Posted by: _____ January 2, 2015
एमालेका बाहुन नेता जनजातिका ज्वाइँ !
Login in to Rate this Post:     0       ?        

एमालेका बाहुन नेता जनजातिका ज्वाइँ !

अन्तरजातीय विवाहले जातीय सदभाव बढाउने दाबी

२०७१ पुष १८ गते १३:५७ मा प्रकाशित

१८ पुस, काठमाडौं । आदिवासी जनजाति आन्दोलनमा लागेकाहरुले एमालेका शीर्षनेतालाई ‘जनजाति विरोधी’को आरोप लगाउने गरेका छन् । तर, आरोप लगाउने कतिपयलाई थाहा नहुन सक्छ, एमालेका अधिकांश शीर्षनेताहरु जातले बाहुन भए पनि आदिवासी जनजातिकै ज्वाइँ चेला हुन् ।

logne swasni

यसलाई अनौठो संयोग नै मान्नुपर्दछ, ‘पहिचान विरोधी’ आरोप खेपिरहेका एमालेका शीर्ष नेताहरुको जस्तो समावेशी परिवार अरु पार्टीमा कमै छ । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमसहित २२ सदस्यीय स्थायी समितिमा करीव आधाजति बाहुन नेताहरु आदिवासी-जनजातिका ज्वाइँ चेला हुन् ।

एमालेको सर्वोच्च कार्यकारी निकाय स्थायी कमिटीमा ८ जना नेता आदिवासी जनजातिका ज्वाइँ छन् । सायद अरु कुनै पनि ठूला पार्टीमा जनजातिका ज्वाइँ नेताहरुको यति ठूलो संख्या छैन ।

एमाले अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल तीनैजना नेवारका ज्वाइँ हुन् । अझ काठमाडौं, भक्तपुर र ललितपुरका रैथाने नेवार यी नेताका ससुराली हुन् ।

ओलीपत्नी राधिका शाक्य राष्ट्रिय वाणिज्य बैंककी कर्मचारी हुन् । खनाल पत्नी रविलक्ष्मी चित्रकार प्राध्यापक हुन् भने पोखरेल पत्नी मीरा ध्वजू एमाले सभासद तथा महिला नेतृ हुन् ।

त्यसो त एमालेका बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम पनि आदिवासी जनजातिका ज्वाइँ हुन् । उनको ससुराली मगर हुन् ।

वामदेव पत्नी तुलसा थापामगर एमालेनिकट महिला संघलगायत पार्टी राजनीति र सामाजिक काममा क्रियाशील छिन् ।
एमालेका १५ जना पदाधिकारीमध्ये सचिव गोकर्ण विष्ट पनि आदिवासी जनजाति नेवार समुदायका ज्वाइँ हुन् । उनकी पत्नी प्रतिमा श्रेष्ठ त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्छिन् ।

त्यस्तै स्थायी समिति सदस्यहरु अमृत बोहोरा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे पनि आदिवासी जनजातिका ज्वाइँ हुन् ।
बोहोरा पत्नी अष्टलक्ष्मी शाक्य पार्टी उपाध्यक्ष हुन् । त्यस्तै पोखरेल पत्नी सुजिता शाक्य पनि एमाले केन्द्रीय सदस्य हुन् । पाण्डे पत्नी पूर्णशोभा चित्रकार भने बारुदी सुरुङ विरुद्धको अभियान नामक गैरसरकारी संस्था चलाउँछिन् ।

ओली पत्नी राधिका र गोकर्ण पत्नी प्रतिमा बाहेक अन्य नेताका पत्नीहरु कुनै न कनै रुपमा पार्टी काममै क्रियाशील छन् । राधिका र प्रतिमा पनि पार्टीका संगठित सदस्य हुन् ।

स्थायी समितिकै आकांक्षी एमालेका प्रभावशाली नेता प्रदीप नेपाल पनि आदिवासी जनजाति याख्खा समुदायका ज्वाइँ हुन् । उनकी पत्नी झुमा देवान निजी स्कूल चलाउँछिन् ।

भूमिगत कालमा पार्टी कामकै सिलसिलामा बिहे भएकाले गर्दा अधिकांश नेतापत्नीहरु राजनीतिक रुपमा सचेत छन् । त्यसो भए पहिचानसहितको संघीयताका बारेमा जनजाति पत्नीले बाहुन पतिसँग फरक मत राखेको देखिँदैन ।

एमाले नेतृ तथा सभासद मीरा ध्वजु भन्छिन्- ‘पार्टीको निर्णय नै हामी सबै सदस्यहरुको निर्णय हो, यसमा पति पत्नी, जातभातको कुरै छैन ।’

एकल जातीय पहिचानसहितको संघीयतालाई जनताले नै अस्वीकार गरिसकेको भन्दै एमालेभित्र रहेका जनजाति र गैरजनजाति नेता कार्यकर्ता सबैको एउटै मत रहेको सुजिता शाक्यको दाबी छ ।

जातीय विभेद, सामाजिक उत्पीडन र पहिचान स्थापित गर्ने कुरा हरेक जातका नाममा राज्य बाँडेर होइन, अन्तरजातीय विहेबाट अन्तरघुलन हुने जनजातिका छोरी-ज्वाइँ एमाले नेताहरु बताउँछन् ।

अनेरास्ववियुका पूर्वअध्यक्ष तथा प्रभावशाली पोलिटब्यूरो सदस्य अरुण नेपाल पनि जनजातिकै ज्वाइँ हुन् । उनकी पत्नी सम्झना श्रेष्ठ गैरसरकारी संस्थामा क्रियाशील छिन् ।

खस आर्यका ज्वाइँ र बुहारी

एमालेका बाहुन नेताले जनजाति ससुराली बनाएजस्तै जनजाति नेताहरुले बाहुन क्षेत्रीसँग नाता गाँस्ने क्रम पनि बढेको छ ।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्षद्धय राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीले खस आर्यसँग पनि अन्तरजातीय बिहे गरेका छन् ।

राई पत्नी शोभा पाठक अखिल राजनीतिमा थिइन् । झाँक्री पति पशुपति पुरी हाल भक्तपुर जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी छन् ।

त्यस्तै पोलिटब्यूरो सदस्यद्धय लालबाबु पण्डित र वंशीधर मिश्रका ससुराली पहाडे बाहुन हुन् ।

अन्तरजातीय विवाहले जातीय सदभाव बढाउने दाबी

एमालेमा अन्तरजातीय बिहे गर्ने नेता कार्यकर्ताहरुको ठूलो पंक्ति छ । उनीहरु अन्तरजातीय बिहेबाट एक अर्काे जातिप्रति सम्मान र सद्भाव बढ्ने दाबी गर्छन् । तर, जातीय राज्य चाहिँ हुँदैन भन्नेमा सबै दम्पती एक मत छन् ।

नेताहरुको घरजस्तै पार्टीलाई पनि समावेशी बनाउन एमालेले विधानमै व्यवस्था गरेर जनजाति, मधेसी र सीमान्तकृत समुदायको प्रतिनिधित्व बढाएको छ । पछिल्लोपटक स्थायी कमटी गठनमा समेत उसले समावेशी अनुहार थपेको छ ।

तर, राज्य पुनसंरचनामा भने उसले आदिवासी जनजाति अगुवाहरुले भनेजस्तो एकल जातीय पहिचान स्वीकार गर्न मानेको छैन ।

एमाले पोलिटब्यूरो सदस्य शेरधन राई एमालेले बहुजातीय पहिचान स्वीकार गर्ने तर, केही आदिवासी अगुवाले भनेजस्तो पहिचान स्वीकार नगर्ने बताउँछन् ।

संयोग नै मान्नुपर्छ, यसो भन्ने सभासद एवं जनजाति नेता राई अहिलेसम्म अविवाहित छन् । सायद उनी पनि अन्तरजातीय विहेको लाइनमा छन् कि ?

- See more at: http://www.onlinekhabar.com/2015/01/224647/#sthash.iCXcXmuC.dpuf
Read Full Discussion Thread for this article