cantik- thanks for the birthday wish..
वाहिर पहेँलो घाम लागेको
थियो उठ्दा।पर्दा खुल्लै रहेछ,उठ्ने वित्तिकै आँखामा पर्यो। विहानको घामले
पोल्दैन।मात्र प्रकाश छर्छ।मलाइ किन किन विहानको घाम र खुशी हुँदाकी गरिमा उस्तै
उस्तै लाग्छ। उसले मलाई हल्का छोएर उठाएकी थिई।म कुर्सीमै निदाएको थिएँ।डायरी
छेउमा थीएन।
मैले गरिमालाई हेरेँ।
"आज अफिस जाने
हैन?" उसले मलाई छेवैमा चिया राख्दै सोधी।
"आज जान्न होला
!"
"किन ?"
"टाउको दुखे जस्तो भको
छ!"
"राती त्यहिँ सुतेर
होला, झ्याल खुल्लै थियो, कस्तो वेपर्वाह मान्छे !" उ रिसाएजस्तो गरी। मलाई
थाहा छ उ रिसाएकी छैन।
"हैन त्यस्तो साह्रो पनि
दुखेको छैन!"
"धेरै दुखे ड्रयरमा
डिस्प्रिन छ । म निस्के !" उ आफ्नो अफिसको लागि निक्ली।
एकैछिन पछि उ फेरि फर्केर
आई अनि भनी,
"डायरी सिरानी मुनि छ,
मलाई लाग्छ तिमी फेरि पढ्छौ होला !"
*********** **************
*************** ************* ************* **********
सुधाको डायरी पेज नं १०३
आखिर आइतवार आयो। धेरै ढिलो
आए जस्तो लाग्यो,तर आयो। प्रतिक्षा लामो हुन्छ, कति? पर्खिनेलाई सोध्नुपर्छ उसको
व्यग्रताले वताउँछ।प्रतिक्षाले आकर्षण वढाउँछ।मेरो साकेत प्रतिको आकर्षण त घट्ने
कुनै लक्षण नै थिएन। म चाहेपनि नचाहे पनि डोरिइन्थे,सोच्थेँ। आफ्नो मन आफ्नो वशमा
नहुँदाको रमाइलो नै अलग्गै । आफ्नै मनले आफुलाई गिज्याउँछ,सम्झनाहरु काउँकुती
लाउँछन्। सोचेको पनि कसले सोचेको कस्ले सोचेको जस्तो।साकेत मेरो मनलाई आफ्नो रहरले
चलाउँदै थियो।आफ्नो कलमले पात्रहरु रचे जस्तो।मलाई पनि त लेखिन मन छ।
"वाउ, अलरेडी हियर
!"
साकेतले मलाई देख्ने
वित्तिकै भन्यो।उसले मलाई चिन्यो, उसलाई म अझै याद छ।मेरो सफलता !!
"यो आइतवार त म
अघिल्लो भेटदेखी पर्खेर वसेको छु।"
फुलेका दाह्री भित्र उसको
अनुहारको ओजले मलाई गलाउँछ। म भन्दा धेरै वुढो छ,धेरै परिपक्व छ।
"सरी मलाई सोसियलाइज
हुन आउँदैन,त्यति गफ गर्न जान्दिन म !" उसले वस्दै गर्दा भन्यो।
"मलाई पनि ! हामी
मौनता नै साटौँला,केहि फरक पर्दैन !" उसले पुलुक्क मलाई हेर्यो।
उसको हट लेमन आइपुग्यो। अव
करिव पन्ध्र मिनट जतिमा उ हिँड्छ। मलाई
हतार छ,भन्ने छ। उसका वहानाहरुलाई म चिन्न थालेकी छु। उ चाहन्छ उसको जीवनमा
म प्रवेश नगरौँ। तर म पनि त ढिट छु।
होला, उसको जीवनमा पनि मेरा
जस्तै अँध्यारा कुनाहरु होलान्। ओसिएका सम्वन्धहरु होलान्। घाम नलागेर अमिलिएका
यादहरु होलान्। अनि तिनै कुना भित्र थुनिएर उ वाहिरको जीवनको उज्यालो हेर्दो
होला।नियालेर लेख्दो होला। जो मान्छे एक्लै हुन्छ, उसले अरुलाई नियाल्ने समय वढी
पाउँछ। उ सँग समयको खाचो छैन। मात्र मलाई उ हतार छ भन्छ। उ आफ्नो अँध्यारो कोठामा
फर्किन चाहन्छ।
"कति भयो तिमी यो
पव्लिकेसनमा लागेको अरे साँच्ची ?"
"समयमा किन
दाँज्नुहुन्छ मलाई, मेरो लगन हेर्नुहोस्, तँपाइका कितावका शव्द शव्द चिनिनछु भने
कुनै सुधालाई भेटेको थिएँ भनेर विर्सिदिनु भए हुन्छ!"
"तिमी लेखक भए नै जाति
हुन्थ्यो!"
"चुम्वकले फलामलाई
तान्छ पनि अनि गुण पनि त सार्छ!"
उ हाँस्यो।
"मलाई कहिलेकाहिँ जीवन
खल्लो लाग्छ, अनि कहिलेकाहिँ तिमी जस्तै मान्छे भेट्छु मेरो भ्रम तोड्न !"
उसले अन्तिम घुट्को सुरुप्प
पार्यो।
"तँपाइको पहिलो किताव
मैले लाइव्रेरीमा पढ्दा,लाइव्रेरियन भन्थ्यो तँपाइ विपीको उग्रवाद हो !"
"अनि तिमीलाई के
लाग्थ्यो ?"
"सवै किताव पढेर
भ्याएकी छु,तँपाइलाई के लाग्छ ?"
"म लेख्ने वेलामा
सोच्दिन सुधा !"
उ उठ्न आँट्यो। मेरो मनमा
व्यग्रता वढ्यो।
"तँपाइ किन किन मलाई
जीवन देखी भागे जस्तो लाग्छ।"
"जीवनका कोणहरु
हुन्छन्। कसैकसैलाई धैर्यताले जीवन वने जस्तो लाग्छ ,कसैले हतारका क्षणहरुमा जीवन
भेट्टाउँछ!"
"फेरि भेट्न
सकिन्छ?"
"घर देखेकै छौ, भोली म
दिन भरी घरमैँ हुन्छु !"
मेरो मन वुरुक्क उफ्रियो।साकेतले
मलाई घरमै वोलाएको थियो। मैले हतार गरिन,मेरो धैर्यताले नै मेरो जीवन वनाएजस्तो
भयो।
"साँझमा आउन
मिल्छ?अफिस पछि?" मैले आफुलाई सम्हाल्दै सोधेँ।
"मिल्छ, अनि
धन्यवाद,शायद मैले मेरो अर्को पात्र भेट्टाउँदै छू।"
उ निक्लियो।म उसलाई धन्यवाद
कसरी भनौँ ? मैले उ वसेको कुर्सी हेरीरहेँ। उसको छायाँ अझै त्यहिँ छ। उसको ओज अझै
त्यहिँ छ। मेरो कामेको हातमा ठाडा भएका रौँहरु विस्तारै यथास्थितिमा आए।
***************
************* ************ **************** *******************
मैले डायरी वन्द गरेँ
एकछिनलाई ! दुध लिनलाई वाहिर निक्लिन्छु ,अनि चिया खानुपर्ला......
हो सुधा खुशी देखिन थालेकी
थिइ। उसको काम गर्ने क्षमतामा त कुनै शंका छैन। तर त्यो साकेत थियो जसले उसमा काम
गर्ने रहर पैदा गरेको थियो। के यो डायरीको अन्त्यमा उ हराउनुको कारण पनि छ त? छ
पक्कै छ।
मोवायलवाट टेक्स्ट गरेँ
"सर आज म अफीस आउँदिन,नट फिलिंग वेल..."