Posted by: _____ June 11, 2015
आमाबुवा दुवै उनी
Login in to Rate this Post:     0       ?        

आमाबुवा दुवै उनी



    rasuwa

    राम्चे (रसुवा), जेष्ठ २८ - कालिकास्थानबाट धुन्चेतिर जाँदा ग्राङ कटेपछि पहिरैपहिरो झरेको पहरो छ । मूलखर्कको त्यो पहिरोमा ढुंगा खस्छन् भनेर गाडीहरू उछिनपाछिन गर्दै कटिहाल्छन् । तिनले उडाउने बुङ्बुङ्ती धुलोले बेला–बेला टालिदिने आँखा पुछ्दै कमिस्या भने सुस्तरी पाइला चालिरहेकी थिइन् ।

    उनलाई पनि ज्यानको माया नभएको होइन । तर, छिटो–छिटो पाइला चाल्न रोकिदिएको थियो थाप्लाको भारीले । पच्चीस वर्षीया कमिस्या तामाङले पचास केजीभन्दा बढीको काँचो उत्तिसको बलो बोकेकी थिइन् । त्यो पनि तेर्सो पारेर नाम्लाले ।

    खुट्टा टेकेका ठाउँमा आँखा तिर्मिराउने भीर छ, पारि मैलुङ क्षेत्रका सबै डाँडा सोहोरिएर त्रिशूलीतिर झरेका छन् । महाभूकम्पले वीभत्स ढंगले भत्काएर रित्तै हिँड्दासमेत जस्तातस्ताको आङ सिरिङ्ग गर्ने सडकमा उनीसँग भारीको भारमात्र थिएन, साथमा थिए दुइटी नाबालक छोरी ।

    चार वर्षकी खुसी खुट्टा लर्बर्‍याउँदै हिँडिरहेकी थिइन् । डेढ वर्षकी निरुलाई बलोमा बाँधिएका दाउरामाथि राखेर काँधमा बोक्थिन् । अचाक्ली गलेपछि घरि–घरि भुइँमा झारेर डोर्‍याउँथिन् । हामीले भेट्दा एउटा झिक्रो हातमा खेलाउँदै निरु पनि टुकुटुकु हिँडिरहेकी थिइन् ।

    ‘काठ किन्ने पैसा छैन, आफ्नै खर्कबाट ल्याएको,’ बलो बिसाएर आरामको सास लिँदै कमिस्याले भनिन्, ‘भएको घर भुइँचालोले भत्कायो । कति पालमा बस्ने ? अरूको मुख ताकेर बन्दैन ।’

    ठाउँ–ठाउँमा चट्टान फुटाएर बनाएको सडक कतै–कतै साँघुरो छ । त्यसको चौडाइभन्दा लामो बलो भित्तामा ठोक्किएर आफैंलाई लडाउने डर उत्तिकै छ । त्यस्तो ठाउँ आए आफ्नै कुम फनफन घुमाउँदै मिलाउनु पथ्र्यो । त्यसमा उनी अभ्यस्थ भइसकेकी थिइन् ।

    किनकि, लगातार सात दिन भयो उनले यसरी बलो ओसारेको । ती बला उनले आफैं काटिन् । आफैं ताछिन् । आफैं बोकिन् । आफैं ल्याइन् । ‘दिनको एउटा ल्याउँछु’, उनले भनिन्, ‘थाम, निदाल, बलो, दलिनसमेत गर्दा अझै पचास वटाभन्दा बढी लाग्छ होला ।’ ती सबै आफैं ल्याइसक्न तम्सिएकी छन् उनी ।

    ‘लाठेलाई लगाउनु हो भने दिनको पाँच सय लिन्छन् । दिनमा दुईपल्टभन्दा ल्याउन भ्याउँदैनन्,’ उनले भनिन्, ‘त्यसरी बोकाउँदा त किनेजत्तिकै पर्छ । त्यत्रो खर्च गरेर घर बनाउने मेरो औकात छैन ।’ खर्कबाट काठ बोकेर ग्राङस्थित उनको घर पुग्न कम्तीमा ३ घण्टा लाग्छ । ‘ठ्याक्कै अढाइ घण्टा भयो,’ उनले भनिन्, ‘अब घर पुग्न आधा घण्टा लाग्छ ।’

    घर बनाउने मिस्त्री काम भने उनी गर्न जान्दिनन् । ‘जान्ने भए त्यो पनि अरूलाई लाउने थिइनँ,’ हिम्मतसाथ भनिन्, ‘तर जान्दैन । त्यसमा लाग्ने पैसा बूढाले पठाउनुहुन्छ ।’

    उनका श्रीमान् कतारमा काम गर्छन् । उनी उता गएको असारमा वर्ष दिन पुग्छ । अरूका घरमा महिलाले बस्तुभाउ हेर्छन् । बालबच्चा सम्हाल्छन् । मेलापात धान्छन् । घर बनाउने काममा पुरुष नै भिड्छन् । पति विदेशमा भएकाले कमिस्यालाई भने दुवै दायित्व आइलागेको छ । ‘अचेल बाउ पनि उही हो,’ स्थानीय ८४ वर्षीय उर्प स्याङ्बाले भने, ‘आमा पनि उही ।’

    यसो गर्न न उनलाई रहर थियो, न उनका श्रीमान्लाई । ‘के गर्नु, अर्काको देशमा जानुभएको छ, भनेको बेला बिदा दिँदैन रे,’ उनले भनिन्, ‘भुइँचालो गएको दिनदेखि सधैं फोन गर्दै रुँदै गर्नुहुन्छ । मलाई पनि रुन त मन लाग्छ । तर, उहाँलाई पीर नपरोस् भनेर म चैँ रुन्नँ ।’ भएको जग्गामा फल्ने मकै र कोदोले तीन महिना पनि खान पुग्दैन । ‘विदेश नगएर के गर्ने ?’ बाध्यता सुनाइन्, ‘त्यही भएर जानुभयो ।’

    श्रीमान्‌को नाम सोध्दा लाजले मुन्टो लुकाइन् । फर्किएर एकछिनमा सोधिन्, ‘भन्नैपर्छ र ?’ आग्रह गरेपछि बल्ल भनिन्, ‘छोम सेनम ।’

    छोम सेनमलाई पीर पर्नुको अर्को कारण पनि छ । महाभूकम्पले घर भत्कायो । सानी छोरीसँग कमिस्या बाहिरै थिइन् । सासू–ससुरा पनि बाहिरै थिए । घरभित्र एक्लै खेलिरहेकी चार वर्षीया खुसी भने घरसँगै लडिन् । त्यसमै पुरिइन् । उनले हारगुहार गरी खोस्रिएर १० मिनेटभित्रै निकालिन् र बचाउन सकिन् ।

    समयमै उद्धार गरिए पनि खुसी निकै घाइते भइन् । उपचार गर्न उनले गल्छीको बाटो हुँदै चितवन पुर्‍याइन् । ‘जीउमा लागेका चोट त

    करिब–करिब निको भए । आँखा अझै ठीक भएन । काठमाडौंमा तिलगंगा अस्पतालमा लगें, तीन महिनामा अपरेसन गर्ने भनेको छ,’ कमिस्याले भनिन् ।

    उनको एउटा आँखाबाट पीपजस्तो बगिरहन्छ । अलि–अलि मात्र देख्छिन् । तर धुलो उडाउँदै गाडीहरू दौडिरहेको कच्ची सडकमा आँखामा कडा संक्रमण भएकी खुसीको बाध्यता छ, खुसीसाथ खेल्दै आमालाई पछ्याइरहनु । ‘साथमा नलगेर कहाँ छोड्नु ?’ कमिस्याले सुनाइन्, ‘सासू–ससुरा बूढाबूढी हुनुहुन्छ । हेर्न सक्नुहुन्न ।’

    गाउँमा कति संस्था राहत लिएर आए । कोही जस्ता बाँड्न आए । कमिस्याले हात थाप्न कहिल्यै भ्याइनन् । ‘मागेर एक पेट भरिएला । तर, घर बन्दैन,’ उनले भनिन्, ‘बर्खा लाग्यो । बालबच्चा र बाउ–आमालाई कहाँ सुताउने ? राहत त माया भए छरछिमेकीले पनि राखिदिन्छन् ।’

    एउटी आमाको काँध कतिसम्म बलियो हुन्छ ? ‘यो त ज्याद्रो छे,’ कमिस्यासँगै दाउरा र सिस्नोको भारी लिएर फर्किइरहेकी छिमेकी दिदी शैली याङ्बाले भनिन्, ‘म भए यत्रो काम गर्न सक्दैनथ्यो ।’

    करिब आधा घण्टा हामीसँग कुरा गर्दा कमिस्यालाई हतार भइसकेको थियो । घरमा सासू–ससुरा, बस्तुभाउ भोकाए होलान् । साथमा रहेका विचरा नानीहरूले भोक लाग्यो भनेको निकै बेर भइसक्यो । बाँकी कुरा बोल्दै निरुलाई काखमा च्यापिन् । बलोको नाम्लो उसरी नै थाप्लामा अड्याइन् । विस्तारै काखबाट काँधतिर सारिन् । अनि, पाइला सुस्तरी ओरालो झारिन् ।

     

     

    Read Full Discussion Thread for this article