Posted by: ujl April 21, 2015
सुरुमा पन्चे बाजा बजायो, अहिले रुनु न हास्नु !
Login in to Rate this Post:     0       ?        

चिनियाँ जहाज उडाऊँ कि थन्क्याऊँ

निगमले सोध्यो

सुरज कुँवर


MA60-test-flight

काठमाडौ, वैशाख ८ - बारम्बारको ग्राउन्डेड, मर्मत खर्च अत्यधिक, बिमा शुल्क अस्वभाविक र आम्दानीचाहिँ न्यून हुँदै गएपछि 'सेतो हात्ती' बनेको चिनियाँ जहाजबारे सोमबार निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले भने, 'अब जहाज उडाउने कि ग्राउन्डेड गर्नुपर्ने हो, मन्त्रालयले बाटो देखाइदिनुपर्‍यो।'

पर्यटन मन्त्रालयले सोमबार दोस्राे चौमासिक समीक्षा बैठक डाकेको थियो। त्यही बेला शर्माले उच्च अधिकारहरूसमक्ष यो प्रश्न सोधेका हुन्। उनले चिनियाँ जहाज एमए ६० को बिमाको म्याद शनिबार सकिन लागेको जानकारीसमेत दिए। त्यसको बिमा पि्रमियम निगमले धान्न नसक्ने बताए। तर उनले जवाफ पाउन सकेनन्। पर्यटनमन्त्री दीपकचन्द अमात्य र सचिव सुरेशमान श्रेष्ठले चुपचाप सुनी मात्र रहे। केही बोलेनन्। निगमले जहाज बिक्री पछिका सेवाहरू बिमा, पाइलट तालिम, स्पेयरपार्टस लगायतमा बिक्रेता चिनियाँ पक्षले अत्यधिक महँगो दर लगाएको बताउँदै आएको छ। निगमले यसअघि पनि पटकपटक यही गुनासो गरेको थियो। तर सरकारी स्तरबाट सुनुवाइ भएको छैन।

मन्त्रालयले अघिल्लो सोमबार चीनबाट आएको उच्चस्तरीय टोलीसँग निगमलाई राखेर बिमा लगायतका समस्याबारे छलफल गरेको थियो। तर लागतको चार प्रतिशत बिमा पि्रमियमबाट घटाएर एक प्रतिशत लिने चिनियाँ पक्षले आश्वासन दिएको थियो। तर निगमले एयरबसको पि्रमियम ० दशमलव ५ प्रतिशत मात्र तिरिरहेकाले त्योभन्दा बढी लिन नसक्ने जनाउँदै आएको छ।

५६ यात्रु क्षमताको एमए-६० (रारा) र यो जहाज पछि दुर्गम र उच्च हिमाली भेगको उडानका लागि कात्तिक १७ ल्याइएका १६ यात्रु क्षमताको वाई-१२-ई विमान (कोइली) जहाज चिनियाँ पक्षले भने अनुसार र सुरुमा बुझाएको प्रतिवेदनअनुरूप काम हुन सकेको छैन।

दुवै जहाजको परफरमेन्स चार्ट (कार्यसूची) मा उल्लेख गरिए अनुसारको प्राविधिक क्षमता नदेखिएपछि निगमले अघिल्लो सोमाबार चिनियाँ पक्षसँग सोधेको थियो। तर वार्तामा चिनियाँ पक्ष गम्भीर नभएको निगम पदाधिकारीको गुनासो छ।

उक्त छलफलमा निगमले दुवै जहाजले सिट क्षमताअनुसार यात्रु बोक्न नसक्ने, स्पेयर पार्टस उपलब्ध गराउन चिनियाँ पक्षले ढिलाइ गर्ने गरेको गुनासो गरेको थियो। 'चिनियाँ पक्ष गम्भीर देखिएन,' बैठकमा सहभागी एक निर्देशकले भने, 'हामीले सोमबार मन्त्रालयमा गरेको दुई पक्षीय वार्ता पहिलो पटक होइन, एक वर्ष हुन लाग्योतर केही भएको छैन।'

उक्त बैठकमा जहाज बिक्री गर्ने चिनियाँ कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनका उपप्रमुख, चिनियाँ उड्डयनका निमित्त प्रमुखसहित १० जना सहभागी थिए। नेपाली टोलीमा निगम सञ्चालक समितिका अध्यक्ष, निर्देशकहरू, नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयका अधिकारीहरू थिए। मन्त्रालयका एक अधिकारीका अनुसार निगमले एमए-६० मा काठमाडौंबाट ५६ यात्रु बोकेर बाहिर लैजान सकिने तर तराईबाट फर्किंदा उडान तौलका कारण १० सिट खाली राखेर आउनुपर्ने समस्यालाई प्राथमिकताका साथ राखेको थियो। चिनियाँ टोलीले भने, 'तराईका सबै विमानस्थलमा रहेको धावनमार्गको दूरी एमए-६० का लागि कम भएको र पूरा सिट भरेर उड्न कम्तीमा एक सय मिटर धावनमार्ग विस्तार गर्नुपर्ने सुझाव' दिएका थिए।

'एमए-६० लाई पूरा यात्रु राखेर दौडिन तराईका विमानस्थल छोटो भए,' चिनियाँ टोलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'सय मिटर रनवे बढाउनुपर्छ।'

निगमले एमए-६० मात्रै होइन दुर्गम उडानका लागि ल्याएको वाई-१२ ई जहाजमा पनि तौलमा समस्या आएको सुनाएको थियो।

चिनियाँ पक्षको यो भनाइलाई नेपाली प्राविधिकले हाँसोको विषय बनाएका छन्। ७२ सिट क्षमताको बुद्ध एयरको जहाज आधा धावनमार्गबाट उड्ने र अवतरण गर्ने गरेको उनीहरूको भनाइ छ। 'वाई-१२ ई को यात्रु क्षमता १६ हो तर १३ जना बोकेर पोखराबाट फर्किनुपरेको छ,' निगमका एक अधिकारीले भने।

यो जहाजमा यात्रुको तौलका साथसाथै मनाङ, मुस्ताङ, लुक्लालगायतका उच्च वायु चाप भएका हिमाली भेकमा लैजान नसकिने समस्या पनि छ। अनुदानमा ल्याइएका यी दुवै जहाजबाट निगमले व्यापार सुधार्न नसकेपछि थुप्रैपटक विक्रेता एभिकलाई चेतावनी दिइसकेको छ। निगमले एभिकलाई पे-लोड (उडान तौल), उच्च बिमादर, पाइलट र इन्जिनियरको तालिम, सिमुलेटर शुल्क आदि महँगो भएको, प्रपोजलमा भनिएअनुसार दुवै जहाजको पर्फर्मेन्स चार्टमा धेरै विषय सुधार्नुपर्ने लिखित प्रतिवेदन नै मन्त्रालयमार्फत चिनियाँ पक्षलाई बुझाइसकेको छ।

निगमले चीनबाट थप एक एमए-६० र तीनवटा वाई-१२ ल्याउन लागेको छ। चीनमा तयार भइसकेका छन्। यी चारवटा जहाज सहुलियत दरको ऋणमा निगमले खरिद गर्ने सम्झौता छ। नेपाल र चीनबीच ०७० मंसिर १३ मा भएको दुईपक्षीय सम्झौताअनुसार जहाज खरिद भएका हुन्। त्यसबेला ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। यो रकममध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान हो। ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो। निगमले ऋणको वाषिर्क ब्याज १ दशमलव ५ प्रतिशत तिर्नुपर्छ। गत वैशाख १२ गते ल्याइएको एमए-६० र कात्तिक ११ गते ल्याइएको सानो जहाज वाई-१२ ई (कोइली) अनुदानमा ल्याइएका जहाज हुन्।

प्रकाशित मिति: २०७२ वैशाख ८ ०८:१४
Read Full Discussion Thread for this article