Posted by: _____ April 28, 2015
भारतीय हवाई टोली हाम्रो प्राथमिकताअनुसार भन्दा पनि आफ्नो प्राथमिकताअनुसार परिचालन भइरहेका छन्,' अधिकारीले भने
Login in to Rate this Post:     0       ?        

राहत विमानस्थलमा, पीडित भोकै

(0 votes)
काठमाडौं- शनिबारबाट लगातार आएको भूकम्पमा परी ४ हजार ७ सय ३१ जनाको ज्यान गएको पुष्टि भएको छ । मंगलबार बेलुकीसम्म प्राप्त विवरणअनुसार ९ हजार २ सय ३९ घाइते छन् । ३१ जिल्लामा १२ हजार ५ सय ६९ वटा घर ध्वस्त भएका छन् ।

 भूकम्प प्रभावित ३१ जिल्लामा सरकारले खोजी तथा उद्धार र राहत वितरणमा सुरक्षाकर्मी, सरकारी कर्मचारीसँगै अन्तर्राष्ट्रिय समूह परिचालन गरेको छ । गृहका अनुसार भूकम्प प्रभावित क्षेत्रमा ५० हजारभन्दा बढी सुरक्षाकर्मी, १२ देशका खोजी तथा उद्धारका अनुभवी अन्तर्राष्ट्रिय टोली र स्वास्थ्यकर्मी खटिएका छन् ।


हवाई सेवासहित भारतीय टोली परिचालित छ । नेपाली सेनाको ५, भारतको ६ र निजी एक हेलिकप्टर पीडितको उद्धारमा परिचालन गरिएको छ । तर, बढी प्रभावित ८ जिल्लामा समेत भूकम्पपीडित र प्रभावित समूहले सरकारको उपस्थितिको आभास पाएका छैनन् ।

सिन्धुपाल्चोक, रसुवा, जिरी, रामेछाप र नुवाकोटका स्वास्थ्य संस्थाहरूमा पूर्ण क्षति भएको गृहले जानकारी दिएको छ । सिन्धुपाल्चोक बाहेक अन्य क्षेत्रमा केन्द्रबाट स्वास्थ्य टोली पुग्न सकेको छैन ।

भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि सरकारले सबै शक्ति खर्चिएको जनाए पनि खोजी, उद्धार र राहतको काम सुस्त छ । पीडितहरूलाई सेवा प्रवाह गर्न प्रभावित क्षेत्रमा २ हजार ३ सय ४५ वटा सेवा प्रवाह एकाइ बनाइएको छ । ती एकाइको प्रभावकारिताको नमुनाका रूपमा उपत्यकामा सञ्चालित १६ केन्द्रको अस्तव्यस्त अवस्था काफी छ ।

सरकारका सबै शक्ति र अन्तराष्ट्रिय समूह उपत्यकाकेन्द्रित छन् । तर, भूकम्प गएको चौथो दिनसम्म गोंगबु, साँखु, गागलफेदी, माछापोखरी, साँखु, नाङ्लेभारे र असनका भग्नावशेष हटाइएको छैन । ती क्षेत्रका भग्नावशेषमा कति पुरिएका छन् पत्तो छैन । सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा र काभ्रेका भूकम्प प्रभावित अधिकांश क्षेत्रमा न खोजी तथा उद्धार टोली पुगेको छ न कुनै राहत ।

गृहमन्त्रालयको तथ्यांकअनुसार सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, गोरखा, नुवाकोट धादिङ, काभ्रे र दोलखामा सुरक्षाकर्मी, उद्धारमा सघाउन आएको अन्तराष्ट्रिय समूह र स्वदेशी तथा विदेशी स्वास्थ्यकर्मी परिचालन बढाएको दाबी गरे पनि मन्त्रालयकै तथ्यबाट उनीहरू सुगम क्षेत्रमै बढी केन्द्रित रहेको देखियो । भूकम्पको प्रलय गराएको चौथो दिनसम्म सबैभन्दा प्रभावित गोरखाको लाप्राकमा सरकारी टोली पुगेको छैन । रसुवाबासीले अझै सरकारी प्रतिनिधिको मुहार देख्न पाएनन् ।

उपत्यकासँग सहज सडकमार्ग जोडिएकोे सिन्धुपाल्चोक र काभ्रेका पीडित बारीको पाटामा छन् । भत्किएका घरभित्र पुरिएका शव र पशु कुहिएर गन्ध फैलन थाले पनि सिन्धुपाल्चोकमा उद्धार टोली पुगेको छैन ।

पीडितहरू खाली ठाउँमा भोकभोकै छन् । सरकारले उनीहरूका लागि संकलन भएको राहत सामग्री विमानस्थलमा थन्किएको छ । राहत र उद्धारमा सरकारलाई सघाउन आएका अन्तराष्ट्रिय टोलीलाई प्रभावित जिल्लामा प्रभावकारी रूपमा परिचालन गर्न सरकार असफल देखिएको छ ।

गृहका अधिकारीहरू यस विषयमा बोल्न चाहँदैनन् । एक अधिकारीले पूर्वतयारीको अभावमा भूकम्प प्रभावित क्षेत्रमा सरकारी सुविधा प्रभावकारी हुन नसकेको स्वीकार गरे ।

प्रभावित क्षेत्रको अवस्थाअनुसार वर्गीकरण, आवश्यक सेवाको सूची र सोहीअनुसारको टोली परिचालनमा समन्वय हुन नसक्दा सरकारी काम प्रभावकारी नदेखिएको उनको भनाइ छ ।

पर्याप्त हवाई सेवा नभएको र भारतबाट आएको हेलिकप्टरसमेत सरकारको प्राथमिकताअनुसार परिचालन गर्न समस्या आएको ती अधिकारीले जानकारी दिए । 'भारतीय हवाई टोली हाम्रो प्राथमिकताअनुसार भन्दा पनि आफ्नो प्राथमिकताअनुसार परिचालन भइरहेका छन्,' ती अधिकारीले भने ।

कहाँ कस्तो प्रभाव ?

गृहमन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पूर्वका १६ मध्ये ६ जिल्ला भूकम्पबाट प्रभावित देखिएका छन् । ओखलढुंगा, सोलुखुम्बु र सुनसरीबासी सबैभन्दा बढी प्रभावित छन् । ती क्षेत्रमा भूकम्पले २३ सय घर ध्वस्त बनाएको छ ।

मध्यक्षेत्रमा १५ जिल्ला प्रभावित भएका छन् । तीमध्ये सिन्धुपाल्चोकमा बढी मानवीय र भौतिक विनास भएको छ । सिन्धुपाल्चोकमा उद्धार टोली फाट्टफुट्ट मात्रै पुगेका छन् ।

नुवाकोट, धादिङ, रसुवा, काभ्रे, दोलखा, मकवानपुर, रामेछापको अवस्थासमेत उस्तै छ । ती जिल्लामा मृतक र घाइतेको संख्या उच्च छ भने राहत वितरण र उद्धार कार्य सुस्त । ती क्षेत्रमा ३ हजार ५ सय ३३ घर ध्वस्त भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

पश्चिम क्षेत्रका १५ मध्ये ५ जिल्ला भूकम्पबाट बढी प्रभावित छन् । शनिबार आएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखामा धेरै जनधन क्षति भएको छ । गृहका अनुसार मंगलबार बेलुकासम्म गोरखामा ३ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

गोरखाको सबैभन्दा प्रभावित क्षेत्र बारपाकमा भूकम्प गएको चौथो दिन मंगलबार मात्रै उद्धार टोली पुगेको छ । लारपार्कमा भने अझै उद्धार टोली पुग्न सकेको छैन ।

कास्की, तनहुँ लमजुङमा भूकम्पले सामान्य क्षति पु¥याएको छ । ४ हजार घर भत्किएका छन् । मध्यका रुकुम र रोल्पामा २ जनाको मृत्यु भएको छ । त्यहाँका ६ सय घर भत्किएका छन् । भूकम्पबाट सुदूरपश्चिमका जिल्लामा कुनै प्रभाव परेन । केही जिल्लामा १३ घरमा आंशिक क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

उपत्यकाका तीनवटै जिल्ला भूकम्पको चपेटामा परे । काठमाडौंमा सबैभन्दा धेरै मारिए । मंगलबार बेलुकासम्म प्राप्त विवरणअनुसार काठमाडौंमा मारिनेको संख्या १ हजार नाघेको छ । भक्तपुरमा २ सय ४६ जनाको मृत्यु पुष्टि भएको छ भने ललितपुरमा १ सय ५९ जनाको मृत्यु भएको छ ।

उपत्यकाका तीन जिल्लामा करिब सय हाराहारीका घर भत्किएका छन् । काठमाडौंमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुगेको छ । गाेंगबुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय समूह खोजी र उद्धारमा खटिँदा १ जनाको सकुशल उद्धारबाहेक उल्लेख्य उपलब्धि भएको छैन । प्राचीन सहर साँखु भूकम्पबाट ध्वस्त छ ।

१७ विदेशीको मृत्यु

भूकम्पमा परी १७ विदेशी नागरिकको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रधान कार्यालयका अनुसार मंगलबारसम्मको विवरणअनुसार ७ भारतीय, ४ अमेरिकी, एक जापानी, एक चिनियाँ, २ अस्ट्रेलियाली र २ फ्रान्सेली नागरिकको शव फेला परेको छ । तीमध्ये काठमाडौंमा ९, सोलुखुम्बुमा ७ र मकवानपुरमा १ जनाको मृत्यु भएको हो ।

४० हजार सुरक्षाकर्मी खटिए

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको परिचालनलाई ८ जिल्लाकेन्द्रित गरिएको छ । ती जिल्लामा नेपाली सेनाबाट १५ सय परिचालित छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ४ सय ३८ सैनिक खटिएका छन् । सशस्त्र प्रहरी बलबाट ४८ जिल्लामा १६ हजार ८ सय सुरक्षाकर्मी खटिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार राहत वितरण र उद्धारमा २५ हजार प्रहरी खटिएका छन् । प्रधान कार्यालयका अनुसार अपराध अनुसन्धानमा आवश्यक पर्ने बाहेकका अन्य जनशक्ति उद्धार र राहत वितरणमा परिचालन गरिएको छ ।

३ लाखले उपत्यका छाडे

उपत्यकामा निरन्तर भूकम्प आएपछि उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार शनिबारदेखि मंगलबारसम्ममा ३ लाखभन्दा बढीले उपत्यका छाडिसकेका छन् ।

मानिसहरू बस, ट्रक, निजी सवारीसाधनसँगै पैदलसमेत उपत्यकाबाट बाहिरिँदैछन् । महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरबाट मंगलबार १ लाख ३१ हजार जना बाहिरिए ।

चन्दका अनुसार मंगलबार बेलुका ६ बजेसम्म ९ सय १६ वटा बस उपत्यकाबाट बाहिरिएका छन् । यात्रु बोकेर मंगलबार २ सय ४३ ट्रक, ८ सय ९७ माइक्रोबस, १ हजार ७ सय ३७ साना सवारीसाधनले उपत्यका छाडेका छन् । २ हजार १ सय ६१ मोटरसाइकल र ७२ वटा भारतीय गाडी पनि उपत्यकाबाट बाहिरिएको उनले जानकारी दिए ।

उपत्यका छाड्ने यात्रुको संख्या बढेसँगै सवारीसाधनले मनपरी भाडा असुल्न थालेका छन् । तोकिएको दरभन्दा चौबरसम्म भाडा असुलेको घटना बढेपछि नियन्त्रणका लागि प्रहरी परिचालन बढाइएको छ ।

ट्राफिक महाशाखाले बढी भाडा लिने सवारीसाधन अनुगमनका लागि मंगलबारबाट महाराजगन्ज, गौशाला, कोटेश्वर, कलंकी, बसपार्कमा डिएसपीको कमान्डमा टोली खटाएको छ । सो टालीले मंगलबार ३१ जनालाई कारबाही गरेको थियो । तोकिएको भन्दा बढी भाडा असुले प्रहरीको १०० र ट्राफिकको १०३ मा जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

अन्तर्राष्टिय टोली उपत्यकाकेन्द्रित

भूकम्पबाट प्रभावितको खोजी र उद्धारमा सघाउन आएका विभिन्न देशका उद्धारकर्मी र स्वास्थ्यकर्मी काठमाडौं उपत्यका र उपत्यकानिकट जिल्लामा बढी परिचालित छन् ।

गोंगबु क्षेत्रमा सबैभन्दा धेरै टोली खटिएका छन् । काठमाडौंको बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला र धरहरा क्षेत्रमा भारतीय, बालाजु क्षेत्रमा श्रीलंकाली, बालाजु, डल्लु र कपनमा चिनियाँ, बालुवाटार, ग्रिनल्यान्ड होटल, महाराजगन्ज, भोटाहिटी, असन, पकनाजोल र उपत्यका बाहिर धुलिखेल, काभ्रेपलाञ्चोकमा टर्कीका उद्धारकर्मी खटिएका छन् ।

८ वटा स्निफर कुकुरसहित आएको नेदरल्यान्डको टोली भग्नावशेषभित्र पुरिएका जीवित व्यक्ति खोज्न मंगलबार नमुना टोल, धापासी, नेसनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, ठमेल क्षेत्रमा खटिए पनि सकारात्मक उपलब्धि पाउन सकेन । फायर फाइटिङ टोलीसहित आएको पोल्यान्डको समूह गरुडकुण्ड र कमलविनायक क्षेत्रमा खटिएको थियो ।

जर्मन टोली उपत्यकाको सुन्दरीजल क्षेत्रमा खटिएको छ भने बेलायती समूह सिन्धुपाल्चोक पुगेको छ । फ्रान्सेली टोली कालीमाटी, इजरायली गोंगबु, जापानी सहयोग नियोगको टोली र मलेसियाली टोली हनुमानढोका क्षेत्रमा खटिएका छन् ।

- See more at: http://www.nagariknews.com/main-story/story/37191.html#sthash.Gn9cbXZc.dpuf
Read Full Discussion Thread for this article