Posted by: fucheketo October 9, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     3       ?         Liked by

सुधाको डायरि-पेज ६७

गेट छेउमा वकैनाको रुख छ। आज वकैनाको रुखको हाँगा काट्दै थिए। ट्याक्राक टुक्रुक आवाजले विउँझेकी थिएँ।घाम गुलावी नै थियो, छिप्पिसकेको थिएन।रापभन्दा पनि सौम्य प्रकाशमै सिमित थियो।

"किन काटेको त्यो रुखको हाँगा?" मैले झ्याल खोल्दै सोधेकी थिएँ।

"तलको घाँसमा विहानको उज्यालो आएन अरे!" रुखको माथि चढेको मान्छेले मलाई हेर्दा पनि नहेरी भनीदियो। मैले तलको घाँस हेरेँ। तिनै वकैनाका पत्ताहरु छरिएका थिए शत्रु घाँसको स्पर्शमा रमाउँदै। घाम तिनी दुवैमा समान रुपले पर्दै थियो।यो पनि असमानता विरुद्दको घाँसको जित हुनुपर्छ। ति काटिएका हाँगा हेर्दा अनौठो विचार आयो। केहि सम्वन्ध त थियो होला ति हाँगाहरुको रुख सँग। आज काटियो। त्यहि पनि रुख जिउँदै छ।सम्वन्धहरु पनि तिनै हाँगा जस्ता त होलान्।फेरि पलाउनेछन्। नयाँ पाउलाहरु समयले भर्नेछ। मेरो जीवनको जरा म आँफै हु, म रहुन्जेल जीवन रहनेछ।

************** ****************** ****************** **************** *****************

शनिवारको दिन बिहानै, लाइव्रेरी गएँ खाना खानेबित्तिकै।साकेतका दुइटा कितावहरु ल्याएकी थिएँ। पुर्याइदिनुपर्ने। सकेँ। रमाइलो मान्दा मान्दै सकियो। उसको आँखाबाट जीवन वुझ्दा वुझ्दै सकियो। उ जीवन पिउनलाई सघाउँछ। पढ्दा पढ्दै उसलाई चिनेजस्तो लाग्न थालेको छ आजकल। भेट्न मन लागेको छ कुनै दिन सकेछु भने। उसलाई सोध्नेछु।

"तिमी पनि आइमाई मान्छे बुझ्न सकिन्न भन्छौ। नवुझिकन किन लेख्छौ? नवुझिकन हाम्रा कथा किन पोख्छौ? कसरी पोख्छौ?"

************************ ***************** ****************** ******************

आज छायाँ हिँडेको चार दिन भयो। हिँड्ने दिन मलाई भेट्न आएकी थिई।दश दिन अनौठा बितेँ। कहिलेकाहिँ छुट्याउन सकिन्न आफुलाई। चिन्न सकिन्न आफुलाई। उसको साथको वेगमा वास्तविक म के हुँ मैले विर्सिएकै हुनुपर्छ। मैले उसलाई सक्दो साथ दिएँ।उसले पनि विर्सिन्न होला म सँगका दिनलाई, क्षणलाई। उसको जीवनको एउटा हाँगो म। मेरो जीवनको एउटा हाँगो उ। तर जीवन त वकैना न हो, सुपारीको रुख जस्तो त होइन जीवन, एउटा मात्र हाँगा भएको। जीवनका धाँजा फाट्छन्। भँगालो लाग्छ जीवन।

अन्तिम दिन पनि उसले मलाई चुमी।पछिल्ला दिन जस्तो उद्वेग थिएन उसको चुमाइमा। यसपाली आँशु मिसाएर चुमी। मेरो गाला भिजाएर चुमी। मलाई आँशु आउन्न। उसैको आँशुले भिज्यो मेरो गाला। मैले प्रतिवाद गरिन।मेरा पत्र पत्र खोलेर नियाली।मैले उसलाई ममा स्वतन्त्र वग्न दिएँ। अरु दिनको खहरे ऊ, आज नदि वनेर बगी। समय लिएर बगी। सुस्तरी ठाउँ पहिल्याउँदै बगी।सम्झनामा कैद गरेर बगी।उसले मलाई दिएको लुइस एमस्ट्रंगको गित भएको सिडी मेरो म्युजिक प्लेयरमा वजिरह्यो " अ किस टु विल्ड ए  ड्रिम अन !"

धेरैवेर मेरो कोठाको धमिलो सिलिंग नियालेर वसिरह्यौँ। मैले हिजो भख्खरै किनेको सुर्या लाइटको डव्वाबाट निकालेर चुरोट फुक्यौँ त्यहि सिलिंगसम्म धुवाँ पुग्ने गरी। एउटा,दुइटा ,तिन वटा। एक बट्टा नै रित्यायौँ। त्यो रित्तो सिलिंग । जति हेरे पनि केहि देखिएन। उ मौन भएरै उठी।

"अव जानुपर्छ।" सुस्तरी भनी।

"म जाउँ वसपार्क सम्म ?"

"पर्दैन। " उ छुट्टिई। हाँगा कट्यो जीवनको, वकैनाको।

*************** ********************* ****************** ************** **

लाइव्रेरी अनायसै शान्त लाग्यो आज। हुन त लाइव्रेरी सँधै नै शान्त हुन्छ। कोलाहल मेरो मन भित्रको हुनुपर्छ। आज शान्त भएको छ। एउटा वेग थामिएको छ। शनिवारको दिन लाइव्रेरी रुँघ्नुपर्दा गनगन गर्छन् लाइव्रेरीको सर।किताव पढ्ने मन भएन, आज उनैसँग गफिन मन लाग्यो।

"सर नमस्ते !" मैले ति किताव फर्काउँदै उनलाई हात जोडिदिएँ।

उनले मौननै रहेर टाउको हल्लाइदिए अभिवादनमा। म छेवैको कुर्सिमा वसेँ।

"आज पढ्ने मन छैन?"

मैले टाउको हल्लाएँ। हो आज किन किन पढ्ने मन छैन।

"मलाई ओभरटाइम मन पर्दैन !" उनका आँखामा किन किन शनिवार प्रति वितृष्णा पैदा भयो।उनले शनिवार भोग्न नपाएकोमा गुनासो।

"पैसा आउँछ नि हैन र सर?"

"कसलाई चाहिएको छ र पैसा ! मलाइ रेगुलर पैसाले नै पुग्छ। आजकलका केटाकेटी लाइव्रेरिमा को छिर्छ ? त्यहि पनि शनिवार, सवै कलेजको ढर्रा!"

"म छु त यहाँ !"

"मलाई तिमी किन किन केटाकेटी होइनौ जस्तो लाग्छ। समयले कार्वाइड लगाइदिएर सानैमा पाकेकी !" मज्जाले हाँसे ति सर। मेरो मनमा चसक्क विझ्यो।

"पाकेको होइन भिन्न होला !"मैले प्रतिवाद गरेँ।

" म सानो हुँदा दँशैमा मेरो वुवा केराको घरी लिएर आउनुहुन्थ्यो। हाम्रो घरमा दँशैमा मासु पाक्दैन थियो। केराको घरी जसरी पनि दँशैमा खाएर सिध्याउनुपर्ने। अनि केरालाई अँध्यारो कोठामा छोपेर राखिन्थ्यो। चाँडै पाक्थ्यो। जसका मनमा कुराहरु गुम्सिन्छन्, उ चाँडै पाक्छ!"

हो मेरो मनमा अँध्यारो कुना छन्। अँध्यारो कुनामा गुम्सेका कुराहरु पनि छन्। ठीकै हो म चाँडै पाकेकी छु। अचानक मेरो वाउको सम्झना आयो, मेरो वुवाले केराको घरी कहिल्यै लिएर आएनन्। रक्सिका वोतल ल्याए घर। तरुनी लिएर आए घर।

"चिया खान्छौ?" उनको चिया खाने समय भएछ। चिया मगाए।चियासँगै बिस्कुट पनि मगाए।क्यान्टिन आज भिँड छैन। चिया चाँडै आयो।

"साँच्ची, लाइव्रेरीमा पार्ट टाइम काम गर्ने मान्छेको खोजी हुँदैछ।वेलुका छ देखी नौ। मैले भ्याउँदिन भन्देँ। अर्को मान्छे खोज्ने रे। कलेजकै विध्यार्थी भए प्रिफरेन्स पनि दिने अरे। गर्छौ?"

मैले एकैछिन टाउको कन्याएँ। अनि सोधेँ।

"तँपाइ भनिदिनुहुन्छ?"

"लाइव्रेरी रेगुलर आउने तिमी नै हौ, तिमीले यहाँका रेक ,किताव सवै चिनेकी छ्यौ। सजिलो हुन्छ।"

म सुनिरहेँ। अन्तिममा सोधेँ।

"कति दिन्छन् त मलाई ?"

"साढे चार हजार जति होला !"

उसले भनेको पैसा मेरो पकेटमनि भन्दा दुइ चार सय कम थियो। मैले हुन्छ भनीदिएँ।

************* ************* ************* ***************** *************** *****

करिव एक हफ्तामा मेरो जागिर पक्का भयो। पक्का भएको दिन आफ्नो वाउलाई चिठ्ठि लेखेँ।

वुवा,

तँपाइ आरामै हुनुहुन्छ होला। शायद म नहुँदा स्वतन्त्र पनि। म पनि यहाँ स्वतन्त्र नै छु। चिठ्ठि लेख्नुपर्ने खासै केहि थिएन। फोनमा कुरा गर्न मन लागेन। मलाई आवाजहरुले पोल्छन्।मलाई अव तँपाइको पैसाको आवश्यकता छैन। त्यसलाई अरु शौकमा खर्च गर्न सक्नुहुन्छ। म अव घर फर्किन्न होला।

सुधा

मलाइ किन किन जीवनका हाँगाहरु आफु ठुटो हुन्जेल काट्न मन छ।

************** ******************* *************** ******************* **********

 

 

 

 

 

 

 

Read Full Discussion Thread for this article