सुधाको डायरी-पेज ७९
परवाट देखेँ उसलाई। साकेतलाई। उ प्रश्नहरुका उत्तर दिँदै थियो।केहि क्यामेराका फ्ल्यासहरु झल्याक झुलुक गर्दै थिए।
"यो कथा केको वारेमा हो त सर?"
"स्वतन्त्रताको वारेमा !"
"नारी स्वतन्त्रता?"
"कसले भन्छ नारी मात्रै स्वतन्त्र हुनपर्छ भनेर?" उ हाँस्यो। मैले उसको किताव पल्टाएर कथा शुरुहुनुभन्दा अगाडीको हरफ पढेको थिएँ।
"पानीमा कहिल्यै छाप हुँदैन
कालो रंगको राप हुँदैन
लुकेर वस जहिले सम्म सक्छौ
छायाँमा कहिल्यै पाप हुँदैन।"
मैले धेरैवेरसम्म ति शव्दहरु सुम्सुम्याइ रहेँ। मलाई लाग्यो उ मेरो वारेमा लेख्दै छ। मेरो कालो सत्यहरुलाई पारदर्शी वनाइदिने छ उसले। तर मुर्ख दुनियाँले वुझ्ने छैन उसका क्यानभासका रंगहरु। उसका रंगहरु गहिरा छन् । जसमा पौडेर हुन्न,डुव्नुपर्छ।
"तँपाइ किन समाजलाई सँधै गलत देखाउनुहुन्छ आफ्ना कथाहरुमा !"
"किनकि व्यक्ति आफुमा गलत हुन्न, आत्मा गलत हुन्न मेरो विचारमा। उसले ओढेको खोल गलत हुन्छ। उ माथी पारिएका प्रभाव गलत हुन्छन्। त्यहि प्रभाव त समाज हो नि । हैन र ?"
प्रश्न सोध्ने मौन वने। म धेरैवेर ति शव्दहरु खेलाइरहेँ। वुक कभरको जस्तो नै थियो उसको अनुहार। दाह्रीले झ्याप्प छोपेको। आधा सेता आधा काला। घरी घरी चश्मा मिलाइरहेको थियो। चश्मा मिलाउँदा उसको रोलेक्स घडी प्रकाशमा परेर चम्किन्थ्यो। हो उ समयनै चम्किलो वनाउने ल्याकत राख्थ्यो। मैले कति रात उसका कितावहरु सकेर उसका शव्द खेलाउँदै ताराहरु हेर्दै टोलाएकी छु। उ मेरो साथी वनेको छ , मेरो एक्लोपनको। के उसलाई थाहा छ? छैन पक्कै पनि छैन।
"तँपाइको व्यक्तिगत जीवनको प्रभावले पो त्यस्तो सोचाइ आएको हो की?"
"तँपाइलाई त्यस्तो लाग्छ?"
उसले सोध्नेको आँखामा आँखा जुधायो शायद। उसले पनि टाउको हल्लायो। म भने प्रश्नमा अलमलिएँ। उसका कथाहरु जीवनको गहिराईमा छिर्छन्। एकान्तमा आफ्नो साथी आफैँ वन्न सिकाउँछन्। उसको व्यक्तिगत जीवनको प्रभाव भन्नु भनेको ? के उ पनि एक्लै छ ? म जस्तै ? करिव पचासको उमेर हुनुपर्छ उसको ! यति लामो जीवन एक्लै छ ? हुन पनि सक्छ । म उसका कितावलाई आफ्नो साथी वनाउन सक्छु भने।उ आफ्नै कितावलाई किन आफ्नो साथी वनाउन सक्दैन। उसले त पात्र पात्र चिनेको छ । उनीहरुको मनमा छिरेको छ। आफुलाई उनीहरु विचमा मिसाएको छ। पोखेको छ।हुन सक्छ ,उ पनि एक्लै हुन सक्छ। मैले प्रश्न सोध्ने मान्छेलाई हेर्न खोजेँ,पछि उसलाई सोध्नेछु , साकेतको वारेमा । अहँ देखिन। फ्रन्ट रो मा धेरै भिँड थियो।
"त्यसो भए तँपाइ र तँपाइको विचार सहि हो तँपाइको नजरमा। स्वतन्त्रताको कुरा गरेँ नि मैले। तँपाइ स्वतन्त्र हुनुहुन्छ मेरो वारेमा सोच्न। मैले सोच्ने ठाउँ वनाएँ तँपाइको मनमा, त्यो भने मेरो सफलता हो। " उ फेरि हाँसिदियो। प्रश्नहरु सकिए।कति सटिक उत्तर उसका। वगेजस्तो। वोलि प्रष्ट, विचार प्रष्ट। मैले आज पहिलो चोटी साकेतलाई सुने। जे सोचेकी थिएँ त्यो भन्दा अव्वल पाएँ।
म सँग आएको दाइले किताव किन्नुभएन।
"पसलमा आइहाल्छ नि किताव त , म त फ्रि को खाना खान आको !"
म उनको ठट्टा मन नपरे पनि हाँसि टोपलेँ। मान्छेको आत्मा गलत हुन्न खोल गलत हुन्छ, मेरो कानमा वज्दा वज्दै पनि हाँसी टोपलेँ।अनि किताव किनेर अटोग्राफ लिनेहरुको लाइनमा लागेँ। मलाई उसलाई नजिकैवाट हेर्नु छ।
"नाम ?"
"सुधा, मैले तँपाइको सवै किताव पढेकी छु।"
उसले पुलुक्क म तिर हेर्यो। सरसर्ति नियाल्यो
"धन्यवाद !" सटिक उत्तर दियो।
"धन्यवाद त मैले तँपाइलाई भन्नुपर्ने , पढ्ने मौका दिनुभएकोमा !" उसले कितावमा साइन गरिसकेको थियो।
पछाडीको भिँडले मलाई ढकेल्यो। म धेरै वोल्न पाइन ।
"तँपाइलाई फेरि काहिँ भेट्टाउन सकिन्छ ?" म व्यग्र वनेँ। मलाई आफ्नो प्रश्न सँग आफैलाई अचम्म लागेर आयो। किन भेटोस ,उसले मलाई। उसको जीवनमा मेरो के महत्व। अनि म कति हजारौँ मध्येकी एक !
उसले किताव पल्टायो ,अनि आफ्नो इमेल एड्रेस देखायो। मैले आफ्नो हातमा भएको किताव पनि पल्टाएर हेरेँ त्यहि इमेल एड्रेस थियो।किताव फेरि पल्टाए।
कितावको कभरमा मा लेखिएको थियो "सवै कितावहरु पढेकोमा धन्यवाद सहित"- साकेत हस्ताक्षर सहित।
********** ******************** ***************** ***************** *************
गरिमा चिया लिएर आई। कप माथी वाफको वादल देखियो। तातो चिया, सुकमेल हालेको। मलाई दुई घण्टा ताजा राख्नेछ त्यसले।
"सुधा भेट्टिन्छे होला ?"
थाहा छैन उ कहाँ भेट्टिने कुरा गरिराखेकी छे। यहाँ त उ पन्ना पन्नामा छे। धेरै अवतारहरुमा छे।
मेरो अनुहारमा देखिएको भावले गरिमाले के बुझी थाहा छैन। तर उत्तर आफैँ वनाइ।
"सवै पढ्नुपर्छ भन्नु न त !"
उसले आंग तन्काइ , मलाई वोलाए झैँ लाग्यो। मुसुक्क हाँसी अनि भनी
"पढ्नु पढ्नु, अनि चिया सेलाउन आँट्यो !"