मेरा डायरीमा नभएका मेरा
पानाहरु- सुधा
प्रतिक,
तिमी मेरो डायरी भरी
प्रदुषण देखिरहेका हौला। उछृंखल भएर छ्यालव्याल पोखिएकी मलाई देखिरहेका हौला।मलाई
मरुभुमीमा फुल्न खोज्ने सिउँडीको फूल सम्झिरहेका हौला। जहाँ पानी नहुन्जेल जीवन
छैन त्यहाँ सौन्दर्यको के महत्व।खोइ त त्यो जीवनको रस ? तिमी त्यहि नै सोच्दै हौला
पक्कै पनि ! तर मेरो जीवन सडक वनेन जहाँ म चौतारोमा सुस्ताउन सकुँ। फर्किएर आफु
आएको बाटो हेरुँ अनि सोचुँ त्यो बाटो सहि थियो जहाँ बाट म आएँ वा गलत ? फेरि
पुरानै बाटो फर्किएर दोवाटोमा गएर आफूलाई सुधार्न सकुँ। मेरो जीवन त समुन्द्र
वन्यो। जहाँ जव जव मैले पाइला चालेँ , मेरो पुरानो पाइला मेटियो। जहाँ जव जव पाइला
उठाएँ त्यहि मेरो बाटो वन्यो। अरुका जीवनमा क्षणहरु जोडिन्छन, मैले प्रत्येक
क्षणमा एउटा सिंगो जीवन भेट्टाएँ।
जागिर मैले सोचे जस्तै नै
भेट्टाएकी थिएँ। पछिल्लो जीवनमा पनि मेरो लाइव्रेरीको वुक किपिंग र ग्यान सहायक
बनेको थियो। आकृति वुक पोइन्टमा काम गर्दै मैले पढाइ अगाडी वढाएँ।खोइ के हुन्छ
कितावमा ? तिनीहरु म सँग वोल्छन्, लाग्दछ म अक्षर अक्षर चिन्छु। म अक्षर अक्षर
जोडेर नाक,कान आँखा बनाउँथे। अनि एउटा मुटु पनि , लेखको मुटु। जुन धड्किन्थ्यो ।
किताव पढ्दा लाग्थ्यो म यी सबैलाई चिन्छु।लेख्न पनि थालेकी थिएँ आफुलाई! लेख्नु त
के भनौँ र खोइ पोखेकी थिएँ आफुलाई पानाहरुमा।
सुधाको डायरी- पेज ७४
साँझको वेला म हिँड्ने
वाटोको स्ट्रिटलाईट झिलीमिलि गरेर वल्छन्।ताराहरु नजिक भएको भए कति रमाइलो
हुन्थ्यो होला स्ट्रिटलाइट नै नचाहिने। तर जीवन डढाउँथ्यो कि वा त्यहि ताराले?
कस्तो डरलाग्दो विचार, परवाट राम्रो लाग्ने ताराहरु नजिक भएर मेरो वरीपरिको मेरै
सौन्दर्यता डढाइरहेका छन्। हरेक वस्तुको आफुबाट अलिकति दुरी मापन हुनुपर्छ शायद।
आफुमा मिसियो भने त जेले, जसले पनि आफुलाई डढाउँछ।
आफु वस्ने डेराको ढोका खोल्ने वित्तिकै फेरि
घरपेटी दाइ कराए
"वहिनी कति ढिलो ?
मैले ढोका लाइदिन आँटेको थिएँ, तिम्रो कोठाको वत्ति नवलेको देखेर मात्र पर्खेको
!"
उनको घरको तल्लो फ्ल्याटमा
म एक्लै छु। माथी उनको परिवार।
म मात्र हाँसिदिएँ। घडी
हेरेँ।उहि साढे छ। समय उस्तै छ, म आउने। मात्र तिनलाई वोल्ने वहाना चाहिएको।हुन त
जाडोमा रात चाँडो पर्छ। केटीमान्छेले राती राती हिँड्नु हुन्न भन्न खोज्दैछन् शायद।म
त वेलगाम छु।पहिले देखि नै, घरपेटी दाइले आफ्नो कोठा मलाई दिनु अघि देखि नै !
तिनलाई के थाहा? तिनीले मात्र सोधे मलाई हेर्दै
"के गर्छौ?"
"पढ्दै छु, अनि काम
पनि !"
"काँ?"
"पढ्ने की काम
गर्ने?"
"काम गर्ने "
"आकृति वुक पोइन्ट,
पुल्चोकको ? किताव कत्तिको पढ्नुहुन्छ?"
"दश सम्म पढेँ,एसएलसी
फेल भएपछि मलाई पढ्न मन लागेन!"
"किताव वेच्ने दोकान
हो !"
"ए, अनि कति जना वस्ने
?"
"म ,एक्लै!"
दाइ अल्मलिएका थिए एक्लो मलाई
देखेर। वुढी तिर हेरेका थिए। उनलाई डर थियो वुढीले नाई भन्देली भन्ने ।
"तिन हजार, पानी
बिजुलीको अलग्गै !" वुढीले फाइनल गरीदिएकी थिई मेरो त्यहाँको वसाई।
****************
***************** ************* ************* *****************
"साकेतको नयाँ वुक
रिलिजमा हामीलाई पनि वोलाको छ! जाने हो सुधा ?" किताव रेकमा मिलाउँदै गर्दा म
सँगै काम गर्ने दाइले सोध्नु भएको थियो।मैले साकेतका धेरै चित्रहरु वनाएकी छु।
उसलाई नदेखी। सम्झनाको पेन्सिलले कोर्छु, विउँझिदा इरेजर तयार हुन्छ उसलाई मेटाउन।
साना साना उसका किताव पछाडीका तस्विरमा उसको अनुहार दाह्रीले झ्याप्प छोपेको छ। के
छ साकेत भित्र जहाँ बाट भावनाका समुन्द्र वग्छन् , कहिल्यै देखिन्न उसको कितावको
पछाडीको तस्विरमा ।मात्र देखिन्छन् उसले पहिले लेखेका कितावहरुका नामहरु। जुन मैले
पढिसकेकी छु।
"कहिले?" मैले
एकैछिन रोकिएर प्रश्न राखेकी थिएँ।
"शनिवार !"
"एक दिन त छुट्टि
हुन्छ दाइ !" मैले आफ्नो व्यग्रता लुकाउने प्रयास गरेँ। मलाई चिच्याउन मन छ
हो म जान चाहन्छु ।एक चोटी उसलाई सुन्न चाहन्छु। एक चोटी उसलाई हेर्न चाहन्छु। के
उसको वोली पनि उसका शव्दहरु जस्तै सुन्दर ,गहिरा छन् ?
"त्यसो भए जान्नौ त
?"
"ओभर टाइम पाइन्छ
?" मैले आँखा झिम्क्याएँ।
"भै गो ! म एक्लै
जान्छु !"
"हैन हैन जान्छु ,फेरि
तँपाइ रिसाउनुहोला !"
**************
*************** ****************** ************** *************
झ्याल एकै छिन खोलेँ।गरीमालाई
हेरेँ,सुतिरहेकी छे। वाहिर कुकुर अनवरत भुक्दै छन् । घडी हेरेँ, सवा एक बजे। किन
किन चुरोटको तलतल भयो। यहाँ खान सक्दिन, म सँग छैन पनि। ल्यापटप व्यागमा लुकाएको
थिएँ। चुरोट लिएर छत तिर लागेँ।शितले ओसिलो भएको छतमा इँटाका टुक्राहरु छन्। जोगिएर
हिँड्नुपर्छ। नत्र ठोकिने डर छ। गरिमाले लुगा सुकाउनलाई भनेर डोरी टाँगेकी छे।
क्लिपहरु त्यसैमा झुण्डिरहेका छन् लुगा विना। अस्तित्व छैन ,देखिँदैनन् तिनीहरु
लुगा नहुँदा । तै पनि अहिले त अँध्यारो छ।चुरोट सल्काएँ अनि आकाश तिर फुकेँ पहिलो
सर्को!
सुधाले कथामा अर्को पात्र
छिराएकी थिई। उ सँग साकेतका कितावहरु मैले देखेको छु। तर डायरीमा एउटा पात्र नै
वनेर आउला भनेर मैले सोचेको थिइन। हाम्रो अफिसमा काम गर्नु अघि उ किताव पसलमा काम
गर्थी त्यो मलाई थाहा छ। त्यहि भएर उसलाई कितावको डिजाइनमा इन्ट्रेस्ट जन्मेको
हुनुपर्छ। उ पहिलो चोटी हाम्रोमा आउँदा उसले कभरले देखाउनु पर्ने कथाको वारेमा कुरा
गरेकी थिई। मैले मात्र सुनेको थिएँ। पुराना सम्झनाहरु ताजा भएका थिए त्यति खेर ।
त्यसको छ दिन पछि मेरो विहे थियो।
"म भोलीवाट विदा लिँदै
छु !" मैले एकैछिनको औपचारिकता पछी उसलाई सुनाएको थिएँ।
"म अफिसमा छिर्ने
वित्तिकै ? नडराउ म तिमीलाई केहि गर्दिन !" उ हाँसेकी थिई। उसले मलाई केहि
गरिन । उ मलाई केहि गर्ने छैन, त्यहि नै सत्य थियो।
"हैन, छ दिन पछि मेरो
विहे छ ! त्यसैले........।वानेश्वर व्यांकेटमा ...... आउ है ! " मैले उसलाई
सुख्खा निम्तो दिएँ।
"वाउ.... वधाइ छ
!" उसले हात मिलाई। मलाई सुम्सुम्याउन मन लाग्दा लाग्दै त्यो हात छोडेको
थिएँ। हो म उसको जीवनको साधारण पुरुष । जस्को अस्तित्व मात्र एउटा साथिको थियो।
******************
**************** ***************** ****************** ******
म चुरोट निभाएर तल झरेँ।
सिँढीमा गरिमा मलाई पर्खिरहेकी थीई । उठिछे ।मैले आँखा जुधाउन सकिन ।
"तँपाइले फेरि कसम
तोड्नुभयो !" उ रिसाई।
"आज देखि खान्न
!"
"म पत्याउँदिन , कति
चोटी वोल्नु हुन्छ झुट !"
"तिमीलाई चिया पकाउ
भनेर उठाउन मन लागेन, म तिमी जति मिठो चिया पकाउन सक्दिन! तलतल लाग्यो त्यहि भएर
!"
"चियाको तलतल काहिँ
चुरोटले मेटिन्छ ? नचाहिने !"
मैले उसलाई फकाउने प्रयास
गरे पनि झट्टै सकिन। तर मलाई थाहा छ उ फकिनेछे। उसले मैले वोलेका झुटा शव्दहरुमा
पनि माया भेट्टाउँछे।सत्यता खोज्छे,अनि भेट्टाएर छोड्छे। जीवन हराएका जीनिसहरु
भेट्टाउनुमै त रहेछ। मलाई पनि उसमा आफू भेटेजस्तो लाग्छ।एउटा साँचो आफू,जो झुट
वोल्न जान्दैन। अनि जो साधारण छ।
"त्यो डायरी नसिध्याई
नसुत्ने हो ?"
मैले डायरी हेरेँ। अव दुई
तिन घण्टामा सिध्दिएला जस्तो थियो। मैले टाउको हल्लाएँ हो जनाउनलाई।
"अनि अव चिया खाने की
तलतल मेटियो?" उसले मलाई फेरि कटाक्ष गरी।
"खाउँ न त !"
"कति चिया खानु परेको
?" उसले मलाई प्याट्ट हिर्काइ। तर मलाई दुखेन।