Posted by: cybernepali March 9, 2015
बाबुराम डराएर पार्टीलाई दोष दिए - पार्टी लाइनअनुसार भारत आएर बोलेको हुँ
Login in to Rate this Post:     0       ?        
नयाँ दिल्ली, फाल्गुन २३ - माओवादी जनयुद्ध हुँदै बहुदलीय पद्धतीको खुला प्रतिष्पर्धामा आएका बाबुराम भट्टराईले यतिधेरै ‘आलोचना’ बेहोरेका थिएनन् होला, जति यसपटकको दिल्ली भ्रमणमा नेपालको भिन्न राजनीतिक खेमा तथा सामाजिक संजालमा आलोचित रहे ।

‘नेपालका उत्पीडित बर्गका प्रतिनिधि पनि आफैंले पहल गरेर अन्र्तराष्ट्रिय सम्बन्ध र समन्वयमा पुग्न लागे भनेर एउटा बर्गमा जलन र डाह छाएको स्थिती हो,’ दिल्ली भ्रमणपछि नेपाल फिर्ने तयारीमा रहेका भट्टराईले बिहिबार अपरान्ह नेपाली दुतावासमा कान्तिपुरसँग भने, ‘उनीहरु इष्र्या र डाहले जलिरहुन्, तर हामी जनता र राष्ट्रको पक्षमा जिम्मेवारी निर्वाह गरिरहन्छौं ।’

जवाहरलाल नेहरु विश्वबिद्यालयमा एमफिल गरिरहेकी छोरी मानुषीका साथमा दिल्लीको अनौपचारिक भ्रमणमा रहेका भट्टराई काठमाडौं उत्रने सबै अन्र्तराष्टिय उडान रोकिएपछि बिहिबार निकै फुर्सदिला थिए । उक्त अवसरमा खान मार्केटदेखि आफ्ना जवाहरलाल नेहरु विश्वबिद्यालयका ३० बर्ष पुराना बिद्यार्थी क्षण स्मरण गर्नमा पुरै ‘फिरन्ता’ बनिरहे ।   

शुक्रबार बिहान दिल्लीबाट लखनउको उडान हुँदै स्थल मार्गबाट नेपालगंज पुगेर त्यहाँबाट काठमाडौं उड्ने योजनामा रहेका भट्टराई हवाइ उडानसम्भव नभएपछि ट्वीटरमा लेखेका छन्(“बिपत्ति एक्लै आउँदैन, साथी लिएर आउँछ भनेको सत्य रहेछ । दिल्ली(काठमाडौं प्लेन नचलेपछि लखनउ हुँदै नेपालगंज आइयो । नेपालगंज(काठमाडौं प्लेन पनि नचलेपछि सडकबाटै काठमाडौं लागियो । आगे जे होला ।”  

  तपाईको भारत भ्रमणको आलोचना भइरहेको भन्ने प्रशंगमा भट्टराईले त्यसले केही फरक नपार्ने टिप्पणी गरे । ‘अरुले के भन्छ भन्ने कुरालाई म महत्व दिन्न  । देश र जनताको हितमा जे छ, म त्यही  सही कुरालाई ध्यानमा राखेर कुरा गर्छु’ उनले भने, ‘अर्को कुरा नेपालमा देखिएको पछिल्लो जुन स्थिति छ, त्यसबारे पनि एउटा छिमेकीको नाताले यहाँका नेता, नागरिक समाज, सरकार र राजनीतिक दलमा जुन चासो रहेको मैले पाएँ, त्यसलाई मैले आफूले जाने/बुझेसम्म यथार्थ बताउने प्रयत्न पनि गरे ।’

 उनले नेपाली दूतावासमा बसेर भएका भेटघाट पारदर्शी भएको उल्लेख गरे । ‘सबैसग भेटघाट गरेको छु र, बाहिर गरिएका कार्यक्रममा पनि दूतावास प्रतिनिधिलाई राखेको छु । यसरी देश र जनताकै हितमा काम गरेकामा मलाई गर्व छ’ उनले थपे,  ‘आफ्नो पार्टीको कामकुरा भन्दा पनि देशको चासोमा जोडिएर र अन्तराष्ट्रिय चासोमा रहेको शान्ती प्रकृयाका बारे कुरा गर्न आएको हुँ ।’

  उनले भारतीय नेताहरुहरुले नेपालको शान्ति प्रक्रिया छिट्टै पुरा भई संविधान निर्माणको काम प्रमुख राजनीतिक दलका बिचमा सहमति तथा समझदारीबाटै सम्पन्न होस् भन्ने चाहेको दाबी गरे ।  ‘नेपालका शासक बर्ग र परम्परागत शक्तिलाई खासै मन परेको छैन किनभने विदेश मामिलामा उनीहरु आफ्नो मात्रै एकाधिकार सम्झिन्थे । एमाओवादीजस्तो शक्तिले पनि आफ्नो अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार गरेको देखेर उनीहरु तिलमिलाएका हुन्’ उनको भनाइ छ ।

 भट्टराईले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसंग भेट्ने पहल नगरेको दाबी गरे । ‘त्यस्तो पहल थिएन । सुरुमा नै मैले मेरो छोटो बसाइ थियो । खाली मैले हाम्रो दुतावासलाई राष्ट्रपतिजीसँग एकचोटि भेटवार्ता मिलाउने प्रयास गर्नुहोला भनेको थिएँ । किनभने उहाँ पहिलेदेखिकै चिनजान भएका नेता हुन् र राष्ट्रपति भएयता भेट्ने अवसर पनि नभएकाले शिष्टाचार भेट चाहेको थिएँ’ उनले भने । दिल्ली जानु अघि सकेसम्म मोदीलाई भेट्ने मनस्थितिमा उनी थिए ।

 उनले  भारतको नीति निर्माण तहका बिज्ञसँग कुराकानी गर्दा ‘नेपाल ब्रिज’को कुरा राखेको बताए । ‘चिन र भारत बीचमा एउटा गतिशील पुलको परिचायक बनेर वैदेशिक सम्बन्ध राख्ने र नेपाललाई दुवै देशको बन्द(व्यापारको आर्थिक कारोबारमा सेतुको रुपमा उभिने सम्भावना अहिले पनि छ’ उनले थपे, ‘समदूरी भनेको चाहिँ स्वाधिनता,
सार्वभौमसत्ता दृष्टिले सबैसँग समानता र समदूरी सम्बन्ध राख्ने हो चिन र भारतका बीचमा सैद्धान्तिक हिसाबले बराबरीकै सम्बन्ध हो । तर व्यापारिक कारोबार चाहिँ चिनसँग भन्दा भारतसँग निकै बढी रहँदै आएको छ । व्यापार भन्नुहुन्छ भने भारतसँग समग्रमा नेपालको दुइ तिहाइ अनुपातमा हुन्छ भने चिनसँग दश/पन्ध्र प्रतिशत मात्रै हुन्छ ।’

  उनले बिप्पा सम्झौता गर्नु सही भएको बताउदै विकासका लागि अनिवार्य शर्त भएको बताए ।  उनले भारतीय सेनामा नेपालीको भर्ती रोक्नु पर्ने तर्क गरे । ‘सैद्धान्तिक हिसाबले विदेशी सेनामा भर्ना हुने प्रक्रिया रोक्नुपर्छ भन्ने हाम्रो सुरुदेखिको र अहिलेको पनि अडान हो र, हरेक स्वतन्त्र स्वाभिमानी नेपालीले त्यो कुरा भन्नुपर्छ’ उनले भने,  ‘व्यवहारिक ढंगले चाहिँ अहिले हामीले त्यसलाई अन्त्य गर्न किन सकेका छैनौं । हामीले अन्तत: देशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरेर हाम्रा देशका नागरिकलाई विदेशी सेनामा भर्ती हुने प्रचलनको अन्त्य गर्नैपर्छ ।’

भट्टराईले  कांग्रेस, एमालेमा सहमतिबाट संविधान बन्ने संभावना देखेको बताए ।  ‘अहिले राष्ट्रिय र अन्र्तराष्ट्रिय शक्तिबाट पनि नेपालको शान्ति प्रक्रिया पुरा हुनुपर्छ, संविधान निर्माण हुनुपर्छ भन्ने आवाज आइरहेको र काँग्रेस(एमाले भित्रैबाट पनि अब चाहिँ प्रमुख आन्दोलनका सहभागि बीचमा फाटो होइन, मिलेर नै संविधान बनाउनुपर्छ भन्ने आवाज बढदै गएको सन्दर्भमा म फेरि एउटा सम्वाद र सहमतिको वातावरण बन्ने स्थिती देख्छु’ उनले भने, ‘आफ्नो र पार्टीका तर्फबाट हामी चाहिँ फेरि वार्ता र संवादको प्रक्रिया सुरु गरेर सहमतिबाटै संविधान निर्माण प्रक्रिया अगाडि बढोस् भन्ने चाहन्छु । र यही दिशामा सहमती सम्भव हुने स्थिती देखेको छु ।’
 उनले भारतमा आएर पार्टीको लाइन अनुसार कुराकानी गरेको बताए ।  ‘पक्कै पनि यो एमाओवादी पार्टीको लाइन हो । मेरो यहाँबाट हरेक बिहान र बेलुका अध्यक्ष प्रचण्डसँग कुराकानी भैरहेको छ । मैंले यहाँ गरेको कुराकानी र उठाएका सबै बिषयसँग प्रचण्ड कमरेड प्रसन्न हुनुहुन्छ’ उनले भने, ‘सहयोग(सद्भाव खोजिएको यो हाम्रो पार्टीको लाइन हो, यही रुपमा बुझनुहोला ।’

 भट्टराईले महासचिब कृष्णबहादुर महरालाई भारतीय अधिकारीसंगको वार्तामा नराखेको आरोपको खण्डन गरे । ‘यो सरासर झुट कुरा हो । अनेक बहानाबाजी र षडयन्त्र भरेर नेपाली जनताका टाउकामा गिर खेल्ने दिन अब गए’ उनले थपे, ‘एमाओवादी पार्टी र पार्टीका तर्फबाट यसपटक दिल्लीमा आएर मैंले थालेको संवादका कारण डाह गर्नेहरुले महराजीका बिषयमा अनर्गल प्रचार गरेका हुन् ।’

केजरीवालसँगको भेट रोचक
भट्टराईले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भएको भेट रोचक भएको सुनाए । ‘मेरा छोटो तर निकै रोचक कुराकानी भयो । उहाँहरुले यहाँ एउटा वैकल्पिक राजनीतिक शक्तिको विकासको प्रयत्न गरिरहनुभएको छ,’ उनले भने,  ‘नेपालमा पनि हामीले माओवादीहरुले बैकल्पिक राजनीतिक धारकै विकास गर्न खोजेको हो । मैले एउटा नयाँ शक्तिको रुपमा वैकल्पिक राजनीति विकास गर्नुपर्छ भन्ने प्रसंग नेपालमा पनि मैले उठाएको हुँ । हामीले यी सबै देशमा भएको पछिल्ला प्रयोगलाई अनुभव गर्दै त्यसबाट सिक्नु जरुरी छ ।’
Read Full Discussion Thread for this article