Posted by: ujl April 22, 2015
सुरुमा पन्चे बाजा बजायो, अहिले रुनु न हास्नु !
Login in to Rate this Post:     0       ?        
‘चिनियाँ जहाज नउड्ने निश्चित'

22 Apr 2015 | 10:31am
बुधबार ९ बैशाख, २०७२
‘चिनियाँ जहाज नउड्ने निश्चित;

काठमाडौं-नेपाल वायुसेवा निगमले अनुदानमा प्राप्त गरेका दुईमध्ये एउटा ठूलो चिनियाँ जहाजको बिमा नवीकरण गर्ने कि नगर्ने स्पष्ट हुन नसक्दा जहाज थन्किने निश्चित भएको छ।
तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन एकातिर तथा निगम व्यवस्थापन र सञ्चालक समितिबीच अर्कोतिर द्विपक्षीय ‘विवाद' सुरु भएपछि ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क' (एमए–६०) जहाजको नउड्ने निश्चित भएको हो।
एमए–६० को बिमा नवीकरण गरिसक्नुपर्ने अन्तिम मिति आगामी शनिबार (वैशाख १२) सम्म छ। बेलायतस्थित बिमा कम्पनीमा आइतबार बिदा भएका कारण यो जहाज थप एक दिन आइतबारसम्म उडाउन पाइने छ। बिमा नवीकरण नगरी जहाज उडाउन पाइँदैन।
निगम सञ्चालक समितिले २०७१ माघ दोस्रो साता बिमा शुल्क उच्च हुनुका साथै चिनियाँ जहाजको उडान क्षमता कम भएको भन्दै पर्यटन मन्त्रालयलाई पत्राचार गरी समस्या समाधानका लागि चीनसँग वार्ता गरिदिन आग्रह गरेको थियो। निगमले गत चैत ११ को समयसीमा तोक्दै चिनियाँ जहाजका समस्या समाधान नभए चीनबाट ल्याउन बाँकी चार जहाज नल्याउने र यहाँ सञ्चालनमा रहेका दुई जहाज फिर्ता पठाउने निर्णय गरेको थियो।
त्यसको करिब दुई महिनापछि मन्त्रालयले चिनियाँ पक्षसँग वार्ता गरे पनि ठोस काम भने हुन सकेको छैन। जहाजको बिमा रकम उच्च भएको भन्ने निगमको भनाइलाई चिनियाँ पक्षले ‘यसमा आफ्नो चासो नभएको' र मन्त्रालयले पनि बिमाको समस्या निगम आफैंले समाधान गर्नुपर्ने धारणा राखेपछि निगममा थप अन्योल भएको छ।
मन्त्रालय र चिनियाँ दुवै पक्षबाट स्पष्ट कुरा नआएपछि निगम व्यवस्थापनले मंगलबार पुनः मन्त्रालयलाई पत्र पठाएको छ। ‘एमए–६० जहाजको बिमा नवीकरण गर्ने कि नगर्ने भन्ने प्रमुख विषयसहित अन्य समस्या समाधान गर्न निर्देशनका लागि पर्यटन मन्त्रालयलाई अनुरोध गर्दै पत्राचार गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘केही हुने आशा छ।'
उनका अनुसार एमए–६० को बिमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ। यो हिसाबले दैनिक २ लाख ४८ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ। एक वर्षमा एमए–६० को बिमा शुल्कमात्र ९ करोड ५ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ।
‘यो असाध्यै महँगो हो,' उनले भने, ‘हामी एक प्रतिशतभन्दा बढी तिर्नसक्ने अवस्थामा छैनौं। यति ठूलो परिमाणमा बिमा शुल्क तिरेर जहाज उडानको लागत पनि उठाउन सकिँदैन त्यसमाथि चिनियाँ जहाजको उडान क्षमता पनि उल्लेख गरिएभन्दा कम छ।'
निगमले बिमा रकम उच्च भएका कारण जहाज सञ्चालन गर्न अप्ठेरो भएको बताउँदै आएको छ। यसको बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी छ। त्यसमाथि अमेरिका र युरोपले यो जहाजलाई हालसम्म मान्यता दिएका छैनन्। यसले पनि बिमा रकम महँगो भएको हो।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ‘ए३२०–२००' सिरिजका जहाज र अमेरिकी कम्पनी बोइङले उत्पादन गरी निगमले करिब तीन दशकदेखि सञ्चालन गरिरहेका ‘बि७५७' सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र तिर्नुपर्ने भए पनि ५६ सिटे चिनियाँ ‘मोडर्न आर्क' (एमए–६०) को बिमा शुल्क चार गुणा बढी रहेको सम्बद्ध अधिकारीले बताए।
पर्यटन मन्त्रालयले पनि एमए–६० को बिमा शुल्क महँगो वा नवीकरण के गर्ने भन्ने विषयबारे निगम आफैंले निर्णय गर्नुपर्ने जनाएको छ। निगमले राष्ट्रिय बिमा संस्थानमार्फत बेलायतको एक कम्पनीसँग चिनियाँ जहाजको बिमा गरेको छ। ‘कुन कम्पनीसँग कति रुपैयाँको बिमा गर्ने भन्ने निर्णय निगम व्यवस्थापनको हो, हाम्रो होेइन,' मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने,' ‘चिनियाँ जहाज कम्तिमा चार/पाँच थान आरामसँग न्यूनतम एक वर्ष सफल तरिकाले उड्यो भने यसको बिमा शुल्क आधाभन्दा कममा झर्ने छ। अन्य प्राविधिक समस्या समाधानका लागि हामीले पहिलेदेखि नै पहल गर्दै आएका छौं।'
निगमले एमए–६० २०७१ वैशाख १४ मा काठमाडौं ल्याएको थियो। यसले असार ११ बाट नियमित उडान सुरु गरेको थियो। त्यसपछि माघसम्ममा प्राविधिक समस्याका कारण करिब एक दर्जन पटक यो जहाज ‘ग्राउन्डेड' भएको थियो, जसबाट ८० दिन सेवा अवरुद्ध भएको थियो। ‘ब्रान्ड न्यु' जहाजबाट बजार हिस्सा बढ्ने र प्रशस्त नाफा गर्ने निगमको योजना अहिले पूरै असफल भएको छ।
निगमले गत माघ दोस्रो साता मन्त्रालयमा पठाएको पत्रमा एमए–६० सञ्चालनमा आएको सात महिनामा ८० दिन ग्राउन्डेड, स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो र बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको उल्ल्ेख छ।
त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) अहिले जहाजमा नमिलेको पनि पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो अहिले नमिलेको पत्ता लागेको थियो।
पत्रका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ (धनगढीबाट फर्कंदा) जना यात्रुमात्र ल्याउन सक्छ।
अघिल्लो सोमबार चिनियाँ उच्च अधिकारी, पर्यटन मन्त्रालय, निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको वार्तामा बिमाबाहेक अन्य विषयमा आफ्नो तर्फबाट केही कमजोरी भएको चिनियाँले स्वीकारेका थिए। आफ्ना जहाजको उडान क्षमता पुष्टि गर्न चीनले ती जहाज उड्ने नेपालका सबै विमानस्थल गएर अध्ययन गरी प्रतिवेदन तयार गर्ने र चिनियाँ उड्डयन प्राधिकरणबाट अनुमोदन गराई नेपाली उड्डयन प्राधिकरणलाई बुझाउने प्रतिबद्धता जनाएका थिए। जगेडा पुर्जा पनि समयमै आपूर्ति गर्ने बताएका थिए।
Source: Nagarik News
Read Full Discussion Thread for this article