Posted by: taraniraula February 14, 2016
‘गोरखाली’ ले पाउने सम्मान नेपालीले किन पाउँदैनन् ?
Login in to Rate this Post:     0       ?        

उत्तमकुमार क्षेत्री नेपालीमूलका दार्जिलिङवासी हुन् । उनी करिव ३० बर्ष भन्दा बढी समयदेखि दिल्लीमा छन् । जागीर, राजनीति र समाजसेवा उनको परिचय हो । कला साहित्यमा पनि उनको रुचि छ । नेपालीमूलका भारतीय नागरिकहरु नेपाल र नेपाललाई कसरी हेर्छन ? रातोपाटीले दिल्लीमा कुराकानी गर्दा क्षेत्रीले भने :
uttam kumar chetriम नेपालीमूलको भारतीय नागरिक हुँ । मेरो बाउ–बाजे १८ औं शताब्दीको शुरु–शुरुमा भारतमा आएका हौँ । हामी अन्तराष्ट्रिउ सन्धि अनुसार आएका हौँ । काँडेतारबाट आएका होइनौँ । जग्गा–जमिन, भाषा–संस्कृति, बन–जंगल, नदी–नाला, खोला–खोल्सा, कुना–कन्द्रा सवै लिएर भारत आएका हौँ । हामी नांगै भारत आएका होइनौँ, खाली हात आएका होइनौँ । त्यो सम्पन्नता आज पनि कायमै छ । हामीले भारतलाई त्यहीबाट समृद्ध बनायौँ । मिहिनेत गर्यौँ । काम गर्यौँ । राजनीति गर्यौँ । यही पढ्यौँ । लेख्यौँ. । भारतका लागि मर्यौँ । मरेर पनि तक्मा थाप्दैछौँ । हामी जे जस्तो सन्धिबाट आए पनि नुनको सोझो गरिरहेका छौँ । हामी अधिकारका लागि पनि लडिरेहका छौँ । मुक्तिको लडाई छ । पहिचानको लडाई छ । हामी भारतमा नेपालीमूलका नागरिकको अधिकारका लागि संघर्ष गरिरहेका छौँ र गरिरहन्छौँ ।
दार्जिलिङ लगायतका ठाँउबाट विधानसभाका सदस्यहरु चुनिन्छन् नेपालीमूलका नागरिक । तर, सरकारी ठूलो पदमा उनीहरुलाई ठाँउ छैन । न्यायधीस छैनन् नेपाली मूलका नागरिक । राजदूत पनि छैनन् । ठूला आइपीस अफिसर पनि छैनन् । कुनै प्रहरीको उच्च ओहदामा पुगेका छैनन् । नेपालीमूलका नागरिकमा क्षमता नभएर यसो भएको होइन । यति हुँदाुहँदै पनि हामी काम गर्दैछौँ । हामी इमान्दारीपूर्वक भारतमा काम गरिरहेका छौँ । हामी जहाँ भएपनि नेपाल र नेपालीसँग हाम्रो भाषा र संस्कृतिको सम्बन्ध छ । रगतको साइनो छ, यो हाम्रो उत्पती हो । जातिप्रतिको लगाव छ । आफ्नापन छ । यसकारण हामी भारतमा रहेका नेपालीहरु सधै नेपालको उन्नती–प्रगति भएको हेर्न चाहन्छौँ । अन्य देशजस्तै नेपाल पनि आत्मनिर्भर र बलियो अर्थतन्त्र भएको देश बनोस भन्ने चाहन्छौँ । हामी सम्पन्न नेपाल, फलेको–फुलेको नेपाल देख्न चाहेका छौँ । नेपालमा नेपाली भाषा संस्कृतिको जर्गेना भएको देख्न चाहन्छौँ । सामाजिक विकास होस् । राजनीतिक स्थिरता भएको देश होस । नेपालले आफ्नो साधन–स्रोतलाई उपयोग गर्दै आफ्नो लागि काम गर्न सकोस । साधन–स्रोत जुटाएर आफ्नो नागरिकलाई रोजगारी दिन सकोस । वैदेशिक रोजगारीको अन्त्य गर्न सक्ने नीति चाहियो । खाडी मुलुक वा अन्य कुनै मुलुकमा ज्याला मजदुरी गरेर जीवन धान्नुपर्ने अबस्था नेपालीहरुको अन्त होस । हामी भारतमा बसेका नेपालीवासीहरुको यही चाहना रहने गर्दछ ।
कसैसँग नझुक्ने, आफ्नै पौरखमा बाँच्ने स्वाभिमानी नेपाली हाम्रो चाहना हो । हिमालजस्तो शिर उँचो बनाएर रहने नेपाल चाहिन्छ । हामी नागरिक भारतीय हौँ । तर, हाम्रो मनमा नेपालीपन उत्तिकैै छ । कसैले पनि टोपी भुँइमा झरोस भन्ने कसैको चाहना हुँदैन । हामी भारतमा जसरी बसेका छौँ, भारतीय संविधानमा बाँधिएका छौँ । भारतीय संविधान हाम्रो सर्वोपरी हो । त्यति हुँदाहुँदा पनि नेपालीपन छ हामीमा । नेपालप्रति सम्मान छ । आबश्यक परे, सहयोग रहन्छ । विश्वविजेता हो नेपाली । गोर्खाली इतिहास नेपालीको हो ।
त्यसैले नेपालको शिर सगरमाथाजस्तो ठाडो हुनुपर्छ । नेपाली बस्छन् यहाँ, विश्वविजेता बस्छन यहाँ, त्यसकारण नेपाल समुन्नत भयो, विश्वमा यसको शिर सवैभन्दा माथि भयो भन्ने सन्देश जाओस भन्ने हामी चाहन्छौँ । जसलाई देख्दा विश्वले सम्मान गन सकोस । यो कुरा किन नेपाली नेताहरुले चाहेका छैनन् । विश्वमा नेपालीहरुले धेरै काम गरेका छन् । इतिहास रचेका छन् । मरेको मानिसको मुटु जिउदो मानिसलाइ प्रत्यारोपण गर्नेमा पनि नेपाली नै आए । नासा वैज्ञानिक पनि छन् । सगरमाथा पहिला चढने पनि नेपाली नै हुन् । गोरखाली सेनाको आफ्नै गौरवपूर्ण ईतिहास छ । यो कुरा नेपालका नेताहरुले बुझ्नुपर्ने हो । त्यो हो असली नेपालीपन । गोरखनाथको सन्तान । आफ्नो उपाधीलाई नेपालले बचाएर राख्नुपर्छ । हामी नेपालीमूलका भारतीय नागरिक समुन्नत, सम्पन्न र सुदृढ नेपाल देख्न चाहन्छौँ । मागी खाने, हेलिएको, थिचिएको नेपाली हामी देख्न चाहन्नौँ । भारतीयहरु उघोगधन्दा चलाउन सक्छन् भने नेपालीहरु किन सक्दैनन् ? नागरिकहरुलाई यो काम गर्ने वातवरण बनाईदिने जिम्मा सरकारको हो नि । मानिलिनुस, तपाईले घर बनाउदा इटा, ढुंगा, काठ सवै जुटाउनुहुन्छ । अनि न घर बन्छ । देश बनाउने कुरा पनि यस्तै त हो । जनतालाई चाहिने सवै कुरा जुटाएर गरिखाने वातवरण बनाईदिने जिम्मा सरकारको होइन । नेपाल सरकार यस्तो विषयमा किन संवेदनशिल हुँदैन ? हाम्रो मनमा यो प्रश्न उठिरहन्छ । जनताको रगत पसिनाबाट आएको पैसाबाट राज गर्ने नेताहरुले यो कुरा बुझ्नुपर्छ । जनताले सम्झउनुपर्छ । मिडियाले ती नेताहरुलाई सम्झाउनुपर्छ । नेताले कमाएर जनतालाई पालेका त छैनन् ? कैयौ नेपाली चेलिवेटिीले अस्मिता बेचेका छन् । उनीहरुको अस्मिता बेचेर आएको कमाई पनि नेताले खर्च गनुपर्ने कुरा त राम्रो भएन नि । देश बनाउन नसक्ने, देशका लागि ठाडो शिर बनाएर बोल्न नसक्ने, जनतालाई सुख दिन नसक्ने, समृद्ध दिन नसक्ने नेता के काम ? यो प्रश्नको उत्तर नेपाली नेताहरुले खोज्नुपर्छ जस्तो मलाई लाग्छ । यो आलोचनाको कुरा होइन । नेपाललाई राम्रो किन ढिला भयो भन्ने प्रश्न हो । हामी नेपालीमूलका हामी भारतीयको मनमा लागेको कुरा हो । नेता भनेको त नयाँ र ताजा हुनुपर्यो नि । पुरानो भएर के काम ? केही गर्न नसक्नेलाई कसरी नेता मान्ने । नयाँ र ताजा नेता चाहियो । नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्यो । सम्पन्न हुनुपर्यो । यही हो हाम्रो चाहना, यही हो हाम्रो सन्देश । विश्वविजेता नेपाली स्वाभिमानी हुनुपर्छ ।

हामीकहाँ तीन खालका मानिस छन् । एउटा यस्तो पंत्ति छ, जसलाई कसैको सरोकार छैन । अर्को पंक्ति वीचमा छ, जसलाई भाषा, साहित्य, संस्कृति र राजनीwhatmakesgurkhamenthemostfierceintheworld2_1429877580ति सवै उसैले जिम्मा लिन्छ । अर्को पंक्ति छ अशिक्षित जसको शोषण हुन्छ सधै । हामी नेपाली समुदायको चिन्ता सधै एक कुरामा हुन्छ । परिणाममा ध्यान हुन्छ । खेती किसानी गर्दा गर्दै मानिसहरु दिल्ली आउँछन् । नेपाली राम्रोसँग बोल्न नजान्ने महिलाहरु दिल्ली आउँछन् काम खोज्न । तिनीहरुमाथि यहाँ शोषण हुन्छ । महिलाहरुमाथि शारिरिक शोषण हुन्छ ।, विचल्लीमा पर्छन । दिल्लीमा नेपाली समूदायले धेरै समाज खोलेका छन् । सामाजिक संस्थामा रहेका व्यक्ति गरिव र तल्लोतहका अशिक्षितहरुलाई सेवा पनि पुराएका छन् । भूमरीमा परेकालाई उद्धार गर्ने काम हुन्छ । कतिपयले संस्थाका नाममा दोकान खोल्छन । जता फाइदा छ त्यतै जान्छन् । नेपाली चेलीहरुलाई कुनै भारतीयले यहाँ ल्याएर बेच्दैन । त्यो ल्याउने त नेपाली नै हुन् । हाम्रै नेपालीले यसो किन गर्छन ? के सवै कुरा पैसा हो । देशको प्रतिष्ठा हुँदैन । नागरिकलाई बेचविखन गर्ने हाम्रो मन कस्तो छ ? कसैले श्रीमति बनाएर ल्याउछन, कसैले बहिनी बनाएर ल्याउछन् । कसैले भतिजी बनाउलान । म आफैले कति चेलीहरुको उद्धारमा सहयोग गरेको छ । म दार्जिलिङको मान्छे मलाई के मतलव भन्न पनि त सक्थे । तर, सकिन्नँ । हामी नेपालीमूलका भारतीय हौँ । हार्मी कोही पनि नेपालीले दुःख पाएको हेर्न सक्दैनौँ । मनले मान्दैन । मेरो रगतमा नेपाली पनि छ । मानवताको नाताले मैले उद्धारमा सहयोग गर्नुपर्छ, खटनुपर्छ ।
नेपालमा जनचेतनामा अलि बढी ध्यान दिन पर्यो । वडा–वडामा यो कुरा पुरउनपर्यो । जस्तो कि नेपालबाट दिल्ली आउँदा के के चाहिन्छ, नेपालबाट खाडीमा जाँदा के के चाहिन्छ ? सवै कुरा बुझेर मात्र हिडनुपर्यो नि । अझ दिदी बहिनीहरुले त विशेष ख्याल गर्नुपर्यो । कसैले जाँउ भन्दा वित्तिकै जान पनि भएन । लैजाने मान्छ को हो, उसको उदेश्य के हो बुझ्नुपर्दैन ? भारतको हकमा ल पासपोर्ट प्रणाली लागु गर्न नसकिएला । तर, तथ्याङ्क व्यवस्थित गर्न त सकिन्छ नि । भारतमा जानुभन्दा पहिला नेपाल उसले कम्प्युटरमा आफ्नो तथ्याङ्क भर्नुपर्यो । यसो गर्दा वित्तिकै हरेक नाकामा यता यति गर्नेको पास हुन्छ । त्यसले सुरक्षा र सुविधा दुवै काम दिन्छ । तथ्याङ्क राख्नुपर्यो । नेपाल सम्पन्न नभएसम्म समस्या पुरै हटदैन । तर, कम गर्न सकिन्छ । यसका लागि सरकार र समाजको जिम्मा हुन्छ । विदेशका नेपाली चेलीहरुको अबस्था कस्तो छ भन्ने समाजले त जान्नुपर्यो नि । समाज बलियो भयो भने न सरकार बलियो हुने हो । नेपालमा अलि बढी मनपरी समाज देखिन्छ । यस्तो मनपरी समाजमा चेलिवेटीसम्बन्धी अलि बढी समस्या आउँछन् । संस्कारगत समस्या छन, यसलाई समाजले नियन्त्रण गर्न सकिन्छ । अन्तरजातीय विहावलाई बढी प्रोत्सहान नगरेको राम्रो । त्यसले महिलाहरुको उत्पीडिन कम गर्न सहयोग पुरउछ भन्ने मेरो मान्यता छ । कहिलेकाही आफ्नोस्तर भुुल्ने समस्या छ । यसले पनि समस्या ल्याउछ । महत्वकाक्षा नियन्त्रण गर्नुपर्छ । चेलीबटीहरुले अझ ध्यान दिनुपर्छ ।
ज सुकै भएपनि नेपालको विकास आजको आबश्यकता हो । नेपालीसँग त्यसो गर्ने खुवी छ । कसले गर्न दिएन ? नेताले दिएनन कि ? यो त भन्नुपर्छ । हामी नेपालीमूलका भारतीय सम्पन्न भएको नेपालको पक्षमा छौँ । विश्वविजेताहरुको भूमि गरिव भएर बस्नुहुँदैन । इतिहास बचाउनुपर्छ । आज गोरखालीको विश्वमा सम्मान छ । नेपाली हुँ भन्दा त्यही सम्मान छैन । नेपाली हुँ भन्दा पनि गोरखाली हुँ भन्दा जत्तिकै सम्मान चाहिन्छ । यही सम्मान पाउने दिशामा नेपाल अगाडि बढनुपर्छ । हामी नेपालीमूलका भारतीयहरुको चाहना यही हो ।


Read Full Discussion Thread for this article