त्रमाथि अटल विश्वास राख्ने उत्तम आफू त्यसैलाई गोडमेल गर्न शिक्षाक्षेत्रमा सक्रिय रहेको बताउँछन् । भन्छन्, “प्रजातन्त्रको जग भनेकै शिक्षा हो । प्रजातन्त्रको समयसापेक्ष विकासका लागि शिक्षाक्षेत्रसँग जोडिएको हुँ ।”
लोकतन्त्रको दुहाइ दिएर नथाक्ने राज्य प्रजातन्त्रको जरा मानिएको शिक्षामा पानी, मलखाद गर्न छाडेर हाँगामा सिँचाइ गर्दै बसेका उनको टिप्पणी छ ।

प्रजातन्त्रको २७ वर्षे इतिहासमा डाक्टरको छोरो डक्टर, इन्जिनियरको छोरो इन्जिनियर, पाइलटको छोरो पाइलट, व्यापारीको छोरो व्यापारी नै भयो, तर गरिबको छोरो गरिब नै रह्यो । यसको कारण खोतल्दै जाँदा उनले शिक्षा नै भेटे ।

०४७ सालपछि निजी शिक्षा निकै झाँगियो । तर सामुदायिक विद्यालयको अवस्था भने दिनप्रतिदिन जीर्ण बन्दै गयो । निजी विद्यालयको महँगो शुल्क भुक्तान गर्न नसक्नेका लागि सामुदायिक विद्यालय बाध्यता बन्यो । त्यस बाध्यतामा मल्हम लगाउन उनी अघि सरे । त्यतिमात्र नभएर निजी र सामुदायिक विद्यालयबीच देखिएको ठूलो खाडल पुर्न यथाशक्य कोसिस थाले ।

त्यसो त उत्तम एक वाणले दुई तीर हानिरहेको बताउँछन् । “सामुदायिकले थोरै बढाएर र निजीले न्यूनतम शुल्क लिएर पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने देखाउन खोजेको हुँ,” उनले थपे ।

०५८ मा जोरपाटीको नयाँ बस्तीबाट सुरु गरिएको समता शिक्षा निकेतन मुलुकका ४२ जिल्लामा विस्तारित भइसकेको छ । सुरुमा ३० हजारको लगानीमा विद्यालय सुरु गरेका हुन् उनले ।

हाल ४२ जिल्लामा ४३ विद्यालय छन् समताका, जसमा ४२ हजार विद्यार्थी आफ्नो भविष्य कोरिरहेका छन् । करिब एक हजार शिक्षक–शिक्षिका पारिला घाम बनेका छन् । समता शिक्षा निकेतन नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्ययन÷अध्यापन हुने नेपालको मात्रै नभई विश्वकै पहिलो विद्यालय पनि हो । जहाँ सय रुपैयाँमै नर्सरीदेखि स्नातकोत्तरसम्म पढ्न पाइन्छ र भर्ना गर्न १५० रुपैयाँमात्र बुझाए पुग्छ ।

०६६ देखि उच्च माध्यमिक तह र ०७२ देखि स्नातकोत्तर तहको पठनपाठन थालिएको समता मुलुककै अग्रणी शिक्षालयको रूपमा स्थापित भइसकेको छ ।

० ० ०

सफल कलाकार बन्ने लक्ष्यका साथ बलिउडमा हाम्फालेका उत्तम कलाकारितामा पनि जम्न लागिसकेका थिए । तर, उनी अचानक नेपाल फर्किए । केही समय यहाँ पनि उनले कलाकारिता नै गरे । तर, उनलाई शिक्षामा केही गर्नु थियो ।

स–साना तालतलैया र पोखरीहरूमा पौडन अभ्यस्त हुनेहरू नै समुद्रमा तैरने सामथ्र्य राख्छन् । उनी यही विचारसँग तादात्म्य राख्छन् । “आज बिहानको सूर्योदयमा झलमल्ल घाम देखियो भने भोलि बिहान पनि घाम नै लाग्छ भन्ने हुँदैन, पानी पनि पर्न सक्छ । प्रकृतिको यही शाश्वत परिवर्तनबाट हामी पनि निरपेक्ष हुँदैनौं,” उनी भन्छन्, “जीवन सिकाइको अनन्त शृंखला भएकाले आफूलाई हरेक क्षेत्रमा सफलता हात लाग्ने गरी तयार बनाउनुपर्छ । कुनै एक क्षेत्रमा सफल नहुनेबित्तिकै निराश भइहाल्न हुँदैन ।”

उत्तमको बुझाइमा अचेलका युवा पुस्तामा नैराश्यता बढी छ । “सबै कुरा समयमा निर्भर रहन्छ । हामीले समय चलाउन सक्दैनौं, समयले हामीलाई चलाउने हुँदा हामीले सबै क्षेत्रमा आफूलाई तम्तयार राख्नुपर्छ,” भन्छन्, “त्यसका लागि शिक्षा पहिलो सर्त हो ।”

‘देशमा केही हुँदैन’ भनेर निराश हुँदै पासपोर्टमा छाप लगाएर विदेश जानेको संख्या ह्वात्तै बढेको देख्दा उनको मन दुख्छ । पीडाबोध हुन्छ । “केही हुँदैन भनेर तपाईं–हामी लाइन लागेर विदेश जाने हो भने यो देश कसले बनाउँछ ? आफ्नो घर भत्कियो भनेर छिमेकीकहाँ कतिन्जेल ओत लाग्ने ? उसले सधैंभरि छहारी दिइरहन्छ भन्ने छ र ?” उनले थपे, “देशमै सबथोक छ । यही देशले नै सबथोक दिन सक्छ ।”

युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता विकसित देशहरूको वैभव देखेर हामी जति लालायित भए पनि दुई–तीन पुस्ताले त्याग नगरी ती देश समृद्ध नभएको उनको तर्क छ । “दोस्रो विश्वयुद्धपछि जापानी नागरिकले दिनको चार घण्टा बिनापारिश्रमिक श्रम खर्चिए । सन् २०११ मा सुनामी जाँदा पनि पानी अभाव हुन्छ भनेर त्यहाँका नागरिकले घाममा ननिस्केर घरभित्रै बसेर सामान्य काम गरे । हामीले पनि यसैगरी त्याग नगरी यो मुलुक उँभो लाग्दैन,” उनले भने ।

देशबाट पलायन भएपछि सुख देख्ने र देशका बारेमा क्रिया/प्रतिक्रिया गर्नेहरूलाई उनको आग्रह छ, “सीमापारि बसेर देशका बारेमा चिन्ता गर्न छाडौं, यो देश बनाउने जिम्मा तपाईं–हाम्रो पनि हो, अर्काले गरेन भन्ने होइन, हामीले पनि गर्नुपर्छ भन्ने भावना राखेर काम थालौँ । देश हाम्रै पालामा बदलिन्छ ।”

देशका नेताहरूको माग्ने प्रवृत्ति र युवाहरूको भाग्ने प्रवृत्तिका उनी कटु आलोचक हुन् । “यहाँ गाह्रो छ भनेर सजिलोतिर सर्ने र अरूकै भर पर्ने हो भने हामीले हाम्रा सन्ततीलाई पनि सुख दिन सक्दैनौं,” उनले जोड दिए ।

घर बालेको खरानी हो रेमिट्यान्स
युवाहरूको बढ्दो विदेश–पलायनले मुलुक रसातलमा पुगेको उनको ठहर छ । उनी जोड दिन्छन्, “आमाबाबुको सुख भनेको छोराछोरीले कमाएर पठाउनु होइन, छोराछोरीसँगै रहनु हो । तर हामी दुईचार किलो सुन्तला, एकदुई तोला सुन किनिदिएर, फरिया–चोला पठाएर आमाबाबुलाई खुसी बनाउने दुस्साहस गरिरहेका छौं ।”

गाउँमा अचेल मलामी भेटिँदैनन् । सहरमा पनि आमाबाबु बितेको तीन दिनपछि छोराछोरी आइपुग्छन् । जीवनभर दुःख गरे पनि मर्ने बेलामा छोराछोरीसँगै बसेर सुख–दुःख साटूँ भन्दा छोराछोरी सात समुद्रपारि भइदिन्छन् । त्यस्तो बेलामा आमाबाबुको मन कस्तो होला ? समाज विखण्डित बनाएर देशले कमाएको रेमिट्यान्सको के अर्थ ? उत्तम यही कुराले सधैं पिरोलिन्छन् ।

उनले रातदिन झेलिरहेको अर्को समस्या हो– परिवारको विखण्डन ।

श्रीमती वा श्रीमती विदेश गएर तातो घाममा रापिएर श्रम बेच्छन्, रगत बगाएर कमाएको पैसा नेपाल पठाउँछन्, श्रीमान् वा श्रीमतीले यता अर्कै घरजम गरिसक्छन् । फर्केर आउँदा न सम्पत्ति, न श्रीमान्, न श्रीमती नै आफ्ना हुन्छन् ।
यस्ता समस्या उत्तम दिनहुँ सुन्छन् । मरी–मरी कमाएको पैसा लिएर श्रीमती वा श्रीमान् बेपत्ता भएका पीडा लिएर उनीकहाँ दिनहुँजसो मानिस आउँछन् । विखण्डित परिवारका कारण बालबच्चाको पढाइ डामाडोल भएको र भविष्य नै अन्धकारतर्फ धकेलिएको उनी टुलुटुलु हेर्छन् ।

यसर्थ पनि उनी रेमिट्यान्स घर जलाएको खरानी भएको तर्क गर्छन् । भन्छन्, “खरानीलाई नै उपलब्धि मान्दै जाने हो भने एकदिन यो देशको अन्त्य हुन्छ ।”

पढ्न पाउँदैनन् विद्यार्थी
मुलुकमा राम्रो अंक ल्याएर पास गरेका विद्यार्थी पढ्न नपाएर विदेश जानुपर्ने बाध्यता छ । अघिल्लो वर्ष समताबाट ८० प्रतिशतभन्दा बढी अंक ल्याएर १० प्लस २ उत्तीर्ण गरेका विद्यार्थीले बीबीए पढ्न नपाएपछि उनलाई अति दुःख लाग्यो । यही विषयमा त्रिभुवन विश्वविद्यालयसँग उनको झगडै पर्यो ।

“हामीलाई सम्बन्धन दिँदैन, सम्बन्धन पाएका सीमित कलेजमा विद्यार्थी अटाउँदैनन्, निजी कलेजमा महँगो शुल्क तिरेर उनीहरू पढ्ने सामथ्र्य राख्दैनथे” उत्तम भन्छन्, “ती विद्यार्थी बाध्य भएर खाडी पसे ।”

खाडी पस्नेमा अधिकांश महिला विद्यार्थी थिए । राम्रो अंक ल्याएर उत्तीर्ण गरेका ‘क्रिम’ विद्यार्थी खाडीमा भाँसिदा उनलाई अति दुःख लाग्यो । आँखाबाट आँसु झर्लाझैं भयो तर उनीहरूलाई रोक्ने कुनै विकल्प थिएन उत्तमसँग ।

समता स्कुलबाट अहिलेसम्म ३८ सय विद्यार्थीले प्रवेशिका उत्तीर्ण गरिसकेका छन्– त्यो पनि विशिष्ट र प्रथम श्रेणीमा गरी । प्लस टुमा कोही अनुत्तीर्ण हुँदैनन् । स्नातकमा त अघिल्लो वर्ष समताले त्रिवि नै टप गर्यो ।

स्नातकोत्तरको दोस्रो वर्ष भर्खर सुरु भएको छ । स्नातकोत्तरका सबै विद्यार्थी अब्बल नै छन् । तथापि अधिकांश विद्यार्थीहरू राम्रो पढियो, केही काम पाइएन भन्दै आउँछन् । त्यतिबेला उनी नाजवाफ हुन्छन् । आफूले पढाएका विद्यार्थीका गुनासा सुनेर कहिलेकाहीँ उनको मन भारी हुन्छ । भन्छन्, “राज्यले त्यस्ता युवाहरूका लागि केही गर्नै सकेन ।”

त्यस्तै केही समयअघि एमएसका लागि काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षा लियो । दुई सय कोटाका लागि लिइएको प्रवेश परीक्षामा ३५ सयभन्दा बढीले परीक्षा दिए ।

पाँच वर्ष एमबीबीएस पढेर, नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षा पनि उत्तीर्ण गरेर र दुई वर्ष इन्टर्नसिप गरेका विद्यार्थीले पनि भनेको विषय पढ्न नपाउने अवस्था मुलुकमा छ । तर यस्तो विषयले कसैलाई नपोलेको देख्दा उनलाई दिक्क लागेर आउँछ । “ती ३३ सय विद्यार्थीलाई तिमीहरू नालायक भयौ भनेको हो, ती विदेश नगएर कहाँ जाने ? यस्ता देशका खम्बालाई बाहिर धकेलेर हामीले कस्तो मुलुक बनाउँछौं ?” उनले आक्रोश पोखे ।

उनी तीन–चार हजार विद्यार्थीका अघिल्तिर उभिनुपर्छ । कहिलेकाहीँ त ती विद्यार्थीले सोध्छन्, “पढेर के गर्ने ?”

उनी निरुत्तरित हुन्छन् । उनीसँग कुनै जवाफ हुँदैन । यसकारण कि ती विद्यार्थी स्वयंले देखेका छन्, स्नातकोत्तर सिध्याएका दाजु बेरोजगार भएर हल्लिँदै हिँडेका छन् । मानसिक हिसाबले विक्षिप्त छन् । उता आठ कक्षा मात्रै पढेका अर्का दाजु खाडी गएर टन्न पैसा कमाएर घरजम तथा आफ्नो बन्दोबस्त मिलाइसकेका हुन्छन् ।

लोकसेवाको तयारी गराउँछु
अबका १० वर्षभित्र मुलुकका सबै सरकारी कार्यालयमा आफ्ना विद्यार्थीलाई जागिर खुवाउने लक्ष्य राखेका छन् उत्तम । भन्छन्, “हरेक सरकारी कार्यालयको भ्रष्टाचार, अनियमितता र कमिसनखोरी रोक्ने प्रयास थाल्छु । त्यसका लागि आगामी वर्षदेखि नै लोकसेवाको तयारी–कक्षा सुरु गर्दैछु । बीबीएसको जाँच सकिएपछि नौ महिनाजति समय बाँकी रहन्छ, त्यही समयमा लोकसेवाको तयारी गराउँछु ।”

कसरी सम्भव भयो सयमै पढाउन ?
नर्सरीदेखि स्नातकोत्तरसम्म सय रुपैयाँमै पठनपाठन हुनेमात्र होइन, त्यति पनि तिर्न नसक्ने महिला विद्यार्थीलाई त समताले निःशुल्कै पढाउँछ । भारी बोकेर पनि छोरालाई महँगा स्कुलमा भर्ना गर्ने तर सक्षम भएर पनि छोरीलाई चाहिँ सामुदायिक अथवा थोरै पैसा बुझाए पुग्ने विद्यालयमा भर्ना गर्ने अभिभावक सहरी क्षेत्रमा पनि कम छैनन् । त्यसैले समता स्कुलमा पढ्ने विद्यार्थीमध्ये ७५ प्रतिशत त विद्यार्थी महिला भएको उत्तम बताउँछन् ।

कम लागतमा पढे पनि छोरीले छोरालाई सिकाउन थालेपछि बाध्य भएर छोरालाई पनि समता स्कुलमा भर्ना गरेको उदाहरण थुप्रै भएको उनले सुनाए । तर, कम लागतमा पढाउनुको पछाडि समतासँग दीर्घ आम्दानीको कुनै स्रोत छैन । उनी भन्छन्, “यो सबै सकारात्मक सोचको उपज हो । राम्रो काम गरेपछि साथ दिने थुप्रै हुँदा रहेछन् । नकारात्मक सोच्नेहरूले त संसार आँखाले देखेको क्षितिजसम्म मात्रै हो भन्ठान्छन् । तर, संसार धेरै परसम्म छ । हामी पनि सकारात्मक सोचका साथ अघि बढ्ने प्रयास गरिरहेका छौं ।”

समताका मेरुदण्ड हुन्– कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उनीहरू समतासँग जोडिएको १२–१३ वर्ष भइसक्यो र त कतै नयाँ समता स्कुलको शाखा खुल्नासाथ उनीहरू भ्याएसम्म पुग्छन् । त्यतिमात्र नभई उनीहरूले समतालाई तन, मन र धनले सहयोग गर्दै आएका छन् ।

त्यसका अतिरिक्त संसारभर छरिएर रहेका नेपालीले समताको १६ वर्षे उपलब्धिलाई दृष्टिगत गरी सहयोगको हात फैलाएका छन् । केही विदेशीहरूले पनि व्यक्तिगत रूपमा सघाउन छाडेका छैनन् ।

तर, उत्तम संस्थागत वैदेशिक सहयोग भने लिँदैनन् । “विदेशी आईएनजीओ, एनजीओहरूका आफ्नै उद्देश्य हुन्छन्, उनीहरूका र हाम्रा उद्देश्य आपसमा मेल खाँदैनन्,” उनी भन्छन्, “त्यस कारण हामी वैदेशिक संघ/संस्थाको सहयोग स्वीकार्दैनौं ।”

सन् २००८ मा डा. उपेन्द्र महतोले तराईका १० जिल्लामा समता स्कुलका शाखा खोल्न ३ करोड ६५ लाख रुपैयाँ दिएका थिए । त्यसको सदुपयोग भइसकेको उत्तम बताउँछन् ।

बाँस चन्दा मागेर विद्यालय
विद्यालय खोल्ने इच्छाले मन हुँडल्न थालेपछि उनलाई बाबुले ३० हजार रुपैयाँ दिए । त्यसमध्ये तीन रोपनी जग्गाको २० हजार रुपैयाँ भाडा तिरे । बाँकी १० हजारले विद्यालय नबन्ने भएपछि उनले मागेरै बाँस बटुले ।

आफू बस्ने गोठाटार आसपासमा बाँस प्रशस्त पाइने हुँदा सबैले दुईचार वटा बाँस सहजै चन्दा दिए र त्यही गाडेर उनले समता स्कुल ठड्याए ।

समता स्कुल पुग्दा जोकोही बाँसका कला देखेर अचम्मित हुन्छन् । बान्कीपूर्ण कोठा देखेर विद्यालय पुग्ने विदेशी पाहुनाहरू पनि छक्क पर्छन् । अनौठो मानेर हेर्छन् । तर, त्यो सबै उनको एकल ‘डिजाइन’ हो ।

बलिउडमा नौ वर्ष फिल्मको सेट बनाउँदा सिकेको कला उनले समता स्कुलमा दुरुस्त उतारे । त्यतिमात्रै नभएर केही नयाँपन पनि दिए । बाँस सहजै पाइने र बलिया पनि हुने भएकाले त्यही प्रयोग गरे ।

जोरपाटीको पुरानो अरब बैंक नजिकैको समता शिक्षालय ३५ लाख रुपैयाँको लागतमा तयार भएको हो । अहिले त्यस्तो संरचना तयार पार्न १ करोड लाग्ने उनको भनाइ छ ।

वैशाख १२ को विनाशकारी भूकम्पले हजारौं विद्यालय भवन ध्वस्त भए । तर, समताको एउटा कोठामा पनि सामान्य क्षतिसमेत भएन । त्यस कारण पनि विद्यालय बनाउँदा समताको मोडललाई नै अनुुसरण गर्नुपर्ने उनी बताउँछन् । “व्यक्तिले गरेको भएर होला, यसतर्फ कसैको ध्यानै गएन, राज्यले त मतलबै गरेन,” उनले दुखेसो गरे ।

देश गरिब भएकाले समतामा विद्यार्थी थुप्रिए
बजारभाउ बढ्ने तर नागरिकको क्रयशक्ति कम हुने हुँदा त्यसको मार समतालाई पर्ने उत्तम बताउँछन् । सय रुपैयाँमै पढ्न पाइने भएपछि सुरुकै वर्ष आठ सय विद्यार्थी भर्ना भएका थिए । त्यसयता समतामा बर्सेनि विद्यार्थी बढेका बढ्यै छन् । विभिन्न जिल्लामा शाखा खोल्नुपर्यो भन्न आउनेको ताँती नै लाग्छ ।

समताको शैक्षिक गुणस्तरीयता र सस्तो शुल्कले विद्यार्थीको संख्या बढ्दै गएको उनको निष्कर्ष छ । हाल ४२ जिल्लामा रहेको समता स्कुललाई ०७५ भित्र ७५ वटै जिल्लामा पुर्याउने लक्ष्य उनको छ । “नर्सरीमात्र किन नहोस्– ०७५ सालभित्र ७५ वटै जिल्लामा विद्यालय स्थापना गरिछाड्छौं,” उनले आफ्नो योजना सुनाए ।
जिल्लामा खोलिने समता स्कुलको मूल ‘थिम’ एकै भए पनि व्यवस्थापन छुट्टाछुट्टै हुने उनको भनाइ छ ।

अब विज्ञान संकाय पनि
यस पटकदेखि समताले विज्ञान संकाय पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । बिहीबार जोरपाटीस्थित समता शिक्षालय पुग्दा उनी त्यसैको काममा व्यस्त देखिन्थे । कामले असिन–पसिन उनले भने, “यस पटकदेखि हामीले विज्ञान संकायमा १० प्लस २ मा भर्ना लिन्छौं । त्यसैका लागि तयारी गरिरहेको छु ।”

विज्ञान संकायमा पनि सय रुपैयाँमै पठनपाठन हुने उनले बताए । “चारदेखि पाँच सयको संख्यामा विद्यार्थी भर्ना लिन्छौँ, त्यसको शुल्क पनि सय रुपैयाँमात्र हुनेछ,” उनले भने, “गाउँमा साइन्स पढ्छु भनेर राम्रो तयारी गरेका हुन्छन् । विशिष्ट र प्रथम श्रेणीमा पास पनि हुन्छन् । सहर पसेपछि तिनले २–३ लाख जम्मा गर्न सक्दैनन् । त्यसपछि सरकारी क्याम्पस जान्छन् । त्यहाँ पनि पढ्ने वातावरण हुँदैन । अन्ततः आन्दोलनमा हुलदंगा गर्दै ढुंगा हान्न थाल्छन् र पढाइ बर्बाद बनाउँछन् । हामी त्यस्तो हुनबाट विद्यार्थीलाई रोक्दैछौं ।”

समता शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्छु
उत्तमले कालान्तरमा समतालाई सरकारको मातहत पुर्याउने सोच राखेका छन् । भन्छन्, “म अहिले ४० वर्षको भएँ, जीवनको अत्यन्त ऊर्जाशील समय मैले शिक्षाक्षेत्रमा खर्चेको छु । समतामात्रै होइन, शिक्षाको नयाँ मोडल तयार पारेको छु । तर कुनै क्षण म थाक्न सक्छु । म थाक्नुअगावै समता शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न चाहेको छु । कति आफू मात्रै लाग्नु ? यस्ता संस्थाहरूको संरक्षण र विकास गर्ने दायित्व राज्यकै हो ।”

आफूले शिक्षाको ‘पेनड्राइभ’ तयार पारेर शिक्षा मन्त्रालयलाई बुझाउन खोजेको उनले सुनाए । चाहेको बेलामा राज्यले खोलेर लागू गर्न सक्नेमा उनी विश्वस्त छन् ।

निःशुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयले समताको भन्दा पनि बढी शुल्क लिने गरेको उल्लेख गर्दै राज्यले शिक्षा निःशुल्क गर्न नसक्ने र गर्न नहुने ठोकुवा गरे । लगानी गरेको चिजको मात्र माया हुने र ‘मोरल हाइ’ हुने भन्दै निःशुल्क शिक्षाको नाममा राज्यले भ्रम छरेको बताए ।

कारागारमा समेत समता
पर्साको वीरगन्ज कारागारमा समेत समता शिक्षा निकेतन स्थापना गरिएको छ । २५० विद्यार्थी–क्षमताको विद्यालयमा १८७ जना विद्यार्थीहरू पठनपाठन गर्छन् । “बिनाअपराध जेलको अन्धकारमा कोचिएका बालबालिकालाई शिक्षाको उज्यालो घाममा ल्याएका हौं,” जाँदाजाँदै उनले भने, “बिस्तारै अन्य कारागारमा पनि स्कुल स्थापना गर्ने हाम्रो लक्ष्य छ ।”
Read Full Discussion Thread for this article