Posted by: metta July 27, 2015
नेपालका 'राजा साब' हरु: अशोक जंग राणा
Login in to Rate this Post:     0       ?        

बालक 'बलि' दिएको गाउँमा 'राजा साब'




रिपोर्टर डायरी

'राजा साब नमस्कार!'

पत्रकारहरुसँग कुरा गर्दै गरेका प्रहरी निरिक्षक जगतबन्धु पोखरेल अचानक उठे– भारतीय नम्बरको बोलेरो गाडीमा ईलाका प्रहरी कार्यालय भित्रिएका सेतोवस्त्रधारी नेतालाई स्वागत गर्न।

यस अघिपनि पटकपटक उनको मोबाईलमा घण्टी बज्दा हतार हतारमा उठाएर राजा साब नमस्कार भनिरहन्थे र भक्तिपूर्वक घटनाबारे जानकारी गराउँथे। तिनै रहेछन् राजा साहब जसको उनी प्रतिक्षा गरिरहेका थिए- मधेशी जनधिकार फोरमका स्थानीय नेता अशोक जंग राणा।

राणालाई देख्नासाथ प्रहरी निरिक्षक पोखरेल उठे र सिधै उनी उत्रँदै गरेको भारतीय नम्बरको बोलेरो गाडीसम्म पुगे अनि हात समातेर सिधै भित्र लगे।  थुनुवा कोठासम्म पुर्‍याएर कोदई चमारसंग भेट गराए। मानिलिउँ प्रहरी निरिक्षक उनकै लागी काम गरिरहेका छन्। राज्यले दिएको जिम्मेवारी पुरा गर्नु उनको सूचीमा दोश्रो स्थानमा थियो।

कुडियाबाट फर्किँदा मन कुँडिएको थियो। घटनास्थलमा भेटिएका स्थानीय देख्दा लाग्थ्यो कसरी सहेका छन् त्यो पिडा? हुन त उनीहरुसँग अर्को विकल्प पनि थिएन। कोदई चमारको घर भताभुङग थियो। स्थानीयको आक्रोस सामान्य थियो।

कोदई चमारका भाइ रुदलको घर घटनास्थल जाँदाको पहिलो घर थियो। रुदल, कुडिया घटनाका एक पात्र थिए। स्थानीयले भत्काइदिएको उनको घरको भूईंमा 'सुरक्षित परिवार सुरक्षित समुदाय' भन्ने नारा लेखिएको विदेशी दाताको क्यालेण्डरले गिज्याई रहेको थियो। यही भूईंमा १० वर्षिय जीवन कोहारलाई बलि दिइएको थियो। 'सुरक्षित परिवार सुरक्षित समुदाय' भन्ने नारा सहितको विदेशी दाताले दिएको क्यालेण्डर भित्तामा झुण्ड्याइए पनि जीवनको जीवन सुरक्षित हुन सकेन।

पत्रकार घटनास्थल आउँदैछन् भन्ने सुनेपछि घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी निरीक्षक जगतबन्धु पोखरेल कोदई चमारका घर वरिपरि फालिएका टाला बटुल्दै थिए। सायद अनुसन्धानको काम हुँदै थियो। समय समयमा आइरहने उनको फोनले उनको व्यस्तता मात्र होइन जिम्मेवारपन पनि संकेत गरिरहेको थियो।

अचानक घटनास्थलको सय मिटर आसपासमा कोदई चमार देखा परे। आक्रोसित स्थानीयले कोदइलाई आक्रमण गर्छन् भन्ने बुझेका प्रहरी निरिक्षक पोखरेलले स्थानीय कसैलाई कोर्दईलाई मोटर साईकलमा लैजान ईशारा गरे। हत्याका मुख्य अभियुक्त मानिएको व्यक्तिलाई उसकै गाउँको मानिससँग मोटरसाईकलमा पठाउनु भन्दा आत्मघाती केही हुँदैन थियो। तर, उनको भाग्यले साथ दियो, कोदई भागेनन्। पिछा गरेका स्थानीयले केही समयपछि फेला पारे। उनीहरुले कोदईलाई रामधुलाई गरे। जोगाउन खोज्दा प्रहरी निरीक्षक पोखरेल आफैंले स्थानीयको मुक्का खाए।

मोटरसाईकलको पछिपछि लागेको प्रहरी र त्यसको पछि लागेका हामी गन्तव्य अनिश्चीत थियो। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी भन्दै थिए, 'जोखिम मोल्दै छौं तर त्यसको प्रवाह नगरौं', भन्ने थियो। रिपोर्टिङमा यस्तो सामान्य हुन्छ। हत्याको अभियोग लागेर भाग्दै गरेका व्यक्तिको पछाडी लाग्नु जोखिम अवश्य थियो।

केहीबेरको यात्रा पछि हामी इलाका प्रहरी कार्यालय बेलाटारीको परिसरमा पुग्यौं। मोबाइलमा व्यस्त प्रहरी निरिक्षक पोखरेल आलटाल गर्दै थिए। हामीले घटनाबारे बुझ्न खोज्दा उनले यस्तो गैरजिम्मेवार जवाफ दिए कि पत्रकारिताको यो अवधिमा मैले पहिलो पटक अनुभव गरें।

पत्रकार शेरबहादुर केसीले घटनाबारे जानकारी दिन आग्रह गरे। केसीले कार्यकक्षमा नै बसेर कुरा गर्न अनुरोध गर्दै आफ्नो परिचय दिए। प्रहरी निरिक्षक पोखरेलले एकजना अपरिचीतलाई दखाए र भने, 'उहाँ पनि पत्रकार।' प्रहरी निरिक्षक पोखरेल टार्न वा बेवास्ता गर्न खोजिरहेका थिए।

तत्काल केसीले जवाफ दिए, 'हामी पत्रकारलाई होईन तपाईलाई भेट्न आएको।'

यसपछि  बल्ल उनी कुरा गर्न तयार भए।

घटनाबारे छोटो छोटो जवाफ दिएका पोखरेलको ध्यान जानकारी दिने थिएन, उनी अनिच्छाका साथ बोलिरहेका थिए। पटकपटक उठ्न खोज्थे। लाग्थ्यो, उनी निकै अप्ठ्यारोमा छन्।

उनको अप्ठयारो तिनै 'राजासाब' आएपछि फुक्यो। दौडिदै गाडी नजिक पुगेर राहतको स्वास फेरे। गाउँलेको पिटाईबाट कोदईलाई जोगाउन खोज्दा आफूमाथि हातपात गरेको बेली बिस्तार लगाए। पोशाकमा लगाईएको उनको नेमप्लेट र फिता च्यातिएको थियो।

भारतीय गाडीबाट ओर्लेका अशोकजंग राणा बढो ठाँटका साथ बोले, 'धन्दा नमान्नुस् ईन्सपेक्टर साव। अपराधीलाई कार्बाही हुन्छ।'

अर्का प्रहरीतर्फ हेर्दै उनले भने, 'सईसाब केही परे फोन गर्नुहोला।'

उनको प्रस्तुति हेर्दा लाग्थ्यो प्रहरी निरिक्षक पोखरेल त्यो घटनाका पिडीत हुन् अशोकजंग राणा उनका संरक्षक।

हुनसक्छ बेलाटारी एरियामा अशोक जंगहरुको राज चल्छ।

हो, मधेसमा काम गर्न केही कठिनाई छ। पछिल्ला केहीबर्ष यता मधेसमा फैलँदै गरेको राजनितीक अपराधीकरणबाट सुरक्षा संयन्त्र आफैं पनि असुरक्षित छ। मधेस सिमित व्यक्तिको प्रभाव र दबावमा छ। त्यसकारण पनि हुनसक्छ 'राजा साहब' प्रति प्रहरी निरीक्षकको त्यो भक्ति।

स्थानीयका अनुसार पहिलो दिन कोदई चमारकी श्रीमतीले आफूले बालकको खुट्टा समातेको र आफ्नो श्रीमान्‍ले घाँटी रेटेको बताएकी थिइन्। पछिल्लो दिन कोदईले श्रीमती घटनामा संलग्न नभएको बयान दिए।

पक्राउ परेका घटनामा संलग्न व्यक्तिहरुलाई पत्रकारसामु सार्वजनिक गर्दै प्रहरीले चिन्ता व्यक्त गरेको थियो। तर प्रहरीको चिन्ता अभियुक्तलाई कारबाही गर्नेबारे थिएन। गाउँमा कोदईको श्रीमतीसँगै परिवारको पुनर्स्थापना कसरी गराउने भन्नेमा प्रहरी चिन्तित थियो।

अशोक जंग राणाको अभिव्यक्ति र कोदईले दिएको बयान संयोग हो की?

कतै कोदईको परिवार र अन्य पक्राउ परेकाहरुलाई गाउँमा पुनर्स्थापित गराउने प्रहरीको चिन्ता पनि संयोग हो कि?

५ गते घटेको घटना सार्वजनिक भएको पनि ४ दिन बितीसकेको छ। प्रहरीले एकलौरा  हान्दा मानवअधिकार उल्लङ्घन भएको देख्ने मानवअधिकार आयोग र डलरे अधिकारवादीहरु बालकको बिभत्स तरीकाले घाँटी रेटेर हत्या हुँदा समेत एकशब्द बोलेका छैनन्।

जिल्लाका केही सभासदहरुले संसदमा घटनाबारे कुरा उठाएको बाहेक पुरै मुलुक बालक हत्या घटनाप्रति मौन छ। तर यो घटनाले मुलुक बदनाम भएको छ।

Read Full Discussion Thread for this article