Posted by: metta June 5, 2015
विद्यार्थी पालमा, प्रधानमन्त्रीलाई अटेर गर्दै शिक्षामन्त्री विदेश शयरमा
Login in to Rate this Post:     0       ?        
विद्यार्थी पालमा, प्रधानमन्त्रीलाई अटेर गर्दै शिक्षामन्त्री विदेश शयरमा 05 Jun 2015 | शुक्रबार २२ जेष्ठ, २०७२ रुबी रौनियार

शिक्षामन्त्री चित्रलेखा यादव। शिक्षामन्त्री चित्रलेखा यादव।

काठमाडौं-भूकम्पले भवन भत्काइदिएपछि अहिले लाखौं विद्यार्थी त्रिपाल–कक्षामा विपत्तिका पीडा बाँडिरहेका छन् तर शिक्षामन्त्री चित्रलेखा यादव भने श्रीमान र छोराछोरी लिएर विदेश शयरमा मस्त छिन्। ‘विपदका बेला विदेश घुम्न नजान' प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक दिएका निर्देशन अवज्ञा गर्दै उनी वैशाख १२ यता तीन देश घुमिसकेकी छन्। 

पछिल्लोपटक जेठ १८ गते मन्त्रालयसँग असम्बन्धित महिलासम्बन्धी कार्यक्रममा भाग लिन डेनमार्क पुगेकी उनी २४ गते मात्र फर्कंदै छिन्।

पछिल्लो भ्रमणका लागि मन्त्री यादवले गत बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालासँग अनुमति मागेकी थिइन्। ‘प्रधानमन्त्रीले तपाईं यस्तो बेला नजानुस्, शिक्षाक्षेत्र लथालिंग छ, त्यसको व्यवस्थापनमा लाग्नुस् भन्नुभएको थियो,' बिहीबारको बैठकमा उपस्थित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नागरिकसँग भने, ‘उहाँ प्रधानमन्त्रीलाई फकाउन थाल्नुभयो। मलाई त जानुहुन्नजस्तो लागेको थियो तर विपदका बेला शिक्षाक्षेत्र लथालिंग छाडेर जानुभयो।' 

मन्त्री यादवको ‘अपरिहार्य भ्रमण' को जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने पण्डितले जिकिर गरे। 
वैशाख १२ को भूकम्पलगत्तै १३ गतेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालाले विपदमा सहयोग हुने कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रममा विदेश नजान मन्त्रीहरुलाई निर्देशन दिएका थिए। असारसम्म विदेश नजान उनको विशेष निर्देशन थियो।

६ हजारभन्दा बढी विद्यालय ध्वस्त भएको र हजारौं विद्यार्थीको पढाइ बिथोलिएको समयमा उनी आफूसँग असम्बन्धित कार्यक्रममा भाग लिन कहिले श्रीमान, कहिले छोरी त कहिले छोरालाई लिएर घुमिरहेकी छिन्। मन्त्री यादव वैशाख १२ को भूकम्पपछि पहिले कोरिया, त्यसपछि चीन र अहिले डेनमार्क पुगेकी हुन्।
‘शैक्षिक वातावरण सामान्य पार्ने चुनौती रहेका बेला उहाँ परिवारका कुनै न कुनै एक सदस्य लिएर विदेश भ्रमण गरिरहनुभएको छ', शिक्षा मन्त्रालय स्रोतले नागरिकसँग भन्यो, ‘नजाँदा पनि हुने कार्यक्रममा उहाँ गइरहनुभएको छ।'

मन्त्री यादव विपदको समयमा भूकम्प प्रभावित जिल्लामा गएर शिक्षा क्षेत्रको समग्र विकासबारे अनुगमन, नियमन गरी विद्यालय पुनर्सञ्चालनबारे संवेदनशील हुनुपर्नेमा विदेश मोहमा फसेको मन्त्रालयका कर्मचारी बताउँछन्।

पछिल्लोपटक उनी छोरा अभिनवलाई लिएर जेठ १८ गते डेनिस सरकारको निम्तोमा ‘इन्टरनेसनल कन्फरेन्स इन वुमन इन पोलटिक्स' कार्यक्रममा सहभागिता जनाउन डेनमार्क गएकी छन्। उनी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्री यादवका निजी सचिव रामप्रसाद अधिकारीले जानकारी दिए। 
‘यो कार्यक्रम जेठ २० देखि २१ गतेसम्म हो,' निजी सचिव अधिकारीले भने, ‘मन्त्रीज्यू जेठ २४ गते मात्र फर्कने कार्यक्रम छ।' भूकम्प प्रभावित जिल्ला नगए पनि मन्त्री यादव काठमाडौंको एक स्कुल पुगेको अधिकारीले जनाए।

दुई दिनको कार्यक्रमको निहुँमा मन्त्रीले साताभन्दा बढीको समय घुमफिरमा बिताएको मन्त्रालयकै एक अधिकारीले जानकारी दिए। ‘उहाँ यस्तो बेला पनि विदेशमा रमाइरहनुभएको छ,' ती अधिकारीले भने। 

मन्त्री यादव प्रधानमन्त्रीको निर्देशन अटेर गर्दै पहिलोपटक जेठ ४ गते युनेस्कोको कार्यक्रममा भाग लिन कोरिया गएकी थिइन्। त्यसलगत्तै चीन। भ्रमणमा उनका पति डा. श्रीकृष्ण यादव र छोरी थिए। 
भूकम्पपछि मन्त्री यादव कोरिया, चीन र डेनमार्क गएको मन्त्रालयको वैदेशिक सहायता शाखाले पुष्टि गरेको छ। मन्त्रालय स्रोत भने मन्त्री यादवले आफूलाई बोलाउने देश, संस्था र आयोजकसँग परिवारका सदस्यहरुका लागि समेत टिकट झिकाउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिने गरेको बताउँछ।
सरकारका प्रवक्ता मीनेन्द्र रिजालले शिक्षा मन्त्रालयकै प्रस्तावमा मन्त्री यादव विदेश गएको बताउँछन्। उनले शिक्षा मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरेपछि शिक्षामन्त्री विदेश गएको जानकारी दिए।

मन्त्रालयका अधिकारी भने मन्त्रीकै आदेशमा विदेश भ्रमणको टिप्पणी उठाएर मन्त्रिपरिषदमा पठाउँछन्। शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले डेनमार्क सरकारको निम्तोमा मन्त्री यादव दुई दिनको कार्यक्रममा गएको जनाए। उनले मन्त्रिपरिषद निर्णयबारे मन्त्रालयका कर्मचारीलाई केही जानकारी नहुने बताए। 
‘मन्त्रिपरिषद निर्णय मन्त्रीसम्मै सीमित हुन्छ। हामीलाई थाहै हुँदैन,' प्रवक्ता लम्सालले नागरिकसँग भने, ‘शिक्षामन्त्री कहाँ जानुहुन्छ, के कार्यक्रममा जानुहुन्छ, किन जानुहुन्छ, हामीलाई थाहै हुँदैन।' उनले थपे, ‘मन्त्रीज्यूले विदेश भ्रमणको प्रस्ताव तयार गरी मन्त्रिपरिषद पठाउनू भन्ने निर्देशनको हामीले पालना गर्नुपर्छ।'
‘विदेशी दातृ निकायले मन्त्रीज्यूको मात्र विदेश भ्रमणको निमन्त्रणा दिने गरेको भए पनि उहाँले आफ्ना निकट सहसचिवमार्फत श्रीमान, छोरा वा छोरीको समेत टिकटको निःशुल्क व्यवस्था गराइदिन भन्न लगाउने गर्नुभएको छ,' मन्त्रालयका एक अधिकारीले भने, ‘नजिकका सहसचिवज्यूहरुले मन्त्रीको निर्देशन पालना गर्नैपर्छ। त्यही भएर मन्त्रीज्यूको हरेक विदेश भ्रमणमा श्रीमान, छोराछोरी साथमा हुन्छन्।'

मन्त्रालयका अनुसार भूकम्पबाट ४९ जिल्लाका १९ हजार २ सय ८९ विद्यालयमध्ये ६ हजार ९ सय २ विद्यालय भूकम्पबाट प्रभावित छन्। १६ हजार ४ सय ७५ कक्षाकोठा पूर्ण क्षति भएको छ। ७ हजार २ सय ६६ कक्षाकोठा अधिक क्षति र १२ हजार ६ सय १३ कक्षाकोठामा सामान्य क्षति पुगेको छ। 

यसैगरी, २ हजार १ सय ६ शौचालय, १ हजार ४ सय ५९ विद्यालयको पर्खाल र १ हजार ३ सय ६३ विद्यालयको खानेपानी पाइपमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ।
‘भूकम्पका कारण विद्यालयमा ठूलो क्षति पुगेको छ। देश विपदमा छ। समग्र शिक्षा क्षेत्रै लथालिंग छ,' शिक्षा मन्त्रालयका एक सहसचिवले नागरिकसँग भने, ‘मन्त्रीज्यूमा शैक्षिक क्षेत्र व्यवस्थापन गर्ने कार्यमा लाग्नुभन्दा पनि विदेश भ्रमणको मोह बढी रहेको हामीलाई अनुभव भएको छ।'

ती सहसचिव थप्छन्, ‘मन्त्री यादव क्षतिग्रस्त जिल्लामा गएर विद्यालयको क्षतिबारे अनुगमन गरी अब नयाँ तरिकाबाट कसरी शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्ने कार्यक्रममा लाग्नुभन्दा उहाँ उपलब्धिहीन कार्यक्रममा गएर समय खेर फालिरहनुभएको छ।' मन्त्री यादव हालसम्म कुनै पनि भूकम्पबाट प्रभावित जिल्लामा अझैसम्म गएकी छैनन्।
मन्त्रालयका उपसचिव दीपक शर्माले मन्त्री यादवको चीन र कोरियाको भ्रमण युनेस्कोले मिलाएको जानकारी दिए। उनका अनुसार जेठ ४ गतेको विदेश भ्रमण विश्व शिक्षा फोरमको कार्यक्रममा भाग लिन थियो।

http://nagariknews.com/politics/story/39178.html
Read Full Discussion Thread for this article