Posted by: Rudramati March 31, 2015
कथा : सुबोध, अप्सरा र अमेरिकी घर
Login in to Rate this Post:     0       ?        
~प्रदीप गौतम “अंकित”~

“My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि “ओके” मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार सुबोधको छ दिने गोरु जोताइपछीको बिस्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो “सुबोध बेटा, एक बात सुनो, कल तुम जल्दी आना, ओ दुस्रा बन्दा बिमार होगया यिसिलिये”, “ठिक है भाई साहेब” यति भन्दै सुबोधले फोन राख्यो। भारी मन लिएर सुबोध किचन तिर पस्यो। “अलिकति पैसा बच्यो भने त यो धोतीको ग्यास स्टेसन लात हानेर हिड्छु, आफ्नो त केही पनि चल्दैन यार। सधैं नोकर जस्तो भएर बस्नु पर्ने त्यो पनि ग्रीन कार्ड भएको मन्छे।” हल्का क्रोध मिश्रित बदलाको भावना लिएर फत्फताउदै बेडतिर फोन हुरर्‍याएर शान्त पार्न खोज्यो आफ्नो क्रोध । सुबोध! हो, त्यहि सुबोध जो अमेरिकाको डि.भि. भरेर छ बर्ष अघि सपनाको देशमा सगरमाथा भन्दा अग्ला सपनाहरु बुनेर आएको थियो। गाऊमा सरकारी स्कुल पछि आर. आर. क्याम्पसमा स्नातक तिर हल्लिने क्रममा अमेरिकाको ग्रीन कार्ड पाउने शुभ समाचार सुन्दा सुबोध कम्ता खुशी थिएन। सच्चिकै भन्नुपर्दा सुबोध त्यहि नेपालमा बिताएका अन्तिम बर्षमा सबैभन्दा खुशी भएको थियो। अमेरिकामा आएपछि पनि उसले हल्का फुल्का डलर जोडेकै थियो, एउटा दश वर्ष पुरानो भएपनि जापानीज होण्डा कारमा चढेको थियो, घरमा नेपालको जस्तो लोडसेडिङ थिएन, तातोपानी, ए. सी. , हिटर सबै चलेकै थियो, श्रीमतीको पनि साथ थियो तर एउटा कुराको साह्रै कमी थियो – मनभित्रको खुशी। सुबोध बिगत छ बर्ष देखि शायदै धित मारेर हाँसेको होस।

अमेरिका टेकेको पहिलो दिनमा एअरपोर्टबाट कोठामा जाने समयमा देखेका गगनचुम्बी भवनहरु, काठमाडौंको पुतलीसडकतिर साइबर बस्दा देखेका तस्बिरहरुभन्दा पनि आकर्षक रहरलाग्दा पुलहरु, फराकिलो बाटो, सफा शहर, चिल्ला गाडीहरु देख्दा मनमनै खुबै भाग्यशाली ठानेको थियो सुबोधले आफुलाइ। तर त्यो खुशी ४/५ दिनपछी एउटा ईण्डियन रेस्टुराँमा काम शुरु गर्दा देखिनै खोसिएको थियो जसले उसलाई नेपालमा बस्दा चियाको चुस्की सगै राजनैतिक गफ चुटेर आफूलाई जानकार र बुद्धिमानी छु भन्दै पालेको आत्मरती ईण्डियनको भांडा उठाउदा पहिलो रातमै तातो पानीले जूठा भांडा पखालेजस्तै गरि पखालीदियो। अमेरिका आउँदा लागेको ऋण, बर्षेनी पानी चुहिने छानोको घर, आमाको त्यहि पुरानो पछ्यौरी, बाको दुईठाउंमा टालेको टोपी, भाई-बहिनिको पढाई सबै कुराले सुबोधलाई जस्तो सुकै काम गरेर भएपनि पैसा पठाउनु पार्ने बाध्यता थियो।

यस्तै गरेर सुबोधले दु:ख-सुख (हुन त उसको शब्दकोशबाट सुख भन्ने शब्द हराइसकेको थियो) ४ बर्ष बितायो। भाई-बहिनीलाई बोर्डिङ स्कुल पढायो, घरमा ढलान गर्‍यो, अलिकति पाखोबारीको पनि जोहो गर्‍यो तर आफूले शायदै कहिल्लै मस्ती गर्‍यो यो बिसाल शहरमा। जिन्दगी संघर्ष हो, दु:ख गरेपछी सुख गर्ने दिन पनि आउछ भन्ने राम्रै बुझेको थियो सुबोधले। काम पनि ३ बर्षको रेस्टुराँबाट मुस्किल ले ग्यास स्टेसनमा प्रमोशन भएको थियो यध्यपि पैसा उही न्युनोतम ज्यालानै थियो। अरु धेरै सपना देख्न छोडिसकेको थियो सुबोधले किनकी नेपालमा पढाइ नसकिदै भिषा लागेकोले आफ्नो अधकल्चो पढाईको भबिष्य खासै छैन भन्ने लगिसकेको थियो। आफ्नो उमेर, आफन्तको करकाप अनि जवानीको रौनकतामाझ सुबोध दुई बर्ष अघि नेपाल हानियो बिहे गर्न। धेरै ठाउबाट राम्रा-राम्रा घरहरुबाट बिहेको प्रस्ताब आए सुबोधलाई बिशेषगरी उसको ग्रीनकार्ड देखेर। सुबोध अन्योलमा पर्‍यो किनकी जति पनि घरमा जान्थ्यो, केटीका बाबु आमाले अमेरिकाबाट आएको भनेर सत्कार गरेर छोरीसँग कुरा गराउन छोडिदिन्थे, जब केटी सित कुरा गर्थ्यो, प्राय सबैको एउटै जवाफ आउथ्यो। “बुवा-आमाको करले तपाइसँग कुरा मात्र गरेको हो, मेरो पहिल्लै लव परिसकेको छ अर्कैसित त्यसैले मेरो बारेमा केही दु:ख नगरी अन्तै कुरा चलाउदा हुन्छ” यस्तै-यस्तै। खिन्नतामा रुमलिरहदा सुबोधलाई उसका मामा पर्नेले अप्सरासित बिहेको कुरो चलाए। सुबोध खासै उत्साहित थिएन तैपनि एकपटक हेरौ न त भनेर कुरा गर्न सहमत भयो। अप्सरा, नाम सुन्दै सुबोधको मनबाट निराशाका बादलहरु बिस्तारै हट्न थालिसकेका थिए। धनी बाउकी कान्छी छोरी। अप्सरा; सलक्क जिउडाल, हसिली, एट्टिटुड भएकी, बेच्लर इन होटेल म्यानेज्मेन्ट सकेकी, शहरिया टांठी केटी थियी। अप्सरा आफ्नो भबिष्य सुन्दर बन्ने देखेर सुबोधलाई सहर्श स्वीकार गरी। अप्सरामा राम्रै खुबी देखेर सुबोधलेपनि आफ्नो अमेरिकी गोरुजोताइ कम हुने आशाहरु सङालेर धुमधामपुर्बक बिहे गरेको थियो।
Read Full Discussion Thread for this article