Posted by: cybernepali December 4, 2014
नेपालमा सुखसंग बसेका परिवार, डिभी परेर अमेरिका आएपछि डिभोर्स
Login in to Rate this Post:     0       ?        

यसरी आयो अमेरिकामा जीवनसाथी वा छोराछोरी रोज्ने अवस्था

यसरी आयो अमेरिकामा जीवनसाथी वा छोराछोरी रोज्ने अवस्था

     एउटा दम्पत्ति । नेपालमा खान लाउनको कुनै दुख थिएन । तर पनि अमेरिकामा बस्ने उनीहरुको ठूलो रहर थियो । उनीहरुको यो रहर डिभी चिठ्ठाले पुर्याइदियो । त्यसपछि उनीहरु अमेरिकामा त आए तर उनीहरुको दाम्पत्य जीवन भने ध्वस्त भयो । कसरी भयो उनीहरुको दाम्पत्य जीवन ध्वस्त ? यसैबारेमा श्रीमान्लाई डिभोर्स दिन बाध्य भएकी श्रीमतिले खसोखासका लागि कृष्णा गौतमलाई बताएको जीवनकहानी जस्ताको तस्तै । 


         डिभी चिठ्ठा परेपछि हामी चारजनाको परिवार निकै खुशी र उमंगका साथ अमेरिकामा आएका थियौं । नेपालमा पनि हामीलाई नराम्रो त केही थिएन । जमेर नै बसेका थियौं । म सरकारी जागिर गर्थें । मेरा श्रीमान्को नेपालमा पुख्र्यौली सम्पत्ति प्रसस्तै थियो । निकै शान थियो हाम्रो नेपालमा । घरमा काम गर्नेहरु पनि चारपाँच जना हुन्थे । यसैबीचमा हामीलाई डिभी चिठ्ठा परेको थियो । नेपालमा जति सम्पन्न भएपनि अमेरिकामा आएर बस्ने रहर सबैलाई हुन्छ । त्यसैले हामीले डिभी चिठ्ठा भरेका थियौं । 
        चिठ्ठा परेपछि हामी सन् २००८ मा अमेरिकामा आएका थियौं । त्यतीबेला हाम्रो छोरा १२ वर्षको र छोरी सातवर्षकी थिइन् । यीनै छोराछोरीको भविश्य उज्जवल होस् भनेर हामी अमेरिकामा आएका थियौं । सुरुमा त डिभी परेपनि अमेरिका नजाने कि जस्तो लागेको थियो । तर सबैले डिभी परेकाले यस्तो मौका गुमाउन नहुने सुझाव दिए । अनि हामी अमेरिका आयौं । 
        अमेरिका आइसकेपछि सुरुमा हामी अमेरिकाको टेक्सासमा आयौं । टेक्सासमा कामको अलिक समस्या भयो । छोराछोरीसँग टेक्सासमा बस्न समस्या भएकाले हामी टेक्सासबाट न्युयोर्कमा आयौं । सुरुमा हामी टेक्सासमा पाँचमहिनासम्म बसेका थियौं । तर त्यहाँ भनेजस्तो कामै पाइएन । त्यहाँ श्रीमान्को लागि काम पाइएपनि मेरा लागि काम पाइएन । चारपाँचजनाको परिवार सधै नेपालबाट पैसा ल्याएर धान्ने कुरा पनि भएन । 
       श्रीमान्लाई पनि काम गर्न आग्रह गर्दा उहाँले नेपालमा आफू नोकरचाकर राखेको मान्छे काम गर्न सक्दिन भन्न थाल्नुभयो । उहाँले बारम्बार यहाँ यस्तो काम गर्नुभन्दा त बरु नेपाल नै जान्छु भन्नुहुन्थ्यो । तर पनि न्युयोर्कमा अलिक गतिलो काम पाइन्छ कि भन्ने आशाले हामी न्युयोर्कमा आएका थियौं । न्युयोर्क आइसकेपछि सुरुमा कोठापनि राम्रो पाइएन । अरुसँगै मिलेर बस्यौं । मैले ब्यूटी पार्लरको काम सिकें र पार्लरमा नै काम गर्न थालें । 
       छोराछोरीहरुलाई पनि विद्यालयमा भर्ना गरियो । ठूलो छोराले सानो बहिनीलाई स्कुल पुर्याउने , आफू पनि स्कूल जाने र स्कुलबाट आएपछि बहिनीलाई होमवर्क गराउने गथ्र्यो । यसरी समय वित्दै गयो । मैले मेरै कामबाट घरको सम्पूर्ण खर्च र छोराछोरीको खर्च पनि धानेको थिएँ । यसबीचमा मैले मेरा श्रीमान्लाई पटकपटक काम गर्न आग्रह पनि गरेकी थिएँ । तर उहाँले आफ्नो स्तर अनुशारको काम नपाएको भन्दै काम गर्न मान्नुभएन । सधै म नेपालमा यस्तो र उस्तो भनिरहनुहुन्थ्यो । 
        मैले बारम्बार भन्ने गर्थें कि यो नेपाल होइन । हामी अमेरिका आएका छौं, केही न केही काम गर्नुपर्छ । तर यही निहुमा हाम्रो झगडा नै हुन थाल्यो । सधै घरमा काम नभएका आफूजस्तै साथीहरुलाई जम्मा पारेर दिनभर तास खेल्ने गर्न थाल्नुभयो । चुरोट र रक्सीको नशामा लठ्ठिएर तासमा रमाउने आदत पर्न थाल्यो उहाँहरुलाई  । हाम्रो कोठा जुवाघर र भट्टीजस्तो हुन थाल्यो । बेलुका काम सकेर म घरमा आउँदा तैले कमाएको पैसाको धाक लगाउछेस् ? मैले नै तलाई अमेरिका ल्याएको हुँ भन्दै नानाथरी गाली गर्नुहुन्थ्यो । 
       दिन बित्दै गर्दा हाम्रो दिनहुजसो झगडा हुन थाल्यो । छोराछोरीका अगाडि झगडा गर्दिन भन्दा पनि उहाँ सधै मसँग झगडा गरेर बस्नुहुन्थ्यो । घरको सम्पूर्ण जिम्मेबारी मेरो टाउकोमाथि थियो । छोराछोरीले सधै बुबाले किन काम गर्नुहुन्न ? भनेर सोध्ने गर्थे । मैले भन्थें –“तिमीहरुको बुबाले हामीलाई हेरचाह गर्नुपर्छ । उहाँ काममा टाढा जानुभयो भने हाम्रो हेरविचार गर्ने मान्छे हुँदैन । त्यसैले उहाँ काममा नजानुभएको हो । ”
       मेरो मनभित्रको दूखलाई म छोराछोरीको मुख हेरेर लुकाउने प्रयास गर्थें । एक दिन त मेरो पनि खुशीको दिन आउला भनेर चित्त बुझाउने गर्थें । डिभी पर्दा जुन खुशी छाएको थियो, अमेरिका आइसकेपछि त्यो खुशी बचेन । श्रीमान्सँग मेरो सम्बन्ध एकदम नराम्रो हुँदै गयो । उहाँले घरमा मान्छे जम्मा गरेर तास खेल्दै भाँडभैलो मच्चाउदा पनि मैले केही बोल्नु हुँदैनथ्यो । केही बोल्यो भने त रातभर घरमा झगडा हुन्थ्यो । यसैबीच एकदिन मेरो छोराले भन्यो –“तपाईहरु यसरी नै झगडा गर्ने हो भने म पुलिस बोलाउँछु ।”
       छोराले पुलिस बोलाउने बताएपनि मेरा श्रीमान् अझ आक्रोशित हुनुभयो । उहाँले छोरालाई तथानाम गालि गर्दै हुनुहुन्थ्यो । त्यहीबीचमा छोराले पुलिसलाई फोन गरिसकेको रहेछ । श्रीमान्ले तँ बढी बोल्छस् , यो घरबाट निक्लिहाल् भन्दै छोरालाई घिच्याएर घरबाहिर निकाल्न खोज्दै हुनुहुन्थ्यो , बाहिर त पुलिस आइसकेका रहेछन् । पुलिसले मेरा श्रीमान्लाई पक्राउ गरेर लगे । म के गर्ने के नगर्ने अलमलमा परें । पुलिसले मलाई र छोरालाई उपस्थीत हुनका लागि समय दिएर गएका थिए । 
      हामी पुलिसले दिएको समयमा त्यहाँ गयौं । त्यहाँ गइसकेपछि पुलिसले छोराछोरीलाई सोध्दा उनीहरुले भने –“बुबाले ममीलाई सधै गाली गर्नुहुन्छ । पिट्नुहुन्छ । बुबाले काम पनि गर्नुहुन्न । ममीकै कमाई खाएर बस्नुभएको छ । ममी बुबासँग बस्नुहुन्छ भने ठीकै छ । तर हामी दाजुबहिनी बुबासँग बस्न सक्दैनौं । ” 
     त्यसपछि निकै जटिल अवस्था आयो । मैले मेरो जीवनसाथी रोज्ने वा छोराछोरी ।  मैले छोराछोरीलाई भनें –“एकपल्ट बुबालाई माफ गरिदेऊ । जेजस्तो भएपनि तिम्रो बुबा हो । ” तर छोराछोरीले भने –“हामी माफ गर्न सक्दैनौं । बुबासँग तपाईले डिभोर्स गर्ने हो भनेमात्र हामी तपाईसँग बस्छौं । बुबाले सधै तपाईसँग झगडामात्र गर्नुहुन्छ । त्यो भन्दा राम्रो त छुट्टै बस्नु हो । ” 
      मलाई निकै पिरलो भयो । पुलिसले श्रीमान्लाई थुनेर राखेकाले उहाँलाई जसरी पनि छुटाउन मन थियो । तर छोराछोरीले नमानेकाले र पुलिससँग छोराछोरीले बयान दिइसकेकाले तत्काल छुटाउन सम्भव पनि थिएन । पछि मैले छोराछोरीलाई कन्भिन्स गर्न खोजें । उनीहरुले कुनै पनि हालतमा बुबासँग नबस्ने भने । त्यसपछि मैले श्रीमान्सँग डिभोर्स गर्ने निर्णय गरें । मैले यस्तो निर्णय लिइसकेपछि एकैसाथ नबस्ने हो भने ठीकै छ भनेर छोराछोरीहरु कन्भिन्स भए । त्यसपछि केश फिर्ता लिइयो । श्रीमान् थुनाबाट छुट्नुभयो । तर डिभोर्सको शर्तमा उहाँलाई छुटाइएकाले उहाँसँग बस्न सम्भव थिएन । त्यसैले मैले बाध्य भएर उहाँसँग डिभोर्स गर्नुपर्यो । यसरी श्रीमान्ले काम नगर्दा उब्जिएको समस्याले हाम्रो सम्बन्ध नै टुटेर गयो । 

- See more at: http://khasokhas.com/news/617#sthash.KzEk9CDQ.dpuf
Read Full Discussion Thread for this article