Posted by: Fuel Tank February 12, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
म गोर्खे ब्रो, टिप्पणी को लागी धन्यबाद | भोली दाईले फेला पार्नुभयो चप्पल |

ल है, अर्को हप्ता आयो, अर्को अंक पस्केको छू, आशा छ, मन पराउनुहुनेछ |
**************************************
चकचके बाँदर शृंखलाको तेस्रो अंक
*************************************

मेरो बा कृषि बिकाश बैंकमा जागीर खानुहुन्थ्यो | म अंगुर र जागीरको भिन्नता राम्रो संग बुझ्दैनथें  | जागीर भनेको अंगुर जस्तै साना साना दाना भएको खानेकुरा जस्तो लाग्थ्यो |  अनि मलाई मेरो बा संधै कृषि बिकाश बैंकमा गएर एक्लै मिठो मिठो जागीर खाएको कत्ती मन पर्दैनथ्यो | “कहिले कहिले त अलिकती घल ल्याएल दिए पनि हुनी नि” मन मनै सोच्थें|

कृषि बिकाश बैंकको अगाडीको बाटो पारी हाम्रो स्कुल थियो | दाजु-भाईलाई एउटै स्कुलमा भर्ना गरीदिनुभएको थियो | हामी दाजुभाई संगै बस चढेर स्कुल जान्थ्यौं | हाफ टिफिनमा बाटो काटेर बाको अफिसमा संगै जान्थ्यौं | बाले आफ्नो अफिसको खाजा खाने ठाउँमा हामी दाजु-भाईलाई लगेर खाजा खुवाउनुहुन्थ्यो | खाजा खाएर दाजु-भाई संगै बाटो काटेर स्कुल फर्किन्थ्यौं | अनि स्कुल छुट्टी भएपछी संगै बस चढेर घर आउँथ्यौं | आमाले दाईलाई “भाईलाई एक्लै नछोड है “ भन्नु भएको थियो, त्यै भएर दाईले मलाई स्कुलमा कहिले पनि एक्लै छोड्नुहुन्थेन| चक-चक गर्न खोज्यो भने दाईले मलाई पिट्नुहुन्थ्यो | दाई म भन्दा दुई बर्ष जेठो हुनुहुन्छ र बलमा पनि ठुलो, त्यसैले मैले चुप-चाप सहन्थें |

“बा, आज बेलुका घल आउँदा, अलिकती जागील ल्याईदिनु न है |” एकदिन बालाई भनेको थिएँ| बेलुका घर आउँदा बाले नेबिको गुल्कोज बिस्कुट लिएर आउनुभयो | बाले “यहि हो जागिर” भन्नुहुन्थ्यो होला तर मैले  बिस्कुट भनेर पहिल्यै चिनीसकेको थिएँ | बाले झुक्क्याउने कोशिश पनि गर्नु भएन अनि भन्नु भयो, “सबै अफिसको साथीहरु मिलेर खाँदा आजको जागिर सकियो, अनि तँलाई बिस्कुट किनेर ल्याईदेछु, ला, दाईलाई पनि दे “ | बाले खानेकुरा जहिले पनि दाजुभाई बाँडेर खानुपर्छ भन्नुहुन्थ्यो |
“आँफु चै एक्लै एक्लै जागील खानी, हाम्लाई चै बाँडेल खानु पल्छ ले”, मैले भन्न मात्रै सक्दैनथें |

मलाई बाले खाने गर्नुभएको जागीर हेर्ने र पाएसम्म चाख्ने मन ठुलो थियो |  एक दिन हाफ-टिफिन नहुँदै बाटो काटेर बाको अफिस पुगें | “लौ सानो कृष्ण सर आईपुग्नुभयो |” अफिसको गेटमा बस्ने भिम अंकलले ढोका खोल्दिनुभयो |

म गुरुरु दुकुर्दै बाको कोठामा पुगें | बा कुर्सीमा बसेर अगाडी टेबुलमा के के लेख्दै हुनुहुन्थ्यो | यसो हेर्दा भर्खर जागीर खाएर भ्याएर होमोक गर्न बस्नुभएको जस्तो देखिन्थ्यो | म पनि खाना खाएर भ्याएपछी चकटीमा बसेर त्यसरी नै सानु मिसको होमोक गर्थें | मेरो मन खिन्न भयो | बाले आज पनि खाई सक्नुभएको रैछ र आज पनि मलाई छुट्यो |

एकैछिन् पछी दाई आईपुग्नुभयो | “भाईलाई एक्लै नछोड्नु भनेको हैन, यस्तो चकचके छ, बाटो काट्न राम्रो संग आउँदैन, बिचार गर्न पर्दैन ? ” बाले कडा स्वरमा गाली गर्नुभयो |

दाईले केहि भन्नुभएन , तर खाजा खाएर फर्किएपछी दाईले मलाई बाटोमा दुई लात्ता हान्नुभयो | दाईको रिस पनि मुनासीब नै थियो | मेरो बिठ्ठ्याईंले गर्दा दाईले बिना कारण दोष पाउनुभएको थियो | तर म त्यो बुझ्दैन थिएँ | दाईको लात्ताको प्रतिकार गर्न पनि सक्दैन थिएँ | निरिह र लाचार भएर सहें |********************************************

कान्छा काका बाहिर गएर एक हप्ता अघि फर्किनुभएको थियो | हामीलाई दुईटा घडी ल्याईदिनुभएको थियो | एउटा बत्ती बल्नी पिलपिले घडी, अनि अर्को तिनटा सुई भएको किउ एण्ड किउ घडी | मलाई झिलिमिली बत्ती बल्नी पिलपिले घडी सार्है मन पर्यो, दुर्भाग्य दाईलाई पनि त्यहि घडी मनपर्यो | दाईले जित्नुभयो | दाईको हातमा पिल्पिले घडी बाँधियो, मेरो हातमा बुढो मान्छेको जस्तो बेरस, कालो किउ एंड किउ घडी | मलाई त त्यो नयाँ घडी हेर्न पनि आउंदैनथ्यो अनि कति बजेको पनि थाह हुँदैनथ्यो | मलाई त्यो नयाँ घडी त डटपिनले नाडीमा कोरेको आलु घडी जस्तै लाग्थ्यो, बेकामको | बिस्तारै मलाई आमाले घडी हेर्न सिकाइदिनुभयो |

********************************************

एकदिन हाम्रो कक्षामा राजाराम सर आउनुभयो | अगाडी कालोपाटीमा दुईटा घडी बनाउनुभयो, एउटा साँढे चार बजेको  अनि अर्को पौने १२ बजेको |

“कसले भन्न सक्छ यो कती बजेको भनेर?” सर ले सोध्नुभयो |

“मैले सक्छु सल”, मैले खुशी भएर चिच्याएँ |

“तैंले मेरो नाम त भन्न सक्दैनस, ल मेरो नाम भन् त”

“लाजालाम् सल्“ | मैले “र” लाई “ल” भनेर तोते बोलेको सरलाई सार्है मन पर्थ्यो | कति चोटी मैले होमोक नगर्दा त सरले “मेरो नाम भन्न सकिस भने छोडीदिन्छु” समेत भन्नु हुन्थ्यो अनि मैले सरको पिटाईबाट बच्न असफल प्रयासहरु गरीरहन्थें “लाजालाम् सल्, लाजालाम् सल्”

आजको कुरा बेग्लै थियो |अगाडी कोरीएको घडीमा कती बजेको थियो मलाई थाह थियो | मैले भने, “ चाल बजेल तिस मिनेट गको, अनि अल्को एघाल बजेल पैतालिस् मिनेट गको|”

“ल हिंड् म संग |” सरले मलाई संगै लिएर जानुभयो | म पछी पछी हिंडे |

अर्को कक्षामा पसेर सरले फेरी भन्नुभयो “कती बजेको भन्दे त फेरी |”

“चाल बजेल तिस मिनेट गको, अनि अल्को एघाल बजेल पैतालिस् मिनेट गको|”

सरले कक्षामा भएका सबैतिर हेर्दै भन्नुभयो, “तिमीहरु भन्दा सानो फुच्चेले भन्न सक्छ, तिमीहरु सक्दैनौ ?” अनि मतिर फर्केर भन्नुभयो, “यिनीहरु सबै नजानेर उठेका हुन्, सबैलाई पिट् |” सरले मलाई एउटा छडी पनि दिनुभयो | किरणदाई मात्र बस्नुभएको थियो, अरु सबै उभिनुभएको थियो | मेरो खुशीको सिमा रहेन जब उभिनेहरुको लाईनमा दाई पनि हुनुहुन्थ्यो | कुशल दाई मलाई माया गर्ने दाई,  कुशल दाईलाई बिस्तारै पिटेको जस्तो गरें | शुबाश दाई र प्रफुल दाई मेरा साथीहरु शरद र रोशनको दाई | रोशन र शरदको लागी मैले बदला लिनु थियो , बेस्सरी पिटें | सबैलाई पिट्दै गएँ |

“ओइ बिस्तारै पिट् है” दाईले भन्नुभयो | बाको अफिसबाट फर्किदा बाटोमा लात्ताले हान्नुभएको सम्झिएँ | म दाईको अगाडी लट्ठी लिएर उभिएको थिएँ | म होंचो थिएँ, टाउको माथी फर्काएर दाईलाई हेरें |मेरो खुशी मेरो मुस्कानमा छताछुल्ल भएर पोखियो | मेरो लागी त्यो सन्तुष्टीको मिठो मुस्कान, दाईको लागी डरलाग्दो र भयानक थियो जुन दाईका आँखामा प्रस्ट देखिन्थ्यो | पिटाई खान दाईले हत्केला अगाडी बढाउनुभयो | मलाई त्यो बेला स्वर्गानुभुती भयो | बदला लिने यो अवसर मैले कहाँ गुम्न दिन्थें र ? मैले सकेको बल निकालेर हानें | दाईको पिलपिले घडीको झिलझिले बत्ती झ्याप्प निभ्यो | घडीका साना साना टुक्रा भुईंमा छरीए, दाईको मुटुका टुक्राहरू जस्तै |  

Last edited: 12-Feb-15 09:39 PM
Read Full Discussion Thread for this article