Posted by: Fuel Tank February 3, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     3       ?         Liked by
भक्ते, किद्दो, सबैको शत्रु, साथै कथा पढेर मनपराई दिनुहुने सबैलाई धन्यबाद :)

चकचके बाँदर शृंखलाको अर्को भाग :
********************************************
घर पछाडी सानो करेसाबारी थियो | पछाडीको ढोकाबाट चर्पी सम्म जाने साँघुरो बाटोले त्यहि करेसाबारीलाई बीचबाट चिरेर दुई टुक्रा बनाएको थियो | जाडोको बेला थियो अनि आमाले करेसाबारीमा बन्दा, काउली, धनियाँ, प्याज, लसुन, खुर्सानी, टमाटरहरु लगाउनुभएको थियो | भरतपुरको महँगो तरकारी किनेर खान अलिकति भनेनी राहत दिन्थ्यो त्यो करेसाबारीले |

चितवनमा कहिल्यै पनि पानीको समस्या त भएन तर अनि सफा पानी बाँड्ने भनेर सरकारले पाईप्लाईन् बिछ्याएको थियो | अनि हाम्रो घरमा पनि त्यो खानेपानीको एउटा धारा थियो | बिहान तिन घण्टा अनि बेलुका तिन घण्टा त्यो धारामा पानी आउंथ्यो | त्यै समय भित्र भान्सामा चाहिने पानी भर्ने, ट्यांकीमा पानी चढाउने , नुहाई-धुवाई आदी सबै पानीको काम गर्नु पर्थ्यो | छन त अर्को ईनार जोडिएको धारा पनि थियो, तर त्यसमा मिहेनत धेरै लाग्थ्यो | अनि सबै पानीका काम बेलुका पानी आउने समयलाई साँचेर राख्थ्यौं |

पानी आउने बेलामा संधै गर्नु पर्ने एउटा बिशेष काम थियो र मलाई असाध्यै मन पर्थ्यो , करेसाबारीमा पानी हाल्ने | खानेपानीको धाराको टुटीमा लगेर पाईप जोडेपछी उता पट्टिबाट पानी आउंथ्यो | खानेपानी संस्थानको ट्यांकी नजिकै थियो हाम्रो घर, त्यै भएर पनि होला धाराबाट कस्तो जोडले पानी आउंथ्यो| अनि त्यो पाईपबाट निस्किने पानीलाई बुडी औंलाले बिथोल्दिए पछी पानी छरिन्थ्यो र करेसाबारीमा बर्सिन्थ्यो | छरिएको पानीको छिटा म तिर पनि आउंथ्यो, तर कहिल्यै त्यसको प्रतिकार गरीन |मलाई त्यस्तो छिटामा रुझ्न मन पर्थ्यो | मेरो ध्यान बिरुवामा पानी हाल्ने भन्दा धेरै पानीमा खेल्ने तिर हुन्थ्यो | तरकारीका बिरुवाहरु, कुनै पानी धेरै भएर जरा निस्किन थालेका हुन्थे, कुनै चै माथी माथी माटो मात्रै भिजेका हुन्थे | कहिले कहिले त पुरै हिलाम्य हुन्थ्यो | मलाई राम्रो संग पानी हाल्न आउंदैन थ्यो |तर पनि मैले नै पानी हाल्थें| संधै | आफैं निर्थ्रुक्क भिजुन्जेल सम्म | काउलीले सेता फूलहरु हालेका थिए, बन्दा गोला गोला भएका थिए, लसुन, प्याज धनियाँहरु गोलीगांठा भन्दा अलि माथि सम्म आईपुगेका थिए |

*********************************
आज स्कुल बिदा थियो तै पनि बिहान चाँडै उठें | आमाले पुजा गर्दै हुनुहुन्थ्यो, बाले रेडियोमा समाचार सुन्दै हुनूह्न्थ्यो अनि दाई चै सुतिरहनु भएको थियो | मलाई चै कुन बेला घरबाट फुस्केर बाहिर जाम्ला र बाटो छेकम्ला भन्ने मात्रै थियो | आज शिवरात्री थियो , हाम्रो पैसा कामाउने दिन |

आमाले टिका लगाईदिनु भयो | “बिहान भात खाने बेला सम्म आईज है |”
मैले हस भनें र घरबाट निस्कें | आजको मेरो दिन एउटा रोमान्चक यात्रा भन्दा कम थिएन | चप्पल राम्रो संग लगाउन पनि आउँदैनथ्यो | दाहिनेको देब्रे खुट्टामा , देब्रेको दाहिने खुट्टामा गरेर उल्टो चप्पल पट्याँस्-पट्याँस् पड्काउँदै घरबाट निस्कें |

“ऊ फियुल ट्यांक पनि आयो” सरोजले आफ्नो आँगनमा जम्मा भएका सबैलाई सुनायो | सबै जना मलाई कुरेर बसेका रैछन | बिजयले डोरी समातेको थियो | प्रवेशले एउटा थालीमा अक्षता र फुल बोकेको थियो अनि त्यसको साईडमा सानो शिवजीको फोटो थियो | अरुण र माईलु पनि संगै थिए | बिजय हाम्रो नाईके थियो | उ हामी सबै भन्दा ठुलो थियो, उमेरमा, उचाईंमा अनी आकारमा | हामी उसको पछि पछि लाग्थ्यौं |

“ह्याँ हैन, ह्याँ त मान्छे नै धेरै आउंदैनन् | चोकमा जानी हो |” बिजयले हामी सबैलाई नजिकैको कुखुरे चोकमा लिएर गयो | चोकको नाम त के हो कुन्नी, त्यहाँ एउटा कुखुराको मासु पसल थियो अनि हामी सबैले कुखुरे चोक भन्थ्यौं |
“उ आयो आयो” उताबाट एउटा साईकल आएको देखेर सरोज करायो | सरोज, प्रवेश र म भएर डोरीको एउटा छेउ समातेर तान्यौं, बिजय अरुण र माईलुले अर्को छेउ | साईकल कुँदाउँदै आयो | अनि हामीहरुमा एकाएक शिव भगवानको भक्ति चड्यो | बिजयले भट्याउँथ्यो , हामी पछी पछी नारा लगाउँथ्यौं |

“शिवरात्री कि ?”
“जय”
“शिवरात्री कि ?”
“जय”
साईकल नजिकै आईसकेथ्यो | अनि हामी झन् झन् चर्को आवाजमा शिवजीको स्तुतीगान गाउँदै थियौं |
“शिवरात्री कि ?”
“जय”
“शिवरात्री कि ?”
“जय”

हामीलाई छल्लाउँदै कटेर जाने कोसिस त गर्दै थियो तर सकेन | साईकललाई समात्यौं | रोकिसकेपछी, त्यो साईकलको दाईले एक रुपैंया निकालेर दिए |

“हुन्न हुन्न एक लुप्याँले हुन्न | दुई लुप्याँ चाहिन्छ | हाम्लाई बच्चा भनेल हेपेको ?” म कडा रुपमा प्रस्तुत भएँ |

“सबै उता बाटो छेक्नेलाई दिंदा दिंदा सकियो, अहिले फर्किंदा दिन्छु हुन्न?” उम्कने प्रयास गर्यो साईकलले |

“हुन्न” बिजय चर्कियो | अहिले सम्म प्रवेशले डोरीको टुप्पो साईकलको चक्काबाट छिराएर २-३ फिर्का लगाईसकेथ्यो | साईकल उम्कने सम्भावना नै थिएन|

यस्तै बहस हुँदा हुँदै उताबाट मोटरसाईकल आयो | मोटरसाईकल ले धेरै पैसा दिन पर्थ्यो | शिब भगवान्ले बनाईदिनुभएको नियम जस्तै थियो यो |
बिजय करायो “ओई यो साईकललाई जान्दे जान्दे” | हामीले त्यस्तै गर्यौं र त्यो साईकललाई जान दियौं | डोरीको दुई टुप्पो बाटो वारी र बाटो पारी समातेर मोटरसाईकलको बाटो छेक्यौं | मलाई मोटरसाईकलले किच्छ कि भनेर सार्है डर लाग्थ्यो | अनि मैले संधै डोरीको टुप्पा नै छोडीदिन्थें |

बिजयले हामी सबैलाई सम्झाउँदै पनि थियो, “मोटरसाईकलले किच्यो भनी त्यो नै जेल जान्छ , नडराओ है” अनि फेरी चिच्याउँथ्यो “शिवरात्री कि ? “

“जय” , हामी घाँटीको नशा फुल्ने गरी जवाफ फर्काउँथ्यौं |

मैले डोरी नछोड्ने संकल्प गरेको थिएँ | मोटरसाईकल नजिकै आईसकेथ्यो | अनि मोटरसाईकलले बेस्सरी “ढुर्रर्रर्रर्रर्र” गर्यो | खै कुन्नी कुन बेला डोरी फाल्दिएँ | डोरी बिजयले मात्रै सामातेको थियो , मोटरसाईकल पर पुगीसकेको थियो |

*************************************

पर बाट उफ्रिंदै र दुकुर्दै दाई मलाई बोलाउन आईसक्नु भएको थियो | कति चाँडै बिहानको भात खानी बेला भै-सकेको रैछ | “आमाले बोलाउन पठाउनु भको, छिट्टो घर हिंड रे”|
“हजुल जानु, म पैसा लेल आउँछु|” मेरो भागमा अहिले सम्म ५-७ रुपयाँ परेको थियो होला तर आजको कार्यक्रम बेग्लै रैछ | पोहोर परार जस्तो पैसा नबाँड्ने रे, यो पटक चै बेलुका त्यो पैसाले हलुवा, तरकारी पकाउने रे, अनि धुनी बाल्ने रे | मैले पनि हुन्छ भनेर घर फर्कें |

*****************************************

साँझ पख आफ्नो पौरखको कमाई खान भनेर निस्कें | सरोजको घर पछाडीको बाटोमा सबै जाना जम्मा भएका थिए | अँध्यारो अँध्यारो भएको थियो | बिजयले त्यो उठेको पैसाले सुजीको पिठो, अलिकती तेल बेसार, मसला के के हो किनेर ल्याएको रैछ | तरकारी चै केहि पनि थिएन|

सरोजले थप्यो “तिम्ले दिनभरी बाटो नछेकेको भ’र तिम्ले लाहुरेको घरबाट तरकारी चोरेर ल्याउनि रे , बिजयले भनेको|”

मैले पहिले हुन्छ भने अनि बल्ल बिस्तारै सोचें | लाहुरे पल्लो गाउँको हिटलर जस्तो थियो | तिन गाउँका भुरा भुरी हरु डराउँथे| उसको घर ओरीपरी अग्लो अग्लो कम्पाउण्ड लगाएको थियो | अनि तालीम पाको कुकुर थियो | त्यो कुकुरले कति सम्मको तालीम पाको थियो हामी कसैलाई पनि थाह थिएन तर एकदिन सरोज आफैंले देखेको रे, बल फाल्यो भने दुगुर्दै गएर बल लिएर आउंथ्यो रे |

मलाई पछुतो लाग्दै आयो , एक मनले त हलुवा सलुवा खान्न जस्तो पनि भयो तर फेरी आफ्नो कमाई| आँटेर लाहुरेको घर तिर हिंडे | लाहुरे कहाँपुग्दा त लाहुरेले अर्कै टोलका भुराभुरीहरुलाई समातेर “कुकुर लगाईदिम” भनेर तर्साउँदै थियो | तिनीहरु पनि चोर्न आएका थिए होलान् सायद | आफुँ बचें |

तरकारी त लैजानु छ जसरी पनि , बिस्तारै अरुको करेसाबारी हेर्दै हिंडे | जहाँ पस्न पनि डर लागेर आउंथ्यो | समाते भने भोली टोल भरी “राधा मेडमको छोरो त चोर रैछ” भनेर हल्ला हुन्छ | अनि आमाले सिम्कानाले मलाई पिट्नुभको सम्झेर जिउ नै झनननन भएर आयो |

म एउटा करेसाबारी भित्र छिरें |सर्लक्कै सप्पै काउली र बन्दा टिपें | दुईहातको अँगालो भरी बनाएँ | यसो फर्किन लाग्दा मेरो चप्पल हिलोमा गड्यो, चिप्लियो अनि त्यहीं हरायो | मैले सोचें “आफ्नै बालीत हो नि, भोली बिहान खोजम्ला”

आफ्नै करेसाको भर्खर फुल्न लागेका बतिला देखि लिएर भर्खर फुल हालेका सबै काउली-बन्दा निमिट्यान्नै बनाएको थिएँ तर पनि मेरो प्रतीक्षामा बसेका सबैलाई बडो गर्वसाथ सुनाएँ “यी मैले तल्काली ल्याछु |”
Last edited: 04-Feb-15 03:57 PM
Read Full Discussion Thread for this article