Posted by: metta June 12, 2015
भूकम्प पीडितको राहतमा पनि र्‍याल
Login in to Rate this Post:     0       ?        

मरेको मान्छेको नाउँमा पनि राहत !

गोरखाबजार—भूकम्पपीडितका लागि अस्थायी बसोबासको प्रबन्धका लागि सरकारले उपलब्ध गराएको रु १५ हजार राहत रकमको गोरखामा व्यापक दुरुपयोग भएको पाइएको छ। 
गाउँ छाडेर अन्यत्रै बसाइँ सराइ गएकाहरुको नाउँमा र मरेका मानिसको नाउँमा पनि राहत रकम बाँडेको पाइएको हो।

महाभूकम्पको केन्द्रविन्दू बारपाक गाविसको छिमेकी घ्याच्चोक गाविस–३ का रुप्से गुरुङको भूकम्प आउनुअघि नै मृत्यु भइसकेकोमा उनको नाउँमा पनि गाउँलेले राहत सामग्री बुझेका छन्। रुप्सेका आफन्त घ्याच्चोकमा बस्दैनन्।

त्यस्तै रु १५ हजार राहत वितरणमा पनि अनियमितता भएको पाइएको छ। हार्भी गाविस–९ का हिराबहादुर सापकोटा र खड्कबहादुर सापकोटाले आफूहरु छुट्टिई भिन्न भइसकेको भनी झुठो बोलेर रु १५-१५ हजार राहत रकम बुझेका हुन्। हंशपुर, खरिबोट, छोप्राक, देउराली, मिरकोट, धुवाँकोटलगायत गाविसमा पनि राहत वितरणमा अनियमितता भएको पाइएको छ।

घरमा एकभन्दा धेरै दाजुभाइ हुनेले छुट्टिई भिन्न भएको भन्दै राहत रकम दाबी गर्दै आएका छन्। गाविस कार्यालयमा 'राहत पाऊँ' भन्दै नक्कली भूकम्पपीडितले बुझाएको निवेदनको चाङ् रहेको गाविस सचिवहरु बताउँछन्। सचिवहरुका अनुसार वडास्तरीय संयोजकहरुले नक्कली भूकम्पपीडितलाई सहयोग गरेका छन्। घर नभएकालाई पनि वडा संयोजकले सिफारिस दिएर राहत लिन योग्य बनाएको पाइएको छ।

केही गाविसमा भने जिम्मेवारी पाएका कर्मचारीले चौतारामा बसेर ध्वस्त घरधुरी सङ्ख्या अनुमान गर्ने र प्रतिवेदन जिल्ला दैवी प्रकोप उद्धार समितिमा बुझाउने गरेको भूकम्पपीडितले गुनासो गरेका छन्। गाविसका विभिन्न वडामा रहेका ध्वस्त घर प्रतिवेदनमा छुटेको पाइएको छ।

घ्याच्चोकका वीरबहादुर घलेका अनुसार गाउँमा राहत वितरण प्रक्रिया भद्रगोल छ। 'वास्तविक भूकम्पपीडितले राहत रकम पाएकै छैनन्' उनले भने– 'पहुँचवालाले अनेक बहाना बनाएर रकम बुझे।' राहत वितरणको जिम्मेवारी पाएर घ्याच्चोक गएका गोरखा नगरपालिकाका कर्मचारी ध्रुव घिमिरे घ्याच्चोक गाउँ पुगेका छैनन्। उनी मातहतका अन्य कर्मचारी घ्याच्चोक पुगेर राहत वितरण गरिसके। बिरामी भएकाले आफू घ्याच्चोक जान नसकेको घिमिरेले बताए।

जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले नक्कली भूकम्पपीडितले राहत बुझेको प्रमाणित भए पैसा फिर्ता ल्याउने र कारबाही गर्ने उल्लेख गरे।

'नक्कली भूकम्पपीडितले रकम बुझेको भन्ने विभिन्न ठाउँबाट गुनासो आएको छ', उनले भने, 'पुष्टि भयो भने पैसा फिर्ता लिएर कानुनअनुसार आवश्यक कारबाही गर्छौं।' रासस 
http://nagariknews.com/main-story/story/39658.html
Read Full Discussion Thread for this article