Posted by: metta June 3, 2015
न्यायपालिका?
Login in to Rate this Post:     0       ?        

गुप्ता फैसलामा दर्जनौं नजिर कुल्चिए

काठमाडौं- जिल्ला अदालत, काठमाडौले आफैले बनाएका दर्जनौं नजिर कुल्चँदै व्यापारी अपहरण मुद्दामा पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सबैभन्दा कम सजाय दिने फैसला गरेको छ। अपहरण मुद्दामा ७ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था भए पनि जिल्ला अदालतले साढे तीन वर्ष मात्र सजाय हुने फैसला सुनाएको हो।

१७ वर्ष जेलसजाय माग गरिएको सरकारवादी मुद्दामा आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला गरेको हो। अपहरणमा काण्डमा संलग्न मुख्य योजनाकारका रुपमा सरकारी वकिलको कार्यालयले दाबी गरेको मुद्दामा जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले उद्योगको रुपमा देखिएको तथा योजनाकार ठहर भएको भन्दै अपहरण कसुरको आधा सजायभन्दा कम तीन वर्ष मात्र कैद हुने फैसला सुनाएका हुन्। सरकारी वकिलको कार्यालयले अपहरण कसुरअन्तर्गत ७ देखि १५ वर्ष कैद र डाँका मुद्दामा थप दुई वर्ष कैद हुनुपर्ने मागदाबी गरे पनि शर्माले ती सबै मागलाई अस्वीकार गर्दै अपहरण उद्योग मात्र देखिएको प्राविधिक पक्षमा टेकेर यस्तो फैसला सुनाएको देखिन्छ।

गुप्ताका सहयोगी आकाश लामा र जितबहादुर लामालाई पनि साढे दुई वर्ष मात्र जेल सजाय तोकिएको छ। उनका अरु सहयोगी अमिर आचार्य, किशोर पाण्डे र आरजु सुब्बा भनिने विष्णु लक्ष्मणलाई आरोपबाट सफाइ दिइएको छ।

व्यवसायी पवन संघाईको अपहरण र शरीरबन्धक मुद्दामा गुप्तालाई साढे तीन वर्ष मात्र जेल सजाय तोक्ने काठमाडौं जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ता कार्यालयले आश्चर्य प्रकट गरेको छ।
२०६५ साल भदौमा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरणमा संलग्न कृष्णछारा राई, सिद्धार्थ लामा र सहयोगीहरु हेमबहादुर मगर र राजु लामालाई जिल्ला अदालतले माघ ११ गते मुद्दा फैसला गर्दै जनही २२ वर्ष जेलसजाय हुने निर्णय सुनाएको थियो। अदालतले अपहरणका मुख्य योजनाकार राई र लामालाई अपहरण तथा शरीरबन्धकमा १६ वर्ष र डाँका मुद्दामा ६ वर्ष गरी कुल २२ वर्ष सजाय हुने निर्णय सुनाएको थियो। उनीहरुलाई २६ लाख जरिवाना गर्ने फैसलासमेत गरेको थियो। ०६५ साउन १९ गते देवकेाटाकी छोरीलाई काठमाडौंको खड्काभद्रकालीको हेपालीहाइटबाट अपहरण गरी ललितपुरको नक्खुमा राखेर १ करोड ३० लाख फिरौती लिएर छाडिएको थियो। अपहरणको मतियारका रुपमा काम गरेको अभियोगमा जिल्ला अदालतले मगरलाई १५ र लामालाई २०६७ माघ १२ गते १३ वर्ष सजाय दिने फैसला गरेको थियो।

२०६५ मंसिर १० गते अपहरणमा परेका दुई कुखुरा व्यापारी निरज कक्षपती र बाबुराराजा रावलको अपहरणमा संलग्नलाई पनि जनही १२ वर्ष सजाय हुने फैसला सुनाइएको थियो। अपहरणपछि पाँच दिनसम्म बन्धक बनाएर १ करोड ५० लाख फिरौती तिरेर उनीहरु छुटेका थिए। 

व्यापारीको अपहरणमा मुम्बई अन्डरवर्ल्डका सदस्य उदय सेट्ठी र उनको समूहका प्रह्लाद महत, विकास कार्की, विष्णुबहादुर जिसी र मनदीप गुरुङलाई १२ वर्ष कैद सुनाइएको थियो। अपहरणमा संलग्न भन्दै १० वर्ष र अपहरणका लागि समूह नै बनाएकाले थप २ वर्ष कैद थप हुने निर्णय अदालतले सुनाएको थियो। न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले सेट्ठीलगायतलाई यस्तो फैसला गरेको थियो।
नयाँदिल्ली बसेर नेपालमा अपहरणकारी समूह परिचालन गर्ने सेट्ठीलाई प्रहरीले २०६५ पुसमा पक्राउ गरी माघमा मुद्दा दायर गरेको थियो। तर जिल्ला अदालतले यस्ता दर्जनौं नजिरविपरीत अपहरण मुद्दामा निर्णय सुनाएको भन्दै सरकारी बकिलको कार्यालयले असन्तुष्टि व्यक्त गरेको हो।

‘हामी फैसलाबाट आश्चर्यचकित छौं र यो निर्णयको पूर्ण पाठ प्राप्त गरेपछि सरकारी वकिलको कार्यालय पुनरावेदनमा जानेछ,' महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता गोपालप्रसाद रिजालले भने।
अदालतले मुख्य अभियुक्त योजनाकार र सहयोगीलाई बराबरी जेलसजाय तोक्नु अनौठो रहेको उनले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले गुप्ताविरुद्ध अधिकतम १७ वर्ष जेलसजाय माग गरेको थियो। गुप्तामाथि अपहरणको मुख्य योजनाकार भएका कारण १५ वर्ष र अपहरणकारी गिरोहको सदस्य भएबापत दुई वर्ष गरी १७ वर्ष सजाय माग अभियोगपत्रमा गरिएको थियो।

जिल्ला अदालतको फैसला हेर्दा न्यायाधीशको कार्यक्षमता अभाव देखिएको कानुनविदहरुले टिप्पणी गरेका छन्। ‘महान्यायाधिवक्ताको कार्यालयले अपहरणको योजनाकारका रुपमा जिकिर गरिरहेको अवस्थामा उद्योगअन्तर्गत कसुर ठहर गर्न मिल्दैन,' एक कानुनविदले भने, ‘कि त अभियुक्तको संलग्नता नदेखिएको भनी सफाई हुनुपर्ने हुन्छ, होइन भने मूल अभियोगमै ठहर हुनुपर्छ।'

यसअघिका विभिन्न फैसलाका नजिरहरुलाई हेर्दासमेत यस्तै देखिएको छ। सर्वोच्च अदालतको नभई काठमाडौं जिल्ला अदालतको विभिन्न समयमा भएका फैसलाहरु हेर्दा पनि यस्तै देखिन्छ। सुरु जिल्ला अदालतले अपहरण मुद्दामा १० वर्षभन्दा कम जेलसजाय फैसला गरेको देखिँदैन। अपहरण सँगसँगै डाँका र शरीरबन्धकमा समेत सजाय गर्ने गरेको देखिन्छ। तर यी सबै फैसलाविपरीत जिल्ला अदालतले गुप्ताको मुद्दामा फैसला गरेको देखिन्छ। 
फैसलाको पूर्णपाठ तयार नभए पनि गुप्ता लगायत व्यक्तिहरुलाई मूल अभियुक्तको रुपमा नदेखिएको झै जिल्ला ठहर गरेको देखिएको महान्यायाधिवक्ता कार्यालयले बताएको छ। 
‘हामीलाई फैसलाको पूर्ण पाठ समयमै आउँछ भन्ने आशा छ, त्यसपछि पुनरावेदन गर्ने वा नगर्ने निर्णय गर्न सक्नेछौं,' रिजालले भने, ‘पुनरावेदनले त्यसलाई पुनः सुनुवाइ गरी जिल्लाको फैसला उल्टाउने विश्वास रहेको छ।'

आर्या फार्मास्युटिकल्सका मालिक संघाईलाई राजधानीको कमलादी गणेश मन्दिरबाट २०६८ पुस ७ गते अपहरण गरिएको थियो। संघाई परिवारले ८५ लाख रुपैयाँ फिरौती बुझाएपछि उनी २०६८ पुस २७ गते मुक्त भएका थिए।

अपहरणकारीले फिरौतीका रुपमा ८५ लाख रुपैयाँ लगेको प्रमाण प्रस्तुत गरिएको भए पनि अदालतले गुप्ता र अन्यलाई जनही १ लाख रुपैयाँ मात्र जरिवाना गर्ने फैसला गरेको छ। गुप्तालगायतविरुद्ध २०६८ माघमा अपहरण मुद्दा दायर गरिएको थियो।

http://nagariknews.com/main-story/story/39115.html
Read Full Discussion Thread for this article