Posted by: _____ September 14, 2015
बहिष्कार गरेका कांग्रेसका पाँचै सभासद संविधानसभामा फर्किए
Login in to Rate this Post:     0       ?        

बहिष्कार गरेका कांग्रेसका पाँचै सभासद संविधानसभामा फर्किए

कान्तिपुर संवाददाता, काठमाडौं

भाद्र २८, २०७२- पार्टी निर्देशनविपरीत संविधानसभाको मतदान प्रक्रिया बहिष्कार गरेका कांग्रेसका पाँच सभासद सोमबारदेखि संविधानसभामा फर्केका छन् । सभासद सुरेन्द्र चौधरी, रामअयोध्या यादव, अमरेशकुमार सिंह, गणेश मण्डल, दिनेश परसौला यादवले मधेसी र थरुहट आन्दोलनको समर्थन जनाउँदै संविधानसभा बहिष्कार गरेका थिए ।

बहिष्कार गरेका सभासदहरू पार्टी नेतृत्वको आग्रहमा पुनः संविधानसभामा प्रवेश गरेका हुन् । नयाँ संविधानमा समानुपातिक समावेशीको सिद्धान्त स्वीकार गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने सहमति भएकाले आफू संविधानसभाको प्रक्रियामा सहभागी भएको सभासद चौधरीले बताए ।
बहिष्कार गरेका सभासदहरूसँग वरिष्ठ नेता शेरबहादुर देउवाले बोलाएर छलफल गरेका थिए । 'वरिष्ठ नेता देउवासँगको कुराकानीपछि म सहितका सभासदहरू संविधानसभाको प्रक्रियामा फर्किएका हौं,' चौधरीले कान्तिपुरसँग भने, 'संघीयताको सीमांकनको विषयमा भने मेरो 'रिजर्भेसन' कायमै छ ।' चौधरी अपराहन ३ बजे संविधानसभामा प्रवेश गरेका थिए । सिंहलगायत चार नेता भने बिहानैदेखि संविधानसभामा सहभागी भएका थिए ।
यसैबीच कांग्रेसले सभासद अमरेशकुमार सिंहलाई नयाँ सविधान जारी भएपछि कारबाही गर्ने जनाएको छ । पार्टी निर्देशनविपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीको अनुशासन समितिले उनीमाथि स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको छ । समितिले सिंहमाथि २४ घण्टे स्पष्टीकरण लिएपछि कारबाही गर्ने तयारी गरेको थियो । तर, शीर्ष नेतृत्वले संविधान जारी गर्नुअघि कारबाही गर्दा तराई-मधेसमा जारी आन्दोलनलाई बल पुग्ने तर्क गरेपछि कारबाही रोकिएको हो । 'निलम्बन गर्ने कि पार्टीबाटै निष्कासन गर्ने भन्नेमा छलफल भइरहेको थियो, 'समितिका एक सदस्यले भने, 'तर नेताहरूले संविधान जारी भएपछि मात्रै कारबाही गर्ने भनेपछि रोकिएको हो ।'

 

प्रकाशित: भाद्र २८, २०७२

Read Full Discussion Thread for this article